लोकसंवादसँग 'फर्कलान् र ती दिनहरु' निरन्तर २०० अंकको लेखन बिट मार्ने अनुमति

फर्कलान् र ती दिनहरु-२००

लोकसंवादसँग 'फर्कलान् र ती दिनहरु' निरन्तर २०० अंकको लेखन बिट मार्ने अनुमति

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  फाल्गुन ५, २०८०

जीवनको लक्ष्य कसले निर्धारण गर्छ ? आफैँले, अभिभावकले,गुरुले, समाजले, राज्यले या कसैले ? अझ अर्को समस्या के हो भने जीवनमा लक्ष्य कसरी निर्धारण गरिन्छ ? म स्नातकोत्तर शिक्षाको पाठ्यक्रम विषयको विद्यार्थी हुँदा मेरा श्रद्धेय गुरु प्राध्यापक डाक्टर राजेन्द्रकुमार रोंगोंगले धेरै देशका पाठ्यक्रमको अध्ययन गर्न प्रोत्साहित गर्नु भएको थियो । मैले अध्ययन गरेका पाठ्यक्रमहरू मध्ये व्यावहारिक पाठ्यक्रमका रुपमा मलेसियाको विद्यालयको पाठ्यक्रम लागेको थियो । त्यसमा सुरुमै एउटा आदर्श वाक्यको रुपमा भनिएको थियो-तिमी ( सिकारु) नै तिम्रो जीवन संरचनाको अभियन्ता (भाग्य विधाता) हौ (You are the main your architect of your life) अर्थात् जो सिकारु हो, उसले आफू जीवनको कुन कुन मोडमा के बन्ने भन्ने निर्धारण गर्ने व्यक्ति स्वयं हो । 

त्यसो त यो ब्रह्माण्डमा धेरै प्रश्नहरु मात्र छन् तर उत्तर सीमित रुपमा मात्र उपलब्ध हुन्छन् । हाम्रा उपनिषद्हरुमध्ये धेरैले जीवनको रहस्यका बारेमा स्वयं पाठकलाई सोध्छन्-तिमी को हौ ? कहाँबाट आएका हौ ? अब यहाँबाट(संसारबाट विदा भएपछि ) कहाँ  जाइन्छ होला , थाहा छ ? म भन्छु मलाई त थाहा छैन । जसलाई थाहा छ भनेर हामीले मान्यौँ,उनीहरुको जीवन गति पनि त्यस्तै देखियो जस्तो कि हामी सामान्य ज्ञानका, या जीवनका रुपमा बाँच्नेमात्र काम भएकाहरुको जस्तो छ । 

मानिसहरु अनेक अनुसन्धान गरिरहेका छन् आफ्नै परिवेशको, समाजको, राष्ट्रका विभिन्न परिवेशको र भन्न थालेका छन्, मानिसमा अपरिमित ज्ञानको भण्डार छ भन्ने कुरा पनि सही होइन किनभने उसको स्मृति  पटल पनि त्यति खँदिलो हुँदैन जति मनोगत रुपमा भनिँदै आएको छ परम्परागत रुपमा । मनोवैज्ञानिक रुपमा । हिमाली नदीको ओरालो लागेको पानीको बहाव जस्तै हो आफैँ मस्तिष्कमा उब्जन्छ र एउटा समयमा आफैँ मेटिन्छ । एउटै विचार पनि सधैँ रहँदैन । उमेर अनुसार र अनुभव अनुसार विचारमा परिवर्तन आउँछ । त्यतिमात्र होइन, मन पर्ने रङ्, मानिस, चरा, दृश्य, पहाड , खाना, मनोरञ्जनका विभिन्न प्रकारमा पनि विविधीकरण हुन्छ किनभने पहिले अनुभव नै नभएको बेलामा गरिने महसुस र अनुभव प्राप्त समयमा गरिने महसुसमा पक्कै नै फरक आउने हुन्छ । 

शिक्षा प्राप्तिले, ज्ञान प्राप्तिले र अनुभव बटुलिँदा मानिसमा अनेक परिवर्तन आउँछ,  सायद मलेसियाको शिक्षाको संरचनाले त्यही कुराको संकेत गरेको थियो । अचेल म देख्छु, देशका संविधानमा सबै कुरा अटाउनु पर्छ, तत्कालै बनाउनै पर्ने एउटा कानुन बनाउन बर्सौँ लाग्छ किनभने त्यहाँ सबै अटाउनु पर्छ । मलाई सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश श्रीमान कल्याण श्रेष्ठको यो भनाई सधैँ याद आउँछ- उहाँले भन्नुहुन्थ्यो ( त्यो बेलामा संविधान सभाबाट संविधान बन्दै थियो, पहिलो संविधान सभाले संविधानका एउटा पनि धारा बनाउन नसकी, नियतवश नै संविधान सभा विघटन गरिएको थियो र पछि संविधान सभाको दोस्रो कार्यकालको निर्वाचन भएर  संविधान बन्न लाग्दै थियो ) , हामी संविधानमा धेरै मौलिक हकहरूको प्रावधान राख्दै छौँ,  संविधानमा लेखिएका मौलिक हकहरुबाट कुनै पनि सरोकारवाला नागरिकले वञ्चित हुनु परेमा उसले न्यायका लागि आउने ठाउँ भनेको सर्वोच्च अदालतमा हो । एउटा कुनै मौलिक हकको प्रावधानका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्न अर्बौ रुपैया लाग्छ , पूर्वाधार नभएको ठाउँमा कसरी मौलिक हकको प्रयोग गर्न सकिन्छ, त्यसैले धेरैवटा मौलिक हकहरुको प्रावधान राख्नुभन्दा राज्यले दिन सकिने र मानव अधिकारको उपयोग गर्न पाउने गरी सूत्रमा राखौँ । 

 त्यस बेलामा सम्माननीय न्यायमूर्तिका कुरालाई ध्यानमा राखिएको भए अहिले यतिधेरै कानुनको आवश्यकता पनि पर्ने थिएन र नेपालमा यति राम्रो मानव अधिकारको अवस्था हुँदा पनि हामी संयुक्त राष्ट्रसंघको मानव अधिकार सूचकांकमा पछि पर्नु पर्ने थिएन । यसपटक त झन्डै नेपाल प्राप्त भइरहेको क श्रेणीको मानव अधिकार भएको देशबाट ख श्रेणीमा झर्नु नपरेको । त्यसका कारणहरूमध्ये मुख्य कारण नै आवश्यक कानुनहरुको व्यवस्था गर्न नसकेको,अनि राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरुको मनोनयनको संरचनालाई संसदीय सुनुवाइबाट अनुमोदन नगराई सिधै संविधानको छिद्रबाट बनाइएको । अर्थात् संसद विघटन गर्ने तारतम्य भएपछि संवैधानिक परिषद्बाट नामावली संसदतर्फ पठाउने अनि संसद विघटन गर्ने , संविधानको छिद्रबाट पसेर ४५ दिनभित्र सुनुवाइ भएर परिणाम नआए स्वतः मनोनयन हुने भन्ने संविधानमा रहेको छ । 

शिक्षाले नागरिकहरुलाई ज्ञान दिन्छ, अधिकार र कर्तव्यप्रति सचेत गराउँछ र मैले गर्नैपर्ने कर्तव्य र मेरा अधिकारहरुको विवरण केके हुन् भन्ने  जानकारी गराउँछ । अनि आफ्नो भावी दिन कसरी तयार गर्ने भन्ने चेतनाको कुरा पनि आउने भएकाले सायद मलेसियाले त्यो प्रावधान या गुणको व्यवस्था गरेको थियो । 

त्यसो त आफ्नो मित्र पनि आफू,आफ्नो शत्रु पनि आफू, आफ्ना सबै कामहरुको सम्पूर्ण उत्तरदायित्व पनि आफ्नो भन्ने अस्तित्ववादी धाराको प्रवर्तन गर्ने, प्रबद्र्धन गर्ने र त्यसको परिणामसँग आत्मसात गर्ने  पनि शिक्षाबाट प्राप्त ज्ञानले हो , चेतनाले हो ।  

हामीले सिक्ने कुराहरु असीमित छन् । जान्नु नपर्ने पो के छ र ? नजान्न   पर्ने पो के छ र ? मानिसको जीवनमा नयाँ नयाँ घटना परिघटनाले हामीलाई छोड्दैन । झन बढी जानकारी राख्नेलाई समग्र परिणामको बारेमा बढी नै चासो हुन्छ र आवश्यकता भन्दा बढी सोच्ने गरिन्छ । हाम्रा पुराना अनुसन्धानले भन्छ, मानिस दीर्घ सूत्री हुन्छ र अनेक अनेक कल्पना गर्छ भावी समयको, परिणामको र आफैँ आफूले सोचेका कल्पनाले रमाउँछ,  खुसी हुन्छ,अनि दुखित हुन्छ । दुःखित मात्र होइन, एकपटक पाइने यो मानव चोलाबाट समेत आफूलाई सिद्याउँछ र शून्यमा विलीन हुन्छ । 

मैले धेरै दर्शनहरूको अध्ययन गरिन किनभने सबैको मूल मर्म मानिसको हित नै हुने रहेछ । अनेक दर्शनहरूको प्रादुर्भाव हुनुमा त्यो समयको गति, नियम, मानिसहरुको संस्कार, स्वार्थी पन र उदार पन सबैको मिश्रित समाजलाई सुमार्गमा लैजानु नै हुन्छ । सुमार्ग र कुमार्गको पनि एउटा झिनो अन्तर तयार गरिएको हुन्छ । जस्तो कि हाम्रो देशका अनेक संस्कार छन्, कानुनले एउटा साझा बाटो कोर्छ र नमाने कानुनबमोजिम गर्ने भनेर आदेश दिन्छ र अन्त्यमा भन्छ, माथि जेसुकै लेखिएको भए पनि चलेको चलनलाई भने यसले कुनै बन्देज लगाउने छैन । नेपाली परम्परामा यसरी देखिने कानुनी चलनमा विवाहको बारेमा लिन सकिन्छ । 

उपनिषद्हरू मध्येको  प्रश्नोपनिषद्मा ६ वटा प्रश्नहरुको उत्तर दिइएको छ-यो संसार कसले बनायो ? प्राणीहरूको जीवन धान्ने कतिवटा देवताहरू छन् र ती कुनकुन हुन् ? तीमध्ये सर्वश्रेष्ठ को हो ? प्राणीहरूको प्राण कसरी र कसले उत्पन्न गराउँछ ? गाढा निद्रामा प्राणी कसरी जीवित हुन्छ र कसरी आफूलाई आफू सचेत रहेको मान्छ ?

ओमकारको महत्व र उपासनाको परिणाम कस्तो हुन्छ ? अनि सोह्र कलाको मिश्रणले जीवन कसरी कसले चलाउँछ ? यी प्रश्नहरु सोध्ने ब्रह्मचर्या  श्रममा रहेर शिक्षा आर्जन गरिरहेका अनुसन्धाता ऋषिकुमारहरु थिए-भारद्वाज पुत्र सुकेशा, शिविकुमार  सत्यकाम, गर्ग गोत्रीय सौर्यायणी, कोसलदेश निबासी आश्वलायन, विदर्भदेशीय भार्गव र कत्यका पनाति कबन्धी । अन्त्यमा महाविद्वान पिप्पलाद् ऋषिले आफैँमा सबै कुरा छ, परमेश्वरको बास आत्मामा हुन्छ र त्यो आत्मा हामीसँगै छ । आफूसँग भएको कुरा अरुसँग खोज्दै हिँड्नु हुँदैन । आफ्नू बारेमा जान्नु नै परब्रह्म परमेश्वरका बारेमा जान्नु हो । मैले यतिमात्र भन्न  सकेँ भन्दै जीवनको रहस्य आफैँमा खोज्न प्रोत्साहित गरे । अनि ती ६जना ऋषिकुमारहरुले यसरी जीवनको रहस्य खोलेकोमा अबदेखि हाम्रो धर्म पिता गुरु नै हुनुभएका भनी नमन गरेका थिए । 

 र अन्त्यमा, मैले यो पुराना यादहरु जसलाई २०० भागसम्म लेख्दै रहेँ र केही समय सम्मलाई यो धारणालाई विराम गर्ने अठोट गरेको छु । अर्थात् आफूलाई चिन्नु छ र आफूलाई आफैँले समीक्षा गर्नुछ । पछि लेख्ने नै छु । र यक्षको युधिष्ठिरलाई सोधेको यो प्रश्न र वनबासी युधिष्ठिरले तलाउ नजिकै दिएको उत्तर सन्दर्भमा राख्दै बिट मार्ने अनुमति माग्छु । 

यक्ष सोध्छन्-हे महाराज, तिमीलाई केकुरा यो संसारमा अचम्म लाग्छ त ? अनि युधिष्ठिरले भन्छन्
अहन्यहनि भूतानि गच्छन्तीह यमालयम् । शेषास्थविरमिच्छन्ति किमाश्चर्यमतः परम् ।।

दिनहुँ मान्छे मरिरहेका छन्, बाँकी पनि मर्छन् अपरिहार्य छ । तै पनि मर्ने चिन्ता नलिई मानिस किन अनेक (खराब) कामहरु गरिरहन्छ । मलाई सबैभन्दा अचम्म लाग्ने कुरा यही हो यक्ष । 

मेरो पनि यो कुरामा सहमति छ र पनि बुझेर नबुझेर किन लोभले समाएको होला ? किन आफूलाई त्यो अचम्मसँग साक्षात्कार गर्न नसकेको होला ? 

करिब ४ वर्षसम्म मेरा व्यक्तिगत, मनोगत तथा आफ्ना अनुभव, धारणाहरू लोकस‌ंवादका पाठकहरुले पढ्नु भयो, त्यसका लागि धन्यवाद दिन चाहन्छु । मेरा भावनाहरूलाई विना सम्पादन अनलाइनमार्फत प्रकाशन-प्रसारण गरेर मेरा प्रिय भाइ  सम्पादक  भूपराज खड्काले गुण लगाउनु भएकोमा म आफूलाई धन्य सम्झन्छु । मेरो सहकार्य अन्य रचना  मार्फत् रहिरहने छ भन्ने अनुरोध गर्दछु । धन्यवाद ।