राहदानी नवीकरणको टोली पोल्याण्डमा नपठाएको प्रति गुनासो

राहदानी नवीकरणको टोली पोल्याण्डमा नपठाएको प्रति गुनासो

शेरबहादुर परियार  |  समाचार  |  बैशाख १५, २०८१

 युरोप/ युरोपेली मुलुक पोल्याण्डमा रहेका नेपालीहरुको राहदानी नवीकरणको लागि आवश्यक सहयोग नभएको गुनासो आएको छ।

एनआरएनए पोल्याण्डले यहाँ रहेका नेपालीको राहदानी नविकरण प्रयोजनका लागि घुम्ती सेवा माग गरिएको तर सरोकार पक्षले ध्यान नदिएको बताइएको छ।

एनआरएनए पोल्याण्डका महासचिव पवन खड्काले एक विज्ञप्तिमार्फत यसबारे नेपाली दूतावास जर्मनी तथा वार्साका लागि नेपाली वाणिज्य दूतावासलाई जानकारी गरिए पनि आवश्यक सहयोग नभएको जानकारी गराएका छन्।

बजेट तथा कर्मचारी अभावका कारणले यो वर्ष घुम्ती आउन नसक्ने नेपाली दूतावास जर्मनीबाट जानकारी आएकोले घुम्ती शिविर यथासम्भव चाँडो पठाई दिन परराष्ट्र मन्त्रालयलाई समेत अनुरोध गरिएको छ।२६ अप्रिल सम्म राहदानी म्याद समाप्त भएका २८३ जना नेपाली एनआरएनए पोल्याण्डको सम्पर्कमा आएका विज्ञप्तिमा उल्लेख गरिएको छ।

पोल्याण्डसमेत सेवा तथा कुटनीतिक क्षेत्र पर्ने बर्लिनस्थित नेपाली दूतावासमा बिना राहदानी पोल्याण्डबाट जान नसक्ने तथा यहाँको आवसीय कार्ड लिन समेत नसक्ने हुनाले अवैधानिक भइ बस्नु पर्ने तथा विभिन्न कानुनी झन्झटको सामना गर्नु पर्ने हुन्छ।