रक्तचापको उपचार किन र कसरी ? जान्नै पर्ने कुराहरु

रक्तचापको उपचार किन र कसरी ? जान्नै पर्ने कुराहरु

प्रा.डा.डम्बरबहादुर कार्की  |  स्वास्थ्य  |  श्रावण ७, २०७६

हाम्रो शरीरमा ब्लडप्रेसर बढ्नु पनि हुँदैन र कम पनि हुँनुहुदैन । ब्लडप्रेसर बढ्नु घट्नु यी दुवै अवस्था स्वास्थ्यको लागि हानिकारका मानिन्छ । ब्लडप्रेसर हुनु पर्ने भन्दा ज्यादा हुँदा हाम्रा शरीरका विभिन्न अंगहरुमा अवाञ्छनीय प्रभाव पर्छ जसले गर्दा दीर्घरोगहरुबाट पीडित हुनुपर्ने हुनसक्छ । यसर्थ उच्च रक्तचापले हाम्रा मूख्य अंगहरुलाई असर पार्नु भन्दा अगाडी नै सतर्क भएर यसलाई नियन्त्रण गर्नु उपयुक्त हुन्छ । उच्च रक्तचापबाट पर्ने असरहरु देखा पर्ना साथ यसको उपचार गरियो भने शरीरलाई स्वस्थ बनाइ राख्न सम्भव छ । 

अनियन्त्रित रक्तचापले के कस्ता असरहरु गराउन सक्छ भन्ने विषयमा छलफल गर्नु अति जरुरी छ । विश्व स्वास्थ्य संगठनले हृदयघात गराउने करोनरी धमनीको रोग संसारमै मृत्युको पहिलो कारण मानेको छ । हजारौं हजार पुरुष तथा महिलाहरु वर्षेनि यो रोगको शिकार हुनुपरिराखेको छ । धनी भनिएका देशहरुमा यो रोग ज्यादा पाइएको छ भने हाम्रो देशमा पनि यो रोगबाट पीडितको संख्या दिन प्रतिदिन बढीरहेको तथ्यांकले देखाउँछ । सूर्तीजन्य वस्तु प्रयोग गर्ने, हुनु पर्ने भन्दा ज्यादा तौल भएका चिनीरोगीहरु र व्यायाम नगर्ने रगतमा ज्यादा कलेष्ट्रोल हुने महिला तथा पुरुषहरुलाई अल्परक्त प्रवाह मुटु रोग (Coronary Artery Disease) ज्यादा हुन्छ भन्ने मान्यता छ । 

यी कारणहरु बाहेक मुटुरोग गराउने अर्को मूख्य कारण उच्च रक्तचाप हो । ब्लडप्रेसरलाई राम्ररी नियन्त्रण गरियो भने हृदयघातबाट पनि बच्न सकिन्छ । 

संसार भरमै मृत्युको दोस्रो कारण पक्षघात हो ।  पक्षघातबाट पीडित हुँदा मानिसको जीवन ज्यादै कष्टकर हुन्छ । यस्तो दीर्घरोगको एउटै मूख्य कारण उच्च रक्तचाप हो । धेरै ब्लडप्रेसर बढेका पुरुष तथा महिलाहरुलाई जुनसुकै बेला मस्तिस्कमा रक्तश्राव भएर पक्षाघात हुने सम्भावना हुन्छ । पक्षाघातबाट बच्न समयमानै उच्च रक्तचापको उपचार गर्नु पर्छ । 

उच्च रक्तचापले मुटुलई कम्जोर ENALAPRIL / LOSARTAN गराउन सक्छ । कमजोर मुटुका कारण यस्ता विरामीहरुको मृत्यु हुन्छ । मुटुलाई कमजोर हुन नदिन पनि समयमा नै रक्तचापको उपचार गर्नुपर्छ । मुटु कमजोर हुँदा औषधिहरुको प्रयोगद्वारा उपचार गर्दा पनि मुटुको रोग निको नहुनसक्छ । 

उच्च रक्तचापले आँखाभित्र रक्तश्राव गराएर दृष्टिमा प्रभाव पार्छ । अनियन्त्रित रक्तचापले अन्य अनेकौं रोग गराउने भएकाले यसको समयमा नै उपचार गराउनु बुद्धिमानी हुन्छ । 

हिजो आज ब्लडप्रेसरलाई नियन्त्रण गर्न धेरै प्रकारका औषधिहरु उपलब्ध छन् । कुन किसिमको औषधि कुन बेला प्रयोग गर्ने भन्ने विषयमा आफ्ना चिकित्सकसंग छलफल गर्नु राम्रो हो । यहाँ छोटकरीमा यस विषयमा छलफल गरिने छ ।

 गर्भावस्थामा उच्च रक्तचाप हुने महिलाहरुलाई ENALAPRIL र LOSARTAN जस्ता औषधिहरु प्रयोग गर्दा गर्भभित्रको शिशुको मृगौलामा नराम्रो असर पर्ने भएकाले यस्तो उच्च रक्तचापको उपचार गर्नु हुँदैन । पिसाब लगाउने ओखती, छोटो अवधिसम्म काम गर्ने NIFEDIPINE  र विटाब्लकर समूहका औषधीहरु पनि गर्भवती महिलालाई नदिनु उचित हुन्छ । विटाब्लकर समूहमा पर्ने ATENOLOL जस्ता औषधिहरुले गर्भको शिशुको शारिरिक वृद्धिमा प्रभाव पार्छ ।

गर्भावस्थामा भएको उच्च रक्तचापलाई नियन्त्रण गर्न METNYL DOPA, AMLODIPINE, LABETALOL, CLONIDINEHYDRALAZINE नामक औषधिहरुको प्रयोग गर्न सकिन्छ । चिनी रोग भएकाहरुमा उच्च रक्तचाप पनि हुन सक्छ । उच्च रक्तचापबाट पीडित चिनी रोगीहरुको उच्च रक्तचाप घटाउन ENALAPRIL, LOSARTANTELMISARTAN जस्ता औषधीहरु प्रयोग गर्न सकिन्छ । यी औषधिहरुले मृगौलालाई जोगाउँछन् ।

अल्परक्त प्रवाह हृदय रोगबाट पीडित विरामीहरुलाई बिटाब्लकर समुहका औषधि प्रयोग गरेर उच्च रक्तचापको उपचार गर्न सकिन्छ ।  एक प्रकारको औषधिले बढेको ब्लडप्रेसर घटाउन सकेन भने अन्य समुहका औषधि थप्नु पर्छ ।

 

धेरैजसो उच्च रक्तचापका बिरामीहरुलाई AMLOPIPINE द्वारा उपचार गरिन्छ । गिजा फुल्ने र खुट्टा सुन्निने यसका नराम्रा अवगुण हुन । यी अवगुण देखिएमा AMLODIPNE लाई बन्द गरेर अन्य रक्तचाप घटाउने औषधि खानुपर्छ । 

ENALAPRIL जस्ता औषधिहरुको मुख्य अवगुण सुखा खोकी लाग्नु हो । खोकी लागि रहेमा यसलाई बन्द गरेर अर्को औषधि खानुपर्छ । खोकी औषधि बन्द गर्न साथ निको हुँदैन । खोकी हराउन तीन सातासम्म लाग्न सक्छ । 

सिस्टोलिक ब्लडप्रेसर १८० भन्दा ज्यादा र डायष्टोलिक ब्लडप्रेसर १२० भन्दा ज्यादा भयो भने यस किसिमको ब्लडप्रेसरलाई कडा ब्लडप्रेसर भन्नु पर्छ । यति माथि ब्लडप्रेसर भएर पनि कुनै प्रकारका लक्षणहरु नभएमा र उच्च रक्तचापले प्रभाव पार्न सक्ने अंगहरुमा असर नपारेको भए ठुलो संकट आइ पर्ने सम्भावना हुँदैन् । यस प्रकारको ब्लडप्रेसरलाई (HYPERTENSIVE URGENCY) भनिन्छ । रक्तचाप कम गराउने औषधिहरुलाई प्रयोग गरेर विस्तारै रक्तचाप घटाउन सकिन्छ । रक्तचाप घटाउने  NIFEDIPINE लाई जिभ्रोमुनि राखेर तुरुन्तै रक्तचाप घटाउनु हुँदैन् । यसरी रक्तचाप घटाउदा शरीरलाई हानी हुन्छ ।

 १८०/१२० भन्दा ज्यादा रक्तचाप भएर मस्तिष्क, मुटु, आँखा र मृगौलाका कडा रोग भएका रोगीहरुलाई भने रक्तचाप घटाउने औषधिहरु प्रयोग गर्न चिकित्सकसंग सल्लाह लिनुपर्छ । यस किसिमको उच्च रक्तचाप (HYPERTENSIVE EMERGENY)  म को उपचार तुरुन्त गर्नुपर्छ । मस्तिष्क रक्तनली फुलेका (ANEURYSN) र महाधमनी फुटेका (AORTIC DISSECTION) रोगीहरुको सिस्टोलिक रक्तचाप २० मिनेटभित्र १२० भन्दा तल झार्नु पर्छ । 

यी ज्यादै कडा रोग भएकाले चिकित्सकहरुले विशेष प्रकारका जाँचहरु गरेर रोग पत्ता लगाउछन् । यस्ता रोगीहरुको उपचार अस्पतालको गहन कक्षमा गरिन्छ । पक्षाघात भएका रोगीहरुको ब्लडप्रेसरलाई तुरुन्तै कम गराउँदा मस्तिस्कमा नराम्रो प्रभाव पर्न सक्छ । यसर्थ यस्ता विरामीहरुको रक्तचाप विस्तारै घटाइन्छ । 

जीवन शैलीले मानिसको मानसिक र शारीरीक स्वास्थ्यमा ठूलो प्रभाव पारेको हुन्छ । मानसिक तनावले ब्लडप्रेसर बढाउँछ । मानसिक तनावबाट मुक्ति पाउन नकारात्मक सोच बदल्न सक्नु पर्छ । सुख भनेको खुसी हो । असान्तोषले र इच्छाले मनलाई दुखी तुल्याउँछ । यहि दुखले ब्लडप्रेसर बढाउँछ । मनलाई सन्तोष पार्ने सोचले रक्तचापलाई नियन्त्रण गर्छ ।

ब्लडप्रेसर बढ्न नदिन शरिरलाई मोटो हुन दिनु हुँदैन् । मोटो शरीर भएका हुनेले सबै किसिमका खाने कुरा कम खानु पर्छ र नियमित रुपले व्यायाम गर्नु पर्छ । दिनै पिच्छे आधा घण्डा चाडो–चाडो हिड्नुलाई राम्रो सजिलो व्यायाम मानिन्छ । व्यायामले रक्तचाप घटाउँछ । सागसब्जी, फलफुल, गेडागुडी र फाइवर युक्त भोजन ब्लडप्रेसर बढेकाहरुको लागि उत्तम मानिन्छ । साचुरेटेड फ्याट स्वास्थ्यको लागि हानिकारक हुन्छ । नूनले ब्लडप्रेसर बढाउने हुनाले ज्यादा नूिनलो खाना नखानु राम्रो हो । अनार, सुन्तला र केरामा पोटासियम पाइन्छ । पोटासियमले रक्तचाप घटाउछ । यसर्थ ताजा फलफुल खानु स्वास्थ्यको लागि राम्रो हो । ताजा फलफुलले हृदयघात हुनबाट पनि बचाउछ । लसुनले पनि रक्तचाप घटाउछ भन्ने कुरा प्रमाणित भैसकेको छ ।

 चुरोट खाने व्यक्तिहरुलाई हृदयघात हुने डर हुनुको साथै यसले रक्तचाप पनि बढाइ दिन्छ । यसर्थ सूर्ति जन्यवस्तु उच्च रक्तचाप भएकाहरुलाई हानिकार हुन्छ । यो नराम्रो बानी परित्याग गरी दिनु नै उचित हो । शरीर दुख्दा प्रयोग गरिने औषधिहरुले परिवार नियोजनका लागि महिलाहरुले खाने चक्की प्टेग्वायड र अन्य केही औषधिहरुले पनि रक्तचाप बढाउछन् । माथि उल्लेखित कुराहरुलाई ध्यान दिएर पनि रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ । 
नेपालमा मद्यपान गर्ने मानिसहरु धेरै छन् । अघिक मद्यपान गर्नेहहरुलाई स्नायुमा प्रभाव (SEMPATHETIC NERVE) परेर रक्तचाप बढ्छ । यसर्थ अत्याधिक मदिरा खानु हुँदैन । 

अन्तमा भन्नु पर्दा उच्च रक्तचाप थाहा पाउन सजिलो छ । उच्च रक्तचापका कारण थाहा पाउन भने त्यति सजिलो छैन् । उच्च रक्तचापले शरीरका विभिन्न अंगहरुमा पर्ने प्रभावहरु चाल पाउन र उच्च रक्तचाप गराउने कारणहरु पत्ता लगाउन विशेष किसिमका परिक्षणहरुको आवश्यकता पर्छ । उच्च रक्तचापमा के–के कस्ता जाँचहरु गर्नु पर्छ भन्ने कुरा आफ्नो चिकित्सकसंग सल्लाहर गर्नु उचित हुन्छ ।

रेनल आर्टरीलाई सिंम्पाथोटिक स्नायुले बेरेको हुन्छ । यो स्नायुलाई रेडियो फ्रिक्वाइन्सीले डढाइयो (RFA) भने उच्च रक्तचाप कम हुन्छ भन्ने कुरा सन् २०१० मा सर्वप्रथम चर्चामा आयो । रक्तचाप कम गराउन यो प्रविधिको प्रयोग त्यति भएको देखिदैन् । यो प्रविधिलाई RDN अर्थात रेनल धमनी बाहिर हुने स्नायुहरुलाई नष्ट पार्ने प्रविधि भनिन्छ ।

केही प्रतिशत उच्च रक्तचापबाट पीडित बिरामीहरुको उच्च रक्तचाप घटाउन शल्यक्रियाको आवश्यकता पर्छ । एड्रिनल ग्रंन्थीको ट्यूमरमा ब्लडप्रेसर बढछ । यस किसिमको रक्तचापलाई नियन्त्रण गर्न ट्युमरको शल्यक्रिया गर्नु पर्ने हुन्छ । 

माथि उल्लेखित भए अनुसार उच्च रक्तचापको उपचार परहेज, औषधिहरुको प्रयोग र शल्यक्रियाद्वारा गरिन्छ । शल्यक्रिया गर्नु पर्ने उच्च रोगका विरामीहरु धेरै कम हुन्छन् । अधिकांश ब्लडप्रेसरका बिरामीहरुलाई परहेज र औषधीकोे मात्र उपचार चाहिन्छ । आफ्नो र आफन्तहरुको ब्लडप्रेसर नियन्त्रण गर्न यो लेखले केही हदसम्म मद्धत गर्नेछ भन्न कुरामा विश्वस्त छु  ।