विद्वान र वैज्ञानिकको कदर नहुने देशमा विकास कसरी हुन्छ ?

विद्वान र वैज्ञानिकको कदर नहुने देशमा विकास कसरी हुन्छ ?

पूर्ण ओली  |  दृष्टिकोण  |  माघ ४, २०८०

हिट्लरको तानाशाही शासनमा टिक्न नसकेर  जर्मनका धेरै वैज्ञानिक अमेरिकातर्फ लागे । जहाँ उनीहरुको कदर भयो जसले अमेरिकाले विज्ञानको चरमोत्कर्षमा विकास गरे । कोहि वैज्ञानिकलाई पहिलाको यु एस एस आर लग्यो र कोहि  बेलायत तर्फ पलायन भए । जहाँ उनीहरुको भरपुर सदुपयोग गरियो ।

भारतमा पूर्व राष्ट्रपति डा. अब्दुल कलाम बैज्ञानिक थिए । जसलाई मिसाइल म्यान पनि भनिन्छ । नेपाल यसको ठिक उल्टो छ । नेपालका पहिला बैज्ञानिक गेहेन्द्रशम्शेर त्यतिबेला मेसिन गन बनाए , पेस्तोल बनाए । तर राणा शासक उनीसँग तर्सिए र उपत्यका बाहिर लखेटे । देव शम्शेरले राणा शासनकालमा सुधार गर्ने योजना अनुसार केहि राम्रा काम थाल्ने साथ उनलाई चन्द्र शम्शेरले अपदस्थ गरेर धनकुटा पठाए ।

त्यस्तै गरेर नेपालका धेरै राष्ट्रवादी व्यक्तिहरु काजी भिम मल्ल, भिमसेन थापा, अमर सिं थापाजस्ता बीर योद्धा तथा प्रधानमन्त्रीको समेत अकालमा नृशंस तरिकाले मृत्युवरण गर्नु परेको इतिहास छ । अर्थात राम्रा र क्षमता वानको कदर नगरिने मात्र होइन त्यस्ता मानिसलाई सत्तासिनहरुले सफाया गर्न पटि नै लागे । 

नेपाल एकिकरण अभियानका प्रमुख ब्यक्ति राजा पृथ्वीनारायण शाहले सहि मानिस सहि ठाउँमा चयन गर्न सफल भए । जसको फलस्वरुप सानो गोर्खा राज्यले आफु भन्दा ठुला र सम्पन्न देशलाई हराएर गोर्खा राज्यलाई बढाउन सफल हुँदै बिशाल नेपाल बनाए । जसलाई उनका कान्छा छोरा बहादुर शाह तथा राजेन्द्र लक्ष्मीले पूर्वमा टिस्टा देखि पश्चिममा काँगडा सम्म विस्तार गर्न सम्भव भएको थियो  । पञ्चायती ब्यवस्थामा पनि राजा महेन्द्रले क्षमतावान मानिसको छनौट गरि सहि ठाउँमा नियुक्ति गरेर देशको चौतर्फी  बिकासको शुभारम्भ  गरि संसारलाई चिनाउने कार्य गरे । 

कुनै दिन हाम्रा बिशाल छिमेकी देशको प्रतिव्यक्ति आय हाम्रो भन्दा कमजोर थियो । आज यी दुबै देश सुपर पावर हुने दौडमा छन् । हाम्रो देशले अझैपनि क्षमतावान र इमान्दार नागरिकलाई खोजि नगर्ने मात्र होइन त्यस्ता नागरिकलाई विदेशतिर धपाउन मात्र खोज्ने प्रवृति हाबी छ । अनैतिक र भ्रष्ट सत्ताधारी उनै चाकडी बाज, नेता र  दलालको वरिपरि घुमेर देशलाई अन्धकारतर्फ धकेल्दैछन् । 

अहिले नेपालमा बहुदलीय ब्यवस्थाले पनि नपुगेर ल्याइएको लोकतन्त्रले क्षमतावान मानिसहरुको छनौट गर्न त परै जाओस् देशमा भएका बैज्ञानिक , विद्वान तथा क्षमतावान व्यक्तिहरुलाई पुरा बेवास्ता गरि सिर्फ नेताका आफन्त र दलका झोलेलाई बिभिन्न महत्वपूर्ण स्थानमा नियुक्त दिने कुरामा होड नै चलि रहेको  छ । त्यसले गर्दा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग सबैतिर अस्तव्यस्त छ । कुनै ठाउँमा राम्रो भएको देख्न सुन्न पाइदैन । युवाहरु सबै रोजगार खोज्न बिदेश नै जानु पर्ने । सरकारले रोजगार दिने , बिदेश जाने युवाहरुलाई स्वदेशको बिकासमा लगाउने कुनै योजना सम्म दिन खोजेको देखिदैन । आज एउटा बैज्ञानिक निशुल्क राष्ट्रको सेवा गर्छु भन्दा सरकार सहयोग गर्न तयार हुंदैन ।  उनै कर्मवीर बैज्ञानिक अनुसन्धान केन्द्र संचालन गरेर क्षमतावान र  बिशेष चाख भएका जोशिला युवालाई अनुसन्धान केन्द्रमा अवसर दिने प्रयासमा छन् ।  सरकारले उनलाई कुनै गतिलो सहयोग गरेको छैन । 

यहाँ  डा. महावीर पुन बारेमा केहि शब्द जोड्नु सान्दर्भिक हुन्छ । पहाडी गरिब परिवारमा जन्मेका महावीर पुनले धेरै दुःख गरेर पढे ।  जीवनमा धेरै हण्डर दुःख खाएर लगातार परिश्रम गरि आफुले सिकेको ज्ञान आफ्नै गाउँमा प्रयोग गरेर गाउँका जनता तथा त्यस क्षेत्रको उत्थानमा धेरै राम्रा काम गरेका छन् । महावीर पुनको आत्मकथा पढि सकेपछि नेपालका नेता र कर्मचारीका असहयोगले हाम्रा कति क्षमतावान युवा आज बिदेशी बाध्य भएकाे कुरा घाम जतिको  छर्लङ्ग छ ।

एउटा शिक्षकलाई बिना कारण सिडियोले हिरासतमा राखेर दुःख दिन्छ । त्यहि रिसले जागिर छोडेर भौतारिंदै  हिँडेका महावीर पुन अथक प्रयास पछि अमेरिका छिरेर अध्ययन गर्ने अवसर पाउँछन् । अमेरिका बसेर राम्रो पैसा कमाउन सक्ने अवसर छोडेर नेपाल फर्केर शहरदेखि पर आफ्नै गाउँको उद्धारमा लागे । पहिला स्थानिय जनतालाई आत्मनिर्भर हुन बिभिन्न किसिमका उत्पादन र उद्यम खोल्न प्रोत्साहन गरिरहे । बिभिन्न स्थानमा पदमार्ग, पर्यटकको लागि आवास स्थल, त्यस्तै स्थानिय खानेकुराको प्रोत्साहन गरि गाउँलेको उत्पादनमा जोड दिए । जहाँ उनले धेरै मिहेनत पछि म्याग्दी जिल्लाको दुर्गम गाउँमा इन्टरनेटको संजाल संचालन गर्न सफल भए । त्यतिखेर गाउँमा इन्टरनेट पुग्न ज्यादै दुर्लभ थियो । यसपछि महावीर पुनको नाम स्वदेश देखि विदेशसम्म फैलियो । सरकारबाट कुनै सहयोग नलि उनले आफ्नै प्रयासमा यी काम गरेका थिए । 

उनले आफ्नो गाउँ क्षेत्रमा जेजति गरे त्यसबाट उठेर राष्ट्रको लागि आविश्कार केन्द्र संचालन गरेका छन् । जसको लागि स्वदेशदेखि बिदेशबाट निजीस्तरमा महावीर पुन लाई सहयोग प्राप्त भइरहेको छ । जसमा धेरै क्षमतावान युवाहरुले रिसर्चका काम गर्ने अवसर पाएका छन् ।

उत्पादनशील उर्जा भएका युवाहरु सबै बिदेशी ने क्रम बढेपछि यसलाई रोक्न पनि अनुसन्धान र बिकास जस्ता संस्थाको अत्यन्त महत्वपूर्ण स्थान छ । त्यो बुझ्न सक्ने क्षमता भएका सत्ताधारी नभएपछि देशले निकास पाउन सक्तैन ।  अनुसन्धान र बिकासको लागि देशको बिकास बजेटबाट १ प्रतिशत छुट्टाउन उनले सरकारका प्रधानमन्त्री, मन्त्री तथा सचिवसँग धेरै चोटि छलफल गरेको तथ्य सार्वजनिक गरे । तर कमिसनमा रत्तिएका शासक तथा प्रशासकले उनको कुरालाई गम्भिरतापूर्वक लिनु त परै जाओस् सुन्ने धैर्यता समेत राखेनन्  । महावीर पुनलाई झोल्याइ मात्र  राखेको  तथ्यले पुष्टि गरिरहेको छ  ।

बिकसित देशहरुमा अनुसन्धानको लागि ३/४ प्रतिशत सम्म बार्षिक बजेटबाट छुट्याइन्छ । त्यस्तो देशमा रोजगारी बढ्ने देखि बिभिन्न क्षेत्रमा उद्योगहरु फस्टाउन मद्दत पुगिरहेका छन् । उनले थालेको योजना कुनै नाफामुलक होइन र कुनै एउटा क्षेत्रमात्र समेटिने पनि होइन । समस्त राष्ट्रका सबै क्षेत्रलाई समेट्न सक्ने र बिभिन्न विधाका क्षमतावान व्यक्तिहरुलाई स्वइच्छा पूर्वक रिसर्च गर्ने अवसर दिइन्छ ।

कोरोनाको समयमा मास्क देखि डाक्टरले लाउने पहिरन सबै निशुल्क बनाएर सहयोग गरेका थिए । अहिले वीरगंजको कृषि औजार कारखानाका पुराना सामान मर्मत गरी त्यसलाई पुननिर्माण गरि उपयोगमा ल्याउने प्रयास भइरहेको छ । त्यस्तै गण्डकी प्रदेश सरकारको लागि कृषि तथा उद्योग लगायत बिभिन्न क्षेत्रमा प्राविधिक बिकास गरि गुणस्तरीय कृषि तथा उद्योगमा सहयोग पुर्‍याउने कार्यक्रम अघि बढाइएको छ ।

सरकारमा बसेका नेता तथा कर्मचारी मात्र इमान्दार र देशप्रति समर्पित हुने हो भने यस्ता अनुसन्धान र बिस्तार बिभिन्न प्रदेशहरुमा पनि साखा खोलेर अघि बढाउन आबश्यक छ । आज महावीर पुन एकजनाले थालेको कामले देशलाई कति लाभ पुर्‍याइरहेको छ त्यसको मुल्याङ्कन होस ।  त्यस्तै गरेर बिभिन्न बिषयमा पिएचडि गर्ने विद्वानहरुले कुनै न कुनै किसिमले अनुसन्धानमा संलग्न हुन सके देशले अरु फाइदा लिन सक्ने थियो । अहिले विद्वान भनिने डक्टर पनि सिर्फ नेताका वरीपरी र दलका झोलेमा सिमित हुनु देशको दुर्भाग्य हो ।  देश पुरा अराजकतामा भासिएको छ । कमिसन र भ्रष्टचारको दलदलमा फसिसकेको छन् । 

कुनै दिन हामी जस्तै गरिब देश कोरिया आज बिकसित भइसक्यो । मलेसिया, सिंगापुरले पनि छोटो समयमा देशको उच्च बिकास गरिसकेको छ । कुनै दिन हाम्रा बिशाल छिमेकी देशको प्रतिव्यक्ति आय हाम्रो भन्दा कमजोर थियो । आज यी दुबै देश सुपर पावर हुने दौडमा छन् । हाम्रो देशले अझैपनि क्षमतावान र इमान्दार नागरिकलाई खोजि नगर्ने मात्र होइन त्यस्ता नागरिकलाई विदेशतिर धपाउन मात्र खोज्ने प्रवृति हाबी छ । अनैतिक र भ्रष्ट सत्ताधारी उनै चाकडी बाज, नेता र  दलालको वरिपरि घुमेर देशलाई अन्धकारतर्फ धकेल्दैछन् । 

जबसम्म महावीर पुनहरूको सहि मूल्याङकन हुँदैन र उनीहरुको बिचार योजनामा देशले लगानी नगर्ने हो भने यो देश गरिब मात्र भइरहने होइन देशै नरहने संभावना रहन्छ । किनकि गरिबलाई छिमेकीले पनि सँधै दवाइ रहन्छन् ।  जब देश आर्थिक रुपमा सम्पन हुँदैन तब उनीहरुको इसारामा चल्नुको  विकल्प हुँदैन । 


हाल— अष्ट्रेलिया
२०८० माघ ३