दोहोरो चरित्र:पछिल्लो संविधान अनुसार सांसद बन्ने ?राजतन्त्रका नाममा जनतालाई भने सास्ती !

दोहोरो चरित्र:पछिल्लो संविधान अनुसार सांसद बन्ने ?राजतन्त्रका नाममा जनतालाई भने सास्ती !

अनुसा थापा  |  दृष्टिकोण  |  चैत्र २८, २०८०

जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सोध्छन्,‘तपाईं २०७२ सालको संविधानअनुसार चुनाव लडेको हो कि होइन् ?’ नेपालको संविधान, २०७२ मा कतै राजतन्त्र उल्लेख छैन् । हिन्दू राष्ट्र पनि भनिएको छ । संविधानले त लोकतन्त्रको कुरा गरेको छ । २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा राप्रपा पनि होमिएको थियो । संविधानबमोजिम नै राप्रपाले जनतासँग भोट माग्यो । 

जनताले १४ सीट दिए । २०७९ पुस ११ गते राप्रपाबाट लिङ्देनसहित अन्य नेता मन्त्री खान पुगे । राप्रपासँग नैतिकता रहेछ त ? गम्भीर प्रश्न होइन् यो । जनतालाई कतिसम्म झुक्काउने ? कि हामी लोकतन्त्र मान्दैनौं भनेर राप्रपाका सबै सांसदले भटाभटी राजीनामा दिनुपर्यो । जनताले तिरेको करबाट तलबभत्ता खाने, सरकारी गाडी चढ्ने अनि देशमा राजा चाहियो भन्दै सीधा साधीलाई प्रहरीको लाठी खुवाउने ?

कतिसम्म सामन्ती र शोषक सोच हो यो । सांसदको लोगो कि बुझाऊ कि यो ढोंग नरच । हामी २०७२ सालको संविधान मान्दैनौं, संसदमा जाँदैनौं भनेपनि एउटा कुरा । लोकतान्त्रिक व्यवस्थामा सांसद बन्ने, मन्त्री खाने अनि सीधासाधी युवालाई सडकमा उतार्ने ? यस्तालाई जनताले कसरी पत्याउने ? राप्रपासँग के भिजन छ ? जनताले तिरेको करबाट तलबभत्ता खाने अनि सडकमा आउने । 

जनतामा भ्रम छर्नेपनि एउटा हद हुन्छ । कति सम्मचाँहि जनतालाई ‘मुर्गा’ बनाउन जानेका हुन् । जनताले तिरेको पनि खाने, पूर्व राजाबाट ल्याएर पनि खाने रणनीति हो यिनीहरुको भन्ने कसले बुझेको छैन् ? २०७० सालको निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपाले २४ सीट पायो । सदनमा चौथो दल बन्यो राप्रपा । राजाको नारा लगाउँदै हिँड्ने कमल थापाको पतन किन भयो भन्ने त सबैले छर्लङ्ग देखेका छन् । 

२०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि जति पनि सरकार गठन भयो, त्यसमा कमल थापा मन्त्री खान पुगे । केपी शर्मा ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवाकै सरकारमा उनी मन्त्री थिए । त्यही हरकताका कारण २०७४ सालको निर्वाचनमा राप्रपा एक सीटमा खुम्चियो । लिङ्देन मात्रै झापाबाट निर्वाचित भए । यस्तै चर्तिकलाले गर्दा २०८४ सालको चुनावमा राप्रपाको इतिहास नै सकिने देखिएको छ । 

जनताले राप्रपाका नेताहरुको दोहोरो चरित्र देखिसकेका छन् । राप्रपाका नेताहरुले देशमा पुनः राजतन्त्र फर्काउने भनेर पूर्वराजा ज्ञानेन्द्रबाट पैसा ल्याएर खाने गरेको आम जनताको बुझाइ छ । कमल थापाको राजनीति लगभग अन्त्यमा आइसकेको छ । उनले राजनीतिबाट सन्यास लिए हुन्छ । अब पालो लिङ्देनको हो । सीधा साधी युवालाई सडकमा ल्याउने, ट्राफिक जाम गराउने, आम जनतालाई दुःख दिने, शान्तिसुरक्षामा खलल पार्ने लिङ्देनले पहिले त आफ्नो धारणा स्पष्ट पार्नुपर्यो । 

आफू चाँहि यताबाट नि खाने, उताबाट नि खाने अनि जनताका छोराछोरीलाई सडकमा उतारेर पानीको फोहोरा, प्रहरीको लाठी खुवाउने ? जोसँग विचारधारा छैन्, सिद्धान्त छैन्, नैतिकता छैन्, उसको पछाडि दौडिनु एउटा बेवकुफी हो भन्ने कुरा जनताले पनि बुझ्नुपर्छ । यहाँ जसले पनि आफ्नो व्यक्तिगत स्वार्थ हेर्छ । जनता हिजोपनि सित्तैमा शहिद बनेका थिए, भोलि पनि सित्तैमा शहिद बन्छन् । 

पदमा पुग्नेहरूले पछि फर्किएर पनि हेर्दैनन् । यदि राप्रपाका नेताहरुसँग नैतिकता छ भने सडकबाटै सांसद पदबाट राजीनामा गर । आफ्नो फाइदाका लागि बिनासित्ती जनताको छोराछोरीलाई लाठी नखुवाऊ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तिय संस्थाका पीडितसग के गरे ? सबैले देखेकै छौं । आफ्नो अस्पताललाई अदालतले इजाजत नदिऊञ्जेल उनले पीडितहरुलाई सडकमा उतारे । 

राजाको पालामा समेत गृहमन्त्री भएका कमल थापाले जनतालाई ढ्याङ ढ्याङ् गोली हान्न लगाए । २०६२–६३ सालको १९ दिने आन्दोलनमा धेरैले ज्यान गुमाए । उनको निर्देशनले गर्दा प्रहरीले आँखा चिम्लेर गोली चलायो । नयाँ संविधान जारी भएपछि त्यही व्यक्ति तीन पटक मन्त्री भए । अनि यिनीहरुसँग नैतिकता छ ? राप्रपाले पनि अब त्यही खेल नखेले पनि हुन्छ । 

सर्वोच्च अदालतले इजाजत दिएपछि उनी गुपसुम छन् । प्रसाईंले त आफूले चाहेको कुरा पाए, उनको पछाडि दौडिनेले के पाए ? सबैले के बुझ्नुपर्छ भने अब २०४७ सालको संविधान ब्यूतिँदैन् । राप्रपाले लगाएको नारा कुनै हालतमा पनि पूरा हुने छैन् । पछिल्लो संविधानपछि मुलुकमा धेरै कानुन बनिसकेको छ । प्रदेशको स्थापना भएको छ । माओवादीले जनयुद्धको क्रममा राखेको ४१ सूत्रीय माग त पूरा गरिसकेको छ । 

काँग्रेस, एमाले, मधेशी दलसँग मिलेर हुन्छ कि घुर्काएर देशमा संविधान त आयो । संविधान बन्यो, देशमा संघीयता आयो । राप्रपाले जेसुकै गरेपनि यो व्यवस्था फेरिनेवाला छैन् । १० वर्ष जनयुद्ध गरेर ल्याएको व्यवस्था मुखले भट्याउँदैमा परिवर्तन हुन्छ ? लिङ्देनले कि हतियार उठाएर अर्को जनयुद्ध गर्न सक्नुपर्यो कि अहिलेको व्यवस्था मान्नुपर्यो । राप्रपाले कहिलेसम्म जनतालाई ढाँट्ने ? 

ढाँटेको कुरा कहिलेसम्म छोपिन्छ ? कहिले त बाहिर आइ नै हाल्छ । राप्रपाको हाल पनि  त्यस्तै हो । राप्रपा अहिले विपक्षी दलमा छ । २०७९ सालको निर्वाचनबाट काँग्रेस पहिलो र एमाले दोस्रो पार्टी बन्यो । तर, यी पार्टीले त सरकार गठन गर्न सकेनन् । ३२ सीटेले देशको ड्राइभिङ सीट हाँकिरहेको छ । त्यत्रो ठूल्ठूला पार्टीले त देशलाई निकास दिन नसकेको बेला राप्रपाले फूर्ति लगाएर हुन्छ ? 

बाहिर जतिसुकै ठूला कुरा गरेपनि प्रचण्डको सामुन्ने सबै राजनीतिक दलको चुप हुन्छन् । नेतासँग आफ्नो भिजन राख्न सक्ने आँट हुनुपर्छ । त्याग गर्न सक्नुपर्छ । यो गर्न नसक्ने व्यक्ति कहिले नेता नै बन्न सक्दैन् । जुनसुकै राजनीतिक दल होस्, तिनको सिद्धान्त आफैं खाऊँ र आफैं लाऊँ मात्र हो । ‘मुखमा रामराम, बगालीमा छुरा’ भन्ने चर्चित उखान नेपाली राजनीतिक दलका हर्कतसँग ठ्याक्कै मिल्दोजुल्दो छ । 

नाम जनताको, फाइदा सँधै आफ्नो, राजनीतिक दलको सिद्धान्त नै यही हो । हिजोकै कुरा गरौं, एक हजार मान्छे सडकमा ल्याएर संविधान खारेज हुन्छ ? अहिलेका गृहमन्त्री रवि लामिछानेलाई हेरौं । हिजो सञ्चारकर्मी हुँदा राजनीतिक दललाई बेस्सरी गाली गर्ने लामिछाने आज सञ्चारकर्मीलाई नै बेस्सरी गाली गर्छन् । यिनीहरु जता फाइदा हुन्छ, त्यतै ढल्किन्छन् भन्ने पुष्ट्याइँ हो यो । 

राजाको पालामा समेत गृहमन्त्री भएका कमल थापाले जनतालाई ढ्याङ ढ्याङ् गोली हान्न लगाए । २०६२–६३ सालको १९ दिने आन्दोलनमा धेरैले ज्यान गुमाए । उनको निर्देशनले गर्दा प्रहरीले आँखा चिम्लेर गोली चलायो । नयाँ संविधान जारी भएपछि त्यही व्यक्ति तीन पटक मन्त्री भए । अनि यिनीहरुसँग नैतिकता छ ? राप्रपाले पनि अब त्यही खेल नखेले पनि हुन्छ । 

बरु, देशको आर्थिक अवस्था नाजुक छ । सरकारी गाडी नचढ्ने, तलबभत्ता नबुझ्ने, देशविदेश नघुम्ने घोषणा गरे चाँहि जनताले अलिकति भएपनि विश्वास गर्छन् कि । नत्र यस्तो पार्टीले देश र जनताको गीत नगाएकै बेश होला । एउटा सरकारी सेवासुविधा त त्याग्न नसक्नेले देश विकास गर्छन् ? सोखमा बाँचिरहेकाहरुबाट परिवर्तन हुन्छ ? भ्रष्टाचार गर्ने बानी लागेकाले देश सुधार गर्छन् ? 

भिजन बिना जनतालाई सडकमा उतार्ने अनि मिडियाबाजी गर्ने । हामीले जनताको पक्षमा आवाज उठाथौं है भन्ने देखाउने खेल मात्र होइन् ? यिनीहरुको आन्दोलनको औचित्य के ? कि छिमेकीले लगेको नेपाली भूमि फिर्ता ल्याउन सक्नुपर्यो । कि विदेशी ऋण मिनाहा गर्नुपर्यो । आफ्नो अनुहार देखाउनका लागि जनतालाई दुःख दिन यिनीहरुलाई लाज लाग्दैन् ? यिनीहरुको कारणले हिजो जनताले एकदमै दुःख पाए ।

जनताको आवाज राख्न सदन छैन् ? सदनमा जनताको आवाज राख्न नसक्ने अनि सडकमा उत्रिएर जनतालाई दुःख दिने ? यस्ता ढोगी अनुहारहरू जनताले चिनि राख्नुपर्छ । यिनीहरु ‘फटाहा’ हुन् भन्ने छर्लङ्ग भइसकेको छ । जनताले तिरेको कर खाने पनि राजेन्द्र  लिङ्देन, जनतालाई दुःख दिने पनि राजेन्द्र  लिङ्देन  ! अब यस्तो नौटंकी बन्द गरौं । किन कि जनता आजित भइसकेका छन् । 

भक्तपुर