खेलकुद खेलाइने र सिकाइने शिक्षा: 'लेगो'ले धानेको विकसित देशको शिक्षण सिकाई

खेलकुद खेलाइने र सिकाइने शिक्षा: 'लेगो'ले धानेको विकसित देशको शिक्षण सिकाई

पूर्ण ओली  |  शिक्षा  |  पुष ५, २०८०

भनिन्छ, 'बिकसित देशमा हुर्कने केटाकेटीहरु धेरै भाग्यमानी हुन् । उनीहरुलाई लाउन खान तथा पढाइको अवसरमा कुनै कमि हुंदैन । खानेकुराको पनि धेरै च्वाइस हुन्छ । त्यहि भएर उनीहरुलाई खुवाउन गाह्रो हुन्छ । यो खान्न त्यो खान्छु भन्न पाइन्छ । सबैकुरा बाबुआमाले पुर्‍याइरहेका हुन्छन् । स्कुल पनि त्यस्तै सफा, सुरक्षित तथा खेल्ने ग्राउण्ड पर्याप्त भएका खुला किसिमका आधुनिक शिक्षा प्रणाली अनुसार चलेका हुन्छन् । उनीहरुको पढाइ जर्बजस्ती भन्दा स्वेच्छाले सृजनात्मक किसिमले पढ्ने अवसर दिइन्छ ।  स्कुलमा पढ्ने पढाउने बातावरण अत्यन्त अनुकुल हुन्छ । अभिभावकले खासै कुनै गुनासो गर्नु पर्दैन ।'

अहिले बिकसित मानिएको देशको शिक्षाका बारेमा नियाली रहेको छु ।  मेरो नाति घरमा बसेको बेलामा प्राय 'लेगो' लिएर बस्छ । जसमा भएका बिभिन्न ब्लकहरू जम्मा गरेर बिभिन्न किसिमका घर, टावर बनाउन उसलाई धेरै नै मन पर्छ । उसले बाहिर देखेर आएको रेस्टुरा, पार्क , टावरहरू तुरुन्त बनाउँछ । त्यो बनाउन उसलाई कुनै समय लाग्दैन । आफ्नो  सृजना बनाइसकेपछि हजुरबुवा मैले बनाएको घरको फोटो खिचिदिनु भन्छ । उसले बिभिन्न मोडेलका घर रेस्टुरा तथा आधुनिक टावरहरू बनाइरहन्छ ।

यसबाट उसको सृजनात्मक क्षमता बढिरहेको हुन्छ । यस्ता किसिमका 'लेगो' का ब्लकहरूमा लागेपछि उसलाई अनावश्यक चकचक गरिरहनु पर्दैन । अनि स्कुलमा पनि उ 'लेगो' बनाउनेमा 'लिडर' जस्तै रहेछ । उसलाई अप्ठ्यारो भनेको नेपाली भाषा बुझे पनि बोल्न सक्तैन । आमाबाबुले नेपालीमा बोले पनि उसले अंग्रेजीमा जवाफ दिन्छ । यो सबै वातावरण र स्कुलका साथीहरु र शिक्षक संग बोल्नु परेको कारणले हो । 

अष्ट्रेलियाका स्कुलको पढाइमा यस्ता थप बिषय पनि समाबेश गरिरहँदा  रहेछन् । सरकारी बिद्यालयमा नि:शुल्क पढाइ हुने हुँदा यस्ता थप विषयको लागि पैसा खर्च गर्नु पर्ने रहेछ । तर निजी बिद्यालयमा केहि बढि पैसा खर्च गरेपनि पढाइ बाहेक धेरै किसिमका कृयाकलाप खेलकुदहरू खेलाइन्छ , सिकाइन्छ ।

फुटबल, क्रिकेट, हक्की, स्विमिङ , टेनिस, रग्वी आदी सबै किसिमका खेलहरु खेल्ने अवसर हुन्छ । ससाना केटाकेटीलाई रमाइलो संग टायम पास गर्न 'लेगो', डान्स, पियानो बजाउन, चेस खेल खेल्न लगाइन्छ जसबाट साना केटाकेटी अबस्था देखि नै उनीहरुमा बुद्धि बिकास हुने कृयाकलापमा जोड दिइन्छ ।  बिभिन्न अवसरहरूमा छोरा छोरीका यस्ता बिभिन्न कार्यक्रमहरु देखाउन अभिभावकहरुलाई स्कुलमा  बोलाइन्छ । 

हाम्रो देशमा केहि नीजि स्कुलहरुमा राम्रो अवसर दिएपनि धेरैजसो स्कुल खासगरी सरकारी शिक्षण संस्थाहरुमा पढ्ने केटाकेटीले यस्ता अवसरबाट बन्चित छन् । कतिपय गाउँमा राम्रा विद्यालयका अभाव छन् भने कतिपयमा राम्रा शिक्षकको अभाव छन् । कतिपय गाउँका केटाकेटीहरु ले घरमा राम्रो खान पनि पाउँदैनन् । अनि घरायसी कामले कतिपय केटाकेटीलाई आमाबाबुले स्कुलमा पठाउन पनि सक्दैनन् । अझैपनि हामीले शहरका गल्लीहरूमा खाते बालबालिका पनि देख्न सक्छौ ।

यो सबै देखेपछि बिकसित देशमा जन्मने केटाकेटी धेरै भाग्यमानी हुन्छन्  भन्ने लाग्छ । बिकसित देशमा स्कुल पढिसक्दा उनीहरुले बिभिन्न सीपहरू सिकि सकेका हुन्छन् । त्यसले उनीहरुलाई रोजगार पाउन कुनै कठिनाइ हुंदैन । शिक्षकहरु पनि अनुशासित र क्षमतावान हुन्छन् । उनीहरुको पारिश्रमिक पनि पर्याप्त हुन्छ । बिकसित देशमा कुनैपनि श्रम गर्ने ब्यक्तिको इज्जत गरिन्छ । त्यसमा पनि शिक्षक प्रोफेसरको झनै इज्जत गरिन्छ । त्यहाँ राजनीतिले कसैलाई प्रभाव पार्दैन । 

बिकसित देशको दाँजोमा सबैकुरा दिन र गर्न नसकिए पनि हाम्रो देशमा भएका सामानको उपयोग गरि बिद्यार्थीलाई बनाउन लगाएर सिकाउन सकिन्छ । खेल्ने कुरा, गीत, संगित बिभिन्न बजाउने बाजाहरु सिकाउने, काठका टुक्राबाट जोडेर घर टहरा आदी बनाउन सकिन्छ । अनि सबै बिद्यार्थीलाई दैनिक पिटि या योगहरू अनिवार्य सिकाउन सकिएमा विद्यार्थीको स्वास्थ्य राम्रो हुनेछ ।

नेपाल जस्ता गरिब देशमा ठिक उल्टा छ । शिक्षक कुनै न कुनै  दलका कार्यकर्ता हुन्छन् । उनीहरुले नपढाए पनि उनीहरुलाई हटाउन सकिदैन । शिक्षकलाई शिक्षार्थीको भविष्यको कुनै मतलब हुंदैन । निजीमा पढाउनेमा जागिर जाने डरले त्यहाँ केहि राम्रो पढाइ हुन्छ । तर त्यहाँ पनि पढेर बिदेश जानको लागि बिद्यार्थी तयार गरिन्छ । सृजनात्मक पढाइ गरेर, राम्रो सिप सिकेर नेपालमा बसेर केहि काम गरुन् भनेर कुनैपनि शिक्षण संस्थामा पढाइँदैन ।

सरकारको शिक्षा नीति बनाउने ठुलो कुरा गरिन्छ तर ब्यबहारमा त्यस्तो कहिल्यै गरिदैन । किनकि हाम्रा शिक्षक र कर्मचारी प्राय सबै दलका झोले मात्र भइसकेका छन् । दलका कार्यकर्ता सबै दास मात्र भइरहेका छन् । त्यसैले उनीहरुले आफ्ना छोराछोरीको भविष्य उज्वल पार्न शिक्षाको गुणस्तर बढाउनु पर्छ । बिद्यार्थी राम्रो पढेर स्वदेशको बिकासमा लगाउनु पर्छ भनि आफ्ना नेताहरुलाई कहिल्यै भन्न सक्दैनन् । 

त्यसैले हुनेखानेका छोराछोरी टेन प्लस टु पास गर्ना साथ सरकारको स्वीकृती लिएर बिदेश जान्छन् । जसमा करोडौं  डलरको बिदेशी रकम बाहिरिनेछ । अनि मध्यम वर्गीय र गरिब परिवारका छोरा छोरी कोरिया, मलेसिया र खाडी मुलुक जान बाध्य हुन्छन् । यी खाडी मुलुक जानेबाट आउने रेमिट्यान्सबाट देशको बजेटमा ठुलो भरथेग भएको छ । अनि जसले लाखौ डलर सरकारबाट लिएर बिकसित देश जान्छन् , उनीहरुबाट आफ्नो मातृभूमिको लागि कुनै योगदान भएको पाइदैन । भएपनि नगन्य रुपमा मात्र भएको छ । त्यो पनि आफ्नो गाउँमा भएका बाबुआमाको मुख हेरेर केहि सामाजिक कार्यमा सहयोग भएको पाइन्छ । 

हाम्रा स्वदेशमा भएका साना बालबालिका देखि युवा विद्यार्थीको हितको लागि सरकारले  हाम्रो देशको शिक्षा नीतिमा 'ओभरअल' सुधार गर्नैपर्छ । अहिले नैतिक शिक्षा, इतिहास पढाउन छोड्नु भनेको त्यस्ता बिषयमा हाम्रा युवा विद्यार्थीहरु अनभिज्ञ हुनु हो । शिक्षक संघ र संगठन तथा ट्रेड युनियन पुरा रुपमा बन्द गर्नै पर्छ । अयोग्य शिक्षक हटाउन सक्नुपर्छ । शिक्षकको तलबमान बढाउनु पर्छ । शिक्षकलाई हरेक बर्ष 'रिफ्रेसर' तालिम अनिवार्य गर्नैपर्छ । कमसेकम स्कुल तहसम्म शिक्षा नि:शुल्क हुनुपर्छ ।

गाउँका गरिब बिद्यार्थीलाई खाजा खुवाउने ब्यबस्था सरकारले गर्नै पर्छ । साना साना नानीहरूलाई 'लेगो' जस्ता ब्लकहरू दिएर सृजनात्मक बनाउँदै लानु पर्छ भने माथिल्लो तहका कक्षामा सिपमुलक तालिमहरु अनिवार्य दिनुपर्छ जसले गर्दा उनीहरुले गाउँ शहर जहाँ बसे पनि स्वरोजगार गरेर जिविका चलाउन सकुन् । अहिले हामीले गर्न सक्ने कार्य भनेको गाउँघरका सिल्पीहरु ल्याएर भएपनि ४/५ बर्षको उमेर देखिनै बिभिन्न सीपहरू सिकाउन जरुरत छ जुन सबैतिर उपयोग हुन सकोस् ।

बिकसित देशको दाँजोमा सबैकुरा दिन र गर्न नसकिए पनि हाम्रो देशमा भएका सामानको उपयोग गरि बिद्यार्थीलाई बनाउन लगाएर सिकाउन सकिन्छ । खेल्ने कुरा, गीत, संगित बिभिन्न बजाउने बाजाहरु सिकाउने, काठका टुक्राबाट जोडेर घर टहरा आदी बनाउन सकिन्छ । अनि सबै बिद्यार्थीलाई दैनिक पिटि या योगहरू अनिवार्य सिकाउन सकिएमा विद्यार्थीको स्वास्थ्य राम्रो हुनेछ ।

शिक्षकहरुको कार्यकुशलता र क्षमतामा बृद्धि गर्ने तालिम अनिवार्य गरियोस । कमसेकम अयोग्य र अनुशासनहीन शिक्षकलाई कारबाही गरि बर्खास्त गर्न सकिने नियम शिघ्र बनाइयोस् । सबभन्दा महत्वपूर्ण बिषय कर्मचारी र शिक्षकलाई राजनीतिमा प्रतिबन्ध नलगाएसम्म नेपालको कर्मचारीतन्त्र र शैक्षिक संस्था सुध्रन सक्तैन । यति कुरा अहिलेका शासकले बुझ्न सके मात्र देशको भलो हुन सक्नेछ । 

एउटा  विसवेनको तुउम्बा शहरको एउटा सरकारी स्कुलमा बाहिर पटि लेखिएको कोटेसन 
'where seeds of learning becomes forest of opportunity'

 


हाल- अष्ट्रेलिया
२०८० पौष ५