नियात्रा विधाका प्रमुख तत्त्व पाँच ‘क’

नियात्रा विधाका प्रमुख तत्त्व पाँच ‘क’

जय छाङ्छा  |  साहित्य  |  श्रावण १७, २०७६

संसारमा यात्राले प्रवेश त्यही बेलादेखि पायो जब प्राणीहरूले आफ्नो उपस्थिति जनायो विशाल यस ब्रह्माण्डमा । आदिम युगमा सवारीका साधानहरूको आविष्कार नभएकाले स्थलचर प्राणीहरू दुईखुट्टे तथा चारखुट्टेहरू पैदल हिँडेर, कीरा फट्याङ्ग्रा उफ्रन्दै र उड्दै, सरीसृपहरू घस्रेर (आजभन्दा १९ करोड वर्षपहिले प्रारम्भ भएको सरीसृपयुग...नेपाली बृहत् शव्दकोष, पाना १२४४), जलचर प्राणीहरू पौडिएर, नभश्चर पंक्षीहरू उडेर आफ्ना जीवनयापनका लागि एक स्थानबाट अर्को स्थानको अनिवार्य रूपमा भ्रमण वा यात्रा गर्नै पर्ने परिस्थिति रहेको पाइन्छ । यसबाट स्पष्ट हुन्छ कि विना यात्राको जीवन एकदम निरर्थक छ । यी तथ्यहरूको बलियो प्रमाणका रूपमा लिन सकिन्छ संस्कृत वाङ्मय वा वैदिक ग्रन्थहरू ऋग्वेद लगायतका अन्य पूर्वीय दर्शनहरूका वेद, पुराणहरूका साथसाथै हिन्दू महाकाव्य रामायण तथा महाभारतलाई । हुन त संस्कृत वाङ्मय वा वैदिक ग्रन्थहरूमा यात्रा साहित्यको उपस्थिति प्रसंगवश आएको पाइए पनि यात्रा साहित्यको वीजारोपण आदिमकालदेखि भएको तथ्यलाई प्राचीन वैदिक ग्रन्थहरूबाट थाहा पाउन सकिन्छ ।  

यिनै कुराहरूलाई केन्द्रमा राखेर विचरण गर्ने होभने पृथ्वीमा मानव लगायत अन्य जीवजन्तुको आगमन र अस्तित्वको इतिहास जति पुरानो छ, त्यत्ति नै पुरानो इतिहास रहेको छ यात्राको । त्यसैले भन्न सकिन्छ कि यात्राको वीजारोपण मानव सभ्यताको सँगसँगै भएको हो र लिखित नभए पनि मौखिकरूपमा नै किन नहोस् यात्रा साहित्यको सुरुवात पनि त्यसै समयदेखि भएको मान्न सकिन्छ । 

वास्तवमा यात्राले नै एक स्थानसँग अर्को स्थानलाई जोड्छ । एक भूगोलको व्यक्तिलाई अर्को भूगोलको व्यक्तिसँग सम्बन्ध गाँस्न मद्दत पुर्याउँछ र एक–अर्काबीच क्रमशः गहिरो सम्पर्क हुँदै गएपछि एकस्थान वा वातावरणका मान्छेहरू अर्को स्थानको वातावरण तथा परिस्थितिलाई बुभ्mन सक्ने हुन्छन् । यात्राको माध्यमबाट नै नयाँ परिस्थितिसँग घुलमिल भएर जीवन अगाडि बढाउन सक्षम हुने अनुकूल स्थितिको निर्माण गराउँछ । सामाजिक चेत नभएमा नयाँ स्थानको परिवेश तथा परिस्थिति आफ्नो अनुकूल रहे/ नरहेको र आफ्नो आवश्यकता अनुरूप बन्न सक्ने÷नसक्ने आदिको ज्ञान हासिल गर्न निकै अप्ठेरो पर्छ । 

विकास र नयाँ चीजको आविष्कारका लागि मानवहरू लागिपर्नु स्वभाविक छ । ढुंगे युग, सिकारी युगलाई पार गर्दै आदिमकालीन मान्छेहरूले ओडारको आश्रयदेखि यात्राको फड्को मार्दै चन्द्रमामा पुगिसकेको स्थिति छ अहिले । अझ मंगलग्रहमा बस्ती बसाउन सकिन्छ कि भनी त्यस ग्रहबारे सत्य वा तथ्य पत्ता लगाउने कार्यमा वैज्ञानिकहरू गहनरूपमा खोजीमा जुटिरहेका छन् । यसबाट स्पष्ट हुन्छ कि यात्राले विकास, उन्नति, प्रगति, जीविकोपार्जन, सहजतापूर्वक बाँच्नका लागि महत्वपूर्णको योगदान पुर्याएको पाइन्छ । तर, यी सबै हुनुमा केवल एक्लोले सम्भव हुँदैन । किनकि नेपालीमा उखानै छ– ‘एक्ला कति टिक्ला ?’ ‘एक्ला बृहस्पति झुट्टा ।’ 

जुन ठाउँको र स्थितिको बयानमा जसरी लेखक त्यसै स्थान र स्थितिसँग निजात्मक रूपले पूरै आत्मसात भएको हुन्छ त्यस बयानलाई पढ्दै जाँदा पाठक पनि आफूलाई पूरै बिर्सी लयमय र गतिमय भई लेखक नै आफै भएजस्तो अनुभूतिमा डुब्न सक्नुपर्छ, डुब्नुपर्छ । लेखकलाई भोक लाग्दा आफूलाई नै लागेजस्तो, लेखकलाई दुख्ता आफैलाई दुखेजस्तो, लेखकले आनन्दको अपूर्व अनुभूति गर्दा पाठकले पनि त्यही भावनामा आफूलाई चुर्लुम्म डुबेका रूपमा पाउनुपर्छ

मानिस सामाजिक प्राणी भएकाले समाजकै भाव, अनुभूति, आवश्यकता, आइपर्ने समस्या र सोको समाधान आदिलाई शिरोधार्य गरेर निरन्तर यात्रारत रहने गरेको पाइन्छ । यसरी आफ्नो र आफ्नाहरूको कल्याणका लागि यत्रतत्र यात्रारत रहने यात्राकार अनुभवको भण्डार र प्रत्यक्षदर्शी हुने भएकाले एउटा कुशल सूचक, सल्लाहकार तथा पथप्रदर्शक हो भनेर स्वीकारिँदै आइएको छ । सांसारिक रीतिथिति, चालचलन, व्यवहारका साथै जीवनयापनको मूलाधार हुनाले यात्राको महत्वपूर्ण भूमिका रहने कुरालाई प्राणीहरूले केही गरे पनि भुल्न हुँदैन । 

मान्छेहरूको जीविकोपार्जनका लागि अन्योन्याश्रित सम्बन्ध भ्रमण वा घुमफिरसँग रहेको छ । मान्छेसँग भौतिक रूप छ । आत्मिक रूप छ । भोक छ । तृष्णा छ । आदर्श र व्यवहारिकताको संगीन एकात्मता रहेको छ । यिनै प्रकरणहरूलाई साध्य वा साकार पार्ने क्रममा यात्राको अनिवार्यता हुन्छ । यही क्रममा प्राणीहरू मध्येकै सर्वश्रेष्ठ मानव जातिले एक स्थानबाट अर्को स्थानको घुमफिर गर्ने कार्य अवश्यम्भावी रहेको पाइन्छ । 

यही प्रक्रियालाई निरन्तरता दिने क्रममा नेपालीहरूले पनि भोकबाट बच्न भोज्य सामग्री खोज्न, अस्वथ्य भएको समयमा धामी– झाक्रीकोमा धाउन, स्वास्थ्य चौकी वा अस्पतालसम्म जान, सनातनकालदेखि चलिआएको वैवाहिक सम्बन्ध जोड्न, धार्मिक कार्यका लागि मठ–मन्दिर जान, व्यापार– व्यवसायमा क्रय–बिक्रय आदिमा सहभागिता जनाउन निश्चित स्थानहरूमा जान, कार्य विशेषले देशाटनको भ्रमणमा निस्कनका साथसाथै कुनै मान्छेको अवसानको समयमा शवयात्रामा जाने कार्य गरिँदै आएको सर्वविदितै छ । यसबाट थाहा हुन्छ कि यात्रामा सदैव स्वचेतसँग सामाजिक चेतना पनि एकापसमा जोडिएर रहेको पाइन्छ । यसै कुरालाई हृदयंगम गरेर नै महान दार्शनिक अरिस्टोटलले भनेका छन्, ‘स्वभावैले मानिस सामाजिक प्राणी हो...। कुनै व्यक्ति आपैm परिपूर्ण छु भनेर न त सामान्य जीवन नै व्यतित गर्न सक्छ न सामाजिक काममा नै सहभागिता जनाउँछ, त्यस्ता व्यक्ति कि त पशु हुन्छ कि ईश्वर हुन्छ ।’

माथि उल्लेख गरिएका कुराका आधारमा नेपालीहरू पनि विविध कार्य विशेषले पुरातनकालदेखि नै स्वदेश तथा विदेशका भ्रमणहरूमा निस्कने गरेका उदाहरणहरू छन् । यसरी यात्रामा निस्कनेहरूमध्ये कोही–कसैले अरुलाई र कतिपयले आपैm लिपिवद्ध गरेका यात्रा–वृतान्तहरू उपलब्ध छन् । हुन त, प्रारम्भिक चरणमा पूर्वीय साहित्यिक क्षितिजमा लिपिवद्ध भएका सिर्जनाहरू ललितकाव्य, अनुष्टुप छन्दमा लेखिएका पुराणहरू हुँदै मुक्त छन्दको समेत प्रयोग भएको पाइन्छ । तर, त्यस समयमा पनि आमसर्वसाधारणका दैनिक दिनचर्याका संवादहरू गद्यमा हुने भएकाले क्रमशः गद्य लेखनको पनि अभ्यास भएको पाइन्छ । गद्य लेखनलाई समाजका विद्वतवर्गहरूले क्रमशः अभ्यास, प्रयोग र स्वीकार्दै आएपछि मौलिक रचना तथा मिथकहरूलाई लिपिवद्ध गर्दै आइएको छ । 

र, यही क्रममा नेपाली साहित्यको भण्डारको जगमा केही इँटा थप्ने सिलसिलामा लिपिवद्ध भएका यात्रा–साहित्यका सिर्जनाहरू उपलब्ध छन् । प्रारभ्ममा लिपिवद्ध भएका यात्रा–साहित्यलाई कुनै पनि किसिमको नामले चिनाउन आवश्यक भएकाले उक्त यात्रा–सिर्जनाहरूलाई नेपाली साहित्यमा यात्रा–निबन्ध, यात्रा–संस्मरण, यात्रा–वृतान्त, भ्रमण–वृतान्त, यात्रा–वर्णन आदिको नामबाट सम्बोधन गरिँदै आएका पाइन्छन् । 
संसार परिवर्तनशील छ । दिनानुदिन प्रत्येक चीजको आकृति, प्रकृति, रूप, गुण, वैशिष्ठ्य, अवस्था, बनोट, ढॉचा आदिमा रूपान्तरण हुँदै  जाने हुन्छ । यसै कुराको दृष्टान्तका रूपमा लिन सकिन्छ । वि.सं. २०२६ मा विद्वान समालोचक तथा सर्जक डा.तारानाथ शर्माद्वारा सिर्जित कृति ‘बेलाइततिर बरालिँदा’ को भूमिकामा विद्वान् भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलले स्पष्ट शब्दमा उल्लेख गरेका छन्, ‘नेपाली साहित्यमा एउटा नयाँ विधालाई जन्म दिने प्रतिभाउपर दुई–चार हरफ नकोरू ? ...व्यक्तिगत गुम्फन र व्यंग्यमा मुछिएको निबन्ध मात्र निबन्ध कहलाउँछ । जुन निबन्ध तथ्य संकलनतर्फ मात्र निहुरिएको हुन्छ त्यो प्रबन्ध हो । ...सस्तो निस्तो वर्णन छ भने त्यो यात्रा–लेख र रमरमको आनन्दबाट मुछिएको छ भने चाहिँ नियात्रा कहलाउँछ ।’  (बेलाइततिर बरालिँदा, पाना ख)। 

यही कालखण्डदेखि यात्रा–निबन्ध, यात्रा–संस्मरण, यात्रा–वृतान्त, भ्रमण–वृतान्त, यात्रा–वर्णन आदिले चिनिँदै आएको सिर्जनाको नयाँ नाम नियात्रा भनी न्वारान भयो र कालान्तरमा यही नामले चिनिन थाल्यो । वास्तवमा समय, काल र परिस्थितिमा दिनदिनै परिवर्तन र विकास हुँदै जाने भएकाले समयको माग अनुसार सिर्जना सुहाउँदो र उपयुक्त नामकरण भएपछि नेपाली साहित्यका विद्वतवर्गले अनुमोदन गरेको पाइन्छ । र, यात्रा–साहित्यका अनेक नामहरूमध्ये नियात्रा नामले लोकप्रियता पाएपछि आमरूपमा सोही नाम चलनचल्तीमा आएको छ । यही कुराको प्रमाणस्वरूप उदृत गर्न सकिन्छ कि भारतीय नेपाली विद्वान समालोचक नवीन पौड्यालले आफ्नो कृति साहित्य सन्धानमा लेख्नुभएका वाक्यांश– ‘...बि.सं. २०४० मा बृहत् नेपाली शब्दकोशमा यस (नियात्रा) शब्दले प्रविष्टि पायो । त्यसपछि भने नेपालीमा यही शब्दले मान्यता र व्यापकता पायो ।’

यसै सन्दर्भमा नियात्राका साधक जय छाङ्छाले आफ्नो कृति पैदलै काठमाडौका चुलीहरूमा लेख्छन्,‘नियात्रा विशुद्ध नेपाली नाम हो । विश्व साहित्यमा भने यात्रा–साहित्यको नामकरण गर्न वर्तमान अवस्थासम्म संघर्षरत रहेको छ । ज्ञातव्य छ कि ब्रिटेनबाट लामो समयदेखि प्रकाशित हुँदै आएको ग्राण्टा जर्नलको सन् २०१७ को हिउँद अंक १३८ मा जर्निजलाई विशेष महत्व  दिँदै यात्रा लेखनमा सृजनारत विभिन्न विद्वान–विदुषीहरूलाई के यात्रा लेखनको अवसान भएको हो ? भन्ने विषयमा सर्जकहरूका विचारहरूलाई प्रकाशनमा ल्याएको छ । सो पत्रिका (जर्नल) अध्ययनपश्चात् द वेस्ट अमेरिकन ट्राभल राइटिङको सन् २०१७ को भूमिकामा सिरिज (क्रमागत) सम्पादक जासन विल्सनले आफ्नो धारणा राख्नुभएको छ कि ग्राण्टा जर्नलमा प्रकाशित आलेखहरूमा यात्रा–लेखनलाई सुहाउँदो नामको खोजीमा नै छलफल चलाएको पाइन्छ कि विधाको नाम ट्राभल राइटिङले मात्र यथोचित रूपमा समेट्न सक्दैन । 

यी उपर्युक्त सन्दर्भलाई चिन्तनमनन गर्ने हो भने नियात्रा साहित्यको फाँटमा अंग्रेजी साहित्यभन्दा नेपाली नियात्राले एक कदम अगाडि फड्को मारेको छ भन्दा अत्युक्ति हुँदैन । किनकि आरम्भकालदेखि अहिलेसम्म आइपुग्दा नियात्रा लेखनको विषय, क्षेत्र, विशेषता, शिल्प, लक्ष्य, प्रस्तुति आदिको स्पष्ट रेखांकन भइसकेको पाइन्छ । 

नियात्रा साहित्यलाई अझ उर्वर, गतिशील, सम्प्रेषणीय, प्रभावशील, पठनीय, लोकप्रिय बनाउनेतर्फ उन्मुख गराउने क्रममा समालोचक तथा विद्वान सर्जक डा.तारानाथ शर्माको कथन छ, ‘कुनै पनि यात्रावर्णनले नियात्राको स्तरमा पुग्न कृत्रिम र वस्तुगत व्याख्यालाई त्यागेर कथा, उपन्यास वा निबन्धले झैं नै नितान्त निजी अनुभूतिलाई बढी महत्व  दिनुपर्छ । जुन ठाउँको र स्थितिको बयानमा जसरी लेखक त्यसै स्थान र स्थितिसँग निजात्मक रूपले पूरै आत्मसात भएको हुन्छ त्यस बयानलाई पढ्दै जाँदा पाठक पनि आफूलाई पूरै बिर्सी लयमय र गतिमय भई लेखक नै आफै भएजस्तो अनुभूतिमा डुब्न सक्नुपर्छ, डुब्नुपर्छ । लेखकलाई भोक लाग्दा आफूलाई नै लागेजस्तो, लेखकलाई दुख्ता आफैलाई दुखेजस्तो, लेखकले आनन्दको अपूर्व अनुभूति गर्दा पाठकले पनि त्यही भावनामा आफूलाई चुर्लुम्म डुबेका रूपमा पाउनुपर्छ ।’ (मधुपर्क प्रतिनिधि नियात्रा, २०६७, भूमिका)

यस्तै प्रकारको अभिव्यक्ति रहेको छ नियात्राका सम्बन्धमा अमेरिकी लेखिका एलपिट ओनीलको पनि । तिनले आफ्नो पुस्तक ‘ट्राभल राइटिङ, सी द वल्र्ड सेल द स्टोरी’ मा लेखेकी छन्, ‘जब गद्य लालित्यमय तरिकाले लेखिन्छ, तब शब्दहरू तरल हुन्छन् र त्यही कारणले पाठकहरूले सिर्जनाकर्ताको जुत्तामा आफ्ना पाउ लगाउँछन् र सर्जकको आँखाले नियाल्छन् । यही नै नियात्राकारको लक्ष्य र पाठकलाई नजिक ल्याउने प्रयत्न गरेर पाठक निकट आएपछि सर्जक स्वतः लुप्त हुनुुपर्छ ।’ (पाना ४)

उपयुक्त कथनका आधारमा नेपाली नियात्रा साहित्यको विकासमा सर्जक तथा समाजको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ भन्ने कुरा प्रकाशजतिकै स्पष्ट छ । किनकि प्रत्येक नियात्रा सिर्जनासँग समाजका कुनै न कुनै व्यक्ति, दृश्य, स्थान विशेष, धर्म, संस्कृति, रीतिरिवाज, रहनसहन, लवाइखवाइ आदिले स्थान पाएका हुन्छन् । यसका साथै जीवित प्रमाणिकता नियात्राको प्रमुख तत्व भएकाले कहिले, कहाँ, को, कसरी र किन (पाँच ‘क’) आदि कुरा नियात्राको मुटु मानिन्छ । यी सबै आवश्यकीय तत्वहरूलाई शिरोपर गरी तयार पारिएको नियात्राको पठन गर्दा पाठकहरू आफसेआफ रोमाञ्चित हुन्छन् र कल्पनाको सागरमा पौडिन खोज्छन् । वास्तवमा भन्ने हो भने नियात्राकार केन्द्रीय भूमिका रहन्छ जस्तो कि एउटा प्रशिक्षित कुकुरलेजस्तै अन्धाहरूलाई यात्रामार्गको अन्तिम लक्ष्यसम्म डोर्याएर पुर्याउने गर्छ । 

त्यसैले नियात्रा एक्लो सिंगो बेअर्थको हुन्छ र यसले समाज, दर्शन, भूगोल, वातावरणका साथै आफूलाई लेख्छ र देखेका, भोगेका, अनुभूति गरेका तथा खट्किएका कुराहरू, सुधार गरिनु पर्ने चीजहरूका बारे यथोचित सल्लाह, सुझाव तथा उपायहरूका ज्ञान प्राप्त हुने भएकाले नियात्रा विधा नेपाली साहित्यको लोकप्रिय विधा बन्न सकेको अनुभूति हुन्छ ।

क्रमशः