सहकारी: उपादेयता, अपर्याप्तता र विरोधाभास

सहकारी: उपादेयता, अपर्याप्तता र विरोधाभास

लेखनाथ ढकाल  |  दृष्टिकोण  |  जेठ २६, २०७६

१. सैद्धान्तिक पक्ष र पृष्ठभूमि: 

मानवीय समाज निर्माणका लागि आर्थिक गतिविधि एकदमै महŒवपूर्ण पक्ष हो । यो हरेक पक्षमा असर पार्ने तत्वका रूपमा आर्थिक पक्ष स्थापित भएको छ । अर्थशास्त्रीले यो कुरालाई नै केन्द्रमा राखेर विभिन्न सिद्धान्त प्रतिपादन गरेका छन् । विश्वको राजनीति र शक्ति सन्तुलन आर्थिक अवस्थामा नै भर परेको देखिन्छ । यहाँसम्मकी राजनीतिक र सामाजिक सिद्धान्तसमेत आर्थिक गतिविधिसँग अन्योन्याश्रित रहेका देखिन्छन् । मानवीय चेतनाको विकास र स्तर समेत आर्थिक गतिविधिसँग जोडिएका छन् । उत्पादनका स्रोत र साधनमाथिको सम्बन्धले सामाजिक संरचनाको निर्माण गर्छ भन्ने मान्यता आमरूपमा मानिन्छ र यसको सत्यता कयौं अनुसन्धानबाट पुष्टि भएको तथ्य विश्वसामु रहेको छ । मानिसको विकासक्रममा सहकारी पद्धतिको आर्थिक तथा व्यवस्थापन सिद्धान्त एउटा महत्वपूर्ण उपलब्धीका रूपमा प्राप्त भएको छ । खासमा के हो त सहकारी ? यस विषयमा केही चिन्तन मनन गर्ने उद्देश्यले यो सामग्री तयार पारिएको हो । 

सहकारी एउटा विशिष्ठ चरित्र रहेको व्यवस्थापन पद्धति हो । यो समान स्वामित्व रहेका सदस्यको व्यवसायिक संगठन हो । यो स्वायत्त र स्वनियमनकारी व्यवसायिक संगठन हो । नागरिकले आप्mना आर्थिक–सामाजिक–सांस्कृतिक आवश्यकता पूरा गर्न सहकारी संस्थाको स्थापना गर्छन् । सामाजिक न्यायका सिद्धान्तका आधारमा उत्पादन र वितरण हुने व्यवसायिक चरित्र सहकारीको आधारभूत पहिचान मान्न सकिन्छ । सदस्य र समुदायको वास्तविक समृद्धिका लागि समुदायकै मानिसको आप्mनै स्रोत–साधन र आप्mनै पहल र उनीहरूकै नेतृत्वमा व्यवसायिक गतिविधि हुने भएकाले सहकारी मोडेलका व्यवसायलाई विविध आयामबाट उत्कृष्ट मानिएको हो । मानिसले अपनाएको आर्थिक गतिविधिलाई प्रभाव पार्ने अनेक पक्ष छन् तथापि विश्वका सबै देशमा एउटै सिद्धान्तका आधारमा सहकारी व्यवसायको व्यवस्थापन र यसको स्वामित्वसम्बन्धी एउटै विचारमा अभ्यास गरिने प्रयत्न भएको छ । यो एउटा चाखलाग्दो र सामाजिक आर्थिक क्षेत्रमा अध्ययन गर्ने सबैका लागि सान्दर्भिक विषय हो । 

प्राकृतिक स्रोतलाई मानवीय श्रम र विकास गरिएको प्रविधिको उपयोग गरेर उपभोग्य बनाइन्छ । यसमा पूँजीको आवश्यकता रहन्छ । मानिसका लागि उपयोगी वस्तु र सेवा बजारमार्फत् उपभोक्तासम्म पुर्याइन्छ । बजार, उत्पादन, वितरणको चक्रमा नै नयाँ वस्तु र सेवाको न्यूनतम मूल्यमा तयार पार्ने र बजारमा खपत गराउने प्रणालीभित्र मानिसले आप्mना गतिविधि केन्द्रित गरेको पाइन्छ । आवश्यक वस्तु र सेवाको उत्पादन, नयाँ खोज, सस्तो मूल्यमा उत्पादन आदि विषयमा लाग्नु र सफल हुनुलाई उद्यमशीलता मान्ने हो भने उद्यमशीलताको विकास खुला र स्वतन्त्र वातावरणमा सम्भव छ । निर्देशन र अरुले निर्णय गरिदिने वातावरणमा उद्यमशीलताको विकास हुँदैन, यसका लागि शिक्षा, तालिम र सूचना पर्याप्त चाहिने कुरालाई नकारेको भने होइन । अतः माथि भनिएको स्पिरिटमा सहकारीको अभ्यास गर्ने हो भने उद्यमशीलताको विकास हुने वातावरण बनाउन सहकारीको ठूलो योगदान हुन्छ । 

सहकारी गैर सरकारी क्षेत्र हो । तर, सामान्य अर्थमा सहयोगी वा कल्याणकारी उद्देश्य भएका दातृ निकाय वा अन्य निकायवाट अनुदान दिने र उनीहरूले बनाएको कार्यक्रम अनुसार चलाउनु पर्ने गतिविधि गर्ने गैरसरकारी क्षेत्रसँग सहकारीको आधारभूत चरित्र नहुन सक्छ । अर्को कुरा सहकारी क्षेत्रलाई राज्यले निर्देशित र नियन्त्रणमा राखेर यसको आधारभूत पहिचान (चरित्र) नै कायम हुन नसक्ने अवस्था रहन सक्छ । राजनीतिक र धार्मिक तथष्टता अर्को यसको चरित्र हो ।  

सहकारीसम्बन्धी आफ्नो मनमौजी व्याख्या गर्ने र नीति निर्माण गर्ने कारणबाट वास्तविक सहकारी क्षेत्रको विकास हुन कठिन भएको सबैले अनुभूत गरिरहेको विषय हो । अर्कोतिर सहकारी संघ संगठनमा सेयरको रूपमा पूँजी लगानी गर्नु र स्टक मार्केटमा सेयर किन्न बेच्न सकिने संघ संगठन (कम्पनी ऐन अनुसारका संघ संगठन) मा लगानी गर्नु उस्तै मानिने मानसिकताले पनि सहकारी क्षेत्रको आधारभूत चरित्र नै कायम हुन कठिनाइ रहेको देखिन्छ । सहकारी संघ संगठनमा लगानी गरिने पूँजीमा सीमित लाभांशको प्रावधान अनिवार्य रूपमा ऐनमा राखिएको छ । तर, व्यवहारमा त्यसलाई महत्व नदिने गरेको प्रचूर मात्रामा देखिन्छ । सहकारीमा लगानी गरिएको पूँजीमा सीमित लाभांश र कारोवारका आधारमा पनि लाभांशको प्रावधान गरिएको हुन्छ । सहकारीमा पूँजी लगानी गर्ने भनेको आफूले पनि नाफा लिने र समुदायको विकासमा पनि योगदान गर्ने भावनाले गर्ने हो । यो उच्च चेतना र सामाजिक सोच भएका मानिसको द्योतक हो, त्यसैले सहकारीका सदस्यहरूलाई समुदायमा कदर गर्ने प्रचलन विकास भएको हो । 

सहकारीको चरित्र कायम गरेर चल्ने संघ संस्थालाई राज्यले भारी सहुलियत दिएर समुदायका दर्विला व्यवसायिक संगठन बन्नै पर्ने वातावरण बनाउनु जरुरी छ । सहकारीले पूरा गर्ने आफ्नो सामजिक दायित्वलाई पूरा गर्ने वातावरण बनाएर सहकारीमा कुनै प्रकारको प्रत्यक्ष कर नलाग्ने बनाउनु पर्छ । 

रुसमा सहकारीमा सदस्यहरूलाई सुपर सिटिजन मानिन्थ्यो । यो कुरा विश्वका विभिन्न देशको इतिहासमा पनि रहेको पाइन्छ । 

सहकारीसम्बन्धी अवधारणा बनाउन केही महान व्यक्तिका विचार सान्दर्भिक हुन सक्नेछन् ः

‘सहकारी एउटा विचार हो, यसको उपयोगका हजारौं बाटो हुन सक्छन् ।’ – रविन्द्र नाथ टैगोर
 
‘सहकारी आन्दोलनको महान विश्वव्यापी महत्व रहने छ, यसलाई अझ सक्रिय र उत्साही बनाउनु पर्छ । नेतृत्व वर्गले आम जनसमुहको सहकारी आन्दोलनमा कहिलै पछाडि पर्नु हुन्न, सहकारी जनसमुदायको आन्दोलन हो यो अगाडि बढिरहन्छ । यो आन्दोलनको गतिलाई नेतृत्वले भेट्टाउन सकेन भने राज्यको गति पछाडि पर्छ ।’  –माओत्सेतुङ

‘सहकारीमा सबै बराबर हुन्छन् त्यहाँ एउटा बलियो र अर्को कमजोर हुँदैन, यो सहकारीको सुन्दरता हो ।’ –महात्मा गान्धी

सहकारीसम्बन्धी यी अभिव्यक्तिबाट सहकारीको बारेमा चिन्तन गर्न चाहनेलाई यथार्थताको मार्गनिर्देश हुन सक्ने विश्वासले यहाँ उल्लेख गर्न सान्दर्भिक ठानिएको हो

आर्थिक गतिविधि, प्रविधिको उपयोग र स्रोत साधनको उपलब्धता एवं यसको प्रयोगले मानवीय सभ्यताको निर्धारण गर्ने रहेछ । यसको अवस्थाले नै समृद्धिको अवस्था निर्धारण हुने गर्छ । यो सन्दर्भमा नेपालले आप्mनो समृद्धिको यात्रामा सहकारीलाई कसरी उपयोग गर्ने भन्ने निकै अहम सवाल मान्न सकिन्छ । सतही र बिना कुनै सोच विचार सहकारीलाई भाषण र केही समूहको उपयोगी माध्यमका रूपमा मात्र हेर्ने हो भने न सहकारीको अर्थ आउने न सहकारीको उपयोगिता नै हुने अवस्था पनि हुन नसक्ला भन्न सकिन्न । 

२.उत्पत्ति र विकासः

 सहकारी भावनाको विकास मानिसको सभ्याताको सुरुको कालदेखि नै रहेको मान्न सकिन्छ । तर, सहकारी भावनाको व्यावहारिक सिद्धान्त भने प्रतिपादन हुन नसकेको देखिन्छ । झण्डै २०० वर्षपहिले मात्र सहकारीलाई व्यावहारिक बनाउने सिद्धान्त र प्रविधिको विकास भयो । 

मालिक वर्गको चरम अत्याचार, श्रम शोषण, चर्को सामजिक विभेदको अवस्थामा बिक्रीका मालझैं मालिकको सेवामा जीवन बिताउन बाध्य हुन पर्ने अवस्थामा रहेका श्रमिकले जीवनलाई सार्थक बनाएर स्वाभिमानीपूर्वक बाँच्ने उपायको खोजी गर्ने क्रममा सहकारीको स्थापना भएको हो । श्रम सुधारक, समाज सुधारक मानवतावादीहरूको सैद्धान्तिक आदर्श र श्रमजीवीहरूको अनुभवको आधारमा सहकारी पद्धतिको विकास भएको हो । विश्वका पहिलो समाजवादी विचारक रोबर्ट ओवेन (उनलाई समाजवादका पिता पनि भनिन्छ)का अनुसार सन् १८४४ मा बेलायतका श्रमिकहरूले लामो अनुभव र लामो समयको सामूहिक छलफल चिन्तन–मननपछि विश्वमा पहिलो सहकारीको स्थापना गरेका हुन् । बेलायतमा प्रजातान्त्रिक आन्दोलन, समाज सुधारक, श्रम सुधारक र धेरै चिन्तकको विचार सहकारीको स्थापनाका लागि पृष्ठभूमि छ । विश्वका विभिन्न देशमा पनि सहकारी स्पिरिटको आधारमा विभिन्न प्रकारले गतिविधि हुने गरेको इतिहास पनि पाइन्छ । 

जर्मनीका जनप्रेमी सामाजिक अभियन्ताहरूले जनताको बैंकका रूपमा पनि सहकारीको विकासको अभ्यास गरे र यसले विकास हुँदै विश्वव्यापी बन्ने क्रम चल्यो । सहकारी प्रणालीको आर्थिक गतिविधि विश्वव्यापी बन्दै आजका दिनमा आइपुग्दा मानवले चाहेको जस्तो विकासका लागि सबैभन्दा उत्कृष्ट व्यावसायिक मोडल रहेको संयुक्त राष्ट्र संघले घोषणा गरेको छ । सहकारीको सिद्धान्तलाई समाज विकासको दर्शन भन्न थालिएको छ । 

पहिलो समाजवादी नेता र समाज सुधारक रोबर्ट ओवेनको ‘सामूहिक उत्पादन र आवश्यकताका आधारमा उपभोग’ भन्ने आदर्श विचारको व्यावहारिक उपयोग नै सहकारीको स्थापनाको पृष्ठभूमि बनेको इतिहास छ । आफू पूर्णतः सफल हुन सकेनन् । तर, ओवेनले जीवनभर आफूनो आदर्श अनुसारको समाज बनाउने प्रयत्न गरिरहे । उनले असल समुदाय बनाउन कम्युन प्रणालीको अभ्यास गरे ।   

प्रख्यात साहित्यकार रविन्द्रनाथ टैगोरका अनुसार ‘सहकारी एउटा विचार हो, यसको उपयोगका हजारौ बाटो हुन सक्छन् ।’ मानवीय गतिविधिका सबै क्षेत्रमा सहकारीको उपयोग हुने गरेको छ । प्रायः सबै धार्मिक सम्प्रदायहरूले हामी सहकारीका लागि अगुवा हौं र हाम्रो धार्मिक–सांस्कृतिक प्रचलनमा सहकारीको उत्कृष्ट उपयोग प्राचीनकालदेखि हुँदै आएको भन्ने दाबी गर्छन् । 

सबै सहकार्य सहकारी होइनन् । तर, सबै सहकारी सहकार्यका उत्कृष्ट अभ्यास हुन् । सहकारीको उत्पत्ति र विकासको इतिहासमा धेरै पहलु छन् र विविध आयामबाट यसलाई हेर्न पर्ने हुन्छ । यो एउटा बृहत् विषय हो । मानवीय विकासको दर्शनको हैसिययतमा सहकारीलाई लिन थालिएको अवस्थामा हामीहरू केवल अरुका कुरालाई गीत गाएर सहकारीको विकास गर्ने अवस्थामा रहेका छौं । अध्ययन, अनुसन्धान र आफू नै प्रकारले यसको उपयोगका लागि कार्यक्रम बनाउने प्रयत्नलाई अझ जोड गर्नु पर्ने अवस्था देखिन्छ । 

३. उपयोग र उपादेयताः

समृद्धि हासिल गर्ने देशको मूल उद्देश्य मानिएको वर्तमान अवस्थामा सहकारी प्रविधि र यसको सिद्धान्तलाई कसरी आत्मसात गर्ने भन्ने मौलिक नीति आवश्यक रहेको मान्नुपर्ने अवस्था छ । सहकारी पद्धतिको व्यवसायिक क्रियाकलापमा नागरिक आफै सक्रिय हुने, नागरिकले आप्mनै स्रोत साधन र पूँजी एकत्रित गरेर व्यवसाय गर्ने भएकाले देशको आर्थिक–सामाजिक गतिविधिमा तीव्रता आउँछ । आर्थिक र मानवीय विकासमा नागरिकको पहलबाट हुने उपलब्धीले राज्यले लिनु पर्ने ठूलो दायित्वमा सहयोग पुग्छ । आर्थिक गतिविधि समुदायमा तीव्र हुने कारणले राजश्व बढ्छ । यसकारणले सरकारले सहकारीलाई बढावा गर्न सुरक्षा, प्रोत्साहन र सहयोग गर्ने गर्छ । राज्यको भूमिका असल अभिभावकको जस्तै हुनुपर्छ । कतिपय विषयमा सहकारीसँग राज्यले साझेदारीका रूपमा काम गर्न सक्छ । सहकारी क्षेत्र राज्यका लागि भरपर्दो साझेदार हुने गर्छ । सहकारीको विकास र सुदृढीकरणका लागि राज्यले छुट, सुविधा र सहुलियत दिने गर्छ । 

सहकारीको उपयोग विकसित मानिएको अमेरिका, जापान, युरोपेली मुलुकदेखि एसिया–अफ्रिका–दक्षिण अमेरिकी मुलुक सबैमा उत्तिकै महत्वका साथ गरिएको  छ । अझ समाजवादी आर्थिक–सामाजिक प्रणाली अपनाउने देश तथा पूँजीवादी आर्थिक–सामाजिक प्रणाली अपनाउने देश एउटै सिद्धान्तमा चल्ने सहकारीको उपयोग उस्तै महत्वका साथ गरिएको छ । यसबाट भन्न सकिन्छ– विश्वमा सबैतिर उत्तिकै महत्वको रूपमा सबैले मान्ने सहकारी सिद्धान्त हो । हाम्रो देशको कुरा गर्ने हो भने पनि सबै खाले राजनीतिक पार्टीले सहकारीलाई महत्वको विषयका रूपमा नै बोल्ने गरेका छन् ।

 सहकारी समुदाय, राष्ट्र, क्षेत्रीय र विश्वव्यापी सञ्जालका रूपमा संगठित रहेको छ । विश्वमा सबैभन्दा जेठो र ठूलो विश्वव्यावी गैरसरकारी क्षेत्रको संगठन सहकारी रहेको छ ।  

४.अपर्याप्तता र विरोधाभासः

हाम्रो देशको सन्दर्भमा हेर्ने हो भने सामाजिक–आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको सहकारी क्षेत्रलाई औपचारिक शिक्षामा समावेश गरिएको छैन । प्राज्ञिकस्तरमा यसको अध्ययन–अनुसन्धान हुने गरेको ज्यादै न्यून होला । सहकारीको बारेमा सबैले आप्mनो विचार दिने गरेका छन् । तर, यसको यथार्थ र मूल मर्मको विषयमा चिन्तन मनन गर्ने र सामान्य अध्ययन गर्ने मानिस कमै छन् । सहकारीको अभ्यास पनि यसको आधारभूत चरित्रभन्दा बाहिर नै हुने गरेको अवस्था देखिन्छ । 

सहकारीलाई कुनै राजनीतिक प्रणालीको निकट वा विकट भन्ने अभिव्यक्ति जिम्मेवार व्यक्तिबाट सुनिन्छ, यो यथार्थ होइन । राज्य र राजनीतिक पार्टीहरूले सहकारीलाई नेतृत्व गर्नु पर्ने मानसिकतामा नेपालको सहकारी क्षेत्रलाई जकड्याइएको छ, यसलाई बिल्कुल गलत र विकासमा अवरोधक मान्नु पर्ने हुन्छ ।  

विकासक्रम र चेतनाको विकासका हिसावले राज्यभन्दा नागरिकहरू माथि रहन्छन् । त्यसैले सहकारीको गतिविधि चेतनशील र सभ्य नागरिकको अभियानका रूपमा विकास हुने मानिन्छ । तर, हाम्रो देशमा राज्यले सहकारी क्षेत्रलाई नियन्त्रणमा राख्ने प्रयत्न हुने गरेको देखिन्छ । अर्कोतिर सहकारी भन्दैमा र राज्यको स्रेस्तामा दर्ता हुँदैमा सहकारी मान्ने गरिएको छ । तर, सहकारी भनेको यसको व्यवसायिक चरित्रले निर्धारण गर्ने कुरा हो । 

यदि विद्यमान अवस्थामा रहेका सहकारीलाई नै वास्तविक सहकारी मान्ने हो भने नेपालमा सहकारीको वास्तविक अनुभूति नै नगरी अझै लामो समय बित्ने छ भन्नु अत्युक्ति नहोला । 

५.परिमार्जनको आवश्यकताः

 वर्तमान अवस्थाको सहकारी क्षेत्रलाई नै धरोहरका रूपमा हेर्न मिल्दैन, यसमा व्यापक सुधार र परिमार्जनको आवश्यकता छ । यसमा भएका र यसले गरेको कयौं सकारात्मक कुराहरूलाई अवमूल्यन गर्ने मनसाय होइन । तर, असल सहकारी अभ्यासको लागि केही न केही प्रभाकारी परिमार्जन आवश्यक छ भन्न खोजिएको हो । 
विद्यमान सहकारीमध्ये इच्छुक र सहकारीको पहिचानको व्यवस्थापन अपनाउन नसक्नेलाई छुट्टै वर्गका फाइनान्सियल इन्स्टिच्युसनका रूपमा अगाडि बढ्ने कानुन बनाएर राष्ट्र बैकको छाताभित्र ल्याउन सकिने छ । सहकारीको चरित्र कायम गरेर चल्ने संघ संस्थालाई राज्यले भारी सहुलियत दिएर समुदायका दर्विला व्यवसायिक संगठन बन्नै पर्ने वातावरण बनाउनु जरुरी छ । सहकारीले पूरा गर्ने आफ्नो सामजिक दायित्वलाई पूरा गर्ने वातावरण बनाएर सहकारीमा कुनै प्रकारको प्रत्यक्ष कर नलाग्ने बनाउनु पर्छ । 

औपचारिक शिक्षामा तत्कालदेखि नै सहकारी व्यवस्थापनको पढाइ जरुरी छ । सहकारी क्षेत्रलाई अनुदानमुखी गैरसरकारी क्षेत्र, निजी स्वार्थ र निजी सम्पत्तिका लागि जे पनि गर्ने प्रवृत्ति, राज्य र राजनीतिक क्षेत्रले निर्देशित गर्ने सोच आदिबाट माथि उठेर सहकारी क्षेत्रको नयाँ चरणको विकास हुनु पर्ने आवश्यकता देखिन्छ ।