भ्रष्टाचार न्यूनीकरणको बाटो: सार्वजनिक रूपमा बहिष्कार एक मात्र विकल्प !

भ्रष्टाचार न्यूनीकरणको बाटो:  सार्वजनिक रूपमा बहिष्कार एक मात्र विकल्प !

ऋतु आशिक  |  दृष्टिकोण  |  बैशाख ३, २०८१

प्रगतिवादी साहित्यिक आन्दोलनका अग्रणीको भूमिका निर्वाह गर्दै आएका मोदनाथ प्रश्रित जसलाई कुनैबेला सम्मा नपूर्ण व्यवहार गरिन्थ्यो । उनको नाम आदरका साथ लिइन्थ्यो । मोदनाथ प्रश्रितद्वारा भरखरै एउटा पत्रिकामा ‘राष्ट्रघाती महारोग भ्रष्टाचार’ लेखेका छन् । त्यस लेखमा यसरी भनेका छन्, ‘अख्तियारले नेता र मन्त्रीका करोडौं भ्रष्टाचारका सबुत पेश गर्छ । अदालतले म्याद नाघेकाले खारेज भन्छ या सुनपानी छर्केर चोख्याउँछ ।’

कुनैबेला एमालेका तर्फबाट मोदनाथ प्रश्रित शिक्षामन्त्री थिए । उनको जीवन सामान्य चलिरहेको थियो । आफूले पाएको चाँदीको पुरस्कार बेचेर भाइलाई पढाएका थिए । जब उनी शिक्षामन्त्री थिए त्यसताका अधिराज्यका विभिन्न भेगमा (भवन स्कुल) निर्माण कार्य सुरु भयो । गोल्छासँग करोडौंको व्यापार भयो । करोडौंका व्यापार वापत केही लाख विचरा प्रश्रितलाई सापटी दिएछन् । सोही सापटी वापतको रकमबाट काठमाडौंमा मात्रै २ वटा 'गौँथलीका गुँड'  बनाएका रहेछन् । 

भ्रष्टाचारको थुन छेक
मेरो अग्नि पुञ्ज नामक पुस्तकको समीक्षा गर्दै पत्रकार यज्ञ शर्माले के भनेका छन् भने कम्युनिष्टको विरोध अझ कम्युनिष्टले नै गर्नु पर्ने रोग लागेको छ । कम्युनिष्ट ब्राण्डको नाममा उसले गरेका बसोवासलाई भ्रष्टाचार तथा अनैतिक क्रियाकलापलाई जब हामी लुकाउँछौ सत्यलाई उजागर गर्दैनौ भने कम्युनिष्ट हुनुको के अर्थ रह्यो ? असल कम्युनिष्ट आत्म आलोचना देखि डराउँदैन । आत्म आलोचनाले उसलाई सच्याउने मौका प्रदान गर्छ । गल्ती गरेको थाहा पाउँदा पाउँदै हामी उसको आलोचना गर्दैनौ भने त्यहाँ हामी शुभ लाभको खेतीमा संलग्न रहेको जनाउँछ । यही संलग्नतामा भ्रष्टाचार हो । यसरी भ्रष्टाचारलाई विभिन्न बहानामा थुनछेक गर्नुको अर्थ कतै दासको रुपमा स्वीकारी रहेका हुन्छौ । कम्युनिष्टले कहिले पनि आफ्नो गल्तीलाई थुनछेक ढाक छोप गर्दैन । एउटा असल कम्युनिष्ट कहिले पनि भ्रष्टाचारी हुँदैन । 

कम्बल ओढेर घिउ पिउने नेता भरतमोहन अधिकारी

भरतमोहन अधिकारीको आर्थिक हैसियत भनेको मधेलीमा डेढ विगाहा उनको भागमा परेको र वकालत गर्दा केही छिटफुट सय रुपैयाँ महिनाको, पैत्तिक सम्पत्ति घडेरी र पुरानो घर जहाँ तला थपिएको छ । वाहेक केही नभएको । पारिवारिक भरण पोषण श्रीमतीको शिक्षिका पेशाबाट ।

एमालेको नौ महिना शासनकालमा अर्थमन्त्री भए पछि करोडौंको सम्पत्ति महावीर चोक स्थित मोटरसाइकल शो रुम (एलएमएल) घर, घडेडी जोडेका छन् । त्यति मात्र होइन काठमाडौंको कलङ्की स्थित ससुरालीको नाममा राखिएको घर घडेरी जसलाई माओवादीले आक्रमण गरेर क्षति पुर्‍याउने प्रयास गरेका थिए । त्यो सम्पत्ति करोडौँ भन्दा माथिको हाराहारीमा छ । 

 'अर्थमन्त्री भएपछि घुस खानै पर्दो रहेनछ । संसदबाट बजेट प्रस्तुत गरेको पारिश्रमिक नै पाँचलाख, लौ हेर त भ्रष्टाचार पो नगर्नु त यसरी बुद्धि र विवेकको सही ठाउँमा प्रस्तुत गरेर स्वभाविक ढङ्गले भएको पैसा पनि नखाने कुरा आउँछ ?' यिनले यसै भनेका थिए । विदेशीसँग विकासको दुई पक्षीय सम्झौता गरेर प्राप्त हुने कमिशन खान एमालेले पारदर्शी बनाएर राजस्वमा दाखिला गर्नेछ भन्ने भरत मोहनले अर्थमन्त्री भएपछि आफैंले वैलेको वाणी बिर्से (राष्ट्रिय जनमन्च २०५९) । 

भ्रष्टाचारका दृश्यहरु 

 हुलास चन्द गोल्छाले विभिन्न प्रयोजनका लागि वर्किङ कार्य गर्दा नेपाल सरकारलाई तिर्न बाँकी रहेको व्याज रकम दश करोड मध्ये एक करोड घुस लिई अर्थमन्त्री भरतमोहन अधिकारीले तीन करोड मिनाहा गराई राष्ट्रको राजस्व घाटा पर्‍याएका थिए  ।

अर्थमन्त्री भरतमोहन अधिकारीले मोहन गोपाल खेतानले विदेशी मुद्रा विनियम नियम विपरीत काम गरी हङकङको इण्डोस्वेज बैंकबाट जम्मा गरेको ने.रु. १९ करोड ३९ लाख ७ हजार रकम । 

भ्रष्ट्राचारीले अर्ति दिन सुहाउँछ ?

 राजा वीरेन्द्रको हत्या पछि ज्ञानेन्द्रले आफूलाई निकै टाइफाई देखाएका थिए । आफ्नै दाजुको वंशको सर्वनाशको जिम्मेवार ठहराइरहेका छन् । भ्रष्टाचार गर्ने र हत्यारा एकै कोटिका हुन् । ज्ञानेन्द्रले मुख भरि हत्यारको  छिटा पोतेर देश दुनियाँलाई अर्ति दिइ–दिइ हिँड्थे । आखिरमा ती अर्तीलाई जनताले तिरस्कार गरे । एउटा अपराधी प्रवृत्तिप्रति आमजनताको घृणा हुन्छ । त्यो घृणालाई कसैले रोक्न सक्दैन । 

कुनै सभा समारोहमा भ्रष्टाचारीको पोल खोल्दै तिनीहरूप्रति घृणा भावबाट सबक सिक्न सबैलाई उत्प्रेरित गरिनु पर्छ । यसो गरिएको खण्डमा हामी नयाँ नेपाल निर्माणका लागि भविष्यमा भ्रष्टचार मुक्त नेपालको निर्माण गर्न गइरहेको हुनेछौ । यसमा कुनै शङ्का र दुविधा छैन ।

नेपाली काँग्रेसका विजय गच्छदार, जयप्रकाश गुप्ता, गोविन्दराज जोशी तथा नेपाल कम्युनिष्ट पार्टीका एमालेका चाहे ती भरतमोहन अधिकारी तथा मोदनाथ प्रश्रित आदि नै किन नहुन् । यी आमनेपाली जनताका हृदयमा खल पात्रको रुपमा दर्जीन पुगेका छन् । जबसम्म यी खलपात्रले आफूले भ्रष्टाचार गरेर कुम्ल्याएको सम्पत्ति सार्वजनिक गरेर सरकारमा जिम्मा लाएर आम जनता समक्ष माफी माग्दैनन् तबसम्म यी जनताका शत्रु हुन् । 

 जहाँ जुन सार्वजनिक क्षेत्रमा जान्छन् तिनीहरूसँग अकुत सम्पत्ति कहाँबाट कसरी आयो त्यो सोध्ने नैसर्गिक अधिकार जनतामा निहित छ । त्यो सोध्नुस् । तिनीहरुलाई सार्वजनिक रुपमा बहिष्कार एवम् घृणा गरिनु पर्छ । यसो गरेर भ्रष्टाचार विरोधी सँस्कृतिको थालनी किन नगर्ने ? यसो गरिनु भ्रष्टाचारको मनोवल ह्रास बनाउँदै लग्नु हो । 

निर्मल लामाको हिसाब माग आन्दोलन

कम्युनिष्ट नेता निर्मल लामा जीवनको अन्तिम पटाक्षेपतिर गइरहनु भएको अवस्थामा पनि नेपाली जनताको हितकै लागि उद्घोष गरेर जानुभयो त्यो हो हिसाब माग आन्दोलन । भर्खरै न्यायपरिषदले बाइस थान न्यायाधीश प्रति आफ्नो शङ्का उपशङ्का जाहेर गरेको छ । ती न्यायाधीशहरुको नोकरी सुरु गर्न भन्दा अगाडिको जीवन शैली र यस बेलाको जीवन शैलीमा कोसौँ टाढाको स्थितिले पनि तिनीहरुले भोगिरहेको जीवन पटक्कै मेल खाँदैन । यसैले न्यायाधीशका विवादास्पद जीवनले पीडित पक्षले कस्तो किसिमको न्याय प्राप्त गरे होलान् सहजै अनुमान गर्न सकिन्छ । 

नेपाली काङ्ग्रेसबाट राजनीति गरेका हुन् तथा वामपन्थीको नामबाट राजनीति गरेका नै किन नहुन् । भारतबाट सबै प्रशिक्षण लिने के कुरा पनि सिक्नु जरुरी छ भने भारतका प्रधानमन्त्रीका हैसियत बनाएका नरसिंह राव जसले व्यक्तिगत लाभ हानी नभइ पार्टीका लागि लिइएको चन्दाका कारण जेल चलान हुन पर्‍यो । आखिर मृत्यु जेलमै भयो । भारतका बडा बडा हस्तीहरु न्यायको चङ्गुलमा परेका छन् । 

 प्रमाणकै रुपमा एमालेका महासचिव माधवकुमार नेपालले आर्थिक श्रोतको खुलासा गर्न नसकेर श्रीमतीको माइतीबाट दाइजो ल्याएको कुरा बक–बक गर्नु पर्‍यो । यसैबाट प्रष्ट हुन्छ उनी आमजनताको लागि हुन या होइनन् । जापानमा सार्वजनिक पद ओगट्नेलाई कतै भ्रष्टचारको आरोप लागेको खण्डमा आत्महत्या गर्ने प्रचलन बढेको छ । नेपाल कम्युनिष्ट आन्दोलनलाई दिशा दिन माधव नेपालको के तागत छ ? भ्रष्टाचारी (चाहे त्यो दाइजो ग्रहण गर्नु) को अनुहार प्रष्ट देखिन्छ । 

बहालवाला प्रधानमन्त्री गिरिजा कोइरालालाई सफाइ दिए पनि त्यसको नाफा तथा बोनस सुजाताले कुम्ल्याइरहेकी छिन् । गिरिजा पुत्रीद्वारा निर्माण गरिएको मण्डिखाटारको नयाँ भवनलाई लिन सकिन्छ । यो नयाँ भवनको आर्थिक श्रोतको खुलासा भएको छैन । 

सार्वजनिक रुपमा बहिष्कार मात्र विकल्प !

भ्रष्टचार नेपाली महान चाड विजयादशमीको टीका प्रथाको अभ्युदय सँग–सँगै सुरु भएको छ । मान्यजनबाट टीका ग्रहण गरिने बेलामा आशिषको क्रममा ‘ठूलो मान्छे होवेस, प्रसस्त धन कमाएस’ बाल मस्तिष्कमा दशैंका दिनदेखि नै ठूलो मान्छे बन्ने ध्याउन्न र पैसा कसरी छिटो कमाउने भन्ने चिन्ताले घर गर्न थाल्छ । पढाइलाई भन्दा पनि विशेषतः सम्पत्ति कमाएर ठूलो मान्छे हुने सपना पालेर बसेको हुन्छ । यस किसिमका आशिषलाई तिलाञ्जलि दिएर तिनीहरुको मस्तिष्कमा जनताको भलो गर्ने तथा नयाँ खोज आविष्कार गर्ने मान्छे ठुलोको सँस्कारलाई किन मलजल नदिने ?

आफ्ना सन्तानलाई इमान्दार, परिश्रमी हुनु पर्ने तर्फ जोड दिँदै तिनीहरुको स्वाभिमान बढाउने कार्य आजैदेखि हामीले किन नगर्ने ? सबैको अगाडि शिर उँचा राख्ने कार्य गर्न प्रोत्साहित गर्दै जनता प्रतिको उत्तरदायित्व बोध बढाउँदै जाने । यस किसिमका संस्कारलाई रोप्दै जानुपर्छ । 

कुनै सभा समारोहमा भ्रष्टाचारीको पोल खोल्दै तिनीहरूप्रति घृणा भावबाट सबक सिक्न सबैलाई उत्प्रेरित गरिनु पर्छ । यसो गरिएको खण्डमा हामी नयाँ नेपाल निर्माणका लागि भविष्यमा भ्रष्टचार मुक्त नेपालको निर्माण गर्न गइरहेको हुनेछौ । यसमा कुनै शङ्का र दुविधा छैन ।

भ्रष्टाचारी प्रति माया, दया, आफ्नो पराइ छुट्याइनु हुन्न । भ्रष्टाचार देशको मूल शत्रु हो । भ्रष्टाचारका विरुद्ध हामी सबै देशभक्त नेपालीहरु एउटै कित्तामा उभिनुपर्छ । न्यू सृष्टि दैनिक ९ फाल्गुण २०७७ मा प्रकाशित यो लेख आज झनै सान्दर्भिक देखिएकाे हुँदा प्रस्तुत गरेको छु । – ऋतु आसीक, स्वतन्त्र पत्रकार