क्षेत्रफलका हिसाबले ठुला दश देश (जनसंख्या र प्रतिव्यक्ति आमदानी सहित )

क्षेत्रफलका हिसाबले  ठुला दश देश  (जनसंख्या र  प्रतिव्यक्ति आमदानी सहित )

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  श्रावण १८, २०७६

हामी बसेको पृथ्वी झण्डै गोलो छ । यस गोलाको मध्य व्यास (डायमिटर) १२७४२ किमि छ । ठ्याक्कै गोलो भएको भए यसको व्यास सबैतिर एक समान हुन्थ्यो, यो नभएको कारण यसको ‘इक्वेटोरियल’ र ‘पोलर’ व्यासमा भिन्नता छ । जुन क्रमशः १२७५६ किमि एवम् १२७१२ किमि छ ।

व्यासलाई आधार मानेर यस गोलाको कुल क्षेत्रफल (A=4 पाइ R2)  हुन आउँछ, ५१ करोड ७२ हजार वर्ग किमि । यस कुल क्षेत्रफलमध्ये ७०.८ प्रतिशत भागमा महासागर रहेका छन् । महासागरले ओगटेको कुल क्षेत्रफल ३६ करोड ११ लाख ३२ हजार वर्ग किमि रहेको छ । बाँकीको क्षेत्रफल भने भूमि हो, कुल क्षेत्रफलको २९.२ अर्थात् १४ करोड ८९ लाख ४० हजार वर्ग किमि मात्रै भूमि सतह छ पृथ्वीमा ।

पृथ्वीरूपी यस गोलाको परिधि (सरकमफ्रेन्स) ४००७५ किमि रहेको छ । यसको अर्थ पृथ्वीमा कुनै स्थानमा रहेको एक बिन्दुबाट अर्को बिन्दुको अधिकतम दूरी २००३७.५ किमि हुन्छ । अब काठमाडौंबाटै भनौं सबैभन्दा दूरीमा रहेको स्थान कुन हुन सक्छ ? यस क्रममा काठमाडौंदेखि सबैभन्दा टाढाको देश चिली रहेको छ । चिलीस्थित ‘इस्टर आइसल्याण्ड’ र काठमाडाै‌ बीचको दूरी १८५८० किमि रहेको छ । यसैगरी संसारको सबैभन्दा बढी दूरीमा रहेका सहर चीनको सिन्हुवा र अर्जेण्टिनाको रोजारियो हुन् । यी दुवैका बीचको दूरी १९९९६ किमि रहेको छ ।

पृथ्वीमा रहेको १४ करोड ८९ लाख ४० हजार वर्ग किमि भू–क्षेत्रफलमा अनेकौं देश रहेका छन् । तीमध्ये केही देशले अति विशाल क्षेत्रफल ओगटेका छन् । विश्वका दस ठूला देशले पृथ्वीको कुल क्षेत्रफलको झण्डै ४९ प्रतिशत क्षेत्रफल ओगटेका छन् । यी हुन् विश्वका दस ठूला देश ।


यस क्रममा विश्वको दसौं नम्बरको ठूलो देश अल्जेरिया हो । २३ लाख ८१ हजार ७ सय ४१ वर्ग किमि भूमि ओगटेको यसको जनसंख्या ४ करोड २२ लाख रहेको छ । यहाँको प्रतिव्यक्ति आमदानी ४ हजार २ सय २९ डलर रहेको छ ।

 

आकारको हिसाबले नवौं नम्बरको देश कजाकस्तान हो । यसको क्षेत्रफल २७ लाख २४ हजार ९ सय वर्ग किमि रहेको छ । यहाँको जनसंख्या भने १ करोड ८४ लाख ४८ हजार र प्रतिव्यक्ति आम्दानी ८ हजार ७ सय ६३ डलर रहेको छ । 



आठौं नम्बरको ठूलो देशमा अर्जेण्टिना आउँछ । यसले  ओगटेको भूमिको क्षेत्रफल २७ लाख ८० हजार ४ सय वर्ग किमि रहेको छ । अर्जेण्टिनाको जनसंख्या भने ४ करोड ३८ लाख ४७ हजार र प्रतिव्यक्ति आम्दानी भने १० हजार ६ सय ४ डलर रहेको छ ।



सातौं नम्बरको ठूलो देशमा नेपालको दक्षिणी छिमेकी भारतको नाम आउँछ । भारतसँग भूमिको क्षेत्रफल भने ३२ लाख ८७ हजार २ सय ६३ वर्ग किमि छ । जनसंख्यामा भने यो विश्वकै दोस्रो स्थानमा पर्छ । सन् २०१६ को जनगणना अनुसार भारतको जनसंख्या १ अर्ब ३२ करोड ४१ लाख ७१ हजार पुगेको छ । यहाँको प्रतिव्यक्ति आम्दानी भने सन् २०१९ को सर्भेक्षण अनुसार २ हजार १ सय ९९ डलर पुगेको छ ।



क्षेत्रफलको दृष्टिकोणले विश्वको छैठौं नम्बरको देश अष्ट्रेलिया हो । यसले पृथ्वीको कुल क्षेत्रफलमध्ये ७६ लाख ९२ हजार २४ वर्ग किमि भूमि ओगटेको छ । सन् २०१९ को जनगणना अनुसार यहाँको जनसंख्या २ करोड ५४ लाख ५० हजार रहेको छ । लोभलाग्दो गरी यहाँको प्रतिव्यक्ति आम्दानी भने ५२ हजार १ सय ९१ डलर रहेको छ । 



विश्वको पाँचौं ठूलो देशमा ब्राजिल पर्छ । ब्राजिलसँग ८५ लाख १५ हजार ७ सय ६७ वर्ग किमि क्षेत्रफल रहेको छ । सन् २०१९ को जनगणना अनुसार यहाँको जनसंख्या २१ करोड १० लाख ४७ हजार रहेको छ । र, यहाँको प्रतिव्यक्ति आम्दानी भने १६ हजार ६ सय ६२ डलर रहेको छ । 



नेपालको उत्तरी छिमेकी चीन भने विश्वको चौथो ठूलो देशमा पर्छ । यहाँको कुल क्षेत्रफल ९५ लाख ९६ हजार ९ सय ६१ वर्ग किमि छ । जनसंख्यामा भने यो विश्वकै एक नम्बरको देश हो । चीनको जनसंख्या भारतभन्दा झण्डै ८ करोड बढी अर्थात् १ अर्ब ४० करोड ३५ लाख रहेको छ । चीनको प्रतिव्यक्ति आम्दानी भने १९ हजार ५ सय २० डलर पुगेको छ ।



विश्वको तेस्रो नम्बरको देशमा ‘सुपरपावर’ अमेरिका पर्छ । यहाँको कुल क्षेत्रफल ९८ लाख ३३ हजार ५ सय २० वर्ग किमि छ । युनाइटेड स्टेटको नामले विख्यात यहाँको जनसंख्या भने विश्वकै तेस्रो नम्बरको जनसंख्या हो । सन् २०१८ को जनगणना अनुसार यहाँको जनसंख्या ३२ करोड ७१ लाख ६७ हजार रहेको छ । प्रतिव्यक्ति आम्दानी भने सन् २०१८ को सर्भेक्षण अनुसार ६२ हजार ६ सय ६ डलर  रहेको छ ।



विश्वको दोस्रो ठूलो देशमा क्यानाडाको नाम आउँछ । क्यानाडाले ९९ लाख ८४ हजार ६ सय ७० वर्ग किमि क्षेत्रफल ओगटेको छ । सन् २०१९ को जनगणनाले यहाँको जनसंख्या ३ करोड ७६ लाख २ हजार पुगेको देखाएको छ । क्यानडाको प्रतिव्यक्ति आम्दानी भने सन् २०१९ को सर्वेले ५१ हजार ५ सय ४६ डलर पुगेको देखाएको छ ।



विश्वको सबैभन्दा ठूलो देश हुने गौरव भने रुससँग रहेको छ । यस देशले १ करोड ७० लाख ९८ हजार २ सय ४६ वर्ग किमि भूमि ओगटेको छ । सन् २०१९ को जनगणनाले यहाँको जनसंख्या १४ करोड ७० लाख ३ हजार पुगेको देखाएको छ । यहाँको प्रतिव्यक्ति आम्दानी भने ११ हजार १ सय ९१ डलर रहेको छ ।



यसै क्रममा नेपालबारे पनि जानी राखौं । विश्वका ठूला देशको क्रममा नेपाल ९३ औं नम्बरमा पर्छ । नेपालको कुुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किमि छ । पछिल्लो जनगणना अनुसार यहाँको जनसंख्या २ करोड ८९ लाख ८२ हजार रहेको छ । सन् २०१९ को तथ्यांक अनुसार यहाँको प्रतिव्यक्ति आम्दानी १ हजार ३४ डलर पुगेको छ ।