ऋतु आशिक | साहित्य | माघ २३, २०८०
राजा वीरेन्द्र !
शान्ति क्षेत्रका प्रवर्तक
देशभक्तको प्रशान्त महासागर
तिम्रो वैभवता चुलिदै थियो ।
तिम्रो शान्ति क्षेत्रको वैभवता
झन् – झन आकाशिदै थियो ।
चारैतिर देश स्वतन्त्रताले पल्लवित हुँदै थियो ।
शत्रुहरु तिम्रै अलग बगलमा थिए ।
सेनापतिको वर्को ओढेर
तिम्रो रक्षार्थ होइन
तिमीलाई सिध्याउने रणनीतिमा
आफूलाई बोल कबोलमा
तिम्रा विवेक को लिलामी लगाइरहेको थियो ।
सैनिकको घेरा भित्र
तिम्रो समूल परिवार क्षत विक्षत पारिएको थियो ।
प्रिय राजा !
शान्तिक्षेत्र नेपाल
स्वतन्त्रता स्निगधाको प्रतीक थियौँ ।
तत्कालीन सेनाधिपति
यसबेला विदेशमा बसाइँ सरेको छ ।
आफ्ना पापहरु लुकाउन
आफू माथि बज्रिने न्यायका डण्डाहरुलाई
झुक्याउँदै फेरि पनि झुक्याउँदै
हो ! यसबेला हत्यारा विदेश पलायन भएको छ ।
दरबारको सुरक्षा घेरामा राजा मारिएका छन् ।
सैनिकहरुको घेरामा
सैनिकहरुको सुरक्षामा
राजा मारिएका छन्
सेनापति ! तिमीले आत्महत्या किन गरेनौ ?
राजा मारिदा तिमी सुरक्षित ?
यो अहम् प्रश्न तिमीसँग खोजिरहेको छु ।
तत्कालीन सेनापति !
म भन्छु
फेरि पनि भन्छु
राजा तिम्रो सुरक्षाको घेरामा मारिएको छ
तिमी दण्डको भागीदार छौं ।
म तिमी माथि वीरेन्द्र परिवारको हत्याको आरोप लगाउँछु ।
शान्तिक्षेत्रका प्रवर्तक राजा वीरेन्द्रको हत्या
हो ! सेनाको सुरक्षा घेरामा भएको छ ।
सेनापति !
म तिमीसँग राजाको हत्याको जवाफ खोजिरहेको छु ।
हो ! तिमी माथि शंकाको खबरदारीमा
राजपरिवार हत्याको उठान तिमीबाट गरिनुपर्छ
तिमीलाई पाता कसेर नेपाल फर्काइनुपर्छ ।
तिमी जिउँदै हत्याका तानाबुना
तिमीबाट बोलिनुपर्छ
सेनापति !
राजा वीरेन्द्रको परिवारको हत्याको आरोप लगाउँछु ।
तिमीलाई दण्डित गरिनुपर्छ
देशप्रति गद्दारीका लागि दण्डित गरिनुपर्छ
हो ! तिमी दण्डित हुनैपर्छ ।
२०८० माघ ८
इटहरी