जब बिउँझिन्छु, अनि झल्याँस्स हुन्छु, खोइ त बा र आमा ??

फर्कलान् र ती दिनहरु—१९१

जब बिउँझिन्छु, अनि झल्याँस्स हुन्छु, खोइ त बा र आमा ??

हरिविनोद अधिकारी  |  साहित्य  |  मंसिर ३०, २०८०

मनको तरेलीमा अनेक लहरहरू तरंगित हुन्छन् । मन न हो, कता पुग्छ एकैछिनमा अनि फेरि आफ्नै ठाउँमा आउँछ जस्तो कि फुकेको बेलुनमा हाला फुस्काएपछि आफ्नै स्वरुपमा फर्कन्छ । तर केही तरंग हरु सधैँ ताजा हुने रहेछन् , आमा, बा र जन्मस्थान ।

प्राणी मात्रलाई के मनोविज्ञान हुने रहेछ भने अतीतका ती दिनहरु मध्ये सम्झनामा आउने भनेको आमा नै मुख्य भावना हो । यदि आमा हुनुहुन्न भने झन त्यसले जुन झकार दिइरहन्छ मनमा, त्यो मिठास पूर्ण पनि हुन्छ र विषाद पूर्ण पनि हुनेरहेछ । जस्तो कि सपना जस्तो , थियो अघिसम्म अहिले छैन , असिना जस्तो थियो तर अहिले छैन केही छिनमा नै । आमाको स्मरणले मात्र पनि पुलकित हुने रहेछ मन अनि अमिलो हुने रहेछ अब उहाँ हुनुहुन्न । 

बाका बारेमा पनि त्यही हो पक्कै नै । बा र आमा सँगै आउने सम्झना र तरंग हो । मेरो बाको निधन भयो २०६१ सालको भदौ ३१ गते राती । आमा सँगै हुनुहुन्थ्यो र माहिलो भाइ हिमालय पनि सँगै थियो । बाको ब्रह्मलीनको समयमा आमासँगै भाइ हिमालय थियो । हामी त असोज १ गते दिउँसोमात्र महोत्तरीको भँगाहा सीतापुर पुगेका थियौँ म, मेरी पत्नी देवकी, साहिँलो भाइ शम्भु र बुहारी अञ्जु, कान्छो भाइ तारिणी काठमाडौँबाट पहिलो प्लेन काठमाडौँबाट जनकपुरका लागि उड्यौँ ।

हामी करिब करिब बा हुनुहुन्न भन्ने मानसिकतामा त थियौँ तर भन्न चाहिँ भनिएको थियो, उहाँ कोमामा हुनुहुन्छ तर घरैमा । मैले माहिलो भाइलाई भनेको थिएँ हामी गाडीबाट आए साँझ हुन्छ, पहिलो फ्लाइटबाट आउँदा घर आई पुग्न करिब दिनको १२ या १ बज्ने छ। यदि पिताजीको अवस्था सोचेभन्दा फरक हो भने तैँले हामीलाई नपर्खनु । गाउँका मानिसहरुले जे भन्छन् त्यही गर्नू । अर्थात् उहाँ अब हुनुहुन्न पक्कै भने सदगत गर्नू भनेको हो किनभने प्लेन पनि डिले हुनसक्छ, अनि त्यो दिन विश्वकर्माको पूजा हुनाले हामी हिँडेर नै सीतापुुर जानु पर्ने हुनसक्छ । त्यसो भए त झन रात पर्ने नै भयो । 

कुरो हाम्रो अनुमान जस्तै रहेछ,  बाको अन्तिम अवस्था रातको १२बजेतिर नै भएको रहेछ । हाम्रो समय पनि निश्चित भएन, कति बेर पुग्ने भन्ने पनि टुङ्गो भएन अनि  गाउँमा सल्लाह भएछ , १० बजेसम्म पनि नआउँदा अन्त्येष्टि गर्ने ।  हामीलाई जानकारी दिन पनि नमिल्ने किनभने हामी बाटैमा थियौँ । काहिँलो भाइ श्रीबत्स प्रहरी सेवामा नायक निरीक्षक (सइ)मा थियो, माओवादीहरूले प्रहरी, सेना, र कतिलाई सुराकी भनेर क्रियापुत्री भएकै ठाउँबाट पक्रेर मारेका थिए, बेपत्ता पारेका थिए, त्यसैले भाइ काठमाडौँमा नै एक्लै बस्यो घरमा, छोराछोरीहरूको रेखदेखमा । अर्को आमाप ट्टिका भाइहरु पनि साँझसम्ममा आए सीतापुरमै उत्तर र चुडा । उनीहरु दुलहीहरू तर आएनन् । एकप्रकारले उनीहरु सानैदेखि भिन्न नै थिए र बुहारीहरू त्यति धेरै बासँग घुलमिल थिएनन्, कारण थियो, उनीहरुले पकाएको बा खानुहुन्न थियो र एकप्रकारले हामीभन्दा फरक परिवारमा राख्नुभएको थियो । 

हामी तर सँगै किरियामा बस्यौँ । आमा ओखती नखाने अडान लिन थाल्नुभयो । उहाँ त जानुभयो, मलाई किन बाँच्नु पर्‍यो र ? सुगरको ओखती थियो, रक्तचापको ओखती थियो खानुपर्ने आमाले । आमा साँच्चै भनुँ भने त्यो किरियाभित्रै केही हुने हो कि भन्ने त्रासमा हामी थियौँ उहाँका सन्तान जत्ति । कान्छी बहिनी अमेरिकाको  सियाटलमा थिइँ , ऊ यत्ति रोई कि मैले भन्नुपर्‍यो, तिमीहरूका लागि त म छु नि अभिभावक, मेरो पो हुनुहुन्न त ?

 अहिले म त्यही तपाईँले सिकाएको संस्कारका लागि क्रियापुत्री भएको छु, किनभने तपाईँले मलाई रामप्रसाद अधिकारीको छोरो भनेर पाउनु भएको हो । तर तपाईँ त कारणवश बाकी श्रीमती हुनुभएको हो विवाह गरेकाले, ढुंगेलकी छोरी हो तपाईँ त ! तपाईँले त हामीले गरेको रेखदेख गर्ने हो, खासमा म जेठो छोरो  मैले तपाईँले सिकाएको, परम्परा देखिको संस्कार गर्ने हो ।

अनि आमाको जिद्दी थियो करिब मुर्छित अवस्थामा कि म केही पनि खान्न , पानी पनि खान्न, ओखती पनि खान्न, म यही कोराभित्रै मर्छु । अनि मेरो श्रीमतीले सम्झाई, आमा तपाईँ पनि जानु भयो भने यी छोराहरूको साथ को हुन्छ, हाम्रो कसले अभिभावकत्व लिन्छ, बा पनि जानु भयो ... । अनि म रिसाउँदै रुँदै भन्न थालेँ, तपाईँले मलाई पाएको किनभने पाल्दा अनि मरेपछि किरिया गर्ला भनेर होइन ? 

 अहिले म त्यही तपाईँले सिकाएको संस्कारका लागि क्रियापुत्री भएको छु, किनभने तपाईँले मलाई रामप्रसाद अधिकारीको छोरो भनेर पाउनु भएको हो । तर तपाईँ त कारणवश बाकी श्रीमती हुनुभएको हो विवाह गरेकाले, ढुंगेलकी छोरी हो तपाईँ त ! तपाईँले त हामीले गरेको रेखदेख गर्ने हो, खासमा म जेठो छोरो  मैले तपाईँले सिकाएको, परम्परा देखिको संस्कार गर्ने हो ।

एकैपटक बा र आमा विहीन नबनाउनुस् न आमा, भनेर जब म डाँको छोडेर रुन थालेँ, परिस्थिति कस्तो भयो भने सबै उहाँका सन्तान छोराहरु म, हिमालय,शम्भु, तारिणी,  छोरी मुना, बुहारीहरू देवकी, शान्ता, अञ्जु र माहिलाका छोराछोरी रुन थाल्यौँ अनि आमाको मन पग्लियो र भन्नुपर्‍यो ! 'त नि , म पनि गएपछि को हुन्छ र तिमीहरुको अभिभावक ? म ओखती खान्छु, परम्परा अनुसारको काम तिमीहरु गर बाको । त्यति भनेर आमा मुर्छा पर्नुभयो, सायद सुगर कम भएको हुनुपर्छ । तत्कालै अलिअलि सखर घोलेर उहाँलाई पानी लिपायौँ र उहाँ बौरिनु भयो तेस्रो दिनको कुरा हो । क्षेत्र बासाको त हामीले केही पनि भन्नुपरेको थिएन । 

अनि आमा त्यसपछि झन्डै साँढे आठ वर्ष बाँच्नुभयो तर सधैँ बाको मात्र सम्झना गर्ने । त्यही बिचमा माहिलो भाइ हिमालयको पनि २०६९साल चैत्र २८ गते घोड जात्राका दिन सडक दुर्घटनामा निधन भयो । त्यसपछि आमामा बाको जुन सुर्ता थियो, त्यो पुत्रको सुर्ता थपियो र बारम्बार हृदयाघात हुन थाल्यो । दुई पटकसम्म त कति दिनमा बोल्नुभयो, डाक्टरले बँचाए भन्नुपर्‍यो  । तर डाक्टरले हामी सन्तानहरूलाई भनेका थिए, आमाले जे खानुहुन्छ , खुवाउनुस्, जे भन्नुहुन्छ मान्नुस् तर अब अस्पतालमा होइन, घरमा राख्नुस् । हामी उहाँका  सन्तानले सकेसम्म उहाँको सेवा गर्‍यौँ । 

उहाँलाई अर्को पनि चिन्ता थियो हामी उहाँका सन्तानहरूप्रति । विमाताका सन्तानहरुले सधैँ तिमीहरूमाथि दागा धर्छन्, खुसीसँग बस्न दिने छैनन् । बाले दिएको अंशमा केही कच्चा काम भएको सुन्छु, मैले त तिमीहरूजस्ता सन्तान पाएकाले अब खुसीसँग मरुँली ! तर तिमीहरुको भविष्यमा पाउने झमेलाप्रति म अहिले पनि चिन्तित छु । स्थितिको पक्कै पनि सामना गरौला, पढेका छौँ, आफ्नै  कमाइले बाँच्न जानेका छौ र पनि मलाई त्यो कालो समय,जहाँ तिमीहरुले अड्डा अदालत धाएको देख्दैछु विनाकारण । अनि मेरा कान्छीमा ( कान्छा बाको श्रीमती, विष्णु र विनोद भाइ, भवानी र लेखु बहिनीहरूको आमा )सँग त्यही कुरा भन्नु भएको रहेछ, कान्छी मेरा छोराहरुले बुढेसकालमा दुःख पाउने हुन् कि ? संसारमा सौतेनी मामिलाको कमै मिलापत्र हुन्छ सरल तरिकाले । तिम्रा जेठाजुले जे दिए पनि मेरा पाँच भाइको भन्दा त कमै भयो होला नि, अनि ...., रुनु भएको रहेछ आमा कान्छी आमासँग भन्ने सुनेको हुँ । 

तर मलाई बाले दिएको संस्कार भनेको बसुुधैव कुटुम्बकम् अर्थात् यो पृथ्वीका सबै नै आफ्ना हुन् भने ती विमाता तर्फका भाइहरु पनि मेरै हुन् । मैले सकेसम्म आफ्ना समीपमा रहेकाहरुलाई शिक्षा दीक्षा दिएँ, भाइबहिनी र छोराछोरीका बिचमा कुनै भेद नगरी । जो मेरा नजिक आएनन्, र बाले सँगै नै नराखी भोलिको विवाद नबढोस् भन्ने चाहनु भएको थियो, ती भाइहरु किन किन टाढा हुन खोज्दैछन् । त्यसो त बाको जुन नाम थियो, संसारमा सबैसँग मिलेर बस्ने शान्तिपूर्ण जीवन यापन गर्ने, त्यसमा कता कता समस्या आउन थालेको हो कि जस्तो त लाग्छ तर अझै के पो बिग्रेको छ र भन्ने पनि लाग्छ । तर मेरो आमामा जुन भविष्यप्रति हेर्ने दृष्टिकोण रहेछ, कति सफा र दूर दृष्टि रहेछ । हुन त एउटी आमाका लागि आफ्ना सन्तानभन्दा ठुलो सम्पत्ति केही हुँदैन असीमित माया, अपरिमित दया, निष्पाप प्रेम अनि निःस्वार्थ र निश्छल कामना । शुभकामना । आशीर्वाद । 

लाग्छ, बा र आमाको सम्झनाले अहिले पनि, जति बेर पनि यो मन तरंगित हुन्छ, फुरुङ्ग हुन्छ  अनि जब उहाँहरु हुनुहुन्न , अब कहाँ भेट्ने हो भन्ने कल्पना आउँछ, त्यतिबेरसम्ममा आँखाबाट पानी चुहुन थालेको पाउँछु । यी शब्दहरु टंकण गर्दा पनि मेरा आँखामा पानी भरिएका छन् र स्क्रिनमा अक्षरहरु हेर्न बारम्बार आँखा पुछिरहेको छु । मलाई पनि थाहा छ, म रुँदा या नरुँदा बा आमा फर्कनु हुन्न । तर यो मनमा त्यो तरंग ले सपना , विपना र कल्पनामा सधैँ सधैँ बास गर्ने रहेछ । यतिमात्र भन्न सक्छु, लेख्न सक्छु, हजुर हरु जहाँ जहाँ हुनुहोला, हामीलाई आशीर्वाद दिनुहोला र सपनामा भने पनि विवेकपूर्ण हुनका लागि आशीर्वाद दिनुहोला । त्यसो त बारम्बार मैले बा र आमालाई सपनामा देखेको छु र त्यहाँ उहाँहरूमा कुनै विषाद पाउँदिन । तर सपना त सपना हो, जब बिउँझिन्छु,अनि झल्याँस्स हुन्छु खोइ त बा र आमा ??
क्रमशः