मेरो देश

मेरो देश

ऋतु आशिक  |  साहित्य  |  चैत्र १०, २०८०

भ्रष्टाचारीले भ्रष्टाचारीलाई चिन्छ 
देशद्रोहीले देशद्रोहीलाई चिन्छ 
शेरबहादुरले ओलीलाई चिने जस्तै त हो । 
काङ्ग्रेसले भाइ काङ्ग्रेस एमालेलाई चिने जस्तै त हो । 
काङ्ग्रेसले भाई पार्टी माओवादीलाई चिने जस्तै त हो । 
पार्टी त एउटै हो साइनबोर्ड न हो । 
सहोदर भाइले सहोदरलाई चिने जस्तै त हो । 
जनता झुक्याउने पार्टी त पसल न हो । 
पार्टी मठाधीशहरूलाई त झुक्याउने भाँडो न हो ।
देशद्रोहीहरू यसबेला विभिन्न भेषमा
आफूलाई महानता बनाउने चारो बल्झाउँदै त हो । 
दश सिटे माओवादी गठवन्धनको ठालू पल्टिन्छन् । 

सिमानापारिको आशीर्वादमा 
मैमत्ता भएको छ । 
भुइँ न भाँडामा पोखिएको छ 
माओवादी गठबन्धन 
देशप्रति घात अन्तर्घातका नमुना हुन् । 
देश सिमाना पारिको रिमोटले चलेको छ । 
एमाले र काङ्ग्रेसका भूसतिघ्रेहरू 
सिमाना पारिबाट जोतिएका छन् । 
मेरो देश यसबेला
वासिङ्टन र दिल्लीले हाँकेको छ । 
अमेरिका यसबेला
पार्टीका झोले नेताहरूलाई 
एम.सी.सी.को लाली पप बाँडेर 
देश यसबेला युद्धस्तर भएको छ । 
प्रजातन्त्रको मसिहमा आफूलाई डामेर 
मेरो देशको बहुमूल्य धातु 
डकैती शैलीमा चोरी रहेको छ । 
संयुक्त राष्ट्रसंघ यसबेला
धेरै कुरा बुझेर लाटो कोशेरो भएको छ । 
नेपाल पत्रकार महासंघ यसबेला
देशद्रोही तावेदारमा फेरिएको छ । 

प्रिय पृथ्वीनारायण !
राष्ट्रियताको बलि वेदीमा 
देशलाई उठाउनु थियो 
देश कति उठेको थियो 
यसबेला थाहा हुँदैछ 
मेरो देशको उचाइ 
यसबेला पुस्तौ /पुस्तौ पछि महसुस हुँदैछ । 
पुस्तौ पछिका हामी पुस्ताहरू 
छातीमा हाथ राखेर महसुस गर्दैछौ
पृथ्वीनारायणले सिङ्गो देश दिएका थिए 
हामीलाई अभिमान दिए 
हामीलाई राष्ट्रिय स्वतन्त्रताको सूत्र दिए 
राष्ट्रको अस्तित्व रक्षार्थ 
आफूलाई समर्पणको लागि 
विरासतको ऐश्वर्य दिए । 

प्रिय पृथ्वीनारायण ! 
हामी तिमी प्रति गर्व गर्छौ 
हामी तिमी प्रति नतमस्तक हुन्छौ 
तिमीले हामीलाई सार्वभौम सम्पन्न देश दियौं । 
मेरो मुटुमा 
मेरो दर सन्तान आउने पिँढीहरूमा 
तिम्रो राष्ट्र प्रतिको समर्पणको व्याख्या
झन्–झन् देदीप्यमान 
झन्–झन् झर्झर 
झन्–झन् मिर्मिरे उज्यालो 
झन्–झन् गाढा प्रस्फुटन 
देशभक्तिको अथाहता 
हामीलाई अभिषेक गरिरहेका हुनेछौ । 
राष्ट्र र नेपाली माझ झन्–झन् 
देदीप्यमान भएर 
हामीलाई राष्ट्रियताको ओज उमारेर 
हामी माझ झन्–झन् 
उत्प्रेरणा उमारी रहेका हुने छो । 

प्रिय पृथ्वीनारायण !
तिम्रै सुकोमल, स्वतन्त्रताका पल्वितले 
हामीलाई देशभक्तको अहम्ले उत्प्रेरित गरिरह्यो । 
हामी तिम्रै राष्ट्रियताको मझेरीमा 
सम्हाहित भएका छौ । 
सिङ्गो देश यसबेला
तिमीलाई अभिवादन गर्न लामबद्ध भएको छ । 
तिम्रो सन्मानमा
राष्ट्रिय धुनले 
तिमीलाई अभिषेक गरिरहेका छौ । 
महेन्द्रका स्वरमा स्वर मिलाएर भन्छौ 
म मरे पनि मेरो देश बाँची रहोस् । 
हो ! हामी आउँछौ/जान्छौ 
देश बाँची रहनु पर्छ 
हो ! म मरे पनि मेरो देश बाँचिरहोस् । 

आँपगाछी, तरहरा, इटहरी
२०८० चैत्र २ शुक्रबार