स्वामी अरूण, मिडिया र म

स्वामी अरूण, मिडिया र म

ज्ञानमित्र  |  जीवनदर्शन  |  श्रावण १६, २०७६

लेखको शीर्षमा नाम पहिला स्वामी अरूणको आए पनि चर्चाको प्रारम्भ आफैबाट गर्न गइरहेको छु । कतिपयले यसलाई मेरो अहमता पनि भन्न सक्नुहुन्छ । तर्क हुन सक्छ– विश्व प्रसिद्ध स्वामी अरूणभन्दा पहिला आफ्नो चर्चा गर्ने यो कस्तो दम्भी र आत्ममुग्ध पाराको मनुवा हो, जसले आफ्नो हैसियत आफै कुल्चिएर ‘बित्ताभरिको आफ्नो हैसियतको लाशमाथि उभिएर’ स्वामी अरूणभन्दा अग्लो देखिने अपरिमित दुस्साहसका साथै अनाहक चेष्टाको ‘इल्युजननेट’ (भ्रमजाल) बुन्ने जमर्को गर्दैछ । 

स्वामी अरूणको प्रदीप्त आभामण्डलबाट आफ्नो मन– मस्तिष्कका गुम्फित कुना–कन्दरामा जन्म–जन्मान्तरको संचित कलुषिताबाट विस्तारै, ‘असतो मा सद्गमय’को ऊध्र्व यात्रामा कटिबद्ध, आबद्ध वा स्वाभाविक प्रगति गरिरहेका अरूण स्वामीप्रेमी साधक–साधिकाको चित्ताकाशमा उपर्युक्त प्रकारको भाव उद्दीपन हुनु किमार्थ पनि अस्वाभाविक वा अप्राकृतिक हुन्न । 

तर, प्रकृति भने वैचित्रता र वैविध्यता एवम् समस्तखाले अनुकूलता तथा प्रतिकूलताको आभाषी समागमले अस्तित्ववान भएको रहस्य दर्शनबाट पराभूत भएका जनहरूका लागि भने एकतर्फी तर्क एवम् स्पष्ट प्रमाण पनि स्वीकार्य नभएर प्रकृतिमा रहेका सबै–सबै सम्भावना एवम् विरोधाभासका यावत स्वरूप स्वतःस्फुर्त मान्य हुन्छन् । 

‘तमसो मा ज्योतिर्गमय’ रूपी दोस्रो सोपानका अवलम्बीले भने निश्चय पनि स्वामी अरूणभन्दा पहिला आफ्नो चर्चा गर्ने मेरो कृत्यलाई लेखकीय शैली, प्रस्तुतिको प्रासंगिकता वा विषयवस्तुको प्रकटीकरण विषयक बाध्यता सम्झेर भत्र्सना वा आलोचनाबाट विमुख रही सहज रूपले मानसिक गंगोत्रीबाट निःसृत हुन लागिरहेको यस ‘भर्चुअल’ शब्द–गंगामा प्रसन्नतापूर्वक प्रवेश गर्ने छन् । 

यस जीवनमा सन्यासको यात्रा प्रारम्भ हुनुपूर्व आजीविकाका लागि यो अकिंचन पत्रकारिता क्षेत्रमा आबद्ध थियो । यस क्षेत्रमा यसको अध्ययन वा कौशल भने नितान्त गोलो नै थियो । पत्रकारितामा प्रवेश उपरान्त मात्रै यसले पत्रकारिताको अ आ इ...बुझ्ने अवसर पायो । र, यो अ आ इ...को बुझाइ पनि यससम्बन्धी स्कुल–कलेजमा नभएर सोझै कर्मस्थलमा संग्रहित भएको थियो । र, पत्रकारिताको यो कार्यकाल पनि लामो अवधिको हुन सकेन, जम्मा ६–७ वर्षमै सीमित रह्यो । 

तपाईंहरूको मनमा प्रश्न उठनु स्वाभाविक हो, म यो चर्चा किन गरिरहेछु ?

यसको स्पष्ट कारण हुन्– कुनै जमानाका मेरा अग्रज एवम् आत्मीय मित्र स्वामी अरूण । गएको केही महिनादेखि काठमाडौंको एउटा ‘मिडिया हाउस’ले स्वामी अरूणको छवि ध्वस्त गर्ने अभियान थालेको छ । विभिन्न प्रकारले त्यस मिडिया हाउसले उनकाविरुद्ध प्रहार गर्ने गरेको देख्दा म सोच्न बाध्य हुन्छु– के यो पत्रकारिता हो ?

उनकाविरुद्ध बारम्बार कुनै सामाजिक वा उन्नत आध्यात्मिक व्यक्तित्व नभएका स्वदेशी र विदेशी मानिसका माध्यमले अनवरत विष वमन गर्नु÷गराउनु पत्रकारिताको कुन सिद्धान्तअन्तर्गत पर्छ ?
के स्वामी अरूण चोर हुन्, दलाल हुन्, माफिया हुन्, असामाजिक कार्यमा संलग्न प्राणी हुन्, दुव्र्यसनी हुन्, सूदखोर हुन्, भ्रष्टाचारी हुन् वा अन्य कुनै किसिमको आर्थिक, सामाजिक, राजनीतिक, साम्प्रदायिक अपराधमा संलग्न ‘भगौडा’ हुन् ? 

उनी उपर्युक्त कुनै किसिमको अवैध आचरणमा लिप्त छन् भने, नेपाल सरकारसँग प्रश्न छ– उनी स्वतन्त्रतापूर्वक नेपाली धरामा विचरण किन गरिरहेका छन् ? के उनका लागि जेलमा स्थान रिक्त छैन र ?
के त्यस मिडिया हाउससँग कुनै नैतिकता छैन, जे वारम्बार प्रतिशोधस्वरूप एक व्यक्तिविरुद्ध अनर्गल लेखनमा आफ्नो बहादुरी सम्झिन्छ ! 

स्वामी अरूण नेपालको एउटा आध्यात्मिक ‘मोटिभेटर’ हुन् । यसको अर्थ यो होइन, उनको जीवनमा कुनै कमी छैनन् । अथवा एउटा संस्था सञ्चालन गर्ने क्रममा उनीबाट कुनै गल्ती वा आचरणमा क्षुद्रता घटित भएका छैनन् । 

स्वामी अरूण नेपालको एउटा आध्यात्मिक ‘मोटिभेटर’ हुन् । यसको अर्थ यो होइन, उनको जीवनमा कुनै कमी छैनन् । अथवा एउटा संस्था सञ्चालन गर्ने क्रममा उनीबाट कुनै गल्ती वा आचरणमा क्षुद्रता घटित भएका छैनन् । 

यस सम्बन्धमा कसैसँग प्रमाण छ भने, मान्नुस् स्वामी अरूण कुनै दिव्य शक्तिले सम्पन्न सिद्धपुरुष होइनन्, जे उनको श्राप तपाईंविरुद्ध क्रियान्वित हुन्छ । जानुस्, अदालत जानुुस्, उनका कुनै पनि अपराधविरुद्ध यथेष्ट दण्ड हुनुपर्ने माग गर्नुस् । 

तर, आफू स्वमं अध्यात्मिक साधनामा लागेको र समाजका विभिन्न वर्ग समुदायलाई आध्यत्मिकता अँगाल्ने प्रेरणा, प्रोत्साहन र सहयोग गर्ने व्यक्तिलाई दिनहुँ गालीगलौज शैलीमा अपशब्द र निन्दाको भारी बोकाउने काम नगर्नुस्, यो मानवीय अपराध हो । 

वर्तमानमा स्वामी अरूणसँग मेरो कुनै सम्बन्ध छैन । विगत १२ वर्षमा केही महिनापहिला एउटा सार्वजनिक कार्यक्रममा उहाँसँग भेट भएको थियो । म तपोवन नगएको पनि ‘जुग’ नै बितिसक्यो । 

म स्वयं उहाँको जीवनशैली, कार्यपद्धति र गुरुडमपनाको कटु आलोचक हुँ । सन् २००४ मा हरिद्धारस्थित पाइलटबाबाको आश्रममा रहँदा उहाँ मलाई भेट्न आउनुभएको थियो । त्यसको १ वर्षपछि उहाँले मलाई तपोवन आउने निमन्त्रणा दिनुभएको थियो । र, वास्तवमा त्यसबेलाको त्यही भेट नै उहाँसँग मेरो अन्तिम भेट बन्यो । म मात्र किन प्रेम पथिक, राम थपलिया आदि साथीहरू पनि उहाँको कार्यपद्धतिका आलोचक हुन् । आलोचक हुनुको अर्थ यो होइन, हामी उहाँकाविरुद्ध झण्डा उचालेर मार्च गरौं । 

मलाई लाग्दैन– नेपाली मिडिया धर्म, अध्यात्म र विज्ञानबारे सामान्य ज्ञान पनि राख्छ । यो आक्षेप मैले सम्पूर्ण नेपाली मिडियामाथि केन्द्रित गरेको हुँ, चाहे ती ‘बिग हाउस’ हुन् वा ‘स्मल हाउस’ । 

स्वामी अरूणले गरेका कुनै अपराध वा असामाजिक क्रियाकलापबारे लेख्नु जुनसुकै मिडियाको अधिकार मात्र होइन, प्राथमिक कर्तव्य नै हो । तर, विभिन्न मिडिया हाउसमा कार्यरत अग्रज, समवयस्क वा प्रबुद्ध युवा पत्रकार मित्रहरू, छातीमा हात राखेर भन्नुस्, के तपाईं कुनै आध्यात्मिक गुरुको आलोचना गर्ने किंचित पनि पात्रता राख्नुहुन्छ ? 

के तपाईंहरू कुनै नेता, अधिकारी, कर्मचारी, व्यापारी, ठेकेदार, गुण्डा, माफिया, असामाजिक तत्वले गरेको पत्रकारिता क्षेत्रको आलोचना वा निन्दा सहन गर्नुहुन्छ ? विकृति, विसंगति र तमाम किसिमका कुरूपता त तपाईंहरूको क्षेत्रमा पनि व्यापक व्याप्त छन् । तर, यसको अर्थ यो होइन, कुनै टोले गुण्डाले कुनै पत्रकार वा सम्पूर्ण पत्रकारिता क्षेत्रकै बदख्वाइ गर्दै हिडोस् । 

स्वामी अरूणले गरेका कुनै पनि असामाजिक कृत्यबाहेक उनका सम्पूर्ण आध्यात्मिक गतिविधि, चालचलन, तौरतरिका, असत्य संभाषण, चपलता, कुटिलता, मिथ्या आचरण, फरेव वा जालसाजीको (छन् भने) मूल्यांकन आध्यात्मिक क्षेत्रकै अग्रणीजन एवम् समयले गर्नेछ । यसमा कुनै मिडिया हाउसले देश–विदेशबाट, ‘उनलाई प्रतिद्धन्दी ठान्ने प्रतियोगीलाई उभ्याएर उनको मानमर्दन गर्न खोज्नु सोह्र आना निन्दनीय कृत्य हुन्छ ।’ 

तपाईंका परमगुरु ओशोले कतै भन्नुभएको छ, ‘गीता बहुत पढ ली, समझ ली । अब गम्भीर होकर इस बात का भी चिन्तन कर लो, गीता के पहले अध्याय का नाम यही क्यूँ है ? यह जाने बगैर आध्यात्मिक साधना मे उन्नति तो दूर, गाँठ बाँध लो इसके बगैर कोई आध्यात्मिक यात्रा शुरु ही नही होती ।’ 

स्वामी अरूण सम्झिनुहुन्छ कि बिर्सनुभयो ? कुनै दिन मैले तपाईंलाई भनेको थिएँ, ‘भीडको गुरु बन्नुभन्दा केही मित्रहरूको सखा बन्नुस् ।’ पुनश्च, एक दिन तपाईंले मसंग भन्नुभएको थियो, तपोवनमा भीड बढ्यो, अब यहाँ शान्ति पाउन गाह्रो भयो । पोखरा र भैरहवामा शान्तिसँग बस्न आश्रम बनाउँछु । 

स्वामीजी ! मैले दुवै ठाउँका नयाँ आश्रम देखेको छु । ती कुनै पनि हिसाबले तपोवनभन्दा फरक छैनन् । मैले त्यही बेला प्रतिवाद गर्दै भनेको थिएँ, ‘तपाईं सारा दुनियालाई शान्ति पाउन तपोवन बोलाउने र आफू शान्ति पाउन अन्यत्र धाउने !’ 

जबसम्म तपाईँसँग भीडले धेरिने लालसा रहन्छ, गुरु हुने उत्कट अभिलाषा रहन्छ, शान्ति होइन, तपाईं शान्तिका शत्रुदलको चक्रव्युहबाट घेरिरहनुहुनेछ । 

तपाईंका परमगुरु ओशोले कतै भन्नुभएको छ, ‘गीता बहुत पढ ली, समझ ली । अब गम्भीर होकर इस बात का भी चिन्तन कर लो, गीता के पहले अध्याय का नाम यही क्यूँ है ? यह जाने बगैर आध्यात्मिक साधना मे उन्नति तो दूर, गाँठ बाँध लो इसके बगैर कोई आध्यात्मिक यात्रा शुरु ही नही होती ।’ 

पत्रकारिता र आध्यात्मिकता दुवै क्षेत्रसँग आफ्नो निकटको सामीप्यता र लगाव रहेकाले यो लेख्ने धृष्टता गरेको हुँ । मलाई थाहा छ– ९० प्रतिशत मिडिया हाउसले यस लेखलाई डिलिटको बटन थिची ‘रिसाइकल बिन’को बाटो देखाउने छन् । कथम्कदाचित आफ्नो सम्बन्ध र प्रभाव प्रयोग गरी कुनै मिडियामा यो छपाउने सफलता पाइयो भने, अनेक मिडिया हाउसमा ब्ल्याक लिस्टमा पर्नुका साथै हाम्रा मूर्धन्य प्रधानमन्त्रीको भाषा सापटी लिँदै भविष्यवाणी गर्छु, ‘स्वामी अरूणका अरिंगालहरूको कोपभाजन बन्नेछु ।’