निरीह देश

निरीह देश

ऋतु आशिक  |  साहित्य  |  फाल्गुन २६, २०८०

तिम्रो ऐश्वर्य 
तिम्रो शान सौकत 
तिम्रो पाउमा जीउ हजुरीको ताती 
मार्क्सवादको झिल्केदारी 
शब्दको प्रक्षेपण गरेर 
देशप्रति घात प्रतिघातका 
नीलडाम माथि नील डाम थपेर 
आफू सर्वाङ्ग भएका छौ ।
मार्क्सवादको झिल्के रङ्गीचङ्गी फुर्का ओढेर 
तिम्रो चाटुकारिता 
माक्र्सवाद माओवादी माथि ऐठन
हो ! तिम्रो पोल खुली सकेको छ । 
तिम्रो माक्र्सवाद माथिको प्रहार 
जता–ततै छताछुल्ल भएको छ । 
तिम्रो भाग्य जस्तो माक्र्सवाद विकृति हुँदै होइन । 
माक्र्सवाद धरौट राख्ने कुकृत्य बन्द गर । 

लेण्डुप दोर्जेका खोल ओढेर 
प्रचण्ड यसबेला अल्पमतले 
बहुमतलाई कज्याएको छ । 
संसारमा कतै नभएको शासन सत्ता
प्रचण्डले खाइ पल्टेको छ । 
देशभक्तलाई हुर्मत लिइरहेको छ । 
लाज, घीन पचाएका
छिमेकीको तथास्तु जदौ ओढेर 
एमाले, काँग्रेस, राप्रपाको बुइँ चढेर 
प्रजातन्त्रको दुहाइ दिन नथाक्नेहरु 
विचरा काँग्रेसीहरु 
दश सिटेको चाकरीमा भर्ती भएका छन् । 
एमाले, काँग्रेसलाई जोती रहेको छ । 
प्रचण्डका स्वार्थहरु 
देशभरि बिस्कुन झैँ छरिएका छन् । 

कम्युनिष्टको खोल ओढेर 
देशभक्त नेपालीलाई तर्साइ रहेका छन् । 
ती तर्साइमा सिमाना पारिको आशीर्वाद ओढेर 
देशमाथि घात प्रतिघात गरेको गरै छौ । 
कुन देशको कानुनमा 
देश दश परसेन्टले शासन सम्हालेको छ ? 
नागरिक हकको खिल्ली उडाइएको छ । 
न्याय, प्रहरी, प्रशासन अदालत 
मौनता साधी रहेका हुन्छन् । 
देशलाई अस्थिरतामा घसारिँदै छ । 
देशलाई झन्–झन् घाइते बनाउदै छ । 
देशलाई झन्–झन् चहराइ रहेको छ 
देशको संवेदनशीलतामा प्रहार गरिदै छ । 
हामी मौन धारण गरिरहेको छौ । 
कतै ऐया छैन 
कतै आत्था छैन । 
हाम्रो मौनतामा देश ठिङ्ग उभिएको छ ।
देश बचाउने युद्धमा 
आऊ हामी आफूलाई सम्हाहित गरौँ 
आऊ हामी आफूलाई सम्हाहित गरौँ । 

आँपगाछी, तरहरा, इटहरी
२०८० फाल्गुण २४ बिहीबार