कांग्रेससँग नभएका केही गुण

कांग्रेससँग नभएका केही गुण

घनेन्द्र ओझा  |  दृष्टिकोण  |  असार ५, २०७६

सात दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस नेपाली राजनीतिको अभिभावक दल हो । १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्यका लागि होस् वा ३० वर्षे निर्दलीय पंचायती व्यवस्थाको अन्त्यका लागि, हरेकजसो नेपाली राजनीतिक आन्दोलनको अग्रभागमा रहेर मुलुक र मुलुकबासीलाई लोकतान्त्रिक व्यवस्थामा लैजान सधैँ प्रयत्नशील रहेको दल पनि हो कांग्रेस । विगतमा वीपी कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्णशम्शेर, गणेशमान, कृष्णप्रसाद भट्टराईहरुले जन्माएर हुर्काएको कांग्रेसमा देश र जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्वबोध अत्यधिक थियो । आपसी मतभेद र द्वन्द्व रहिरहँदा पनि आफ्ना आदर्श र मान्यताबाट अविचलित कांग्रेस क्रमशः आदर्शबाट च्यूत हुँदै जानुको परिणाम आज देश, जनता र स्वयं कांग्रेसले भोगिरहेको यथार्थ हो ।

यस आलेखमा छोटोमा नेपाली कांग्रेससँग नभएका केही गुणबारे चर्चा गर्ने प्रयत्न गरिएको छ ।

इमान, आदर्श र सैद्धान्तिक निष्ठा

अभिभावक दल अथवा देशकै पुरानो राजनीतिक दल हुनुका अर्थमा कांग्रेससँग देश र जनताका केही अपेक्षा हुनु अन्यथा होइन । जस्तो कि ऊ आफैँले आफ्नालागि बनाएको सिद्धान्तप्रतिको निष्ठा, वैचारिक आदर्श र त्यसको इमान्दार पालना । कांग्रेसले समाजवादलाई आफ्नो लक्ष्य बनायो । वीपी कोइरालाले प्रजातान्त्रिक समाजवादको मार्ग देखाएर कांग्रेसको बाटो कोरिदिए । यद्यपि, कांग्रेसले समाजवादको समा पुग्नु त कता हो कता प्रजातन्त्रको पसमेत टेक्न सकेन । 

२००७ सालदेखि २०१५ सम्म, २०१५ देखि २०१७ सालसम्म, २०४६ यता पनि पटक पटक सत्ता सम्हालेको कांग्रेसले आफू सत्तामा रहँदा आधारभूत प्रजातान्त्रिक आचरण र व्यवहार त देखाउन सकेन नै आन्तरिक विवाद, लुछाचुँडी, लडाउने तिकडम र भ्रष्टाचारमा नै आफ्नो कार्यकाल वा सत्तावधि बितायो । यसको परिणाम वीपीले बनाइदिएको मार्ग प्रजातान्त्रिक समाजवादलाई विस्तारै कांग्रेसले बिर्संदै गयो र सत्तास्वार्थमा लिप्त नेतृत्वले आफू भलो त जगत भलोको मान्यतालाई आत्मसात् गर्दै गए । 

जसले जे गरे पनि हुने, जे भने पनि हुने, पार्टी र नेतृत्वप्रतिको सम्मान नराख्ने, गाली गलौज र तल्लो स्तरको आलोचनामा उत्रिन सक्ने कांग्रेस नेता तथा कार्यकर्ताका कारण कांग्रेस अराजक र अनुशासनहीनहरूको भीड बन्न पुगेको यथार्थ हो ।

इमान र आदर्शबाट च्यूत भइसकेपछि कुनै पनि व्यक्ति वा संस्थाको अस्तित्व बुख्याँचा बराबर हुनु अनौठो होइन । कुनै पनि व्यक्ति वा संस्थाको प्राण भनौँ वा व्यक्तित्व उसको इमान र आदर्श नै हो । कांग्रेसको हविगत विस्तारै यस्तै हुँदै गयो ।

निष्पक्षता, समानता, सकारात्मक विभेद

कुनै पनि संस्थाको जीवन्तता, गतिशीलता र निरन्तरताका लागि केही गुणहरु अतिआवश्यक हुन्छन् । मुलुकको महत्त्वपूर्ण राजनीतिक दलमा त यस्ता गुणहरुको झनै महत्त्व हुने गर्छ । आममानिसको आस्थाको केन्द्र, भरोसाको आधार र विश्वास रहने राजनीतिक दलमा पक्षपातरहित प्रणाली, समावेशी र समानतापूर्ण संगठन र सकारात्मक विभेद हुनु जरुरी हुन्छ । नेपाली कांग्रेस आफ्नो सिद्धान्त र आदर्शबाटै समानता, निष्पक्षता र समावेशिताको पक्षधर देखिन्छ । तथापि, व्यवहारमा कांग्रेसभित्र यस्तो छैन । 

कांग्रेसमा स्थापनाकालदेखि नै व्यक्ति व्यक्तिका गुट अस्तित्वमा छन् । विगतमा सहोदर दाजुभाइ वीपी र मातृकाप्रसाद अनि पछि सुवर्णशम्शेरका विभिन्न गुटहरु रहे । यसले कांग्रेसलाई कमजोर बनाउँदै राजा महेन्द्रलाई २०१७ पुस १ ल्याउन सहज बनाइदिएको थियो भने ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई टिकाइरहन पनि कांग्रेसभित्रको अन्तरद्वन्द्वले केही हदसम्म सहयोग गरेको थियो ।

कांग्रेसमा रहेको गुटबन्दीकै कारण २०४८ मा बहुमतप्राप्त सरकार ३ वर्षमै विघटित भई मध्यावधि निर्वाचनमा देश होमिन बाध्य भयो । तर परिणाम, बहुमतप्राप्त कांग्रेस दोस्रो दलमा झर्नुपरेको थियो । कांग्रेस बलियो र एकताबद्ध हुन नसक्नुको परिणाम देश सधैँ अस्थिर र अव्यवस्थित रहिरह्यो । यो क्रम आजपर्यन्त जारी छ । 

अर्थात् कांग्रेसमा पक्षपाती व्यवहार अत्यन्त धेरै छ । नेतृत्व निकटका व्यक्तिले मात्र पार्टीमा जिम्मेवारी र अवसर प्राप्त हुने, अन्यले कुनै हैसियत नपाउने विगतदेखिकै कांग्रेसभित्रको समस्या हो । दाइ, दिदी वा मामा, काका, भिनाजु, फुपाजूको नेतृत्वमा हालिमुहाली रहुन्जेल अरुले कांग्रेसमा अवसर पाउन निकै मुस्किल थियो र छ अद्यापि ।

यसरी नै समाजवादको लक्ष्य राखेको कांग्रेसभित्र समाजवादसम्म पुग्न महत्त्वपूर्ण शर्त समानता र समावेशिता देखिँदैन । आसेपासे, नातेदार र चाकरीबाजको झुण्डले घेरिएको नेतृत्वले आफ्नो पार्टीको आदर्श प्रजातन्त्र र समाजवादलाई त्यसबेला भुल्दै आएको छ, जतिबेला आमजनताले पार्टीमा नेतृत्वको अवसर पाउने समय आउँछ । बरु त्यसबेला भाइ, बहिनी, छोरी, ज्वाइँ, भान्जा, भान्जी, भतिज, भतिजी, यी नभए घरका भान्से, भँडारे वा कुचीकारसम्मलाई नेतृत्वमा ल्याउन हरदम प्रयास गरिन्छ । पिछडिएको वर्ग, सीमान्तकृत, अल्पसंख्यक, महिला, अपांग, दलित आदिको स्थान अत्यन्त न्यून मात्र रहन्छ कांग्रेसमा । सकारात्मक विभेद, जो हरेक समाजका निम्ति अत्यन्त आवश्यक हुन्छ, त्यो कांग्रेसभित्र कोरा सैद्धान्तिक गफ मात्र बन्दै आएको छ ।

अध्ययन, प्रशिक्षण र अनुशासन

समाज गतिशील छ । प्रकृति पनि एकनास छैन । सूचना प्रविधि र विज्ञानको विकास तीब्रतर रुपमा भइरहेको छ । हरेक दिनजसो दुनियाँमा नयाँनयाँ आविष्कार भइरहेका छन् । नयाँनयाँ कुराहरु आइरहेका छन् । राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा नयाँनयाँ कुराहरु विकसित भइरहेका छन् । यी कुराहरुबाट आजका मानिस, त्यसमा पनि राजनीतिकर्मी अनभिज्ञ हुनु दुर्भाग्य हो ।
नेपाली कांग्रेसका नेता र कार्यकर्तामा अध्ययनप्रतिको जाँगर पटक्कै देखिँदैन । यसका कारण प्रतिस्पर्धी राजनीतिक दल र परिवेशसँग कांग्रेसका नेता तथा कार्यकर्ता तर्क गर्न र प्रतिस्पर्धामा खरो उत्रिएर आममानिसलाई कन्भिन्स गर्न असमर्थ छन् । यति मात्र होइन, राज्य संचालनको तहमा पटकपटक पुगेको र प्रमुख प्रतिपक्ष तथा वैकल्पिक सरकारको नेतृत्वकर्ताका रुपमा समेत रहेको कांग्रेसका नेतृत्व अध्ययनमा उदासीन रहनुका कारण कुनै ठोस र गतिला नीति र कार्यक्रम ल्याउन तथा यस्ता कार्यक्रम र नीतिका लागि सरकारलाई दबाब दिनसमेत सकेको छैन कांग्रेसले ।

कांग्रेससँग नभएको अर्को गुण अनुशासन हो । व्यक्ति होस् वा संस्थामा निश्चित अनुशासन नरहेमा उक्त व्यक्ति र संस्था अराजक, अस्थिर र अनुत्तरदायी बन्छ । यसर्थ पार्टीका निश्चित मान्यता र मूल्यहरूको रक्षार्थ पनि कांग्रेस नेतृत्वमा अनुशासन जरुरी छ । जसले जे गरे पनि हुने, जे भने पनि हुने, पार्टी र नेतृत्वप्रतिको सम्मान नराख्ने, गाली गलौज र तल्लो स्तरको आलोचनामा उत्रिन सक्ने कांग्रेस नेता तथा कार्यकर्ताका कारण कांग्रेस अराजक र अनुशासनहीनहरूको भीड बन्न पुगेको यथार्थ हो ।

यस्तै, संस्था/ संगठन सञ्चालनका लागि संस्था वा संगठनका सदस्यहरू उक्त संस्था र संगठनका सिद्धान्त, नीति, मूल्य र मान्यताका बारेमा जानकार हुनु आवश्यक छ । आफ्नो संस्था वा संगठनको मार्ग के हो, दिशा कुन हो र लक्ष्य के हो भन्नेबारेमा त्यसका सदस्य वा कार्यकर्ता अनभिज्ञ रहिरहनुले कार्यकर्ता वा सदस्यले कुन बाटो हिँड्ने, के गर्ने र के नगर्ने भन्ने भेउ पाउन सक्दैनन्, जसका कारण संगठन सही दिशामा अघि बढ्न सक्दैन । नेपाली कांग्रेस पुरानो राजनीतिक दल भएर पनि यसले आमकार्यकर्ता वा यसका सदस्यलाई आफ्नो राजनीतिक सिद्धान्त, दर्शन, मूल्य र मान्यताका बारेमा प्रशिक्षित गर्न सकेको छैन । यतातिर नेतृत्वको रुचि र जाँगर पनि त्यति देखिँदैन । बरु नेतृत्व कसरी अवसर हडप्ने भन्नेमा नै बढी केन्द्रित रहेको पाइन्छ ।

एजेण्डा निर्धारण र विमर्श

कांग्रेसमा नभएको अर्को कुरा तात्कालीन र दीर्घकालीन एजेण्डा निर्धारण गर्न नसक्नु हो । साथै समकालीन आवश्यकता र विषयहरूमा गम्भीर विमर्शको आवश्यकता पनि कांग्रेसले महसुस गरेको पाइँदैन । 

पछिल्लो समय त कांग्रेससँग कुनै पनि गतिला र आमचासोका एजेण्डा देखिँदैन । ‘लोकतान्त्रिक अभ्यास’का नाममा गलत एजेण्डाको उठान र रटान अनि गलत अभ्यासबाट ‘आन्दोलन’ कांग्रेसका लागि प्रत्युत्पादक मात्र बनिरहेका छन् । पछिल्ला डा. गोविन्द केसीदेखि यताका हरेकजसो सरकारविरोधी एजेण्डामा कांग्रेस छिरिरहेको छ तर यसको सधैँ सकारात्मक प्रभाव मात्र परिरहेको छैन । कुन एजेण्डा सही हो यो समयमा र कुन एजेण्डा तात्कालिक मात्र हो भन्ने छुट्याउन कांग्रेसलाई सहज भएजस्तो लाग्दैन ।

भर्खरै पनि केही दिनअघि कांग्रेसले प्रधानमन्त्रीलाई संसदमा बोल्नबाट अवरोध गर्‍यो र पत्रकार सम्मेलनमार्फत् बहुआलोचित गुठी विधेयक फिर्ता लिएको घोषणा गर्न बाध्य भयो सरकार । 

संसदीय व्यवस्थामा संसद प्रतिपक्षको हो भन्ने मान्यता स्थापित छ । पहिला प्रतिपक्षले बोल्ने (सवाल राख्ने) अभ्यास अन्यथा होइन, यद्यपि, सार्वजनिक महत्त्वका विषयमा प्रधानमन्त्रीले बोल्न चाहेमा प्रधानमन्त्रीलाई पहिला बोल्न दिइने अभ्यास पनि लोकतान्त्रिक अभ्यास नै हो भन्ने कांग्रेसले बुझेको रहेनछ । यसै कारण गलत अभ्यासको सिकार संसद बन्न पुग्यो ।

कांग्रेसले गम्भीर राष्ट्रिय मुद्दाहरूमा बहस, छलफल र विमर्श गर्ने जाँगर पनि देखाउन सकेको छैन । केही कोटरीका मानिसका विश्वासमा गरिने कतिपय निर्णय राष्ट्र, जनता र स्वयं पार्टीका लागि पनि घातक हुने कुरामा कांग्रेस कहिल्यै सचेत भएन । 

त्यसो त पाटीभित्रकै केही महत्त्वपूर्ण नीति र कार्यहरूका बारेमा पनि गम्भीर र खुला विमर्श गर्न कांग्रेस नेतृत्व सधैँ डराउँछ । यसो गरेमा पार्टी–सत्ता गुम्ने त्रासमा कांग्रेस नेतृत्व सधैँ रहेको हुन्छ । तर यसले न त कांग्रेस पार्टी स्वयम्लाई अथवा यसका नेतृत्वलाई नै हित छ । बरु खुला र गम्भीर विमर्शले पार्टी र नेतृत्वलाई सही मार्गमा लैजान सक्छ ।