विश्वास र अविश्वासको कसीमा ज्योतिष शास्त्र: भविष्य कसले पो देख्न सक्छ र ?

फर्कलान् र ती दिनहरु—१९४

विश्वास र अविश्वासको कसीमा ज्योतिष शास्त्र: भविष्य कसले पो देख्न सक्छ र ?

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  पुष २१, २०८०

एउटा समय आउँदो रहेछ, आफ्ना बारेमा आफैँले समीक्षा गरिँदो रहेछ । जे भयो, जे काम गरियो, अब त्यसमा गल्ती महसुस गरेर खासै अर्थ नरहने तर के काम कुन बेलामा गर्ने र के काम कहिल्यै गर्नु नहुने भन्ने कुनै मानक रहेनछ ।

जुन काम आफूले गरेकोमा ग्लानि भइरहेको हुन्छ, त्यही कामले कुनै बेला ठिक बेलामा त्यस्तो गरिएको रहेछ भन्ने सन्तुष्टि पनि आउने रहेछ । कुनै काम गरियो, सन्तुष्ट भइयो, फाइदा पनि भयो, करोडौँ रुपयाँको कारोबार पनि भयो तर त्यसैका कारणले, पोल खोल्दा धिक्कारिने बेला पनि आउँदो रहेछ । त्यसले के देखाउने रहेछ भने बडो मिहिन तरिकाले भविष्यका बारेमा सोच्नु पर्ने रहेछ ।

तर भविष्यलाई कसले देखेको छ र ? त्यसैले त त्यसको नाम भविष्य भयो, जसलाई अनुमान त गर्न  सकिएला तर यस्तै होला भन्ने कसले पो भन्न सक्छ र ? बाटामा हात हेरेर, चिना हेरेर या सुगालाई कार्ड छान्न  लगाएर भविष्य हेर्नेहरू पनि छन् । कतिले चिना हेरेर भविष्यका बारेमा भन्ने गरेका छन् । चिना हेरेर या जन्म मिति हेरे, जन्म समयको आधारमा भविष्यको बारेमा भन्नेहरु संसारभर पाइन्छन् ।

पौरस्त्य विज्ञानमा ज्योतिष शास्त्र एउटा महत्वपूर्ण शास्त्र हो । यो एउटा विधा पनि हो जसले ब्रह्माण्डको गणना गर्छ । विभिन्न नामाकरण गरिएका ताराहरूको, तारापुञ्जहरूको जानकारी गराउँछ ।

ग्रह, तारा, नक्षत्र आदिको  गणितीय आधारमा उनीहरुको गतिशीलता र त्यसको परिणामका बारेमा गरिने भविष्यवाणीको महत्वले गर्दा ज्योतिष शास्त्रको रहस्यात्मक गणितीय क्षमताको अझ प्रयोग गर्नुपर्ने पनि आवाज उठिरहेको छ । कति पश्चिमाहरुले ज्योतिष शास्त्रमा रहेको रहस्यात्मक क्षमतालाई बुझ्न, त्यसको स्वाद प्राप्त गर्न र प्रयोग गर्न समेत संस्कृत भाषाको अध्ययन गरिरहेका छन् । कतिपय पश्चिमा विश्व विद्यालयहरूका संस्कृत विषयमा पढाइ सुरु हुन थालेको छ जहाँ खगोल शास्त्र, साहित्य र गणितको अध्ययन गरिने रहेछ । त्यति मात्र होइन, संस्कृत व्याकरणका ती सूत्रहरूको अध्ययन गरिने रहेछ जसको हजारौ वर्षदेखि कुनै संशोधन नगरी सहज तरिकाले आफ्ना उद्देश्य पूरा गरिरहेका छन् । 

भविष्य त कसले देख्छ र ? तैपनि आफ्नो, आफ्ना सन्ततिको, आफूलाई आवश्यक परेका व्यक्तिहरुको  भविष्य थाहा पाउन मानिस किन लालायित हुन्छ ? भनिन्छ हाम्रो समाजमा वैद्यका घरमा धेरै विरामी हुन्छन् र ज्योतिषीका घरमा नै आफूले जुराएको बिहे असफल हुन्छ । भनाइ हो र पनि भविष्यका बारेमा कसैले भनोस् कि म मिलाउँछु , त्यो फगत अनुमान मात्र साबित हुनसक्छ ।

तर मिल्छ कसैको भने हातमा लेखेकोले भनेको होइन, निधारमा लेखेकोल जानकारी दिएको होइन, धेरैको त्यस्तै हुँदा मिल्न जाने एउटा क्रम हुनसक्छ । त्यसो त भविष्यका बारेमा अनेक कृतिहरु तयार भएका छन्, सिनेमा समेत बनेका छन्, समय हेर्ने भूतकाल वर्तमान काल र  भविष्य कालसमेत हेर्ने भनेर काल्पनिक रुपमा धेरै कृति तयार भएका छन् र ती स्वैर काल्पनिक कृतिहरु धेरै रुचाइने कृतिहरु, धेरै हेरिने सिनेमामा पनि परेका छन् । 

मानिसहरुको अतीत आफैँले भोगेर आएकाले र उसको बानी व्यवहार अनि रहन सहनका आधारमा मिलाउन सक्छन् रे भन्छन् । कतिले ठ्याक्कै मिलाएको पनि सुनिन्छ । त्यसो त जसले मिलाउँछ, त्यसका घरमा भिड देखिन्छ । अझ सत्ता केन्द्रमा रहेका व्यक्तिहरुको सत्तामा फर्कनका लागि गरिने आग्रह हेर्न पनि केही व्यक्तिहरु खटिएका हुन्छन् र उनीहरु  सत्ताका केन्द्रमा रहेकाहरूसँग निकट सम्पर्कमा रही अरुलाई आफूप्रति आकर्षण गर्न सक्रिय हुन्छन् ।

 त्यसो त हामी सचेत मानिएका मानव प्राणीहरूमा वर्तमानको स्वरुप प्रति यति मोह हुन्छ कि त्यसभन्दा बढी सोच्ने चलन हुँदैन र कसैले भोलिको बारेका सम्झाउन थाल्यो भने त्यहाँ विद्रोह , विवाद र झगडा सुरु हुन्छ । जति पनि युद्ध भएका छन्, राज्य क्रान्ति भएका छन् , तिनको कारण खोतल्दा त्यस्तै साना साना कारणले ठुला नकारात्मक परिणाम आएको भेटिन्छ । त्यसैले भन्न मान लाग्छ, भविष्य देख्ने त्यस्तो कुनै शास्त्र बनेको छैन र पनि आज सबैभन्दा बढी जिज्ञासा भविष्यप्रति नै हुन्छ जुन कतै पाइँदैन ।

एउटा कुरा भनिन्छ- राजा महेन्द्रले कुसाइतको समय पारेर पहिलो निर्वाचित संसदको उद्घाटन गरेका रे ! प्रधानमन्त्री बीपी कोइरालाको शपथ ग्रहण गराएका रे ! त्यसो त त्यो संसद १८ महिनामा नै भंग भयो, प्रधानमन्त्री बीपी कोइरालालाई पक्राउ गरी बर्सौँ जेल राखियो । फेरि बीपी प्रधानमन्त्री हुन सक्नु भएन तर त्यही कारणको तुसले आज राजतन्त्र छैन । अनि यदि त्यो बेलाका ज्योतिषीहरूले संसद भनेका बीपी, प्रजातन्त्र भनेका पनि बीपी उनलाई तह लगाएपछि त मुलुकमा राजा महेन्द्रको को पो विरोधी रहन्छ र ? भनेर सिकाए होलान् र काल समय छानेर शपथ ग्रहण गराए होलान्, संसदको अधिवेशन सुरु गराए होलान् तर त्यसको परिणामका बारेमा सायद थाहा पाएनन् । तर ज्योतिषी नै नभए पनि तत्कालीन बेलायती संविधानविद् आइभरजेनिङ्सले भने एउटा भविष्यवाणी गरेका रहेछन् राजा महेन्द्रलाई । बीपीले जनमत संग्रहताका भन्नु भएको थियो , कसरी नेपाल अधिराज्यको संविधान २०१५मा धारा ५५मा राजालाई संकटकालीन अधिकार दिएका सम्बन्धमा ।

संविधान सभाको माग गरिरहेका नेपाली कांग्रेस र अन्य दलहरुको कुरा नसुनी राजा महेन्द्रले सिधै आफूले आफ्ना तरिकाले बनाएको संविधान घोषणा गर्ने र नयाँ निर्वाचन गराएर जनताको नासो संसद गठन गरी निर्वाचित सरकारलाई सत्ता सुम्पने कुरा आयो । संविधान सभाको निर्वाचन नगर्ने नै राजाको नियत देखेपछि तत्कालीन रणनीति तयार गरी नेपाली कांग्रेसका सभापति सुवर्ण समशेरको नेतृत्वमा काम चलाउ मन्त्रिपरिषद् गठन भयो र पहिलो आम निर्वाचन गरियो जसमा १०९ स्थान भएको प्रतिनिधि सभामा ७४स्थान नेपाली कांग्रेसले जित्यो र बीपी संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री हुनुभयो ।

त्यो संविधान बनाउने काम राजाका निकटवर्तीहरुले गरेका थिए र सल्लाहकारका रुपमा बेलायती संविधानविद् आइभर जेनिङ्स थिए । उनै  आइभरलाई बीपीले सोध्नु भएछ, आइभर हाम्रो संविधानमा किन राजाका लागि धारा ५५ मा संकटकालको व्यवस्था गरेको ? अनि आइभरले भनेछन्, बीपी त्यो धारा बास्तवमा स्वतन्त्ररुपमा राजाले प्रयोग गर्न पाउँदैनन् तर यदि गरेछन् भने त्यसले अन्ततः राजालाई नै दुष्परिणाम दिनेछ ।

अनि आइभरले एउटा सर्प र छुचुन्द्राको कथाको उदाहरण दिँदै बीपीलाई भनेछन्, संकट कालको कसरी राजाले प्रयोग गर्छन् होला, जस्तो कि सर्पलाई छुचुन्द्रो र मुसो उस्तै लाग्छ होला तर यदि सर्पले मुसो जस्तै  सम्झेर छुचुन्द्रो निल्न खोज्दा के हुन्छ भने सके छुचुन्द्रोले आपत कालमा छोड्ने गन्धले सर्पको आँखा तत्कालै बन्द हुनेछ र उसले आँखा कहिल्यै देख्ने छैन । यदि सुलुक्क निल्यो नै भने पनि छुचुन्द्रोको शरीरमा रहेको रसायनले सर्पको शरीरभरि फोका उठ्ने छ, जुन कोरको रुपमा विकसित हुनेछ  , शरीर कुहिएर मर्नेछ सर्प ।

अब भन्नुस् बीपी, सरकारको निर्णयबिना संकट कालको प्रयोग गर्नु कति हानिकारक छ , मैले यो कुरा राजालाई सम्झाएको छु । अनि यो भविष्य वाणीचाहिँ पुगेको हो राजतन्त्रका लागि । यदि २०१७साल पुस १ को घटना नघटेको भए राजाका विरुद्ध आन्दोलन हुने थिएन, राजाले दमन गर्नु पर्ने थिएन । पछि पनि राजाले अधिकारको बारेमा आफूलाई देखिएर र सक्रिय नबनाएका भए सायद राजतन्त्र जाँदैन थियो होला । बरु आइभरको भविष्यवाणी चाहिँ सत्य साबित भएको मान्नुपर्छ ।

 त्यसो त राजनीतिमा कतिपटक प्रधानमन्त्री हुँदा आदर्श समय हो, काम गर्न सक्ने सक्रिय समय हो यसको बारेमा ठ्याक्कै भन्न नमिल्ला तर बारम्बार बारम्बार सत्ताको भोक तिर्खा मेट्न खोज्दा मलेसियाका विकासका पिता मानिने महाथिर मोहम्मदको पछिल्लो अवस्थामा देखिएको पतन, फिलिपिन्सको विकासका लागि स्मरण गरिने मार्कोसको पतन, इन्डोनेसियाका सुहार्तोको पतन, युगोस्लाभियाका मार्सल टिटोको समयपछि देश नै टुक्रा टुक्रा भएको अनि कम्युनिस्ट पार्टीको एकात्मक सरकारविरुद्ध धाबा बोलेपछि सोभियत संघको पतन भएको धेरै उदाहरण दिन  सकिन्छ ।

दोस्रो विश्वयुद्धका लागि कारक मानिने एकजना पात्र एडल्फ हिटलरको पतन यसरी भयो कि आज पनि उनको नाम  उनको कर्मभूमि जर्मनीमा लिनु पनि पाप मानिन्छ, फौजदारी मुद्दा खप्नुपर्ने हुन्छ र त्यो बेलाको राष्ट्रवादको नाराले आफूबाहेक अरु दलहरु सबै देश विरोधी मान्ने नाजीहरुको पतनले देखाउँछ कि सत्ताको मातले कसले पो भविष्यको बारेमा सोचेको हुन्छ र ? सायद जंगबहादुरले सोचेका थिए होलान् र आफ्नै राणा परिवारमा विद्रोह हुनेछ राणाका विरोधमा, अनि ती प्रजाहरू नै बन्दुक बोकेर राणा शासनको विरुद्धमा जनक्रान्ति गर्नेछन् ? अनि प्रत्येक अपदस्थ भएका राजतन्त्रले कहिल्यै सोचेका थिए होलान् कि जनताले हामीलाई एकदिन देशबाट नै निकाल्ने छन्, हाम्रा सन्तानलाई मार्नेछन् भन्ने छन् दरबारमा ठाउँ खालि छ , कृपया को हुने हो राष्ट्र प्रमुख ? 

भविष्यवाणी भनेको समयानुकूल विवेक प्रयोग गर्नु हो जसले भोलिका दिनहरूको एउटा काल्पनिक स्वरुप जेहेनमा आउने छ ।  त्यसो त हामी सचेत मानिएका मानव प्राणीहरूमा वर्तमानको स्वरुप प्रति यति मोह हुन्छ कि त्यसभन्दा बढी सोच्ने चलन हुँदैन र कसैले भोलिको बारेका सम्झाउन थाल्यो भने त्यहाँ विद्रोह , विवाद र झगडा सुरु हुन्छ । जति पनि युद्ध भएका छन्, राज्य क्रान्ति भएका छन् , तिनको कारण खोतल्दा त्यस्तै साना साना कारणले ठुला नकारात्मक परिणाम आएको भेटिन्छ । त्यसैले भन्न मान लाग्छ, भविष्य देख्ने त्यस्तो कुनै शास्त्र बनेको छैन र पनि आज सबैभन्दा बढी जिज्ञासा भविष्यप्रति नै हुन्छ जुन कतै पाइँदैन । क्रमशः