लोकसंवाद टिप्पणीः सलामी कि इज्जतको लिलामी ?

लोकसंवाद टिप्पणीः सलामी कि इज्जतको लिलामी ?

आशिष पौडेल  |  समाचार  |  असार ११, २०७६

सामान्यतया सलामीलाई सम्मानको रूपमा लिने गरिन्छ । तोपको सलामीलाई देशको उच्च सम्मान मानिन्छ । सलामीले सलामी ग्रहण गर्ने व्यक्ति सलामीको हकदार तथा विशिष्ट व्यक्तित्व हो भन्ने परिचय गराउन मद्दत गर्छ ।

वास्तवमा सलामीको प्रचलन व्यक्तिको क्षमता तथा प्रतिभाका कारण उसले प्राप्त गरेको उच्च पदको सम्मानका खातिर सुरु भएको हुनुपर्छ । तर, हालै नेपालमा देखिएको टेबुल र पिर्कामा बसेर सलामी लिएको दृष्य देख्दा भने जनतालाई कुरीकुरी लाग्ने खालको छ ।

स्पष्ट कार्यनीति, व्यवस्था र व्याख्या नहुँदा सलामी दिने संस्था, सलामी ग्रहण गर्ने व्यक्ति तथा अन्य सरोकारवाला निकाय पनि आलोचित भइरहेका छन्, जुन राम्रो कुरा होइन । यसले समाजमा सकारात्मक सन्देश प्रवाहित गर्दैन । 

नेपालमा सलामीको इतिहास हेर्दा यसलाई चन्द्रशम्शेरले चलाएको भन्ने पाइन्छ । उनले राजाका लागि ३१ तोपको सलामी र अन्यका लागि २१ तोपको सलामीको व्यवस्था गरेका थिए । 

सलामीको सन्र्दभमा विश्व इतिहास केलाउने हो भने १४ औं शताब्दीमा यसको प्रारम्भ भएको मानिन्छ । बेलायतको सम्राटलाई सबैभन्दा धेरै १०१ तोपको सलामी दिने प्रचलन छ । तर, वर्तमान विश्वमा भने २१ तोपको सलामीलाई उत्कृष्ट सलामी मानिन्छ ।  

नेपालमा घण्टाघरले दिउँसो १२ बजे घडीमा ट्याङ्ग हान्दा टुँडिखेलमा तोप पड्काउने व्यवस्था थियो । तर, पछि यसलाई खारेज गरियो ।  

सरकारले २०६६ चैत ४ गते तय गरेको मापदण्ड अनुसार राष्ट्रपतिको निधन भएको खण्डमा, शव उठाउँदा र अन्तिम संस्कारको समयमा २१ तोपको सलामी दिने प्रावधानको व्यवस्था गरेको छ ।

त्यस्तै, बहालवाला राष्ट्रपतिको निधन भएका खण्डमा नेपाली सेनाका तीन गुल्म, नेपाल प्रहरीका एक गुल्म र सशस्त्र प्रहरी बलका एक गुल्मले स्कर्ट गर्ने व्यवस्था छ । 

मापदण्डले पूर्व राष्ट्रपतिको निधनमा १५ तोप तथा उपराष्ट्रपति र २०४७ वैशाखपछिका पूर्वप्रधानमन्त्रीलाई १३ तोपको सलामी दिने व्यवस्था गरेको छ ।

पूर्वराष्ट्रपतिलाई अन्तिम संस्कारको समयमा सेनाको एक गुल्म र नेपाली सेनाका सेनानी (स्कर्टपति) ले गार्ड सलामी अर्पण गर्छन् ।

पूर्वउपराष्ट्रपति र पूर्वप्रधानमन्त्रीको अन्तिम संस्कारमा एक सेनाप्रमुख, स्कर्टपति  (उपसेनानी वा सहायक सेनानी) ले गार्ड सलामी दिने व्यवस्था छ ।

२०४७ वैशाख १ पछिका मन्त्रीको अन्तिम संस्कारको समयमा एक सेक्सन र स्कर्टपति (सशस्त्र प्रहरी बलका नायब निरीक्षक वा सहायक निरीक्षक र पूर्वमुख्यसचिव, गृहसचिव र रक्षासचिवलाई एक सेक्सन र प्रहरी सहायक निरीक्षक)ले गार्ड सलामी दिने चलन छ ।

बहालवाला उपराष्ट्रपति र प्रधानमन्त्रीलाई १९ तथा प्रधानन्यायाधीश र व्यवस्थापिका संसद्का सभामुखको शव उठाउँदा र अन्तिम संस्कारको समयमा १७ तोपको सलामी दिने प्रावधान छ ।

हाल स्थानीय तहमा देखिएको सलामीको जुन रमाइलो छ, त्यसतर्फ नियाल्दै जाँदा भने प्रहरीको समारोह व्यवस्थापन निर्देशिकामा स्थानीय तहका पदाधिकारीलाई सलामी दिने कुनै प्रावधान उल्लेख गरिएको छैन ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रहरी महानिरीक्षक, गृहसचिव, क्षेत्रीय प्रशासक, प्रमुख जिल्ला अधिकारी र न्यायाधीशलाई औपचारिक कार्यक्रममा सलामी दिइने उल्लेख गरिएको छ । त्यस्तै राजदूतलाई औपचारिक कार्यक्रममा महामहिम सलामी दिने प्रचलन छ ।

सामान्यतया प्रहरी कार्यालयको औपचारिक भ्रमणमा वा अनुगमनका क्रममा वरिष्ठ प्रहरी अधिकारीलाई सलामी दिने प्रचलन छ ।

निर्देशिका नहुँदा कतै पिर्का, कतै टेबलमा सलामी दिने जुन प्रचलन देखिएको छ, त्यसले मनोरञ्जन प्रदान गरिरहेको छ । यसले जनतामा एक प्रकारको नकारात्मक सन्देश पनि प्रवाहित गरिरहेको छ । आखिर ‘सबै उस्तै, सबै खत्तम’ भन्ने चिरपरिचित हाम्रो भनाइलाई यसले बल प्रदान गरिरहेको छ ।  

हामीकहाँ अध्ययनको कमी छ । यसरी भन्दा यसलाई अलि बढी फराकिलो दायरामा बुझिएला । तर, जनप्रतिनिधिले आफूलाई आवश्यक पर्ने कानुन, नियम, प्रावधान र केही नभए प्रचलनका बारेमा केही त अध्ययन गरेकै हुनुपर्छ ।

संसारमा केही पनि जन्मँदै आमाको कोखबाट पूर्ण भएर आएको हुँदैन । आफूले नजानेका विषयमा जान्ने अर्कोसँग सोध्न नहुने भन्ने होइन । नजानेका विषयमा जान्दिनँ भन्न केको लाज ?

तर, अहिलेका जनप्रतिनिधिलाई शंकाको सुविधा दिन सकिन्छ । तर, कानुन, नियम, नियमावली निर्माण गर्ने निदाइरहने अनि दोष जनप्रतिनिधिका टाउकामा हालिरहने हो भने यसले समस्या समाधान भन्दा पनि दोषारोपणको हाम्रो प्रवृत्तिलाई मलजल गर्ने मात्र हो ।

कुनै समय सिंहदरबार अगाडिको वाणिज्य बैंकको डिजाइन बाबुरामले गरेको भन्ने व्यापक चर्चा थियो । तर, मिडियाले यो प्रश्न बाबुरामलाई राखेपछि यो मैले डिजाइन गरेको होइन भन्ने उत्तर दिए उनले । त्यसो भए यो विषयमा किन स्पष्ट नगरेको भन्दा उनले यसले कसैलाई हानी गर्ने होइन, किन स्पष्ट गरिरहनु प¥यो र भन्ने जवाफ दिए । कतै यो प्रचलन हाम्रा अहिलेका स्थानीय नेता तथा उच्च पदस्थले पनि सलामीले कसैलाई हानी गर्ने होइन, चाहे त्यो पिर्कामा बसेर लिउँ वा टेबुलमा भन्ने बुझाइराखेका त होइनन् । आशा गरौं– उनका त्यस्तो बुझाइ नहोस् र हामीकहाँ रहेको संस्कार र संस्कृतिजन्य परम्परालाई अग्रजले नपछ्याएका कारण हामीले पनि आफ्नो इमान, नैतिकताको ख्याल राख्नु पर्दैन भन्ने बुझाइ किमार्थ समाजमा प्रवाहित नहोस् । 

टेबुलमाथि चढेर सलामी खानेमध्येका एक धनकुटा महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालको असन्तुष्टि छ, ‘सांसद्ले सलामी खाएकै छन्, अरू मेयरले पनि खाएका छन्, मेरो मात्रै आलोचना किन ?’ यहीँबाट स्पष्ट देख्न सकिन्छ हाम्रो नैतिकताको ह्रास र हामीमा पद तथा प्रतिष्ठाप्रतिको लोभ । यो भनाइले के पनि पुष्टि गर्छ भने यो फगत लोभ मात्र होइन, यो त केन्द्रमा रहेका राजनीतिज्ञ तथा उनीहरूले पाउने गरेको मान, सम्मान र प्रतिष्ठाप्रतिको कुण्ठा पनि हो ।

आखिर कुण्ठा प्रकट गर्ने एउटा माध्यमको रूपमा र हामी पनि केही हौं भन्ने तुष्टि साँध्ने मौकाका रूपमा स्थानीय नेताले यस्तो हर्कत गरेका त होइनन् भन्ने प्रश्न उब्जिन्छ । यदि साँच्चै यस्तो हो भने यसलाई ‘बूढी मरीभन्दा पनि काल पल्कनु’लाई चाहिँ खतरनाक परिदृष्यको रूपमा हामीले बुझ्नु पर्छ । यसलाई यो सामान्य हो र यसले केही फरक पर्दैन भन्ने रूपमा बुझियो भने यसले कालान्तरमा समस्या सृजना गर्छ ।

यसलाई कसैको हुर्मत लिने वा मानमर्दन गर्ने ढंगले उछालियो भने यसले समस्या समाधानतिर भन्दा पनि जटिलतातिर जाने खतरा रहन्छ । यसकारण यसलाई केन्द्र र अन्य सम्बन्धित निकाय बसेर नियम कानुनमा भएका प्रावधानमा संशोधन गर्नुपर्ने वा नयाँ निर्माण गर्नुपर्ने के हो निक्र्यौल गरी कसैको आत्मसम्मानमा चोट नपुग्ने गरी हल गरेको खण्डमा आगामी दिनका लागि पनि नजिर बन्ने एउटा सुनौलो अवसर हुनेछ ।