मानवीय क्षमताको अपरिमित प्रयोग : जसको व्याख्या गर्न असम्भव

फर्कलान् र ती दिनहरु—१८९

मानवीय क्षमताको अपरिमित प्रयोग : जसको व्याख्या गर्न असम्भव

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  मंसिर १६, २०८०

हाम्रा धर्मशास्त्र र त्यसका परिपूरक व्याख्याका लागि तयार गरिएका पुराण तथा उपपुराणहरुले सकेसम्म सम्पूर्ण प्राणी तथा चराचर जगतका बारेमा उठेका र उठ्न सक्ने सबै प्रश्नहरुको जबाफ दिएका छन् । तर सबैमा , खासगरी चेतनशील भनेर मानिएको मानिसमा रहेको एउटा जिज्ञासा हो, किन मरिन्छ ? मरेपछि कहाँ पुगिन्छ ? मृत्यु जीवनको पुनर्गठनका लागि हो कि मृत्यु जीवनको अन्त्य, त्यो पनि सदाका लागि हो ?

पूर्व जन्म हुन्छ भने किन त्यसको सम्झना हुँदैन धेरैलाई ? भारतको गोरखपुरमा रहेको गीता प्रेसको नियमित मासिक प्रकाशन कल्याणमा सत्य घटनामा आधारित कथाहरु आउँछ । हुन त घटना सधैँ घट्ने होइन तर यदाकदा घटेका घटनाले पनि सामान्यीकरणको रुप लिन्छ किनभने त्यो घटना जस्तै अरु पनि घटना हुनसक्छ । त्यसो त बुद्ध धर्मका गुरुहरू लामाको पनि पूर्व जन्मको कहानी भनेपछि मात्र उसको विश्वास गरिन्छ भन्ने छ । हालैको एउटा समाचारले पनि दलाई लामाको प्रतिस्थापनका लागि नयाँ दलाई लामा भेटिएका छन् मंगोलियामा जो अमेरिकामा जन्मेका हुन् । अमेरिकामा जन्मेको भनेपछि स्वतः त्यो व्यक्ति अमेरिकी नागरिक हुने भयो ।

दलाई लामाको प्रतिनिधि भनेपछि ऊ चिनियाँ तिब्बतीको लागि धर्मगुरु, विश्वभरका बौद्ध सम्प्रदायका लागि माननीय व्यक्ति हुन पुग्छ समयक्रममा । आखिर तिब्बती बौद्धमार्गीहरुको मनमा राज्य गर्नका लागि त्यो मान्छे चिनियाँ तिब्बती  हुनुपर्छ या त चीनले मान्यता दिएको या चीनका गुरुहरुले अनेक जाँच गरेपछि मात्र ऊ साँच्चै अवतारी हो कि होइन भन्ने थाहा हुन्छ भन्ने चीनको तर्क रहेको सुनिन्छ । 

८४लाख योनि हुन्छ भनेर भनिएको छ ।  जन्म त हुन्छ , देखिन्छ तर पुनर्जन्म हुन्छ ? पूर्व जन्मको पनि सम्झना हुन्छ ? कसरी सम्झना हुन्छ ? यही मस्तिष्कमा  जमेको गिदीबाट नै त्यो सञ्चालित हुन्छ कि त्यसका  लागि बेग्लै क्षमता आफैँ उत्पन्न हुन्छ या जन्मँदै त्यस्तो क्षमता लिएर आइन्छ ? तर हाम्रो परम्परामा जन्मभन्दा पहिले पनि जन्म थियो, यो जन्मपछि पनि अर्को जन्म हुन्छ भन्ने विश्वास छ ।

भनिन्छ, हामी जन्मनुभन्दा पहिले नै गर्भावस्था देखि नै हाम्रो कर्मको लेखा लेखिन्छ जसलाई जीवनकालमा नाटकजस्तै गरी हामीले त्यसको मञ्चन गरिरहनु पर्छ । त्यतिमात्र होइन, आयुको पनि जन्मँदै टुङ्गो हुन्छ रे ! अचानक कसैको दुर्घटनामा मृत्यु भयो भने त्यसको पनि जबाफ छ, दुर्घटनामा परेरै मर्न लेखेको रहेछ । मानिसले अनेक कर्म गर्छ, अनेक दुःख गर्छ या अचानक कुनै परिणाम प्राप्त हुन्छ, त्यसको पनि उत्तर सहज छ, त्यस्तै लेखेको रहेछ उसको भाग्यमा । त्यसो भए भाग्यवादलाई मान्नु पर्ला त ? भाग्य कर्मको परिणाम हो कि पहिले नै तयारी भएर रहेको तर समयक्रममा प्राप्त हुँदै जाने परिणाम हो ? 

यस्तै मन्त्र र तन्त्रको कुरा पनि त्यस्तै छ । मेरा एकजना विद्वान साथी हुनुहुन्छ, उहाँँ तन्त्रप्रति अत्यन्त विश्वास गर्नुहुन्छ र तन्त्रका लागि मन्त्र र ध्यानको सम्मिश्रणको बारेमा मलाई जानकारी दिनुभएको छ । उहाँ दसैंको मार्कण्डेय पुराणमा वर्णित दुर्गा सप्तसतीको पाठलाई तान्त्रिकरुपमा गरिने पूजा मान्नुहुन्छ । नेपाली समाजलाई तन्त्रप्रति अत्यन्त विश्वास गर्ने समाजको रुपमा लिनुहुन्छ र जामन गुभाजुको तन्त्र सिद्धिको उदाहरण दिनुहुन्छ ।

त्यसोभए नेपाल संवतको सुरुवातलाई पनि हामीले तन्त्रको सिद्धिको परिणाम मान्नु हो त ? भन्ने मेरो प्रश्नमा  मेरा मित्रले स्वीकार गर्नुहुन्छ । तन्त्र भनेको ज्योतिष विद्या पनि हो भन्ने उहाँको मान्यता छ । र उहाँ आफैँ समय समयमा पोखराको विन्ध्यवासिनी मन्दिरमा गएर तन्त्रको अभ्यास गर्नुहुन्छ र भन्नुहुन्छ, मलाई त तन्त्र विद्याप्रति विश्वास छ र तन्त्रको साधनाको परिणामले मानव जीवनलाई शान्तिपूर्ण बनाउन मद्दत गर्छ । उहाँले आफूलाई ध्यानले शान्ति दिने र ध्यान नै अनुसन्धानको मुख्य आधार थियो हाम्रा पुर्खाको भन्ने कुरामा विश्वस्त हुनुहुन्छ । 

तै पनि अतीतका केही कुरा मिलेपछि उनीहरुले भनेको भविष्य पनि मिल्ला जस्तो लाग्छ नै । कि त तन्त्रमा त्यो क्षमता कि अतीत पनि देखिने ? भविष्यको पनि भनक पाइने ? मानवीय क्षमताको बारेमा त साँच्चै कसैले  केही भन्न पनि सक्दैन किनभने अपरिमित क्षमता भनेको नै मानिसमा नै हुन्छ । उसको दाहिनेपट्टिको मस्तिष्कको त खासै प्रयोग भएकै छैन रे ! 

त्यसो त तन्त्र विद्या पनि हाम्रो पौरस्त्य विद्या या साहित्यको एउटा विधा हो । तन्त्रले एकाग्रता खोज्छ रे र तन्त्रको साधना भनेको नै ध्यानले मात्र पूरा हुन्छ भन्ने मान्यता छ । 
एकपटक जादुगर शंकर नेपालमा आएका थिए र उनले लेबोरेटरी स्कुलको दृष्टिविहीनहरुलाई पढाउने शाखाका लागि एक दिनको आम्दानी दिनु भएको थियो । त्यहाँ मेरो एकजना विद्यार्थी बोलाइयो जो हावामा उड्नका लागि तयार होस् । नभन्दै बेडमा सुतेकी एउटी विद्यार्थी बिस्तारै उडेको हामीले दर्शक दीर्घाबाट देख्यौँ ।

एकछिनपछि उनी बिस्तारै हावाबाट झरिन् र अघिकै ओछ्यानमा सुत्न पुगिन् । पछि उनलाई सोध्यौँ , तिमीलाई उडेको थाहा छ भन्दा छैन तर सपनामा हो कि विपनामा उडेको  जस्तो , म माथिमाथि जान लागेको जस्तो त लाग्यो । हामीले कक्षामा पनि सोध्यौँ, उनले भनिन्, उडेको थाहा छ  जस्तो त लाग्यो तर कसरी उडेँ भन्नेचाहिँ याद भएन । 

अनि अर्को एउटा अनुभव छ मेरो दक्षिण भारतीय जोगीजस्तै घुमन्तेको कुरा । म एकदिन विद्यालयहरुमा शिक्षण अभ्यासमा गएका विद्यार्थीहरुको कक्षा हेर्न भनेर टंगाल मावितर्फ जान थापाथलीमा उभिएर ललितपुर यातायात सेवा पर्खेर बसेको थिएँ । त्यही बेलामा एउटा दक्षिणी भारतीय जोगीको भेषमा म भएको ठाउँमा आयो र भन्यो, मलाई एकसय दिनुस् भन्यो ।मैले मसँग छैन पैसा भनेर नम्र स्वरमा भनेँ तर उसले मलाई भन्यो, तिम्रो खल्तीमा ८०० रुपैया छ । हेर त , अनि मलाई त्यसबाट एकसय देऊ । अनि मलाई एउटा कागजको टुक्रा दिन भन्यो, मैले खामको छेउ च्यातेर दिएँ । अनि उसले मलाई सडकको इँट्टाको टुक्रा दियो र मैले त्यसलाई पोको पारेँ । केके भन्यो मन्त्र जप्दै अनि हात खोल्न भन्यो । हात खोले, त्यहाँ नेपाली १० रुपयाँको नोट थियो र भित्र रुद्राक्षको गेडा थियो !

फेरि मसँग एकसय माग्यो, मैले दिन्न भनेँ । त्यही बेलामा बस आयो, म बस चढ्न त्यसतर्फ लाग्न खोज्दा मेरा हातबाट त्यो दश  र रुद्राक्ष खोसेर लग्यो । मैले दिन्न भने तर म बस चढ्दा मेरा हातबाट खोसायो । मलाई अचम्म लागेको कुरा मसँग ८०० छ भन्ने कसरी थाहा पायो ? अनि कसरी त्यो सामान्य च्यातेको कागज नोट भयो र इँट्टाको टुक्रा कसरी रुद्राक्ष भयो ? 

भन्न त भन्छन् एकथरी मानिसहरु, उनीहरुको साधना नै त्यस्तै हुन्छ, अतीतका कुरा मिलाएर भन्न सक्छन् तर भविष्य त के थाहा पाऊन् । तै पनि अतीतका केही कुरा मिलेपछि उनीहरुले भनेको भविष्य पनि मिल्ला जस्तो लाग्छ नै । कि त तन्त्रमा त्यो क्षमता कि अतीत पनि देखिने ? भविष्यको पनि भनक पाइने ? मानवीय क्षमताको बारेमा त साँच्चै कसैले  केही भन्न पनि सक्दैन किनभने अपरिमित क्षमता भनेको नै मानिसमा नै हुन्छ । उसको दाहिनेपट्टिको मस्तिष्कको त खासै प्रयोग भएकै छैन रे ! 

यसो हेर्दा कति मानिसहरुको जीवनलाई उसको बानी व्यवहार र निधारका धर्का र हातका धर्काले बताउँछन् । सामुद्रिक विद्या पनि मनोविज्ञानको एउटा पक्ष हुनसक्छ । ज्योतिषी विद्या पनि जीवनको मनोविज्ञानलाई प्रभाव पार्ने हुनसक्छ । 

त्यसो त हाम्रा पुर्खाले भन्ने गरेका थिए,मन्त्र, तीर्थ, ब्राह्मण,देवता, ज्योतिष, भविष्यवक्ता, चिकित्सक, गुरुको विद्या , यिनीहरुमा विश्वास गरेअनुसार परिणाम प्राप्त हुन्छ भन्ने मान्यता छ । संसार जति बुझ्यो उति बुझ्न गाह्रो छ । र सजिलो पनि छ । 

प्रसङ्ग बदलौँ, यसपटक कथाभन्दा मेरो एउटा कविता छ अप्रकाशित मेरो स्वर्ग । 

मेरो स्वर्ग
२०७६.८.२६

मलाई स्वर्ग हेर्नु परेको छैन 
किनभने नमरी स्वर्ग देखिँदैन
मलाई जहाँ जन्म्यो त्यही नै 
जिउँदैमा देखिएको स्वर्ग भएको छ
मेरा सबै यतै छन् 
जो हुनुहुन्न ती अब कता पो भेटिनु होला र ?
र पनि स्वर्गको आशामा 
परलोकको मीठो आशामा बाँचेका हामी
स्वर्ग मेरो यहाँ नै छ
म अनि मेरो पहिचान सायद 
स्वर्गमा नहोला । रीस र रागको अलाप ।
लोभ नहोला, लाज नहोला, जायजन्म नहोला
नाता गोता नहोला, नहोला आस्था र भरोसा
त्यसैले कल्पित स्वर्गभन्दा मेरो आदर्शको मृत्युलोक नै 
मेरो स्वर्ग हो वास्तविक स्वर्ग यदि छ भने पनि
मेरो यही जन्मभूमि नै वास्तविक स्वर्ग हो
मेरो यही पृथ्वी नै वास्तविक स्वर्ग हो 
कल्पनाको स्वर्ग , सुनको स्वर्गभन्दा
यही स्वर्ग नै मेरो प्यारो स्वर्ग हो 
यहीँ मेरा सबै छन् मेरा मानसिक कमाइका
परिणामहरुको स्पष्ट रेखाङ्कन छ
मेरो प्यारो यही धर्तीका फाँटहरुमा
हिमाली पहाड र समथरहरुमा
र मेरा मन र मस्तिष्कका डोबहरुमा
मेरो स्वर्ग यहीँ छ मेरो मनमा
मेरो स्वर्गको सबै  सुविधा यहीँ छ अमृतमा
मेरो परिश्रमको पसिनामा अमृत फलेको छ
मेरो आत्मिक स्वर्गमा । मेरो प्यारो माटोमा । 
मेरो प्यारो धर्ती नै मेरो स्वर्ग बनेको छ यहीँ निर्विकल्प । 
क्रमशः