माओको कुकुरलाई भत्ता !: ‘अनि ताना शर्मा कहिल्यै क्लासमा छिर्नुभएन’

माओको कुकुरलाई भत्ता !: ‘अनि ताना शर्मा कहिल्यै क्लासमा छिर्नुभएन’

घनेन्द्र ओझा  |  अन्तर्मन्थन  |  श्रावण २५, २०७६

चूडामणि देवकोटा (६५), अहिले नेपाली गीतकारहरुको छाता संस्था गीतकार संघका अध्यक्ष हुनुहुन्छ । नेपाली गीत, संगीतको विकास, विस्तार र स्तरीयताका लागि क्रियाशील देवकोटाको लेखनको विशेष क्षेत्र पनि गीत नै हो । हालसम्म एक सय बढी गीत रेकर्ड गराइसक्नुभएका देवकोटाका सातवटा एकल एल्बम सार्वजनिक भइसकेका छन् ।

कविताबाट लेखनयात्रा सुरु गर्नुभएका देवकोटाको कविताकृति भने प्रकाशन भइसकेको छैन । केही समयभित्रै कविताकृति पनि प्रकाशन गर्ने योजना रहेको उहाँ सुनाउनुहुन्छ ।

लामो समय (झण्डै चार दशक) सरकारी सेवामा बिताउनुभएका देवकोटाका जीवनका उतारचढाव, जागिरे जीवन र साहित्य लेखनसँग जोडिएर लोकसंवाद डटकमले गरेको खोजीनीति यस्तो रहेको छ । 

जन्म, बाल्यकाल र शिक्षा

वि.सं. २०११ मा गोरखाको फुजेलमा जन्मिनुभएको हो चूडामणि देवकोटा । पाँच जना दाजुभाइ र छवटी दिदीबहिनीमध्ये आठौँ सन्तान हुनुहुन्छ उहाँ । स्वअध्ययनबाट पण्डित बन्नुभएका बुबाले धेरै सन्तान भए पनि सन्तानको पढाइमा भने निकै ध्यान दिनुभयो । गाउँकै गुरुकुलमा अक्षरारम्भ गरी केही समय त्यहीँ अध्ययन गर्नुभएका देवकोटा नौ वर्षको उमेरमा काठमाडौँ आउनुभयो । काठमाडौँको शान्ति विद्यागृहमा एकैचोटि कक्षा ६ मा भर्ना भएर पढ्न थाल्नुभयो, २०२० सालमा ।

२०२२ सालमा देवकोटाको परिवार तराई चितवन झरेपछि काठमाडौँ र चितवनको सामाजिक वातावरणमा घुलमिल हुने अवसर मिल्यो देवकोटालाई । भन्नुहुन्छ, ‘काठमाडौँ र तराईको सामाजिक अवस्थाको बारेमा म परिचित भएँ ।’ वि. सं. २०२६ मा एसएलसी दिनुभएका देवकोटाले आईए पहिलो वर्ष चितवनकै वीरेन्द्र कलेजमा पढनुभयो । 

पारिवारिक पृष्ठभूमि राजनीतिक भएका कारण उहाँमा स्वाभाविक रुपमै राजनीतिक चेत थियो । विद्रोही भावना नहुने कुरै थिएन । त्यसमाथि ऊबेलाको राजा महेन्द्रले लादेको निर्दलीय पञ्चायती व्यवस्थाको विरोधका स्वरहरु र झापामा चर्किएको ‘नक्सलवादी आन्दोलन’ को धेरथोर प्रभाव देशभर फैलिइरहेको थियो । 

आईए पढ्दापढ्दै देवकोटालाई राजकाज मुद्दा लगाइयो । उहाँ भूमिगत बन्न बाध्य हुनुभयो । यसै क्रममा उहाँ पूर्वको धरान पुग्नुभयो ।

त्यसबेला महेन्द्र राजमार्ग बनिसकेको थिएन । नेपालभित्रै यात्रा गर्दा पनि भारतको बाटो भएर जानुपथ्र्यो । १६ वर्षे ठिटो देवकोटा भारतका विभिन्न स्थान घुम्दै निकै दिन लगाएर धरान पुग्नुभयो । 

धरान बस्दा उहाँ महेन्द्र क्याम्पस पढ्न जानुभयो तर भर्ना हुनसक्नुभएन । कारण थियो, भूमिगत जीवन । उहाँले धरानमा रहँदा नाम परिवर्तन गर्नुभएको थियो, मोहनमणि विक्षिप्त । यद्यपि, क्याम्पसमा क्लास भने लिइरहनुभयो । त्यही नामबाट केही कविताहरु प्नि लेख्नुभयो र स्थानीय पत्रपत्रिकामा छपाउनुभयो ।

राजा महेन्द्रका एडीसी रहेछन् देवकोटाकै गाउँका ज्वाइँ पर्ने दानगम्भीरसिंह रायमाझी । चूडामणिका दाजुले रायमाझीलाई भन्नुभएछ, ‘१६ वर्ष नपुगेको नाबालकलाई कसरी राजकाज मुद्दा लगाइयो ?’

त्यसपछि तत्कालीन अञ्लाधीशलाई खबर गएछ । दाजुले चिठी पठाउनुभएछ, ‘अब मुद्दा लाग्दैन, पढेर परीक्षा दिनू भनेर ।’ त्यसपछि देवकोटाले फारम भरेर दोस्रो वर्षको परीक्षा दिनुभएछ ।

अनि ताना शर्मा क्लासमा फर्किनुभएन 

२०३० सालमा देवकोटा काठमाडौँ फर्किएर सरस्वती क्याम्पसमा बीएमा भर्ना हुनुभयो । उहाँका सहपाठी रहेछन्, ऋषिकेश उपाध्याय । पश्चिमतिरका ती मित्र संस्कृतमा आचार्य गर्दै रहेछन् र उता सरस्वती क्याम्पसबाट अंग्रेजीमा स्नातक । 

प्रसिद्ध भाषाविद् तथा साहित्यकार तारानाथ शर्मा (ताना)ले अंग्रेजी विषय पढाउनुहुँदोरहेछ । एक दिन शर्माले पढाउने क्रममै भन्नुभएछ, ‘माओ (चीनका नेता)को कुकुरले पनि भत्ता पाउँछ ।’

ऋषिकेशले तत्काल प्रतिवाद गरेछन्, ‘डन्ट टक ननसेन्स । क्यान यु गिभ प्रुफ ?’ अर्थात् नचाहिँदो नबोल्नुहोस्, के यसको प्रमाण दिनसक्नुहुन्छ ?

शर्माले विद्यार्थीले आफूलाई हेपेको ठानेर भनेछन्, ‘हु आर यु ? गेट आउट ।’

केहीबेर भनाभन भएछ शर्मा र उपाध्यायबीच । त्यसपछि क्लासबाट बाहिरिएका ताना शर्मा फेरि कहिल्यै पढाउन आएनछन् ।

‘क्याम्पसमा पनि शिक्षकले पिट्नुहुन्थ्यो’

सामान्यतयाः विद्यार्थीलाई अनुशासनमा राख्न डर सिर्जना गर्न विद्यालय तहमा शिक्षकले विद्यार्थीलाई हप्काउने, पिट्ने चलन अद्यापि छ । तर देवकोटाहरुलाई भने बीए पढ्दा पनि गुरुले पिट्ने गरेको सम्झनुहुन्छ ।‘‘हरिश्चन्द्र भन्ने गुरु हुनुहुन्थ्यो, उहाँले विद्यार्थीले गल्ती गरेमा पिट्नु नै हुन्थ्यो’, देवकोटा सम्झनुहुन्छ, ‘त्यसो त उहाँले माया पनि औधी गर्नुहुन्थ्यो ।’

एमए पढ्दापढ्दै जागिर

त्यसपछि उहाँ अर्थशास्त्रमा एमए भर्ना हुनुभयो । एमए पढ्दापढ्दै उहाँलगायतका ३५ जना साथीले नेपाल राष्ट्र बैंकमा नाम निकाले । उहाँ जागिर खान जानुभयो । ‘दस महिनाजति त्यहाँ जागिर खाएँ’, उहाँ भन्नुहुन्छ ।

२०३३ सालमै उहाँले राष्ट्रिय वाणिज्य बैंकमा नाम निकाल्नुभएछ, अधिकृतमा । वाणिज्य बैंकमा चार वर्ष जागिर खाएपछि निजामतितिर मोडियो देवकोटाको जागिरे जीवन ।

भएछ के भने, बैंकले शाखा प्रबन्धक बनाएर जुम्ला पठाएछ देवकोटालाई । जुम्ला पुग्नु पनि कम जोखिमपूर्ण थिएन त्यसबेला । बाटो सहज थिएन । नेपालगंजबाट हवाईजहाज पाउने संभावना पनि न्यून हुन्थ्यो । हिँडेर जानु चुनौतीपूर्ण नै हुन्थ्यो । 

उहाँ जुम्ला जानुभयो । केही महिना मात्र भएको थियो जुम्ला पुगेको, आवा (आकाशवाणी) आयो, ‘लोकसेवामा नाम निस्किएको छ, फलानो मितिमा अन्तर्वार्ता छ, आउनू ।’

लोकसेवा परीक्षा दिएर जानुभएको रहेछ देवकोटाले । लिखितमा नाम निस्किएछ । अब अन्तर्वार्तामा सहभागी हुन आउनुपर्ने भयो । एकातिर भर्खर जुम्ला पुगेको, जागिरको सवाल छ, अर्कातिर समयमा फर्किन न त हवाईजहाजको टिकट पाइन्छ, न नेपालगंजबाटै सजिलै यातायातको व्यवस्था छ । उहाँले काठमाडौँ जानुपर्ने अवस्था आएको अफिसलाई जानकारी गराउनुभयो । तर अर्को प्रबन्धक नआई जुम्ला छाड्न नपाउने आदेश आयो । 

उहाँले आवामार्फत् नै राजीनामा पठाइसक्नुभएको थियो । तर स्वीकृत हुने कुरामा अलमल भयो । त्यसपछि तत्कालीन अञ्चलाधीशसँग वास्तविकता राख्नुभएछ । अञ्चलाधीशले सल्लाह दिएछन्, ‘उपचारका लागि जनुपर्ने भयो भनेर आवा गर्नू ।’

जुम्लाबाट हवाईजहाज चढेर नेपालगंज हुँदै भारतको बाटोबाट भैरहवा आएर अन्तर्वार्ताको दुई दिनअघि काठमाडौँ आइपुग्नुभयो देवकोटा ।

‘सोधियो गलैँचा काण्ड, भनेँ मिङरिङ काण्ड’ 

लोकसेवाको अन्तर्वार्ताको दुई दिनअघि मात्र काठमाडौँ आइपुग्नुभएका देवकोटा अन्तर्वार्ता दिन त जानुभयो तर केही तयारी थिएन । जुम्लाबाट नेपालगंजसम्म हवाईजहाजमा, नेपालगंजबाट रुपैडिहा हुँदै भारतको बाटो हुँदै भैरहवा र भैरहवाबाट हवाईजहाजमा काठमाडौँ आइपुग्न नै निकै दिन लाग्यो । बाटोमा पढ्ने कुरा केही हुने संभावना नै थिएन ।

अन्तर्वार्तामा देवकोटाले सुरुमै भन्नुभएछ, ‘म जुम्लाबाट दुई दिनअघि मात्र यही अन्तर्वार्ताका लागि काठमाडौँ आइपुगेको हुँ । जुम्लामा न रेडियो सुनिन्छ, न त कुनै पत्रपत्रिका नै पुग्छन् । मैले केही पनि तयारी गर्न पाएको छैन अन्तर्वार्ताका लागि ।’

त्यसपछि उहाँलाई त्यसबेलाको चर्चित ‘गलैँचा काण्ड’बारे सोधिएछ । उहाँले गलैँचा काण्डबाट राज्यलाई कुनै घाटा नहुने तर्क पेस गर्नुभएछ र भन्नुभएछ, ‘बरु मिङरिङ जहाज काण्ड मुलुकका निम्ति घातक हो ।’
अन्तर्वार्ता लिन बसेकाहरु चकित भएछन् । ‘कसरी ?’, सोधेछन् ।

देवकोटाले भन्नुभएछ, ‘उक्त जहाज अण्डर इनभोइसिङ गरेर कम मूल्य देखाएर ल्याइँदै छ । यसबाट भन्सार पनि आउँदैन, डलर पनि तिर्नुपर्छ । देशलाई ठूलो नोक्सानी हुनेछ ।’
अन्तर्वार्ता लिनेहरुले भनेछन्, ‘त्यस्तो पनि छ र ?’

‘छ हजुर’, देवकोटाले भन्नुभएछ ।

संयोग हो वा अन्तवार्ता लिनेहरु ‘सन्तुष्ट’ भएर हो, उहाँको नाम शाखा अधिकृतमा निस्कियो । र, देवकोटा निजामती सेवामा प्रवेश गर्नुभयो, २०३७ सालमा ।

पार्टीका झण्डा नबोक्नुको पीडा

आफ्नो मातहतका सुब्बा सचिव बने, आफू अधिकृत नै  एउटा कर्मचारी शैक्षिक योग्यता, कार्यसम्पादन, अनुभव सबै कुराले योग्य हुँदाहुँदै पनि समयमा बढुवा नहुँदा कति पीडा हुँदो हो ? अनुमान सहजै गर्न सकिन्छ । ०३७ सालमा शाखा अधिकृतबाट सरकारी सेवा प्रवेश गर्नुभएका देवकोटा १८ वर्षसम्म त्यही पदमा रहनुभयो । उहाँसँगैका त के उहाँको मातहतका सुब्बाहरु सचिव भएर निवृत्त हुँदासमेत देवकोटाले बढुवा पाउनुभएन । 

कारण ? ‘कुनै पनि राजनीतिक दलको झण्डा बोक्न जानिएन, सकिएन’, देवकोटा भन्नुहुन्छ, ‘सोझो सेवा गरियो, दलाली र चाकरी गरिएन ।’ यसो भन्दा पनि उहाँमा निराशा भने थिएन । ‘जे गरेँ, स्वाभिमानपूर्वक गरेँ’ भन्ने भाव झल्किन्थ्यो बरु अनुहारमा । देवकोटाका अनुसार हुँदाहुँदा के सम्म गरिएछ भने, अन्य परीक्षामा राम्रो नम्बर ल्याए पनि कार्यसम्पादन मूल्यांकन (कासमू)मा उहाँको नम्बर स्वाट्टै घटाइँदोरहेछ । ‘तर मलाई गुनासो छैन’, देवकोटा भन्नुहुन्छ, ‘स्वाभिमान नबेच्नुमा नै म खुसी छु ।’

२०३६ सालमा त्रिभुवन विश्वविद्यालयबाट एमपीए पूरा गर्नुभएका देवकोटाले २०४३ मा बेलायतबाट पनि एमपीए पूरा गर्नुभयो । जागिरे जीवनमा धेरै मुलुक भ्रमण गर्नुभएका देवकोटाले २०५४ मा उपसचिव पास गर्नुभयो तर अन्य ‘अयोग्य’ मित्रहरुले मुद्दा हालेर लफडा सिर्जना गरिदिए । एक वर्षपछि उहाँको पक्षमा फैसला भयो । 

डीजीलाई भनेँ– मानवताविरुद्ध जानसक्दिनँ’

उपसचिव भएपछि उहाँलाई काठमाडौँबाहिर पठाइएछ । तराईका जनकपुर अन्तशुल्क कार्यालय, सर्लाही अन्तशुल्क कार्यालय र जनकपुर बिक्री कर कार्यालयमा एकै पटक तीनै कार्यालय हेर्ने गरी जानुभएछ देवकोटा । 
राजस्व अड्डा पैसा खाने (घुस खाने) अखडा हुन् भन्ने सुनिँदै आएको थियो । देवकोटा त्यहाँ गएपछि उहाँका लागि अनौठो घटना भएछ । एक जना फाँटवालालाई बोलाएर ‘के कस्तो छ यहाँ ?’ भनेर सोध्नुभएछ । फाँटवालाले केही मानिस जेलमा रहेको बताएछ । उहाँल ‘किन जेलमा राखेको ?’ भनेर सोध्नुभएछ । फाँटवालाले अवैध मदिरा उत्पादन र बिक्री गरेकाले जेलमा राखिएको बताएछ ।

देवकोटाले जेलमा रहेका सबैको बयान लिन लगाउनुभएछ । बयानका क्रममा सबैले आफूसँग जग्गा जमिन नभएको, आय आर्जनको अन्य बाटो नभएको र केही बोतल रक्सी बनाएर स्थानीय बजारमा लगेर बेचेर लालाबाला र आफ्नो गुजारा गर्ने गरेको बताएछन् ।

फाँटवालाले फेरि सोधेछ,‘कति समय राखौँ सर यिनलाई जेलमा ?’

‘किन राख्ने जेलमा ?’, देवकोटा कड्किनुभएछ ।

‘हैन हजुर, यिनलाई ६ महिना जेलमा राख्दा जनही १० हजार रुपैयाँ आउँछ, ३ महिना राख्दा जनही ५ हजार रुपैया आउँछ’, फाँटवालाले भनेछ ।

देवकोटाको पारो तातेछ । भन्नुभएछ, ‘यो सरासर मानवताविरुद्धको कार्य हो । मबाट यस्तो हुनसक्दैन । उनीहरुको बाँच्न पाउने हक म खोस्न सक्दिनँ । यी सबैलाई तुरुन्त रिहा गर्नु ।’

एक जनासँग त धरौटीवापतको ५० रुपैयाँसमेत रहेनछ । देवकोटा आफैँले उक्त ५० रुपैया तिरेर छुटाउनुभएछ । 

उता,‘ब्राण्डेड’ रक्सीका डिलरवालालाई यस घटनाले निकै ‘घाटा’ हुने भएछ । तुरुन्त महानिर्देशककहाँ खबर गरेछन्,‘कस्तो पागल हाकिम पठाएको हो ? राजस्वमा सोझै घाटा हुने काम गरिरहेको छ ।’
त्यहाँ गएको १५ दिन नभई डीजीले काठमाडौँ बोलाए देवकोटालाई । रिसाएझैँ गरेर सोधेछन्, ‘मुलुकलाई नोक्सानी हुने काम गर्ने ? कानुनबाहिरका काम गर्ने ?’

देवकोटाले भन्नुभएछ,‘जाबो तीन, पाँच बोतल रक्सी बनाएर पाँच, सात जना बालबच्चासहितको परिवार पाल्नु उनीहरुको बाध्यता छ । आयआर्जनको उपाय छैन । उनीहरुले बाँच्न पाउनुपर्छ कि पर्दैन सर ? म उनीहरुको बाँच्न पाउने हक खोस्न सक्दिनँ, बरु अन्तै सरुवा गरिदिनुस् ।’

यसपछि डीजी एकछिन् सोच्न बाध्य भएछन् र भनेछन्,‘जानुस्, मानवताविरुद्धका कार्य नगर्नुस्, मेरो समर्थन छ ।’

साहित्ययात्रा: कविताबाट सुरु, गीतमा स्थापित

चूडामाणि देवकोटा नेपाली साहित्यको गीति क्षेत्रमा स्थापित र सुपरिचित नाम बनेको छ । वि. सं. २०२८ मा चितवनबाट प्रकाशन हुने ‘प्रकाशपुञ्ज’ पत्रिकामा ‘दियो’ शीर्षकको कविता प्रकाशन गरेर औपचारिक साहित्ययात्रा आरम्भ गर्नुभएका देवकोटा पछि गीतमा जम्नुभयो । कलेज जीवनपछि जागिरे जीवन सुरु भएसँगै केही समय स्थगित जस्तै बनेको उहाँको लेखन पुनर्जागृत भयो, सशस्त्र द्वन्द्वसँगै । परिवारका एक जना आफन्तको तत्कालीन विद्रोहीबाट हत्या भएपछि उहाँमा यसरी हुँदैन, मुलुकमा शान्ति, स्थिरता, सद्भाव र भाइचारा जरुरी छ भन्ने लागेछ । सरकारी कर्मचारी भएकाले यस्ता कुरा भाषण वा लेखमा बोल्ने, लेख्ने कुरा भएन । यसर्थ आफ्ना यस्ता भावनालाई पुनः उहाँले कविता र गीतमार्फत् अभिव्यक्त गर्न थाल्नुभयो ।

उहाँका धेरैजसो कविता, गीतमा यस्तै राष्ट्रप्रेम, मानवीयता, सद्भाव, प्रेम र शान्तिको कामना गरिएको पाइन्छ ।

‘हुनत सबै विषयमा लेखेको छु’, देवकोटा भन्नुहुन्छ, ‘तर मानवीयता, देशप्रेम र शान्ति मेरा प्रिय विषय हुन् ।’

कविता लेखनको ५० वर्षमा पुस्तक

देवकोटाले आफूले कविता लेख्न थालेको ५० वर्ष पुगेका अवसरमा कविता कृति प्रकाशन गर्ने सोच बनाउनुभएको छ । वि.सं. २०२८ मा प्रकाशन भएका पहिलो कविता ‘दियो’लाई आधार मान्दा उहाँको औपचारिक साहित्ययात्रा २०७८ सालमा ५० वर्ष पुग्नेछ । ‘हो, २०७८ मा मेरो कविताकृति आउँछ’, देवकोटा भन्नुहुन्छ, ‘त्यसमा हालसम्मका कविता संगृहीत हुनेछन् ।’

त्यसो त यसबीचमा आधा दर्जन बढी गीति एल्बम बजारमा आइसकेका छन् उहाँका ।

‘गीत, संगीतमा सेन्सरसीप हुनुहुन्न’

हाल गीतकार संघका अध्यक्षसमेत रहनुभएका देवकोटा अहिलेको नेपाली गीत, संगीतको अराजकताप्रति चिन्तित हुनुहुन्छ । यसलाई सुधार र नियमन जरुरी भएको उहाँको भनाइ छ । के सेन्सरसीप जरुरी हो त गीत, संगीतमा ?

‘होइन, कसैको पनि अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउनु लोकतान्त्रिक मान्यताविपरीत हो’, देवकोटाको भनाइ छ,‘तर संगीत बोर्ड बनाएर अनुगमन, नियमन गर्ने तथा यस्ता खालका गीत, संगीत लेखन, गायनमा लागेकालाई सचेत गराउने गर्नुपर्छ ।’ उहाँको मान्यता छ, ‘जबर्जस्ती लादेर नियन्त्रण गर्नुभन्दा कार्यशाला र सचेतना गोष्ठीहरु गरेर यस्ता कुरामा न्यूनीकरण गर्नु राम्रो हो ।’