अनिद्राको समस्याः औषधि नखाई निद्रा लगाउने १० तरिका

अनिद्राको समस्याः औषधि नखाई निद्रा लगाउने १० तरिका

प्रा.डा.सुदर्शन नरसिंह प्रधान  |  स्वास्थ्य  |  श्रावण ६, २०७६

मानिसको जीवन र शरीरका लागि नभइनहुने कुरा हो– निद्रा । मानिस अनुुसार निद्राको आवश्यकता पनि फरकफरक हुन सक्छ । कसैलाई ८–९ घण्टासम्म निद्राको आवश्यकता पर्न सक्छ भने कसैलाई ४–५ घण्टामै निद्रा पुग्न सक्छ । आफूलाई कति निद्राको आवश्यकता पर्छ भन्ने कुरा स्वयं आफैले निर्धारण गर्ने विषय पनि हो । स्वस्थ मानिसले आफनो शरीरलाई ‘आराम’ र ‘रिफ्रेस’ राख्न कम्तीमा ५–९ घण्टा निदाउनु अति आवश्यक हुन्छ ।

मानिसमा विभिन्न कारणले निद्रा नलाग्ने गर्छ । निरन्तर लामो समयसम्म निद्रामा गडबडी भयो भने मानसिक रोग नै निम्त्याउन सक्छ । अधिकांश मानसिक रोगका धेरै लक्षणमध्ये एउटा कारण अनिद्रा पनि हो ।

तर, अनिद्रा भयो भन्नेबित्तिकै ‘मानसिक रोग नै लाग्यो’ भनेर किटानीका साथ भन्न सकिँदैन । यद्यपि, निद्रा नलाग्ने लक्षणबाट कस्तो प्रकारको मानसिक रोग हो भन्ने निक्र्यौल निकाल्न सकिन्छ ।

‘डिप्रेसन’ पनि प्रायःजसो निद्रा गडबडीबाट सुरुवात हुने गरेको पाइन्छ । यस्तो अवस्थामा बिहानीपख नै निद्राले छोड्छ । र, भोलिपल्ट शरीर भारी हुने र टाउको दुख्ने समस्या समेत देखा पर्न सक्छ ।

अनिद्रा भन्नेबित्तिकै सामान्यतया सुतेको समयमा निदाउन कठिनाइ हुने, निद्रा आइसकेपछि बीचमै निद्रा टुट्ने र बिहान धेरै चाडै निद्राले छोड्ने र फेरि निद्रा नलाग्ने अवस्था हो ।

अनिद्रा भयो भन्नेबित्तिकै ‘मानसिक रोग नै लाग्यो’ भनेर किटानीका साथ भन्न सकिँदैन । यद्यपि, निद्रा नलाग्ने लक्षणबाट कस्तो प्रकारको मानसिक रोग हो भन्ने निक्र्यौल निकाल्न सकिन्छ ।

अनिद्राको अवस्था  

मानिसमा ‘मन आत्तिने रोग’का कारण पनि निद्रा नलाग्न सक्छ । यो रोग लागेका मानिसमा ओछ्यानमा जानेबित्तिकै निद्रा पर्दैन र सुतेपछि पनि छटपटी भइराख्न सक्छ । ओछ्यानमा पल्टेपछि पनि १/२ घण्टा समयसम्म पनि निद्रा पर्दैन । रातको समयमा एक पटक बिउँझेपछि पुनः फेरि निद्रा नलाग्न सक्छ, निद्रा लागिहाले पनि समय लाग्न सक्छ ।

बाइपोलार (Bipolar Disorder) को Manic phese मा रातभरि नै निद्रा लाग्दैन । यस्तो अवस्थाको मानिस ओछ्यानमा सुत्नुपर्छ भन्ने सोच नै हुँदैन र नसुतिकन आफूलाई कुनै काममा व्यस्त बनाइराख्न रुचाउँछ र भोलिपल्ट पनि त्यति थकित महसुस नै हुँदैन ।

निद्रा नलाग्ने अर्को कारण हो, ‘स्किजोफ्रेनिया’ । यो रोग लागेका मानिसमा भ्रम बढी हुने भएको बेलामा नसुतिकन आफै चनाखो (जाग्राम) भएर बस्ने गर्छन् । यो रोग लागेका मानिस आफूलाई कसैले ‘मार्न आउला’ कि भनेर ‘डर’ मानेर नसुती बस्ने गर्छन् ।

लामो समयसम्म रक्सी अत्यधिक सेवन र्ने व्यक्तिले एकैपटक रक्सी छोड्दा पनि हतपत निद्रा लाग्दैन र छटपटी बढी हुनसक्छ ।

साधारणतया मानिसको जीवनमा अकस्मात आइपर्ने तनाव, क्षणिक उत्तेजनाको अवस्था, डर, शारीरिक या मानसिक तनाव कारण निद्रामा गडवढी हुन सक्छ । त्यति मात्र होइन, ‘अत्यधिक खुसी’कोे अवस्थामा पनि निद्रामा गडबडी हुन सक्छ । यो अवस्था भने केही दिन रहन्छ र आफै ठिक हुँदै जान्छ ।

औषधि नखाई निद्रा लगाउने तरीका

निद्रा नलाग्दा विभिन्न औषधि प्रयोग गर्न सकिन्छ । तर, औषधि प्रयोग गरेर लागेको निद्राले शरीरलाई फाइदा गर्दैन । औषधि नखाइकन लाग्ने निद्राले भने फाइदा गर्छ । अतः यी तरिका अपनाएर औषधि नखाई पनि निद्रा लगाउन सकिन्छ ।

१. मानिसले आफूलाई दिनभरजसो कुनै न कुनै काममा व्यस्त राख्ने, जसले गर्दा शरीरमा थकित महसुस होस् । र, यसबाट निद्रा लाग्नमा सहयोग पुग्छ । मेचमा बसेर दिनभर काम गर्नु पर्ने व्यक्तिका लागि घटीमा पनि दैनिक बिहान आधा घण्टा व्यायाम गर्नु वा हिँड्डुल गर्नु उपयुक्त हुन्छ ।

२. दिउँसो आफ्नो ओछ्यानमा कहिल्यै पनि नपल्टिने । आफ्नो ओछ्यानलाई सुत्ने प्रयोजनको लागि मात्र उपयोग गर्ने ।

३. सुत्ने समयभन्दा अगाडि चिया वा कफी पिउनु हुँदैन ।

४. बेलुका खाना खाएको दुई घण्टापछि मात्र सुत्ने बानी बसाल्नु उपयुक्त हुन्छ । बेलुका पेटभरी हुने गरी खाना नखानु राम्रो हुन्छ ।  

५. आफ्नो सुत्ने समय आफैले निर्धारण गर्ने र सधैं एउटै समयमा सुत्ने गर्नुपर्छ । यदि सुत्ने समय राती १० बजे छ भने सधैं त्यही समयमा सुत्ने बानी बसालियो भने निद्रा लाग्ने गर्छ ।

६. सुत्ने समयभन्दा अगाडि हात–गोडा चिसो पानीले पखाल्ने, दाँत ब्रस गर्ने र मुख धुने बानी बसाल्दा पनि निद्रा पर्न सक्छ ।

७. ओछ्यानमा बसेर टिभी हेर्ने, मोबाइल चलाउने बानी हटाइयो भने पनि समयमा निद्रा लाग्न सहयोग मिल्न सक्छ ।

८. सुत्ने समयमा बत्ती निभाएर, खुकुलो लुगा लगाएर, आँखा बन्द गरेर बस्नु पर्छ । त्यसो गर्दा पनि निद्रा नलागेमा लामो–लामो श्वास केही समय लिएर एउटै एयकष्तष्यल मा बसे पनि निद्रा लाग्न सक्छ ।

९. साथीभाइ वा आफन्तले अलिकति रक्सी खाएमा निद्रा लाग्छ भनेर सल्लाह दिन सक्लान् । तर, त्यस्तो गर्नु उपयुक्त हुँदैन ।  

१०. धेरै हल्ला हुने ठाउँमा नसुत्दा र मोबाइल फोन अफ गरेर सुत्ने बानी बसाल्दा पनि निद्रा लाग्ने गर्छ ।