कोलेष्ट्रोलको कहानीः खरायाेमा प्रभाव देखिने, कुकुरमा नदेखिने

कोलेष्ट्रोलको कहानीः   खरायाेमा प्रभाव देखिने, कुकुरमा नदेखिने

प्रा.डा.डम्बरबहादुर कार्की  |  स्वास्थ्य  |  श्रावण १४, २०७६


रगतमा हुनुपर्ने भन्दा बढी कोलेस्ट्रोल भयो भने हृदयघात हुन सक्छ भन्नेमा अचेल विवाद देखिँदैन । यसमा विश्वास दिलाउन वैज्ञानिकहरूलाई धेरै वर्ष लाग्यो । सन् १९६१ मा मात्र कोलेस्ट्रोलले मुटुरोग निम्त्याउँछ भन्नेले मान्यता पायो । 

POULLETIER DE LA SALLE ले सन् १९६९ मा पित्त र पित्तका थैलीमा भएको पत्थरीमा कोलेस्ट्रोल पाएका थिए । त्यसअघि  कोलेस्ट्रोलको चर्चा भएको पाइँदैन । कोलेस्ट्रोललाई पुनः सन् १८१५ मा CHEVREUL ले पत्ता लगाएर CHOLESTERINE भनी नामाकरण गरेका हुन् । सन् १९७२ मा हेन्ड्रिच ओट्टो वेल्याण्ड (Heindrich otto weiland) कोलेस्ट्रोलको संरचना पत्ता लगाएबाफत नोबल पुरस्कारसमेत पाएका थिए । 

BOUDET ले सन् १८३३ मा कोलेस्ट्रोल रगतमा भएको कुरा पत्ता लगाएका थिए । 

हिजोआज रगत जाँचेर कोलेस्ट्रोल पत्ता लगाइन्छ । 

मानिसको रगतमा नराम्रो   LDL र राम्रो HDL कोलेस्ट्रोल हुन्छ । ट्राइलिसेरायड रगतमा हुने अर्को चिल्लो पदार्थ हो । यसले पनि मुटुरोग गराउन सक्छ । नराम्रो LDL कोलेस्ट्रोल र ट्राइग्लिसेरायडलाई खानामा बारेर, नियमित व्यायाम गरेर तथा औषधि खाएर हृदयघातबाट बच्न सकिन्छ । राम्रो HDL कोलेस्ट्रोलले मुटुलाई संरक्षण गरेर हृदयघात हुनबाट बचाउँछ । यसर्थ HDL कोलेस्ट्रोल रगतमा कम हुनु हुँदैन । 

धूमपानले HDL  कोलेस्ट्रोल घटाउने भएकाले धूमपान परित्याग गर्नाले राम्रो कोलेस्ट्रोल बढ्छ । मोटो मानिसहरूले तौल घटाउँदा र नियमित व्यायाम गर्दा पनि राम्रो कोलेस्ट्रोल बढ्छ । मदिरापानका धेरै अवगुणहरू भए तापनि यसले राम्रो कोलेस्ट्रोल बढाउँछ । मद्यपान नगर्नेहरूले राम्रो कोलेस्ट्रोल बढाउँछ भनेर रक्सी खान थाल्नु भने बुद्धिमानी होइन । HDLकोलेस्ट्रोल बढाउने औषधिहरू पनि हुन्छन् । 

JOHN WILLIUM GOFMAN को जन्म सन् १९१८ मा CLEVELAND मा भएको थियो । उनले फिजिक्समा पिएचडी गरेपछि चिकित्साशाश्त्र अध्ययन गरेका थिए । फिजिक्स र मेडिसनका ज्ञाता भएकाले लाइपोप्रोटिनको विषयमा जानकारी प्राप्त गर्न उनलाई सजिलो भएको थियो । कोलेस्ट्रोलले मुटुरोग गराउन सक्छ भन्ने कुरा गोफम्यानले नै पत्ता लगाएका हुन् । उनले सन् १९५५ मा यस विषयमा उल्लेख गरेका थिए । 

अनिसको (NIKOLAI N ANITSCHKNOW) रुसको प्रसिद्ध प्याथोलोजिस्ट हुन् । यिनले सन् १९१३ मा खरायोलाई कोलेस्ट्रोल खान दिएर रगतका नलीभित्र परेको प्रभावलाई अध्ययन गरेका थिए । अध्ययनका क्रममा महाधमनीभित्रको पत्राभित्र  (ENDOTHELIUM) कोलेस्ट्रोल भरिएक रक्तकोषहरू (FOAM CELLS)  पाइएको थियो । यही नै रगतका नलीहरूलाई रोगग्रस्त गराएर साँघुरो पार्नेको सुरुवात थियो । मुटुलाई रक्तसंचार गर्ने करोनरी धमनीहरूलाई साँघुरो गराएर हृदयघात गराउने पनि यही कारण थियो । एनिट्सकोले (ANITSCHKOW) खरायोलाई कोलेस्ट्रोल खान दिएर रगतका नलीहरू रोगग्रस्त हुन्छन् भन्ने कुरा तत्कालीन वैज्ञानिकहरूले विश्वास गर्न सकेनन् । पछि उनीहरूले मुसो र कुकुरलाई कोलेस्ट्रोल खान दिएर अनुसन्धान पुनः गरेका थिए । अनुसन्धानका क्रममा उनीहरूले कुकुरका रक्तनलीहरू प्रभावित भएको पाएनन् । एनिट्सकोले साकाहारी खरायोमा अनुसन्धान गरेकाले रक्तनली प्रभावित भएको निश्कर्ष निकाले । तर, यसो हुनुको कारण अर्के थियो । मुसो र कुकुरमा गरिएको अनुसन्धानमा रक्तनलीलाई कोलेस्ट्रोलले प्रभावित नपारेको कारण रोचक रहेछ । कुकुरलाई कोलेस्ट्रोल खान दिँदा यसको रगतमा कोलेस्ट्रोल बढ्दो रहेनछ । कुकुरमा कोलेस्ट्रोल द्वारा निश्कासित हुने भएकाले रगतमा कोलेस्ट्रोल बढ्दो रहेनछ । फलस्वरूप ज्यादा कोलेस्ट्रोल खाँदा पनि कुकुरका धमनीहरूमा प्रभाव नपर्ने रहेछ । 

अधिक कोलेस्ट्रोल भएका खाद्य पदार्थ खाने मानिसलाई मुटुरोग (Coronary Artery Disease) लाग्न सक्छ । 

रगतमा कोलेस्ट्रोल ज्यादा हुँदा मुटुरोग हुन सक्छ भन्ने कुरा त्यति बेलाका वैज्ञानिकहरू विश्वास गर्दैनथे । 

अनुसन्धानका क्रममा उनीहरूले कुकुरका रक्तनलीहरू प्रभावित भएको पाएनन् । एनिट्सकोले साकाहारी खरायोमा अनुसन्धान गरेकाले रक्तनली प्रभावित भएको निश्कर्ष निकाले । तर, यसो हुनुको कारण अर्के थियो । मुसो र कुकुरमा गरिएको अनुसन्धानमा रक्तनलीलाई कोलेस्ट्रोलले प्रभावित नपारेको कारण रोचक रहेछ । कुकुरलाई कोलेस्ट्रोल खान दिँदा यसको रगतमा कोलेस्ट्रोल बढ्दो रहेनछ । कुकुरमा कोलेस्ट्रोल पित्तद्वारा निश्कासित हुने भएकाले रगतमा कोलेस्ट्रोल बढ्दो रहेनछ । फलस्वरूप ज्यादा कोलेस्ट्रोल खाँदा पनि कुकुरका धमनीहरूमा प्रभाव नपर्ने रहेछ । 

अनिस्कोले खरायोलाई कोलेस्ट्रोल खुवाएर गरेको अनुसन्धानबाट प्रभावित भएर यस सम्बन्धमा पछि धेरै अनुसन्धान भएका थिए । धेरै वैज्ञानिकका खोजतलासपछि अन्तमा रगतमा बढेको नराम्रो कोलेस्ट्रोलले हृदयघात गराउन सक्ने निश्कर्ष निकालियो । 

K. Bloch र  Fleden ले १९६४ मा कोलेस्ट्रोल बनाएका थिए । Bloch ले १९६४ मा कोलेस्ट्रोल बनाएकाले नोबेल पुरस्कार पाएका हुन् । 

सन् १९५० को दशकमा कोलेस्ट्रोलले मुटुरोग गराउन सक्ने सोचको सुरुवात भएको हो । त्यतिबेला नै रगतमा बढेको चिल्लो पदार्थलाई कम गराउने गुण नायसिन (Niacin) मा भएको कुरा पत्ता लागेको थियो । नायसिन भिटामिन बी कम्प्लेक्स समूहमा पर्छ । 

सन् १९६० को दशकमा Brown र Goldstein   ले एल.डि.एल रिसेप्टार पत्ता लगाएर गोल्डस्टेनले नोबेल पुरस्कार पाएका थिए । 

सन् १९८० को दशकमा स्टाटिन (Statins) लाई प्रयोगमा ल्याइयो । १९९० को दशकमा कोलेस्ट्रोल कम गराउने स्टाटिन समूहका ओखतीको विषयमा वैज्ञानिकले अनुसन्धान गरेर यिनीहरूले हृदयरोग नियन्त्रण गर्न सक्छ भन्ने कुरा पत्ता लगाएका हुन् । 

सुगर, थाइग्वायड हर्मोन कम हुने रोग र नेफ्रोटिन सिण्ड्रोम नामक मृगौला रोगमा रगतको चिल्लो पदार्थ बढी हुन्छ । यो चिल्लो पदार्थ रक्तनलीमा जमेको हुन्छ भन्ने कुरा S. Weinhouse  र EF Hirsch  ले प्रकाशमा ल्याएका हुन् । 

सन् १९३३ मा Weiss र Minot  ले खरायोलाई कोलेस्ट्रोल खुवाएर अनुसन्धान गरेका थिए । खाद्य पदार्थले रगतका नलीहरूको रोग गराउन सक्ने विषयमा पनि यिनीहरूले खोजी गरेको पाइन्छ । कोलेस्ट्रोलले अल्प रक्त प्रवाह करोनरी मुटुरोग गराउन सक्ने सम्भावना नभएको निष्कर्ष त्यतिबेला निकालिएको थियो । 

डडले पवल ह्वाइट अमेरिकाका प्रसिद्ध मुटुरोग विशेषज्ञ मानिन्छन् । उच्च रक्तचाप, ज्यादा परिश्रम, एलर्जी र कोलेस्ट्रोलको कारणले मुटुरोग हुन सक्ने कुरा २०४७ मा पावल ह्वाइटले औंल्याएको भए पनि उनलाई यस कुरामा पूर्ण विश्वास भने थिएन । 

पवल उड बेलायतका प्रसिद्ध हृदयरोग विशेषज्ञ हुन् ।  र, उनले मुटुरोगसम्बन्धी पुस्तक पनि लेखेका छन् । रगतका नलीमा चिल्लो पदार्थ पाइएता पनि कोलेस्ट्रोलले मुटुरोग गराउँछ भन्ने कुरामा पवल उडले विश्वास गरेको पाइँदैन । 

रगतमा ज्यादा कोलेस्ट्रोल हुने आणुवंशिक रोग हुनेहरूलाई अल्परक्त प्रवाह करोनरी हृदयरोग हुन्छ भन्ने कुरा सन् १९४८ मा  Boas   र उनका साथीहरूले पत्ता लगाएका हुन् । 

सन् १९५१ मा Leys ले ब्रिटिश हार्ट जर्नलमा कोलेस्ट्रोल र करोनरी हृदयरोगको विषयमा Tuberous Xanthomatosis  शीर्षकमा पहिलो पटक प्रस्तुति दिएका थिए । कोलेस्ट्रोल र स्याचुरेटेड चिल्लो पदार्थले करोनरी हृदयरोग गराउँछ भन्ने कुरा Ancel Keys ले सन् १९५२ मा भनेका थिए । 

सन् १९५३ को अप्रिलमा आयोजित ब्रिटिश कार्डियाक सोसाइटीको मिटिङमा चिल्लो पदार्थ र करोनरी हृदयरोगसम्बन्धी लेखः MF OliverGeorge Boyd ले प्रस्तुत गरेका थिए । न्युक्यासलमा सञ्चालित यो मिटिङमा Sir William Hume  ले यो प्रस्तुतिमा कसैको केही जिज्ञासा छ कि भनेर सोधेका थिए । यसै सन्दर्भमा पावल उडले यो समय खेर फाल्ने खालको लेखमा के छलफल गर्ने भनेका थिए । Maurice Cambell ले भने यो लेखमा केही सत्यता हुन सक्ने देखे । अन्त्यमा त्यतिबेलाका बेलायतका प्रसिद्ध चिकित्सक Ray Gilchrist ले OliverBoyd लाई सत्य–तथ्य पत्ता लगाउन तीन महिना पुस्तकालयमा अध्ययन गर्ने सल्लाह दिएका थिए । यो सल्लाहलाई शिरोपर गरेर कोलेस्ट्रोलसम्बन्धी धेरै कुराको जानकारी लिएर कोलेस्ट्रोलले हृदयरोग गराउँछ भन्ने कुराको पुष्टि OliverBoyd ले गरेर मानव जातिलाई नै अमूल्य ज्ञानको भेट दिएका हुन् ।

सन् १९७१ मा डा. श्यामबहादुर पाण्डे, डा. खगेन्द्र श्रेष्ड र मैले ६ महिना इडिनबरामा अध्ययन गरेका थियौँ । इडिनबराका विश्व प्रसिद्ध चिकित्सकहरूसँग हामीहरूले धेरै कुरा सिक्यौँ । यहाँ उल्लेखित  MF Oliver को लेक्चर डेभिडसन हलमा सुन्ने अवसर हामीहरूले पाएका थियौं । यो हाम्रो लागि गौरवको कुरा हो । फिजिसियनहरूको इडिनबराको रोयल कलेजले डिसेम्बर २००९ मा प्रकाशित पत्रिकामा स्टाटिन समूहका ओखतीहरूको विवरण छ । 

टोकियोको Sankya कम्पनीमा कार्यरत वैज्ञानिक अकिरा इण्डोले कोलेस्ट्रोल कम गराउने कम्प्याक्टिन -(Compactin) नामक ओखती पत्ता लगाएका हुन् । पेनिसिलियम सिट्रिनमबाट कम्प्याक्टिन उत्पन्न गराइएको थियो । सन्  १९७७ सालमा अकिरा यामामोटोले १८ वर्षीय जापानी महिलालाई कोलेस्ट्रोल कम गराउन पहिलोपल्ट कम्पयाक्टिन खान दिएका थिए । सन् १९६६ मा सा‍ंकियो कम्पनीले कम्पयाक्टिनको जानकारी मर्क  कम्पनीलाई दिएको थियो । १९७८ मा मर्क कम्पनीले नेभिनोलिन Nevinolin पत्ता लगायो । नेभिनोलिन नै लोभास्टाटिन थियो । सन् १९८७ मा लोभास्टाटिनलाई अमेरिकामा प्रयोग गर्न सकिने स्वीकृति पाइएको थियो । सन् १९८८ मा मर्कले सिम्भास्टाटिन पत्ता लगायो । अकिरा इण्डोले पत्ता लगाएको मोनाकोलिन के Monakolin K नामक ओखती सिम्भास्टाटिन नै भएको पाइयो । सांकिया कम्पनीले सन् १९९१ मा प्रभास्टाटिन पत्ता लगायो । सन् १९९४ मा फ्लुभास्टाटिन Fluvastatin, १९९७ मा एटोर्भास्टाटिन Atorvastatin, १९९८ मा सेरिभास्टाटिन  Cerivastatin र २००३ मा रोजुभास्टाटिन (Rosuvastatin) पत्ता लगाइएका हुन् । मांसपेसीमा नराम्रो प्रभाव परेकोले सेरिभास्टाटिनको प्रयोग बन्द गरियो । स्टाटिन समूहका अन्य ओखतीहरू कोलेस्ट्रोल कम गराउन प्रयोग गरिन्छन् । यिनीहरूले रगतको कोलेस्ट्रोल कम गराएर हृदयघात गराउने मुटुरोगको घटनाक्रम कम गराउँछ । उपरोक्त तथ्यलाई अनेकौं अनुसन्धानले प्रमाणित गरिसकेका छन् । 

Scandinavian Simbastatin Survival Study ४ हजार ४ सय ४४ जना ३५–९० वर्षका पुरुष तथा महिलामा गरिएको थियो । सिमभास्टाटिन प्रयोग गर्नेहरूमा हृदयरोगबाट हुने मृत्युदर ३० प्रतिशतले कम भएको थियो । यो जस्तै अन्य धेरै अनुसन्धानले हृदयरोग कम गराउन स्टाटिन समूहका ओखतीहरू सक्षम भएको प्रमाणित गरेका छन् । कोलेस्ट्रोल कम गराएर हृदयघात र पक्षघात कम गराउने स्टाटिन समूहका ओखतीको अनुसन्धानलाई २१ औं शताब्दीको एउटा ठूलो उपलब्धि मान्नुपर्छ । करोडौं मानिसको मृत्युको कारण हृदयघात र पक्षघातबाट बच्न स्टाटिनको सही प्रयोग हुनुपर्छ । नियमित रूपले स्टाटिन समूहका ओखती प्रयोग गर्दा समय–समयमा रक्त परीक्षण गर्नुपर्ने हुन्छ । यो समूहको ओखतीलाई बेलुकाको समयमा प्रयोग गर्दा यिनीहरू ज्यादा प्रभावशाली हुन्छन् भन्ने कुरामा विशेषज्ञ विश्वास गर्छन् । यसरी वर्षौंको कठिन परिश्रमद्वारा पत्ता लगाइएका स्टाटिन समूहका ओखतीहरू प्रयोग गरेर आफ्नो आनन्दमय जीवन लम्ब्याउन लेखक सबैलाई सल्लाह दिन्छ ।