सम्झौता

कथा

सम्झौता

डा.भोजराज घिमिरे  |  साहित्य  |  असार २८, २०७६

अपरेसन थिएटरको बाहिरको बेञ्चमा बसेर ढोकातिर एक टक हेरिरहेको मेरो ध्यान डाक्टरले ‘विद्वतजी, छोराको बाबु हुनुभएकामा बधाई छ । अपरेसन सफल भयो, आमाछोरा दुवै कुशल  छन् । वृन्दाजीको होस खुलिसकेको छ । एकछिनपछि पोष्ट अपरेटिभ वार्डमा सार्छन्, त्यहीँ हेर्नुहोला’ भन्दा भङ्ग हुनपुग्यो !

‘खुसी हुनु कि दुःखी ? हर्ष बढाइँ गरुँँ कि विस्मातका आँसु बगाऊँ ? त्यो म भन्न सक्दिनँ । मैले जे गरे पनि कानुन र दुनियाँका नजरमा आज म बाबु बन्दै छु । तर कस्तो बाबु ? त्यो म र वृन्दाबाहेक मेरो परिवार, समाज र दुनियाँ कसैलाई थाहा छैन’, प्रसूतिगृहको अपरेसन थिएटरको बाहिर उभिएर म आफैँलाई अहिले सोध्दै र भन्दै छु । मेरो मनस्थिति जे जस्तो भए पनि र

नवजात शिशुका बारेमा मैले जे सोचे तापनि छोराको जन्मले उसकी आमा वृन्दा र मेरी आमा वन्दना भने अत्यन्त खुसी छन् ।

हुन पनि आफ्नो बितेको जीवनको कुनै कालखण्डमा पनि म एक्कासि यसरी बाबु बनुँला भनेर सोचेको थिइनँ । मेरो सोचाइ एउटा, नियतिको लिखत अर्कै । त्यसैले त जिन्दगीमा कहिल्यै कल्पना नगरेको परिस्थितिको सामना गर्नुपरिरहेको छ अहिले !

मैले कहाँ बिर्सेको छु र मेरो बाल्यकाल र यौवनकाल प्रारम्भका ती अनौठा दिनहरु । बाल्य अवस्थामा नै म छोरीमान्छेका लुगा, शृङ्गार मात्र होइन, गरगहना लगाउन रूचाउँथेँ । आमासित दुई चुल्ठी बाटेर कपाल कोरिदिने आग्रह पनि गर्थेँ । आमाले पनि बालखको रहर ठानेर चाहना पूरा गरिदिनुहुन्थ्यो । तर मेरो केटी देखिने चाहना भने बाबाले रूचाउनुहुन्नथ्यो । मैले त्यसो गरेका दिनमा मलाई आँखा तरेर हेर्नुहुन्थ्यो । बाबाको त्यो हेराइ देख्दासाथ मेरा खुट्टा काम्थे । अनि त म हत्तपत्त गएर भोटो र सुरूवाल लगाइहाल्थे ।

उमेरको सिँढी चढ्दै जाँदा मभित्र विचित्रको चाहना, मनोभावना र बानीव्यहोरा विकसित भइरहेका अनुभव हुँदै गएको थियो मलाई । आमालाई भनेर त कामै थिएन, बाबालाई भन्न सक्ने स्थिति थिएन मेरो । तर एसएलसी जाँच दिएर दाजुसितै काठमाडौँ घुम्न गएका बखतमा एकचोटि तर त्यो पनि ज्यादै दबिएको स्वरमा दाजुलाई भनेको थिएँ । उसबेलामा दाजुले ‘उमेरको सिँढी चढ्दै उकालो लाग्दा कसैकसैलाई यस्तै हुन्छ । आफू स्वयम् र आफ्नो बानीव्यहोरालाई नियन्त्रण गर्दै जा । विपरीत लिङ्गका साथीभाइसित नजिकिँदै जा, घुलमिल हुँदै जा । विस्तारै यस्तो समस्या आफैँ हल हुँदै जान्छ विद्वत’ भन्दै बडो सजिलो गरी सम्झएका थिए मलाई । जीवन र जगतको खासै अनुभव भई नसकेको मलाई गाउँभरिमा सबैभन्दा बढी पढेको मान्छे भनेर कहलिएको उनका कुरा ठीकै हुन् भन्ने लागेको हो उसबेलामा । दाजुकै सल्लाहअनुसार उठबस र व्यवहार गर्ने कोसिस पनि गरेकै हुँ ।

गाउँमा बस्दा त्यति धेरै सम्भव नभए पनि पछि कलेज भर्ना भएर पढ्न थालेपछि विपरीत लिङ्गी साथीहरुसँग घुलमिल हुन कुनै गाह्रो थिएन । कलेज जीवनमा यस्ता हेलमेल अनुचित होइन, स्वाभाविक मानिन्थे । मैले महिला मित्रहरुसित घुलमिल र उठबस गर्न निकै कोसिस पनि गरेको हुँ– आफू र आफ्नो मन अनि दैनिक व्यवहारलाई नियन्त्रण गर्दै । त्यसरी मैले घुलमिल, उठबस, छेडछाड गर्न खोजेकोमा कसैले आपत्ति जनाएका होइनन् अनि कसैका नजरमा अनुचित वा अनौठो ठहरिएका पनि थिएनन् । रत मैले त्यसरी घुलमिल र उठबस गर्न खोज्दा पनि मेरो मन भने जहिले पनि त्यस्ता विपरीत लिङ्गी साथीको शरीरको वासना अथवा फक्रिँदो यौवनको मादकताभन्दा समान लिङ्गी मित्रहरुको अनुहार, रुप र गन्धतिर खिचिएर जान्थ्यो । म आफ्नै मनसित कठोर हुन्थेँ तर म जति कठोर बन्थेँ, त्यति नै मेरो मन मसित विद्रोह गर्दै हुन्थ्यो ।

उसबखतमा म आफू कुनै केटी साथीतिर आकर्षित हुन नसके तापनि विलासिनी, विन्दू जस्ता केही मित्रहरु भने मसँग आकर्षित छन् भन्ने मैले महसुस गरेको थिएँ । यदि मेरो मनले स्वीकार गथ्र्यो भने उनीहरुमध्ये कुनै एउटीसँग सायद मैले मुटु साटिसकेको हुन्थेँ, पिरतीको अँगालोमा उसलाई बाँधिसकेको हुन्थेँ, अनि अहिले वृन्दा भएकी स्थानमा उनैमध्ये कुनै एउटी पत्नीको दर्जा दिइरहेको हुन्थेँ । तर उनीहरुले जति प्रयास गर्दा पनि न म कसैको बैँसालु नितम्बले लोभ्भिएँ, न त कसैको मद भरिएका नजर वाणले घाइते भएँ । न आकर्षक स्तनको कुनै अर्थ थियो मेरा लागि, न त कसैको लहरातुल्य चुल्ठोमा म सुरेली खेल्न पुगेँ । न कोइली कण्ठमा म मदहोसी भएँ, न म कसैको कस्तुरी सुगन्धले मुर्छित बन्न पुगेँ । भन्ने नै हो भने मलाई आप्mना महिला मित्रहरुको केहीले नै उनीहरुतिर खिच्न सकेनन् । एकान्तमा पनि बारम्बार भेट हुन्थ्यो तर एकान्तमा भएको नवयौवनासँगको त्यस्तो सामीप्यले न मलाई कुनै आनन्द दिनसक्यो । भन्ने नै हो भने एसएलसी दिनु अगाडि म जस्तो थिएँ, त्यस्तै नै अनुभूति गर्दै थिएँ, त्यसपछि बिताएका कलेज जीवनका अरु ६–७ वर्षसम्म पनि । आफूलाई परिवर्तन गर्न मैले गरेका सारा प्रयत्न मरूभूमिको तातो बालुवामाथि खन्याएको चिसो पानी जस्तै निरर्थक साबित भए ।

मैले आफूलाई रोक्नै सकिनँ । त्यसैले वृन्दाका हात आफ्नो हातमा लिँदै ‘बेबी ! म पापी हुँ । घरमा मेरो विवाहको कुरा चल्दै मैले असहमति व्यक्त गरेको थिएँ तर परिस्थिति नै आमाले त्यस्तो बनाइदिनुभयो कि म आफ्नो इच्छा, रहर र अडानमा अड्नै सकिनँ । त्यही कारणले गर्दा आज यस्तो परिस्थितिको सामाना हामी दुवैले गर्नुपर्‍यो । म अपराधी हुँ, पापी हुँ म ।

अरुका आँखाले देख्दा विकृति ठानिने मभित्र उत्पन्न त्यो यौनिक चाहनालाई मैले दाजुबाहेक घरका अरु कसैलाई थाहा दिएको थिइनँ । मैले त भन्नसक्ने कुरै थिएन, सायद दाजुले नै बाबासित मभित्र विकसित यौनिक चाहनाका बारेमा कुरा गर्नुभयो होला । त्यही भएर होला मेरा भविष्यका बारेमा बाबाले हठात् एउटा कठोर निर्णय लिनुभएको– आठ महिना अगाडि । उहाँका आँखाले पनि मेरा इच्छा, रहर र मनोभावनालाई विसङ्गति देख्यो होला । त्यो विसङ्गतिलाई पारिवारिक दायित्वको जन्जीरले बाँधेरै ठीक गर्ने सोच बन्यो होला उहाँको । उमेरले दृष्टिबाट परिपक्व भइसकेको म बाबाको दृष्टिबाट हेर्दा बालखै थिएँ होला । त्यसैले बाल्यकालमाझै मेरा बारेमा त्यस्तो दूरगामी महत्वको निर्णय गर्दा पनि मलाई एक वचन पनि सोध्नुभएन, केही भन्दै भन्नुभएन । दाजु र आमामार्फत् नै मैले बाबाले दिएको त्यो कठोर निर्णय सुन्न पुगेको थिएँ ।

मेरो मनले ‘नाइँ, हुन्न, गर्दिनँ’ नभनेको होइन । मनको आवाज सुनेर मैले पनि आमा र दाजुमार्फत् विरोध नजनांएको होइन । एकान्तमा बसेर बाबाले पनि सुनून् भनेर एक–दुईचोटि म नचिच्याएको पनि होइन । गरूडका अगाडिको सर्प बन्थेँ म बाबाका सामुन्ने सानै उमेरदेखि । उहाँले आँखा च्यातेर एकचोटि मात्रै हेरिदिँदा पनि मेरो सातो उडेर खोइ कता पुग्थ्यो, म थाहै पाउन्नथेँ । बाबाकै अगाडि आफ्नो असहमति व्यक्त गर्नका लागि मेरो मनको भट्टीमा बन्दै गरेका शब्दहरु रूद्रघण्टीको पर्खाल सानोमा पनि कहिल्यै बाहिर निस्किएका थिएनन् । बाबाले दिएको त्यो पछिल्लो निर्णयमा पनि निस्किएका होइनन् । पत्नीसँगको संसर्गले मेरो मनोदशा र मनोभावनामा परिवर्तन हुन्छ भन्ने बाबाको त्यो सोच र अठोटका अगाडि मेरो यौनिक चाहनासँगै म स्वयम् पनि झुक्न बाध्य भएको थिएँ ।

विवाहको जानकारी पाएपछि आमालाई एका चोटि आफ्नो परिस्थिति बताएर त्यो निर्णय कार्यान्वनमा बाधा पार्न खोजेको पनि हुँ मैले । तर ‘यस्ता अप्राकृतिक कुरा हाम्रा गाउँमा कसैले सुनेका, देखेका र भोगेका छैनन् । तँ हेर्दा जस्तो देखिन्छस्, गाउँले सबैले तँलाई त्यही रुपमा मात्र देख्छन् र बुझ्छन् । म तेरी आमा हुँ । मैले जन्मदिएकी हुँदा तेरा कुनकुन अङ्ग कस्ता छन् र कहाँकहाँ छन् ? ती सबै मैले देखेको छु । तेरो शरीरको भूगोल अझै पनि मेरा आँखाका पर्दामा बाँकी नै छ बाबू ! त्यस्ता अप्राकृतिक कथा हाल्दै यो समाजमा हिँडिस् भने तेरो त अनुहार कालो हुन्छ नै, तेरा बा र मेरो मुखमा औँसीको रात घोप्टिनेछ । भन् त, त्यो कालो अनुहार लिएर कुन मुखले, कति जनासित अनि कहिलेसम्म हामी बूढाबूढीले सफाई पेस गर्दै तेरो विवशता र कथा सुनाउँदै हिँड्ने बाबू ? फेरि कसले सुन्छ यस्ता अप्राकृतिक कुरा यस गाउँमा ? हामी त भन्नै सक्दैनौँ । तर तँ आपैmँले फलाक्दै हिँडिस् भने पनि हामी बूढाबूढी जिउँदै चितामा पुगे सरह हुन्छौँ । भन् त गाउँलेका आँखामा हामी के ठहरिन्छौँ ? अनुमान गरेको छस्– कसरी सहलान् तेरा बाबुले त्यस बेलाको अपमान अनि आइलाग्ने मानसिक पीडा ? त्यस्तो परिस्थिति ल्याउनुभन्दा अगाडि नै भन्, बरू हामी बूढाबूढी अपहत्ते गरेर मरिदिनेछौँ’, भन्दै आमाले असहमति मात्रै होइन, मेरो विद्रोहपछि उत्पन्न हुने परिस्थितिको उद्घाटन गर्दै मेरो मुखमा बुझो लगाइदिनु भयो । 

मेरा पढेलेखेका दाजुले पनि कम थिएनन् । उनले मलाई सम्झाउँदै ‘हेर् विद्वत् तेरो समस्याका बारेमा मैले डाक्टरसँग कुरा गरिसकेको छु । मैले उहिले तँलाई भनेजस्तै तँमा देखिएको यो रोग शारीरिक होइन, मानसिक हो रे डाक्टरले भनेको । अझ भन्छस् नै भने यो मानसिक विकृति नै हो रे । डाक्टरले नै ‘यस्ता मानसिक विकृति विवाहपश्चात् आफैँ बिलाएर जान्छन् । बरू बेलैमा बिहे गरिदिनोस् । पत्नीका सामीप्य र प्रेम प्राप्त हुनासाथ त्यस्ता मान्छेको सोच, बानीबेहोरा र चाहना क्रमशः बद्लिएर जान्छन्’ भनेपछि तँलाई अरु के चाहियो । पढेलेखेकी राम्री केटी पाइएको छ । तैँले बेलैमा विवाह गरेकै वेस हुन्छ’ भने । आफूभन्दा जान्नेबुझने दाइले भनेका कुरामा मैले कसरी नाइँ भन्न सक्थेँ ? मन नहुँदानहुँदै पनि त्यसरी वृन्दालाई पत्नी बनाएको न हुँ मैले ।

सुहागरातको दिन पनि वृन्दालाई भित्रायाएको कोठाभित्र पस्नु अगाडि पनि दाजुमार्फत् मैले अन्तिम विरोध गरेको हुँ । विवाह नै भइसकेपछि उनलले के भनून् ? केही भनेनन् । बाबाको डर हो वा अरु नै कुनै कारणले नपसूँ भन्दाभन्दै पनि मेरा पाइला त्यसैत्यसै कोठाभित्र पसिहाले । हिजोका दिनमा जसरी नाइँ भन्न असमर्थ हुन्थेँ म त्यसबेलामा पनि ‘नाइँ’ भन्ने हिम्मत जुटाउन सकेको होइन मैले ।

बाबाका अगाडि आफू भएर किन खुट्टा दह्रो टेक्न सक्दिनथेँ म ? त्यो त अहिले पनि भन्न सक्दिनँ । सायद सानैदेखि मैले केही बदमासी अथवा गल्ती गरेकोमा वा त्यसो गर्ने छनक मात्र देखाउँदा मेरी आमाले ‘बाबू ! बाबाले भरे मार्नुहुन्छ, उपद्रो नगर् है, जता मन लाग्यो त्यतै नहिँड् है, जे पायो त्यही नखा है, नचाहिँदा लुगा नलगा है’ भनेकैले त हो कि मेरो बालमनोविज्ञानमा बाबाको व्यक्तित्व अभिभावक होइन, सद्दाम हुसेन र हिटलर बन्दै बसेको । हिटलर र सद्दामका अगाडि म बबुरो सधैँ निरीह जनता नै त थिएँ नि ।

सानो छँदा साथीभाइ ‘मेरा बाबाले मलाई यो गरिदिए, त्यो गरिदिए, त्यो किनिदिए, यो किनिदिए’ भन्दै खुसी हुँदा म भने कहिल्यै बाबाको प्रशंसामा बोल्ने शब्द नै भेट्दिनथेँ ! हुनत मेरालागि नसोचिदिने पनि होइनन्, केही नगरिदिने पनि होइनन् । गरिदिन्थे, मैले नभने पनि आफ्नै मनज्ञानले मैले खोज्ने र चाहने वस्तु पुर्‍याइदिन्थे । राम्रो, नराम्रो नभनीकनै लगाइदिन्थेँ लुगाफाटा, मीठो, नमीठो नभनीकनै खाइदिन्थेँ किनकि बाबालाई राम्रो लाग्ने, बाबालाई मीठो लाग्ने कुरा हाम्रो परिवारका सदस्य सबैका लागि राम्रो हुन्थे । उनलाई मीठो लाग्ने हामी सबैको जिब्रोले मीठो मानिदिन्थ्यो ।

यस्तै भएर त होला नि– बाबाको व्यक्तित्व अगाडि सधैँ दबिएर रहेका मेरो मन, मेरा चाहना, आकाङ्क्षा, इच्छा र रहरसँगै म आफैं पनि आफ्नो जीवनको त्यति महत्वपूर्ण फैसला बाबाले गरिँदिँदा पनि पक्षघातले थल्लिएको बिरामीझैँ चुपचाप बसेको । मनोविज्ञानमा स्नातकोत्तर गरेको मान्छे हुँ । अरुको मनोविज्ञानको त अनुमान गर्नसक्थेँ भने मेरो आफ्नै मनोविज्ञान त कसरी बुझेको थिइनँ होला । तैपनि बाबाले दिएको त्यो फैसलाको विद्रोह गर्ने, विरोध गर्ने, अथवा विपक्षमा उभिने कुनै साहस मैले गर्न सकिनँ उसबेलामा ।

विवाह गर्न बाध्य भएको म मन नलागी नलागी भित्रिएकी वृन्दासित एक्लै कोठामा जम्काभेट गर्न कोठाभित्र पसेको हुँ बेलामै । सुहागरात भन्छन् सबैले ! मादकताले भरिएको रात ठान्छन् क्यारे सबैले । न त्यो रात मेरालागि सुहागरात बन्नसक्थ्यो, न त मादकताले भरिएको रात नै । मैले जे सोचेको थिएँ, त्यही भयो । कोठाभित्र पस्नासाथ खाटको बीचमा घुम्टोभित्र लुकेर बसेकी वृन्दाका रङ्गीन आभूषण र पहिरनमा परेका मेरा आँखाले वृन्दाको बैँसलाई ठम्याउनै सकेनन् । मेरा स्नायु केन्द्रले वृन्दाको बैँसालु वासनाको भेउ नै पाउन सकेनन् । वृन्दाको शरीरिक भूगोलको कुनै खण्डले पनि मलाई आपूmतिर आकर्षित गर्न सकेनन्, मलाई लठ्याउन सकेनन् । 

हुनत मेरो जीउडाल, स्वर, अङ्गप्रत्यङ्ग पुरूषकै जस्ता छन् तर म सम्झिन्छु– यौवनको वसन्तमा प्रवेश गर्दै जाँदादेखि नै मलाई एउटी सुन्दरी देख्दा होइन, बरू एउटा कुरुप नवयुवक देख्दा बोलूँबोलूँ, छोऊँछोऊँ, पछिपछि लागूँ, सिट्टी बजाऊँ, सुसेली हालूँ जस्तो लाग्ने गरेको छ । कुनै लोग्नेमान्छेसित बस्दा, हिँड्दा, बोल्दा अथवा कुनै लोग्नेमान्छेका हातका औँलाले मेरो शरीरमा छुँदा मलाई बरू अहिले पनि काउकुती लाग्ने गर्छ । अझ भन्ने नै हो भने सुन्दर महिलाका मुहार र अङ्गले होइन मलाई अष्टवक्र नै किन नहोस्, त्यस्तो पुरूष मुहार र अङ्गले आकर्षित गर्छन् । म महिलाको पछि लागेर होइन, आफ्नो मनले खाएको कुरुप लोग्नेमान्छेको कल्पनामा बन्द कोठाभित्र सास रोकेर योगी जस्तै घण्टौँ बिताइदिन सक्छु, त्यस्ता पुरूषको पछिपछि लागेर जहरिला काँढाहरुमाथि पनि कोसौँकोस हिँड्नसक्छु । भित्र पस्दा मैले म पनि वृन्दा जस्तै हुँ, पुरूषको सामीप्य चाहने, पुरूषसँगको संसर्गमा रमाउने महिला भन्ने सोचेँ । त्यसैले म वृन्दाको नजिकमा जानै सकिनँ मधुरात्रि भनिएको त्यस रातमा ।     

धेरै बेरसम्म कोठामा राखिएको सोफमा नै बसेर आफ्नो र वृन्दाका भविष्यका बारेमा सोचिरहेको अहिले पनि सम्झना छ मलाई । त्यसरी भविष्यका बारेमा चिन्तन गर्दागर्दै म कति बेला आपूm बसेको सोफामा नै निदाएछु, मैले पत्तै पाइनँ । बिहानीपख आँखा खुल्दा शरीरमा सजिएका आभूषण, शृङ्गार, सौभाग्यका वस्त्र र सिन्दूरलाई यथास्थितिमा राखेर बिस्तराको एउटा छेउमा निन्द्रा देवीको काखमा लम्पसार पल्टिएकी वृन्दालाई देखेँ । सोफाबाट उठेर उसको छेउमा गएँ र एकपल्ट राम्ररी मुहारमा नियालेर हेरेँ । सुन्दरतामा कुनै कमी थिएन, फक्रिएको बैँसमा कुनै खोट थिएन । रहरमा पनि सायद कमी छैन भन्ने लाग्यो । आफैँप्रति घृणाभाव आयो । वृन्दा भएर एकछिन सोचिहेरेँ । माया त लागेर आएको थियो नि तर त्यो माया देखाउनै सकिनँ । मन त उर्लिएर आयो नि तर प्रेम बाँड्नै सकिनँ । त्यसपछि फेरि एकचोटि वृन्दा बनेर आफूलाई हेरेँ । आफैँप्रति दया लागेर आयो तर पनि मैले आफूलाई माफ गर्न सकिनँ । 

के गरुँ, कसो गरुँ ? हुँदै थियो । कोठामा राखेको एउटा टेबुलको घर्राबाट एउटा सादा पन्ना र एउटा कलम निकालेँ अनि ‘आज यस्तै भयो । वृन्दा ! मलाई माफ गरिदेऊ । भोलि बिहान हुनासाथ तिमीले आज बिहान गरेका शृङ्गार लत्पत्याइदेऊ, तिमीले लगाएका आभूषण र तिम्रो त्यो बाँधिएको केशराशि बिन्ती फुकाएर सुहागरातपछिकी बेहुली जस्ती बन्दै दुनियाँका अगाडि लजाउँदै उभिएर नाङ्गिन लागेको मेरो इज्जत दयाले छोपिदेऊ । भोलि तिमीसित आँखा जुध्दा तिमीलाई त्यही रुपमा देख्न पाएँ भने तिमीले माफी दिएको बुझ्नेछु म । जीवन लामै छ, अरु कुरा गर्दै गरौँला’ लेख्दै वृन्दाको छेउको सिरानीमाथि राख्दै म भालेको पहिलो डाकसँगै कोठाबाट निस्किएको थिएँ । 

म कोठाबाट निस्किँदा आमा र भाउजू भान्साघरमै थिए । मैले ढोका खोलेको आवाजले दुवै जनाको ध्यान म भएतिरै खिचियो । केही बोलेनन् तर एउटा गहिरो मुस्कान म भएतिर फ्याँकिदिए । मलाई भने त्यो व्यङ्ग्यपूर्ण हाँसोले कताकता भित्र चस्स घोचेजस्तै अनुभव भयो ।

...............

भोलिपल्ट बिहान मेरो आग्रहअनुरुप नै वृन्दाले दुनियाँका अगाडि आफूलाई उभ्याएर प्रस्तुत गरेकी थिई । मैले माफी पाएको अनुभूति गरेँ । एउटा हल्का मुस्कान ऊतिर छाड्दै सन्तोषको सास फेरेको महसुस गरेको थिएँ मैले । मनमनै गए राती आफूले देखाएको वृन्दाप्रतिको अपेक्षापूर्ण व्यवहारमा सुधार गर्ने अठोट पनि साथै गरेको हुँ मैले । त्यहीअनुरुप बेलुकीको खाना खाएपश्चात समयमा नै आफ्नो कोठामा पसेको पनि हुँ ।

म कोठामा पसिसकेपछि पनि वृन्दा भान्साघरमै आमा र भाउजूसँगै थिई । ‘जाऊ, बुहारी तिमी पनि कोठामा गएर आराम गर । बरू जाँदा विद्वतलाई एक गिलास दूध पनि लगिदेऊ । नयाँ दुलहीलाई शिला नपुजुञ्जेल बहुभतेर पकाउनेबाहेक अरु काम गर्नदिने चलन छैन हाम्रो घरमा’ भन्दै आमाले वृन्दालाई भनेको मेरो कोठा भान्साघरसँगै जोडिएकाले मैले पनि सुनेँ । 

नयाँ बुहारी, आमालाई कुनै जवाफ फर्काउन सकिन तर लाज लागेर हो अथवा हिजो रातीको उपेक्षित व्यवहारले मर्माहत भएर, आमाको आज्ञा शिरोपर गर्दै सरक्क कोठामा आइहाल्न पनि सकिन वृन्दा ।

मेरो शरीर त कोठाभित्र थियो तर मन र ध्यान भने भान्साघरतिरै खिचिएको थियो । आमाले भाउजूलाई कामधन्दा अह्राए पनि वृन्दालाई केही अह्राएको सुनिनँ मैले । कामधन्दा सकेर भाइजूले भान्साघरको ढोकामा ताल्चा लगाएको कोठाबाटै सुनियो । सासूको खुट्टामा तेल घसिदिने नित्य कर्मका लागि भाउजूसँगै जानुभयो होला भन्ने मेरो अनुमान रह्यो तर वृन्दा पनि सिधै कोठामा आइन । म अचम्मित भएँ । एकछिन त बाहिर बस्न गएकी होली भनेर चित्त बुझाएँ तर निकै बेरसम्म पनि कोठामा नआएपछि मलाई छटपटी लाग्यो । धेरै चोटि ढोकातिर आँखा लगाएँ तर ढोका खुलेन, वृन्दा कोठाभित्र पसिन । नयाँ दुलही त्यसरी रातमा एक्लै लामो समय कोठाबाहिर बसेको कसैले देख्यो भने के सोच्ला भन्ने लाग्यो मलाई । के गर्ने, मैले निक्र्योल गरी नसक्दै मेरा हातले ढोका खोल्न पुगे । आँखा च्यातेर बाहिर हेरेँ । पूर्णिमाको रात थियो । नीलो आकाशको एउटा पूर्ण जूनले धरतीतिर हेर्दै हाँस्दै गरेको देखेँ अनि देखेँ आँगनमा रहेको पिपलमुनिको फलैँचामा बसेर त्यही जूनतिर हेरिरहेकी वृन्दालाई पनि ।

मनले त अर्थोक सोच्दै थियो तर दिमागले अनायासै मेरा पाउलाई वृन्दाका अगाडि लगेर उभ्याइदियो । मेरो उपस्थिति उसका लागि सायद सहज थिएन । शिर निहु¥याएर भुइँतिर हेरी । मौनता हामी दुई जनाका बीचमा पर्खाल बनेर केही छिनका लागि उभियो । ‘के भो ? किन कोठामा नआएकी’ भन्दै सानो स्वरमा त्यो मौनताको पर्खाल मैले स्वयम् नै भत्काइदिएँ ।

मतिर हेर्दै वृन्दाले ‘पूर्णिमाको जून, पीपलको रुख, मन्दमन्द हावामा एकछिन सुस्ताएर जेठको यो उखरमाउलो गर्मी अनि मनभित्रको ताप दुवैबाट मुक्ति खोज्दै छु’ भनेर व्यङ्ग्य गरी । 

मैले नबुझेको होइन तर त्यसलाई सहजतापूर्वक लिनेबाहेक अरु कुनै विकल्प त्यसबखतमा मसित थिएन । त्यसैले उसका कुरालाई हल्का रुपमा लिँदै ‘हिँड भित्र । फेरि दुनियाँले कुरा काट्छन्’ भन्दै आग्रह गरेँ । वृन्दा केही नबोलीकनै उठी र कोठातिर लागी । उसका पाइलामाथि आफ्ना खुट्टाको छाप ठोक्दै म पनि पछिपछि लागेँ । ऊ गहना र वस्त्र खोलेर थन्क्याउँदै रात्रिका वस्त्र लगाउनतिर लागी । म पनि रात्रि पोसाकतिरै लागेँ । धेरै बेरसम्म हाम्रो सम्वाद हुनसकेन ।

वृन्दा बिस्तरामा आएर पल्टेपछि म पनि आफ्ना गह्रौँ बन्दै गएका मनका पाइलालाई जबरजस्ती ऊ भएतिरै मोडेर त्यही बिस्तरामा उसैको छेउमा आएर बसेँ र उसको देब्रे हातको औँलामा हल्का सुमसुम्याउँदै ‘धन्यवाद बेबी’ भनेँ । उसले असहमति देखाइन । तर वृन्दाको मुखले केही नभने पनि उसको मुखाकृतिले भने ‘केका लागि धन्यवाद’   भनेझैँ लाग्यो मलाई ।

‘गए रातीको मेरो व्यवहारका लागि सक्छ्यौ भने मलाई माफ गरिदेऊ । घरपरिवार र दुनियाँका अगाडि मधुरात्रिको आनन्द लुटेकी एउटी नवदुलही जस्तो तिमीले गरेको बिहानको व्यवहारले बेबी आज मेरो इज्जत बचेको छ । त्यसका लागि म आजन्म तिम्रो ऋणी रहनेछु’ भन्दै ‘हिजै मैले तिमीलाई कारण भन्न सक्नुपथ्र्यो तर सकिनँ’ मैले सासै नरोकीकन भनेँ ।

वृन्दाले त्यसपछि पनि केही बोलेकी होइन तर जिज्ञासापूर्ण नजरले भने म भएतिर हेरिरही निकै बेरसम्म । उसको जिज्ञासा तत्कालै शान्त पार्ने कि नपार्ने ? द्विविधामा परेँ म । एक मनले ‘केको हतार ? बरू तेरो दाजुले भनेका कुरामा ध्यान दे । उसकै सल्लाहअनुसार आफ्ना कदमहरु च्ला विद्वत् । विस्तारै सब थोक ठीक हुँदै जान्छ’ भन्यो । 

शारीरिक मिलन भनेर किन त्यति साह्रो हतोत्साहित बन्नुहुन्छ हजुर ? प्रयत्न जारी राखाैं, आज नभए भोलि होला । भोलि नभए पर्सि होला । तपाईंमा पुरूषका जनेन्द्रिय भएपछि एक दिन न एक दिन त्यसले पनि हामी दुई जनाको चाहना र अठोटका अगाडि झुक्नै पर्छ । हुँदै भएन भने डाक्टरसित परामर्श गर्ने कुरा छँदैछ, त्यो पनि गरौँला ।

वृन्दाको मदभरि यौवनका घडाबाट अनाकर्षित भएको मेरो अर्को मनले भने तत्कालै ‘यति सोझी केटीलाई ढाँटेर केही फाइदा छैन । आज नभए भोलिपर्सि त कुरा खुल्छ नै । भोलि परिस्थिति झन् बिग्रिनसक्छ बरू आजै भन् तेरो यथार्थ’ भन्दै अह्रायो । तर मैले केही भन्न नपाउँदै वृन्दाले नै ‘के गर्नुभो र ? ठीकै त गर्नुभो नि ! एकअर्कालाई पहिलेदेखि चिनेको भए पो खुलेर कुरा हुन्छ, खुलेर चाहना व्यक्त हुन्छ, रहर पोखिन्छ । तपाईंलाई के भो, थाहा छैन तर हिजो त म पनि तयार थिइनँ र अझै पनि छैन । मलाई त आज पनि तपाईंले नछोइदिए जाती लाग्नेछ’ भन्दै मेरा मुखतिर अर्थपूर्ण मुस्कान फ्याँकिदिई ।

थोरै हल्का महसुस भयो मलाई पनि उसले देखाएको त्यो समझादारीपूर्ण व्यवहारले । 

दिल विस्तारै बोल्दै गयो, मन पनि साथै खुल्दै गयो, कुरा चल्दै गयोे । खोइ किन हो मलाई एक्कासि वृन्दाप्रति माया हो कि दया लागेर आएजस्तो भयो । ज्यादै नजिक बसेका थियौँ हामी । उसको यौवनको वासना चलेकै थियो । पारदर्शी वस्त्र नै थियो शरीरमा । त्यही वस्त्रका नजरबाट उसका लाजका गहनाले बाहिर चियाउँदै थिए, मलाई निमन्त्रणा दिँदै थिए । अनायासै मेरा दुवै हातले उसका गाला सुमसुम्याउन पुगे । लाजको घुम्टो ओडेर वृन्दा मेरो काखमाथि पल्टिई । मन दह्रो पारेर ऊप्रति आकर्षित हुने प्रयास गर्दै रहेँ म । लाजका गहनासहित उसका शरीरभरि मेरा हातका औँला सलबलाए पनि । सायद सजिलो होस् भनेर हो– लाडिँदै मेरो नजिकै उसको वदन सारिदिई । दाजुकै सल्लाहअनुसार नै मेरो मस्तिष्कले मेरो मनलाई बाँध्ने प्रयत्न गर्दै रहेँ । वदन मर्दनले वृन्दा उत्तेजनामा आउँदै थिई तर आफ्नो मनलाई बाँधेर सही बाटोमा ल्याउन मेरो मस्तिष्कले सकेन । मभित्र कुनै उत्तेजना महसुस भएन । अरुबेला जसरी महिलाको समीप्यमा म चिसो हुन्थेँ, त्यस्तै नै चिसो बन्दै थिएँ म त्यसबेलामा पनि ।

वृन्दाको चाहना र रहर मैले नबुझेको होइन । लोग्नेमान्छे भएर म पनि उसलाई साथ दिन चाहन्थेँ तर मेरो सारा प्रयत्न बालुवामाथिको पानीमा परिणत भइदियो । उसले जति कोसिस गर्दा पनि म चिसोको चिसै रहन पुगेँ । त्यसपछि भने मलाई लाग्यो– यसरी कसैको भावनामा खेल्नुहुँदैन । एउटी नवयौवनालाई उत्तेजित पारेर चिसो बनाउने दुष्प्रयास गर्नुहुन्न ! मैले आप्mनो जिन्दगीको तीतो वास्तविकता वृन्दाका अगाडि खोलिदिनुपर्छ भन्ने सोच्दै वृन्दाको तातो वदन र मुहारलाई सरक्क अलिक पर सारिदिएँ ।

मेरो व्यवहार सायद सह्य भएन उसलाई । आश्चर्य र विस्मयका नजरले मतिर हेरिरही वृन्दाले ? गह भरिएझै लाग्यो । मुखले त केही भनिन तर ‘के भयो ?’, भन्ने मौन प्रश्न थियो उसको । 

मैले आफूलाई रोक्नै सकिनँ । त्यसैले वृन्दाका हात आफ्नो हातमा लिँदै ‘बेबी ! म पापी हुँ । घरमा मेरो विवाहको कुरा चल्दै मैले असहमति व्यक्त गरेको थिएँ तर परिस्थिति नै आमाले त्यस्तो बनाइदिनुभयो कि म आफ्नो इच्छा, रहर र अडानमा अड्नै सकिनँ । त्यही कारणले गर्दा आज यस्तो परिस्थितिको सामाना हामी दुवैले गर्नुपर्‍यो । म अपराधी हुँ, पापी हुँ म । आमाको घुक्र्याइका अगाडि टिक्न नसक्दा मैले एउटा जघन्य अपराध गरेको छु । बेबी ! अरु त के भनूँ ? तिम्रालागि म हुँदै होइन । त्यस्तै तिमी पनि मेरालागि बन्न सक्दिनौ । मलाई माफ गरिदेऊ– म

तिमीलाई यौन सन्तुष्टि दिन सक्दिनँ । यदि तिमी चाहन्छ्यौ भने भन, म तिमीलाई जहिले पनि यो विवाहको बन्धनबाट मुक्त गरिदिन्छु’ भनेँ !

एकछिन अगाडि जुन मनस्थितिमा मतिर उसले हेरेकी थिई, त्यही मनस्थितिमा अहिले पनि हेरिरही । एकछिन दुवै जना चुपचाप बस्यौँ ।

वृन्दाले आफ्नो वस्त्रलाई समाल्दै मेरो काखबाट आफूलाई अन्यत्र सार्न खोजी तर मैले त्यसो गर्न दिइनँ । मेरो काखमा नै पल्टिरहन बाध्य भई ।

मेरो काखैमा पल्टिएर उसले कोठाको सिलिङतिर हेर्नथाली । एक–दुई थोपा मोती दाना उसका आँखाबाट बिस्तरामा खस्दै गएको मैले देखिहालेँ । मैले अप्ठ्यारो लाग्यो । आफ्नै औँलाले उसका नजर बन्द गरिदिएँ । त्यसपछि भने परिस्थितिलाई समाल्ने जमर्को गर्दै मैले ‘बेबी ! म आँखाले देख्दा र कसैका हातले छुँदा मात्र एउटा पुरूष हुँ । म समलिङ्गी हुँ, महिलाको कोमलता होइन, पुरूषको कठोरता मनपर्छ मलाई, महिला अङ्गले होइन, पुरूषग्रन्थीले लोभ्याउँछ, महिलाको सुगन्ध होइन, पुरूषको गन्धले लठ्याइदिन्छ मलाई । तिम्रो रहर पूरा गरिदिने इच्छा भएकैले तिमीलाई साथ दिन खोजेको पनि हुँ ! तर के गरुँ ? मलाई तिम्रा कुनै पनि अङ्गले उत्तेजित बनाउन सकेनन्, तिम्रो त्यति सुन्दर शरीरबाट आएको वासनाले पनि लठ्ठ पार्नसकेन ! मैले तिम्रो वदन चुम्दा र तिम्रा चञ्चल र कोमल औँला मेरो जीउमा दौडिँदा अनि तिम्रो वदनको उष्णताले पनि हिउँ जस्तो चिसो मेरो मन र शरीरलाई पगाल्नसकेन । भन त बेबी म के गरुँ ?’, एक सासमा भनेँ । 
एकछिनसम्म मेरा कुरामा कुनै प्रतिक्रिया जनाइनँ । त्यसैले म आफैँले अगाडि सर्दै ‘बेबी ! म पापी हुँ, म अपराधी हुँ । तिमीलाई जे सजाय दिने मन छ, देऊ । म हाँसिहाँसी स्विकार्नेछु’ भनेँ ।

उसले पनि परिस्थिति नबिग्रियोस् भनेरै होला, ‘के भो त ? किन हतारिनुपरेको छ ? आज भएन शारीरिक मिलन भनेर किन त्यति साह्रो हतोत्साहित बन्नुहुन्छ हजुर ? प्रयत्न जारी राखाैं, आज नभए भोलि होला । भोलि नभए पर्सि होला । तपाईंमा पुरूषका जनेन्द्रिय भएपछि एक दिन न एक दिन त्यसले पनि हामी दुई जनाको चाहना र अठोटका अगाडि झुक्नै पर्छ । हुँदै भएन भने डाक्टरसित परामर्श गर्ने कुरा छँदैछ, त्यो पनि गरौँला । शारीरिक समस्या कसलाई हुँदैनन् ? समस्या देखिएपछि त्यसको हल पो खोज्नुपर्छ । खोज्दा नभेटिने कुरै छैन, भेटिन्छ हजुर ! त्यसैले आफूलाई अपराधी अथवा पापी नठान्नोस्’, बडो समझदारीको प्रदर्शन गर्दै भनेकी थिई । 

म बोल्नै सकिनँ । अरु केही गर्न नसके पनि उसलाई रातभरि आफ्नो अँगालोमा राखेर पल्टिएँ । त्यस रात म त निदाउनै सकिनँ । आपूm निदाउन नसके पनि वृन्दालाई भने मेरो हातको सिरानी दिएर रातभरि गहिरो निद्रामा डुब्न मद्दत गरेँ ।

जागिर थियो मेरो । पन्ध्र दिनपछि म काठमाडौँ फर्किएँ । मेरो मनोदशा र चाहना बुिझसकेका थिए बाबाले । मेरो रोगको ओखती वृन्दामा भेटिन्छ भन्ने सोचेर उसलाई पनि साथै पठाइदिए । समस्याको हल गर्न दुई–चार जना चिकित्सककहाँ पुग्यौँ पनि । तर मेरो समस्याको समाधान कसैले दिन सकेनन् । 

जस्तो थियो, त्यस्तै चल्दै गयो । अनेक प्रयत्न गरी वृन्दाले तर म जति प्रयास गर्दा पनि शारीरिक रुपमा उसको लोग्ने बन्नै सकिनँ । हार खाएरै त होला नि– एक रातमा उसले मलाई ‘ए हजुर मलाई अन्यथा नसोच्ने भए एउटा कुरा भन्ने थिएँ’ भन्दै मेरो नजिक सरी । त्यति ठूलो अपराध गरेकामा कुनै गुनासो नगरेकी उसलाई अन्यथा सोच्नै पो कहाँ सक्थेँ र मैले ? त्यसैले ‘भन न के हो ? कुनै अन्यथा मान्दिनँ म ?’ भनेँ । उसले अप्ठ्यारो मान्दै आफू गर्भवती रहेको खुलासा गर्दै आफ्नै प्रेमीबाट बलात्कार भएकी कुरासमेत बताउन पुगी । 

उसका कुरा सुन्नासाथ सधैँ नै चिसो रहने मेरो तन र मन दुवैमाथि अझ हिमवर्षा भएझैँ भयो । आफूलाई सम्हाल्दै विस्तृतमा विवाहसम्मका उसले ब्यहोरेका सारा घटना उसकै मुखबाट एकएक गरेर मैले सुनेँ ।

उसले भनेकी थिई– ‘मसँग गर्भ तुहाइदिने विकल्प त थियो । मेरी आमाले पनि त्यसैमा जोड दिनुभएको थियो । तर मलाई लाग्यो– मेरो पहिलो प्रेम थियो र बलात्कारकै भए पनि मेरो पहिलो गर्भ थियो । त्यति मात्र होइन, हजुर, मेरो प्रेमीले जे गरे पनि मैले त उसलाई सच्चा प्रेम नै गरेकी थिएँ, चोखो माया नै दिएकी थिएँ । त्यही प्रेमको निशानीको गला कसरी घोट्नसक्थेँ म ? त्यसैले गर्भ तुहाउने होइन, बरू एउटा केटा खोजेर मेरो बिहे गरिदिइहाल्नोस् भनेँ । त्यसैले तपाईंकी पत्नी बन्न आइपुगेकी हुँ हजुर ! अब मलाई केही चाहिएको छैन । तपाईँ आफूखुसी गर्न सक्नुहुन्छ । चित्त बुझ्दैन भने, मलाई वृन्दाले धोका दिई भन्ने सोच्नुहुन्छ भने पनि, आफ्नो जिन्दगीबाट अलग गर्नुहुन्छ भने पनि अब मलाई केही फरक पर्दैन । भोलि मेरो गर्भबाट जन्मिने बच्चा बेबारिसे बन्दैन । मसित साथै बस्ने कि नबस्ने ? त्यो हजुरकै खुसी । हजुरले पारपाचुके नै गर्नुहुन्छ भने पनि मेरो म असहमत बन्दिनँ, हजुरको इच्छामा बाधा दिने छैन’ भन्दै मेरो मुखतिर हेरी ।

के भन्नु थियो र मैले ? मैले पनि त एक किसिमले उसलाई आखिरमा धोका नै दिएको थिएँ । अलगिनु भन्दा सम्झौताको जिन्दगी बाँच्ने सोच बन्यो । सम्झौता गर्‍यौँ हामीले । सम्झौता थियो– साथै बसे पनि दुवै जनाले आफूखुसी गर्न पाउने । जिन्दगीभर एकअर्कालाई साथ दिने । एकअर्काका यौनिक आवश्यकता पूरा गर्न आफूखुसी गर्न पाउने तर वृन्दाले भने भोलिका दिनमा अर्को बच्चाको आमा बन्न नपाउने !

तर सम्झौता अलिखित थियो !

थाहा भएन मलाई– कसको दोष बढ्ता हो ? अनि हामी दुईमध्ये कसले जित्यो अनि कसले हार्‍यो ?

म यसरी अतीतमा हराइरहेकै बेला अपरेसन थिएटर भित्रबाट बच्चा हेरेर बाहिर निस्कँदै गरेकी आमाले ढोकाबाटै भन्नुभयो– ‘बाबू, बच्चाको अनुहार त ठ्याक्कै तेरै जस्तो !’
 बल्खु, २६ असार २०७६

 'घिमिरेको प्रकाशोन्मुख कथासंग्रह 'अन्तिम प्रश्न'बाट'