अध्ययन–अनुसन्धानको कसीमा नेपाली लोकगीत

अध्ययन–अनुसन्धानको कसीमा नेपाली लोकगीत

यमबहादुर दुरा  |  लोकरञ्जन  |  श्रावण ३, २०७६

‘आफ्नो इतिहास, उत्पत्ति र संस्कृतिको ज्ञानविनाको मानिस जरा नभएको रूखजस्तै हुन्छ ।’ अफ्रिकी–अमेरिकी राजनीतिक अभियन्ता तथा पत्रकार मार्कस गार्भी (सन् १८८७—१९४०) को यो भनाइले मानिसका सांस्कृतिक धरातल कति महत्वपूर्ण छ भन्ने तथ्यलाई इङ्गित गर्छ ।

हाम्रो सांस्कृतिक धरातललाई मजबुत बनाउने कडी लोकसाहित्य र लोकसंस्कृतिसँग जोडिएको हुन्छ  । यिनीहरूसँग जनजीवनका वास्तविकताले नाता गाँसेका हुन्छन् । यस्ता पक्षसँग सम्बन्धित व्यक्ति र समुदायको इतिहास, उत्पत्ति र संस्कृतिका आयामहरू दरिलोसँग जाेडिएका हुन्छन् ।

लोकगीत सांस्कृतिक पक्षको त्यस्तो दरिलो खम्बा हो, जसले व्यक्ति र समुदायको पहिचान र सांस्कृतिक आयामहरूलाई मजासँग धानेको हुन्छ । लोकगीतले नागरिकका कथाव्यथा र हाँसो–आँसुलाई समेटेको हुन्छ । त्यसभित्र जनजीवनका अनगिन्ती वास्तविकता र किस्सा–कहानी समेटिएका हुन्छन् । खोजीपसेमा यस्ता किस्सा–कहानीमा नागरिकका इतिहास, गौरवगाथा र संस्कृतिका थुप्रै पाटाहरू एकपछि अर्को गरी खुल्दै जान्छन् । 

थुप्रै इतिहासकार र अध्येताहरूले लोकगीतलाई इतिहासको स्रोत मानेका छन् । यस विषयमा विश्वका चर्चित जर्नलहरूमा खोजमूलक लेखहरु प्रकािशत भएकाे पाइन्छ । तर, हामीकहाँ भने लोकगीतलको खोज–अनुसन्धान चुत्थो विषय बन्न पुगेको छ । यस्ता विषयमा कमै अध्ययन हुने गरेका छन् ।

सांस्कृतिक पहिचान, विषयगत गहनता, ज्ञान आदिका दृष्टिले लोकगीत व्यापक विषय भए पनि यसको खोज–अनुसन्धान पुग्नुपर्ने जति ध्यान गएको छैन । हाम्रो सन्दर्भमा यो सर्वथा कमजोर पक्ष हो । साथै, दुःखद पक्ष पनि हो । 

लोकगीतको अध्ययन–अनुसन्धानले उचित स्थान नपाए पनि व्यक्ति र समुदायको असली पहिचानका लागि लोकगीतको अध्ययन–अनुसन्धान हुनु आवश्यक छ । हेर्दा सामान्यजस्तो लागे पनि लोकगीत व्यापक विषय हो । 

अर्कोतिर, लोकगीत बहुआयमिक विषय पनि हो । यसको अध्ययन–अनुसन्धानमा साङ्गीतिक ज्ञानमात्र पर्याप्त छैन । सामाजिक–सांस्कृतिक परिवेश र सामाजिक मनोविज्ञानका तमाम पाटाहरूसँग अध्येता परिचित हुन आवश्यक छ । 

वाल्टर काफम्यानले आजभन्दा ५७ वर्षअघि सन् १९६२ मा ‘इथ्नोम्युजिकोलोजी’ जर्नलमा ‘फोकसङ अफ नेपाल’ शीर्षकमा लेख लेखेका थिए । उनले त्यसेबला नेपाली लोकगीतलाई धार्मिक तथा निरपेक्ष गरी दुई बृहत भागमा विभाजन गरेका थिए। 

नेपाली लोकगीतलाई यतिमा मात्र सीमित गर्दा यसको दायरा अलि सीमित हुन जान्छ । नेपालको लोकगीतको व्यापकतालाई बुझ्न र मापन गर्न नेपाली लोकगीतलाई अझ मसिनो गरी विभाजन गर्न आवश्यक छ । यसरी हेर्दा नेपाली लोकगीतलाई विभिन्न खण्डमा विभाजन गर्न सकिन्छ ।

शैलीगत वा विधागत दृष्टिले नेपाली लोकगीतलाई रोइला, ख्याली, ठाडो भाका, चुड्का, तामाङसेलो, मारुनी, देउडा, सालैजोलगायत सयौं विधामा विभक्त गरेर हेर्न सकिन्छ । स्तुति, बालन, मालसिरीजस्ता गीतलाई धार्मिक/आध्यात्मिक गीतको रूपमा लिन सकिन्छ । 

मैथिली, भोजपुरी, देउडा आदिलाई क्षेत्रीय भाषाका गीतको रूपमा वर्गीकरण गर्न सकिन्छ । नेवार, लिम्बू, राई आदि समुदायमा प्रचलित जातीय संस्कारमा आधारित गीतलाई इथ्नोम्युजिकोलोजी (जनजातीय संगीत) विधामा राख्न सकिन्छ । 

बालन, घाँटु, सोरठीजस्ता लोकनाटकमा विद्यमान गीति पक्ष  र कथानकलाई विभिन्न कोणबाट अध्ययन गर्न सकिने पर्याप्त ठाउँहरु छ । 

यसका अतिरिक्त मौरीबाजा, मादल, सारङ्गी, पञ्चेबाजा, मुरली, मुर्चुङ्गा, बिनायोलगायत थुप्रै स्थानीय र रैथाने लोकबाजालाई लोकगीतको अर्को महत्वपूर्ण पाटोको रूपमा लिन सकिन्छ । यिनीहरूको गहन अध्ययन अर्कै गम्भीर पाटो बन्न पुग्छ । 

भाका, कथ्य (भाव), लय र तालको संयुक्त रूप हो, लोकगीत । यस्ता विविध विषयको अध्ययन–अनुसन्धान गर्नु भनेको महासागरमा पौडनु जत्तिकै हो । लोकगीतको गहनता र व्यापकताबारे वर्णन गर्न शब्दहरू अपर्याप्त छन् । 

माथि नै भनियो, सांस्कृतिक पहिचान, विषयगत गहनता, ज्ञान आदिका दृष्टिले लोकगीत व्यापक विषय भए पनि यसको खोज–अनुसन्धान पुग्नुपर्ने जति ध्यान गएको छैन । हाम्रो सन्दर्भमा यो सर्वथा कमजोर पक्ष हो । साथै, दुःखद पक्ष पनि हो । 

नेपालमा पश्चिमी गोलार्द्धमा जस्तो लोकगीतसम्बन्धी अनुसन्धानको समृद्ध परम्परा पनि छैन । तर पनि  विगतमा सत्यमोहन जोशी (जन्मः वि.सं.१९७७), धर्मराज थापा (वि.सं.१९८१-२०७१), कृष्णप्रसाद पराजुली (वि.सं.१९९२-२०७०), कालीभक्त पन्त, हंसपुरे सुवेदी, लक्ष्मण लोहनी, मोतीलाल पराजुली (जन्मः वि.सं.२०१३) आदिले लोकगीतको खोज-अनुसन्धानलाई अघि बढाए । 

उनीहरूभन्दा पछिल्लो पुस्ताका गोविन्द आचार्य, विश्वप्रेम अधिकारी, तुलसी प्रवासजस्ता अध्येताले लोकगीतको खोजबिनमा भरथेग योगदान गरेका छन् । 

यी प्रयासहरू राम्रा हुँदाहुँदै पनि पर्याप्त छैनन् । यी अध्ययनमा गीतले समेटेका बृहत सामाजिक तथा सांस्कृतिक परिवेशको गहन र पर्याप्त विश्लेषणको अभाव देखिन्छ । शब्दिक वर्णनले मात्र गीतको मर्म बोल्न सक्दैन । धेरैजसो गीतमा नोटेसनको अभाव देखिन्छ । 

यी तमाम मामिलालाई ख्याल गर्दा लोकगीतको अध्ययन र अन्वेषणका लागि एउटा सिङगो दुनियाँ बाँकी छ । यसमा राज्यस्तर र जनस्तरको संयुक्त प्रयास अपेक्षित छ ।