मेटाफर्स अफ रिभोलुसन

मेटाफर्स अफ रिभोलुसन
माओत्सेतुङ र अल्बर्ट आइन्सटाइन ।

लेखनाथ ढकाल  |  दृष्टिकोण  |  माघ ८, २०७५

आइन्सटाइनले शास्त्रीय दर्शनलाई आधुनिक युगमा फड्को मार्न र माओत्सेतुङले माक्र्सवादलाई आधुनिक चरणमा विकास गर्न योगदान दिनुभएको पुस्तकमा चर्चा गरिएको छ । त्यसकारण प्रो. फ्रेडमनले उहाँहरूको योगदानलाई पुस्तकमा ‘मेटाफर्स अफ रिभोलुसन’ भन्नुभएको हुनसक्छ । 

एक जमानामा माओत्सेतुङलाई हिटलरभन्दा क्रुर र तानाशाह ठान्ने पश्चिमा बौद्धिकहरू उहाँको बारेमा जानकारी पाएपछि कुशल नेता र बौद्धिक उच्चता भएका दार्शनिक मान्न थाल्नुभयो । उहाँहरूले माओत्सेतुङलाई कुशल क्रान्तिकारी राजनीतिक नेता मात्र नभएर बीसौं सताब्दीका दार्शनिक मान्न थाल्नुभयो । खासगरी सन् १९६० पछि चिनियाँ क्रान्ति र माओत्सेतुङका सिद्धान्तहरूको बारेमा अध्ययन गर्न पश्चिमा प्राज्ञहरूले प्रारम्भ गर्नुभयो । त्यतिबेला राजनीति, अर्थशास्त्र र सामाजिक परिवर्तनबारे पुस्तक लेख्न चाहने सोधकर्ताहरूका लागि चीन, माओत्सेतुङ र उनको नेतृत्वमा भएको चीनको परिवर्तन विषय जल्दोबल्दो थियो । 
विस्कन्सिन मेडिसन विश्वविद्यालयका राजनीति शास्त्रका प्रोफेसर एडवार्ड फ्रेडमेनले ‘आइन्स्टाइन र माओ : मेटाफर्स अफ रिभोलुसन’ पुस्तकमा माओत्सेतुङको बौद्धिक उच्चता क्रान्तिको समयमा नै पश्चिमा दार्शनिकभन्दा माथि रहेको उल्लेख गर्नुभएको छ । क्रान्तिपछिको समयमा समाज, राज्यसत्ता र यसको गति तथा समाजको रूपान्तरणको विषयमा माओले गरेका सैद्धान्तिकीकरणलाई प्रो. फ्रेडमेन समकालीन मानव ज्ञानको उचाइमा रहेको विश्लेषण गर्नुहुन्छ । उच्च गणितीय सिद्धान्तका ज्ञानको आधारमा जीवन, जगत, प्रकृति र मानव समाजको विकासलाई व्याख्या विश्लेषण गर्ने माओत्सेतुङलाई बीसौं सताब्दीको दार्शनिक समेत रहेको कुरा पुस्तकमा उल्लेख छ । माओको सिद्धान्तले आइन्सटानियन सिद्धान्तलाई आत्मसात गरेको उहाँले पुस्तकमा उल्लेख गर्नुभएको छ । मानव ज्ञानको आधुनिक दर्शनलाई आत्मसात गरिएका माओत्सेतुङका विचारका कारणले नै चिनियाँ समाजलाई रूपान्तरण गर्न सम्भव भएको लेखकले विश्लेषण गर्नुभएको छ । माक्र्सवाद र लेनिनवादलाई सामाजिक क्रान्तिका सिद्धान्तको रूपमा माओत्सेतुङले अंगिकार गर्दा जुन दार्शनिक फ्रेमको उपयोग गर्नुभयो, आइन्सटाइनले शास्त्रीय ज्ञानको युगलाई सोही आधारमा टेकेर मानव ज्ञानको आधुनिक आइन्सटानियन युगमा पुर्याउनुभयो । दुवैले अपनाएको दार्शनिक फ्रेमका आधारभूत विषय समान रहेको कुरा प्रो. फ्रेडमेनले आफ्नो पुस्तकमा व्याख्यासहित प्रस्तुत गर्नुभएको छ । 
समय श्रेणीको कुरा गर्दा सन् १९२६ पहिलेको मानव ज्ञान समय निरपेक्ष मानिएको सिद्धान्तमा आधारित थियो । यो युगलाई शास्त्रीय दर्शनको युग वा न्युटोनियन युग मानिन्छ । यसपछिको युग समय निरपेक्ष नरहेको सिद्धान्तमा आधारित आधुनिक ज्ञानको युग वा आइन्सटानियन युग भनिन्छ । मानव ज्ञानको विकासको चरणमा समय निरपेक्ष मानिएको अवस्थालाई समय पनि सापेक्ष हुने सिद्धान्तको युगमा पुग्ने कुरा एउटा क्रान्तिकारी फड्को थियो । मानव ज्ञानको विकासमा यो क्रान्तिकारी फड्कोका लागि स्वयं न्युटनको योगदान, लरेञ्ज, म्याक्सवेल, रदरफोर्ड, निल्सबोर लगायतका दर्जनौं विद्वान तथा दार्शनिकहरूको योगदानको आधारमा अल्बर्ट आइन्स्टाइनले योगदान गर्नुभएको हो । 
यसरी नै माओत्सेतुङको अगुवाई र नेतृत्वमा पशुपालन र पुरानो कृषि युगको चिनियाँ समाजलाई आाधुनिक समाजवादी युगमा बदल्ने क्रान्तिकारी रूपान्तरण गर्न सकियो । माओत्सेतुङ र आइन्स्टाइन क्रान्तिका उस्तै उस्तै नायक मात्र नभएर ज्ञानको एउटै दार्शनिक आधारलाई दुवैले अपनाएको कुरा प्रो. एडवार्ड फ्रेडमेनको पुस्तकको मूल विषयवस्तु हो । 
सन् १९५५ पछिको समयमा माओत्सेतुङले आफ्नो चिनियाँ पृष्ठभूमिमा गरिएको भीमकाय राजनीतिक, सामाजिक, आर्थिक क्रान्तिका घटनाहरूको व्याख्या र पुष्टि गर्न नयाँ दार्शनिक अवधारणाको विकास गर्नुभयो । खासगरी प्रकृति विज्ञानका अगुवाहरू र प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको योगदानबाट विकास भएको दार्शनिक पद्धतिको आधार लिनुभयो । विगतका घटनाको विश्लेषण गर्दै खासगरी घटनाका पृष्ठभूमि, महत्व र त्यसको सत्यताको विषयमा माओत्सेतुङले आइन्सटानियन दर्शन र त्यसको आशावादी भविष्यको सिद्धान्तलाई अध्ययन गर्नुभयो । यस अवधिमा स्वयं अल्बर्ट आइन्स्टाइनले दुई पटक चीनको भ्रमण गर्नुभयो । यस समयमा एउटा लोकप्रिय नारा स्थापित गरियो । त्यो थियो– जनवाद र विज्ञान । त्यस समयमा लेनिनको क्रान्तिकारी जनवाद र आइन्सटाइनको क्रान्तिकारी विज्ञानको बारेमा खुब चर्चा गरियो । विश्वका अरू देशभन्दा फरक भविष्यप्रति अत्यन्त आशावादी चिनियाँहरूको आफ्नै क्रान्तिकारी पहिचान रहेको सामाजिक व्यवस्थालाई आइन्सटाइनवादी दर्शनमा आधारित सामाजिक सिद्धान्तको आधारमा अगाडि बढाइने भनियो । चिनियाँ समाज नयाँ दर्शन र सिद्धान्तलाई आधार बनाएर अघि बढ्दै गरेको पश्चिमा देशका समाजभन्दा भिन्न थियो । पश्चिमाहरूको साँस्कृतिक सोचभन्दा भिन्न धरातलमा चिनियाँ समाज विकास भइरहेको थियो । पश्चिमा समाज न्युटोनियन दर्शनको विकसित रूपको शास्त्रीय भौतिकशास्त्रको छोटकरी अभिव्यक्ति आइन्सटानियन दर्शनलाई मान्थे । आइन्सटानियनवादलाई ज्ञानको निराशावादी सीमामा केही थप कुरा रहेको भन्ने गरिएको अवस्था थियो । आइन्सटानियनवादमा सबै कुराहरू सामान्य, बोधगम्य र केही कुरा स्पष्ट हुन बाँकी रहेको मानिएको थियो । यस अवस्थाको दार्शनिक ज्ञानको तहमा पश्चिमा समाज रहेको थियो । चीनमा माओवादी साँस्कृतिक समाजका आयाम र दृष्टिकोणहरू तथा पश्चिमा समाजको साँस्कृतिक आयामहरूलाई आइन्सटाइनियनवादको क्रान्तिकारी ज्ञानको आधारमा स्पष्ट देखिने भिन्नताहरूलाई विभिन्न पक्षबाट विश्लेषण गर्न सकिन्थ्यो । विज्ञानको इतिहासमा अल्बर्ट आइन्स्टाइनलाई महान शास्त्रीय भौतिकशास्त्री मान्ने कुरामा सर्वसम्मति थियो भने नयाँ अवधारणाका मान्यता जस्तै, ‘कारण र प्रभावको सिद्धान्त’, ‘सम्पूर्णता थाहा नपाएको तथ्यहरू’, ‘सम्भाव्यता’ आदि विषयमा सबैको सर्वसम्मत अवधारणा बनिसकेको छ भन्ने मानिएको थिएन । निल्स बोरको परमाणु सिद्धान्त र हाइजेनवर्गको अनिश्चितताको सिद्धान्तले न्युटोनियन मेकानिक्सका भेउ पाउन नसकिएका समस्याहरूलाई उजागर गर्न महत्वपूर्ण योगदान पु¥याएका थिए । ज्ञानको यही अवस्थालाई आधुनिक भौतिकशास्त्र मानिएको थियो । दार्शनिक ज्ञान र यसको सिद्धान्तमा यो अवस्था रहेको भए तापनि पश्चिमा देशहरू जस्तै चीनमा पनि आइन्सटानियनलाई आधुनिक भौतिक शास्त्रको छोटकरी अभिव्यक्ति रहेको विश्वास लिइन्थ्यो । 
सन् १९४९ पहिले माओत्सेतुङका समीक्षामा निल्सवोर र हाइजेनवर्गका सिद्धान्तहरू त्यति महत्वका विषय नरहेको अवस्था थियो । निल्सवोर र हाइजेनवर्गका सिद्धान्तहरूलाई अमूर्त रहेको ठान्ने गरिएको पाइन्छ । माओत्सेतुङका विगतका कुराहरूलाई स्मरण गर्ने हो र तिनीहरूलाई सत्य मान्ने हो भने माओको माक्र्सवाद र उनको क्रान्तिकारी सिद्धान्त सही थियो । किनकी यी सिद्धान्त आइन्सटानियन सिद्धान्तको ज्ञानमा आधारित थिए । माओले राम्रोसँग बुझेका र व्याख्या गरेका सिद्धान्तहरू, चेतना र क्रान्तिको विकासका चरणहरू, नयाँ प्रयोग र त्यसमा उभिएर अझ नयाँ प्रयोगमा जान सकिने सिद्धान्तमा आधारित भएर अंगिकार गरिएका छन् । 
यसरी प्रोफेसर फ्रेडमेनले चिनिया समाज, क्रान्ति र क्रान्तिका सिद्धान्तलाई माओत्सेतुङले आधुनिक दर्शनका सिद्धान्तबाट प्राप्त ज्ञानको आधारमा विकसित भएको सापेक्षतावादको सिद्धान्त जसलाई आइन्स्टाइनियनवाद भनिएको हो, त्यसै तहको दर्शनका आधारमा क्रान्तिको सिद्धान्त अपनाएको कुरा आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । पहिले प्राप्त तथ्यहरुबाट नै नयाँ कुरा प्राप्त हुने सिद्धान्तका आधारमा क्रान्तिका विभिन्न चरणहरू, परिवर्तनकारी घटनाहरूको विकास हुने कुरालाई दुवै महान योगदानकर्ताको एउटै तरिका रहेको लेखकको विश्लेषण रहेको छ पुस्तकमा । 
मानव ज्ञानको विकासमा आइन्स्टानियन चरणभन्दा पहिलेको इतिहासमा समय(काल)को चरित्र जानकारीमा थिएन, काललाई निरपेक्ष मानिएको थियो । तर, यथार्थमा काल निरपेक्ष चरित्रको रहेनछ । समयको रहस्य थाहा नभएको अवस्थालाई न्युटोनियन युग भनिएको र कालको यथार्थताको जानकारी भएपछिको समयलाई आइन्सटानियन युग भनिएको हो । तर, समयको रहस्य थाहा पाइसकेपछि आइन्सटाइनले शास्त्रीय दर्शनलाई आधुनिक युगमा फड्को मार्न र माओत्सेतुङले माक्र्सवादलाई आधुनिक चरणमा विकास गर्न योगदान दिनुभएको पुस्तकमा चर्चा गरिएको छ । त्यसकारण प्रो. फ्रेडमनले उहाँहरूको योगदानलाई पुस्तकमा ‘मेटाफर्स अफ रिभोलुसन’ भन्नुभएको हुनसक्छ । 
 

स्रोत सामग्री : एडवार्ड फ्रेडमेनले ‘आइन्स्टाइन र माओ : मेटाफर्स अफ रिभोलुसन’ क्याम्ब्रिज युनिभर्सिटी प्रेस, १९८३ 

academicktm@gmail.com