पोल्याण्डमा मृत्यु भएका राजेशको परिवारलाई एनआरएनएद्वारा १७ लाख आर्थिक सहयोग

पोल्याण्डमा मृत्यु भएका राजेशको परिवारलाई एनआरएनएद्वारा १७ लाख आर्थिक सहयोग

शेरबहादुर परियार  |  समाचार  |  बैशाख ११, २०८१

युरोप। गत फेब्रुअरी २४ तारिखका दिन पोल्याण्डमा छुरा प्रहारबाट मृत्यु भएका राजेश दाहालको परिवारलाई एनआरएनए पोल्याण्डले आर्थिक सहयोग प्रदान गरेको छ।

एनआरएन पोल्याण्डले यहाँ रहेका नेपाली समुदायलाई मृतक राजेशको शव नेपाल पठाउन तथा परिवारलाई आर्थिक सहयोगका लागी अपिल गरेको थियो।

सहयोग अभियानबाट संकलन भएको १७ लाख बढि नेपाली रूपैयाँ राजेशका बुवा तेजबहादुर खत्रीको लाजिम्पाटस्थित माछापुच्छ्रे बैंक लिमिटेडमा रहेको खातामा आज पठाइएको एनआरएनए पोल्याण्डका महासचिव पवन खड्काले जानकारी दिए।

राजेश दाहालको अस्वाभाविक मृत्युले संसारमा रहेका हामी नेपाली शोकमा रहेका छौं भने उनको परिवारको 
अबस्था कस्तो होला भन्ने अनुमान लगाउन सकिन्छ। यस्तो विषम परिस्थितिमा परिवारलाई केहि टेवा पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको उनले बताए।

एउटा नेपालीको दुःखमा अर्को नेपालीले सहयोग गर्नु पर्छ भन्ने कर्तव्य ठानेर यो आर्थिक संकलन अभियानमा सहयोग गर्ने पोल्याण्डमा रहेका सबै नेपालीलाई  महासचिव खड्काले धन्यवाद दिए।

सन् २०२३ जनवरीमा वैदेशिक रोजगारीका सिलसिलामा पोल्याण्ड आएका साकेला (१ खोटाङका २९ वर्षीय राजेश दाहालको आफ्नै जर्जियन सहकर्मीको छुरा प्रहारबाट घटनास्थलमै मृत्यु भएको थियो। उनको शव मार्च १७ मा नेपाल पुगेको र दाहसंस्कार भइसकेको छ।