रूपक अलङ्कार | साहित्य | माघ ६, २०८०
हराभरा भएन यो गरागरा वसुन्धरा
वियोगको विमानमा उडे बिहानका चरा
हरेक प्वाँख प्वाँखमा लिई अनेक योजना
नयाँ वसन्त ल्याउने लिएर भित्र चाहना ।
अभावको हुरी चल्यो उमङ्ग कोपिला झरे
बहार पूर्ण जिन्दगी बनेन कल्पना मरे
बिहानबाट छोपियो प्रगाढ हुस्सुले नभ
भविष्य त्रासमा पर्यो चरो उडी गयो तब ।
सिरान धापिलो भयो परेर आँसुको झरी
चरो वियोगमा पर्यो चरी वियोगमा परी
अनन्त आत्मबोधले भयो कठोर त्यो चरो
कठैबरी चरी भने भई अशान्त अध्मरो ।
सबै बगाउँला गरी चले नि आँसुको भल
मुठी कसेर थामियो चरो वियोगको पल
दिई अनन्त कामना उनेर पुष्प हार त्यो
अतृप्त वासना भने चरी थिई यतै छुट्यो ।
नयाँ वसन्त सम्झियो मिठो बहार सम्झियो
यहाँ हुँदा बगानको दसैँ तिहार सम्झियो
चरी समीप सम्झियो चिसो समीर सम्झियो
अभाव कोइला सरी कठोर पीर सम्झियो ।
लिएर चित्तमा चरी गर्यो कडा परिश्रम
भुलेन हर्ष दर्दमा कदापि प्रेम आश्रम
पिई इमानको सुधा कठोर कर्ममा जुट्यो
परन्तु स्वप्नमा भने उही बगानमा पुग्यो ।
थिए चरीहरू नयाँ थियो त्यहाँ नयाँ वन
त्यहीँ भए नि रङ्ग या उमङ्गपूर्ण जीवन
विदीर्ण चित्तमा भने वियोग अग्नि दन्दन
चरी धराप पर्दथी बरालियो भने मन ।
सहस्र दुःख कष्टका पहाड फोर्न तम्सियो
अदम्य जोसले सदा सिकारमाथि झम्टियो
अनेक पल्ट चिप्लिई लडे नि त्यो खडा भयो
बिहोसले पछारियो परन्तु होस बौरियो ।
वनै सुगन्ध छाउने त्यहाँ थिएन चन्दन
न चित्त नाच्न पाउने त्यहाँ थियो र आँगन
अभावमा जहाँ बसी कुरेर चित्तकी चरी
उहीँ पुगूँ भनी उड्यो चरो अधैर्यमा परी ।