विनाकारण पनि बढ्न सक्छ उच्च रक्तचाप

विनाकारण पनि बढ्न सक्छ उच्च रक्तचाप

प्रा.डा.डम्बरबहादुर कार्की  |  दृष्टिकोण  |  असार ३१, २०७६

सन् १८९६ मा रिभारोसीले (Riva Rocci) रक्तचाप नाप्ने मेसिनको आविस्कार गरेका थिए । हिजो आज पनि यस्तो मेसिनद्धारा रक्तचाप जाँचिन्छ । एलोक्ट्रोनिक मेसिन पनि ब्लडप्रेसर नाप्न प्रयोग गर्न सकिन्छ । म सन् १९६८ मा एम आर सि पि अध्ययन गर्न बेलायत गएको थिए । व्रिटिस काउन्सिलको छात्रवृतिमा पढ्न गएकाले सबै व्यवस्था ब्रिटिस काउन्सिलले नै मिलाएको थियो । त्यतिबेला ब्लडप्रेसरलाई नियन्त्रण गर्ने धेरै प्रकारका औषधिहरु थिएनन् ।

उच्च रक्तचापको विषयमा धेरै वैज्ञानिक अनुसन्धानहरु पनि भएका थिएनन् । सहेमा उमेरको वर्ष जोड्दा हुने अंक भन्दा कम सिस्टोलिक ब्लडप्रेसरलाई सामान्य माने हुन्छ भनेर त्यतिबेलाका बेलायतका चिकिात्सकहरु भन्ने गर्दथे । ८० वर्ष पुगेकाहरुको सिस्टोलिक ब्लडप्रेसर १८० सम्म सामान्य मानिने गरिन्थ्यो । वृद्धावस्थामा बढेको रक्तचाप हानिकारक मानिदैनथ्यो । हिजो आज ब्लडप्रेसरका विषयमा यस्ता कुरा सुन्दा चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीहरु अचम्म मान्छन् ।

हिजो आज विभिन्न देशका वैज्ञानिकहरुको समूहले वैज्ञानिक अनुसन्धानहरुको आधारमा कतिसम्मलाई सामान्य रक्तचाप भन्ने कुराको जानकारी गराउने गर्छन् । धेरै वर्षसम्म १४०/९० भन्दा कम रक्तचाप हुनुपर्छ भन्ने कुरा डाक्टरहरु आफ्ना विरामीहरुलाई भन्ने गर्दथे । हिजो आज १२०/८० भन्दा मुनिको रक्तचापलाई सामान्य मानिन्छ र रक्तचाप १३०/८० भन्दा कम हुनुपर्छ भनिन्छ । ब्लडप्रेसर के कारणले बढ्छ भन्ने प्रश्नको जवाफ थाहा पाउन सर्वसाधारण मानिसहरु उत्सुक भइरहेकोे पाइन्छ । ब्लडप्रेसरबाट पीडित व्यक्तिहरुले सोधेको यो प्रश्नको जवाफ त हुन्छ तर, डाक्टरहरुलाई यसको जवाफ दिने समय हुदैन । यसर्थ यो लेखद्वारा प्रश्नको जवाफ दिने प्रयत्न गरिएको छ ।

गर्भावस्थामा गर्भवती महिलाले सन्तुलित भोजन खान नपाउँदा गर्भमा भएको भु्रणलाई प्रभाव पर्ने कुरा वैज्ञानिकहरुको अनुसन्धानहरुले देखाएका छन् । राम्रो खाना खान नपाउने गर्भवतीहरुबाट जन्मेका बालबालिकाहरुलाई डायवेटिज र उच्च रक्तचाप जस्ता दीर्घ रोग लाग्ने सम्भावना ज्यादा हुन्छ ।

 ब्लडप्रेसर किन हुन्छ भन्ने कुरा ब्लडप्रेसर पीडित व्यक्तिहरुले थाहा पाउनु अति आवश्यक छ । ब्लडप्रेसर हुने कारणहरुको बारेमा जानकारी हुँदा यसको उपचारमा मद्दत पुग्छ । ब्लडप्रेसरको औषधि कति समयसम्म खानु पर्छ भन्ने अर्को प्रश्न डाक्टरहरुलाई सोध्ने गरिन्छ । एक पटक ब्लडप्रेसरको ओखती शुरु गरेपछि सधै खाइ राख्नु पर्छ ? कहिले पनि कुनै हालतमा बन्द गर्नु हुँदैन,भन्ने कुरा कति सत्य हो? भनेर सोध्ने अर्को प्रश्न हो । 

ब्लडप्रेसरको ओखती डाक्टलाई नसोधी बन्द गर्नु हुँदैन् । डाक्टरको सल्लाह भएमा ब्लडप्रेसरको ओखती बन्द गर्न सकिन्छ । तर, समय समयमा रक्तचाप नाप्न भने बिर्सिनु हुँदैन् । उच्च रक्तचाप गराउने धेरै कारणहरु हुन्छन् । उच्च रक्तचापका कारणहरु पत्ता लगाएर उपचार गर्दा ब्लडप्रेसरलाई सामान्य पार्न सकिन्छ । 

ज्यादा गरेर मृगौला रोगमा ब्लडप्रेसर बढ्छ । मानिसकको शरीरमा विभिन्न प्रकारका हर्मोनहरु उत्पादन गराउने ग्रंन्थीहरु हुन्छन् । यी ग्रंन्थीहरुले ज्यादा हर्मोन पैदा गरेर हुने रोगहरुमा ब्लडप्रेसर बढ्न सक्छ । थाइर्‍वायड ग्रंन्थी,एड्रिनल ग्रंन्थी र पिटुइटरी नामक ग्रंन्थीबाट उत्पन्न हर्मोनहरुले ब्लडप्रेसर बढाउन सक्छन् । 

मुटुबाट निस्कने महाधमनीलाई एवर्टा भनिन्छ । यो महाधमनी सागुरो हुनुलाई क्वार्करेस (CoarctatioN) भनिन्छ । यसरी एर्वटा सागुरो हुदा रक्तचाप बढ्न सक्छ । मृगौलालाई रक्तसंचार गर्ने धमनीलाई रेनल आर्टरी (Renal  Artery) भनिन्छ ।  यो धमनी साघुरो हुदा हुने रेनल आर्टरी सिस्टेनोसिस (Renal Artery Stenosis) नामक रोगमा पनि रक्तचाप बढ्छ । 

मनमा चिन्ता हुदा रक्तचाप बढाउने एड्रिनालिन नामक हर्मोन एड्रिनल ग्रंन्थीको मेडुलाबाट उत्पन्न भएर ब्लडप्रेसर बढ्छ । शरीर दुख्दा प्रयोग गरिने वु्रफेन जस्ता दर्दनाशक औषधि प्रयोग गर्दा रक्तचाप बढ्न सक्छ । ज्यादा नून खाने मानिसहरुलाई पनि ब्लडप्रेसर बढ्छ । 

मोटोपन र अधिक मद्यपान गर्नेहरुलाई पनि रक्तचाप बढ्छ । धुम्रपानले रक्तचाप बढाउनुको साथै हृदय घात र फोक्सोको क्यान्सर पनि गराउँछ । पुरानो दम खोकी गराउने कारणहरु मध्य धुम्रपान मुख्य मानिन्छ । माथि उल्लेख गरिएका सबै कुराहरुलाई ध्यान दिएर परहेज गरेमा उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत मिल्छ ।

रक्तचापका कारणहरु पत्ता लगाउन विशेष किसिमका जाँचहरु गर्नुपर्ने हुन्छ । सबै किसमका जाँचारु पछि पनि करिव ९० प्रतिशत उच्च रक्तचापबाट पीडित पुरुष तथा महिलाहरुमा रक्तचाप बढाउने कारणहरु पाइदैन् । यस किसिमको उच्च रक्तचापलाई (Primary)  अथवा Essential  भनिन्छ । यस किसिमको उच्च रक्तचापले अधिकांस व्यक्तिहरु पीडित हुन्छन् । 

गर्भावस्थामा गर्भवती महिलाले सन्तुलित भोजन खान नपाउँदा गर्भमा भएको भु्रणलाई प्रभाव पर्ने कुरा वैज्ञानिकहरुको अनुसन्धानहरुले देखाएका छन् । राम्रो खाना खान नपाउने गर्भवतीहरुबाट जन्मेका बालबालिकाहरुलाई डायवेटिज र उच्च रक्तचाप जस्ता दीर्घ रोग लाग्ने सम्भावना ज्यादा हुन्छ । 

केहि प्रतिशत ब्लडप्रेसर भएकाहरुलाई एड्रिनल ग्रंन्थको ट्युमर  समेत हुन्छ । यसका विभिन्न किसिमका हर्मोनहरु निकालेर रक्तचाप बढाउँछ । यो ग्रंन्थीको भित्रि भाग अर्थात मेडुलाबाट निस्किने हर्मोनले रक्तचाप बढाउँछ । यहि ग्रंन्थीको बाहिरी भाग अर्थात कर्टेक्सबाट कर्टिजोन नामक हर्मोन ज्यादा उत्पन्न हुँदा CUSHING SYNDROME नामक रोगमा पनि रक्तचाप पढ्छ । एड्रिनल ग्रंन्थीको बाहिर भागबाट निस्कने अर्कोल हर्मोन हो अल्डोस्टेरोन । अल्डोस्टेरोन ज्यादा हुँदा CONN ले पत्ता लगाएको रोगमा उच्च रक्तचाप पाइन्छ । यो किसिमको अल्डोस्टेरोन हर्मोनका कारण हुने उच्च रक्तचापका रोगहरुमा पोटासियम र रेनिन कम पाइन्छ । उच्च रक्तचापबाट पीडित व्यक्तिहरुको रगतमा कम पोटासियम पाइयो भने अल्डोस्टेरोन ज्यादा हुने एड्रिनल ग्रंन्थीको ट्यूमर हुने सम्भावना हुन्छ । अल्ट्रासाउण्ड अथवा सिटी स्क्यानले उक्त एड्रिनल ग्रंन्थीको ट्यूमर पत्ता लागउन सक्छ । एड्रिनल ग्रंन्थीको ट्यूमर भएर हुने उच्च रक्तचापको उपचार शल्यक्रियाद्वारा सम्भव हुन्छ  । 

मानिसको मस्तिस्कभित्र पिटुटरी नामक ग्रंन्थी हुन्छ जसले विभिन्न किसिमका हर्मोनहरु उत्पन्न गराएर शरीरका थाइर्‍वायड, एड्रिनल र ओभरीबाट निस्किने हर्मोनहरुलाई नियन्त्रण गर्छ । अण्डकोषबाट निस्किने टेस्टोस्टेरोनलाई हर्मोनले पुरुष र ओभरीबाट निस्किने हर्मोनले महिला बनाउछ । 

बालबालिकाको उचाइ बढाउन र शरीरका अंगहरुलाई ठुलो पार्ने ग्रोथ हर्मोन पिटुइटरी ग्रंन्थीबाट निस्कन्छ । यो हर्मोन ज्यादा उत्पन्न हुँदा पनि रक्तचाप बढ्छ । यसरी विभिन्न किसिमका हर्मोनहरुले रक्तचापलाई बढाउन सक्छन् । यी हर्मोनहरु बढेको छैनन् भन्ने कुरा रगत जाँचेर पत्ता  लगाउन सकिन्छ । 

माथि उल्लेखित रक्तचापका कारण धेरै कम हुन्छन् । यी हर्मोनहरुका रोगहरुको निदान र यिनीहरुको उपचार पछि रक्तचाप सामान्य हुन्छ । कहिले काँहि रक्तचाप घटाउने ओखतीहरुको प्रयोग आवश्यक पर्न सक्छ  । 

मोटो शरीर भएका पुरुष तथा महिलाहरुलाई धेरै प्रकारका रोगहरु लाग्न सक्छन् । राति सुतेका बेला घुर्ने र छिन–छिनमा सास रोकिने (Sleep Apnea) रोग मोटा व्यक्तिहरुमा पाइन्छ । यसरी छिन–छिनमा सास रोकिँदा शरीरमा अक्सिजन कम हुन्छ । शरीरमा अक्सिजन कम हुदाँ मस्तिस्कमा प्रभाव पर्छ र रक्तचाप बढाउने हर्मोन (CATECHOLAMINE) उत्पन्न हुन्छ । यसरी सुतेका बेला सास फेर्न गाह्रो हुने रोगबाट पीडितहरुको रक्तचाप बढछ । यस किसिमको रक्तचापलाई सामान्य तुल्याउन राति मेसिनद्वारा अक्सिजन लिनु पर्छ ।

 यो लेखद्वारा ब्लडप्रेसर बढ्नुका धेरै कारणहरुको जानकारी पाठक वर्गहरुमा पुर्‍याउने प्रयास गरेको छु । उच्च रक्तचापका विभिन्न पक्षहरुलाई चिनाउने अंग्रेजी भाषा शब्दहरुलाई सर्वसाधारण नेपालीहरुले बुझ्ने नेपाली शब्दहरुमा वर्णन गर्न कोसिश गरेको छु । उच्च रक्तचाप सम्बन्धी यो लेखमा भएका तथ्यहरुलाई आफन्त र साथी भाइलाई जानकारी गराउन पाठक वर्गलाई विनम्र अनुरोध गर्दछु ।