ज्ञानमित्र | दृष्टिकोण | माघ २०, २०७५
गान्धी यदि जर्मनीमा हिटलर प्रशासनका विरुद्ध सत्याग्रहमा बसेको भए के हुन्थ्यो ?
इतिहास अहिंसा, सत्य, सदाचार, मानवीयता आदि गुणका लाग गान्धीलाई महात्मा सदृश्य सम्मान गर्छ । विश्व राजनीतिक पटलमा मात्र होइन, भारतमै मोहनदास करमचन्द गान्धी भन्दा धेरै सुयोग्य नेता भएका छन् । तर जुन स्थान गान्धीलाई इतिहासले प्रदान गर्यो, त्यो स्थान ती सुयोग्य नेताहरूको पहुँच भन्दा धेरै टाढा रह्यो ।
गान्धीलाई त्यो स्थान प्राप्त हुनुका मूलमा, उनको आचरण र विचारशक्ति एवं सत्यप्रतिको निष्ठा र आजन्म समर्पणरुपी तप नै हो भन्नुमा कुनै अत्युक्ति हुन्न ।
तर के गान्धीको सत्याग्रह हिटलरसंग प्रस्तावित हुनु परेको भए इतिहासले गान्धी र सत्याग्रहलाई सम्मान र सम्झनाका दुई पुष्प अर्पित गर्थ्यो !?
शायद गर्दैनथ्यो, किनकि इतिहास श्रद्धारहित एवं निर्जीव हुन्छ । यसले विजेतालाई मात्र सम्झन्छ । पराजित नायकहरू कि त लोप हुन्छन् कि इतिहासका भारीभरकम ठेली भित्र एक दुई लाइनमा सीमित पारिन्छन् ।
कता कता गान्धीको प्रसङ्ग उल्लेख गर्दा ब्रिटिस शासन र तत्कालीन ब्रिटिस शासकहरू प्रति हृदयबाटै स्वतः आभार र धन्यवादका शब्द निःसृत भइरहेका छन् । जसले सत्याग्रहीको सम्मान गरे र विश्वमा गान्धी एवं सत्याग्रहको शक्तिलाई स्थापित गर्न परोक्ष/अपरोक्ष सहयोग गरे ।
मेरा साथी राम शायद अहिले खुशियालीमा ह्विस्की पान गरिरहेका होलान् । डा. केसीले अनशन तोड्नु पर्यो, राम जति खुसी अरू कसलाई पो भयो होला ? उनी त केसीका विरुद्ध खुलेरै देखापरे । उनले खुसी हुनु जायज हो ।
राम, खुसी म पनि छु । डा. केसीको अनशनको चौबिसौं दिन शुक्रवार मैले पनि एउटा टिप्पणी मार्फत उहाँले अनशन तोड्नु पर्छ भन्ने आग्रह गरेको थिएँ । साँझ केसीले अनशन तोड्नु भयो । म पनि खुसी छु, तर तपाईँ र मेरो खुशियालीमा तात्विक भिन्नता छ । तपाईँ केसीको पराजयमा खुसी हुनुहुन्छ, म उहाँको प्राणरक्षा भएकोमा खुसी छु । तपाईँको खुशियालीमा दर्प र विजयको अट्ठाहस होला, मेरो खुशियाली दुई थोपा अश्रुले व्यक्त भएको छ ।
ओहो याद आयो तपाईँ र म त अश्रुमाथि धेरै चिन्तन चर्चा गरेका मनुवा हौँ, याद छ तपाईँलाई ?
तपाईँ खुसी हुँदा तपाईँका आँखाबाट केही थोपा अश्रु झरे कि झरेनन् ! झरेको भए तपाईँ र मेरा दुबैका अश्रुको रसायनिक परीक्षण गर्दा विज्ञानले केही फरक छुट्ट्याउन सक्दैन । तर संज्ञानमा लिनुस्, दुख र खुसीको पहिलो अश्रु झर्ने आँखा फरक फरक हुन्छन् ।
हिटलरको जीतमा खुसी व्यक्त गर्न झरेको तपाईँको पहिलो अश्रुथोपा र गान्धीको पराजयमा झरेको मेरो पहिलो अश्रुथोपा फरक फरक आँखाबाट झरेका थिए । कुन खाले अश्रु पहिला कुन आँखाबाट ? राम, यो तपाईँले सित्तैँमा जान्न पाउनु हुन्न । आफैँ प्रयोग गर्नुस् अथवा मलाई गुरुदक्षिणा दिएर सोध्नुस् ।
व्यक्तिगत रूपमा मलाई डा. केसी प्रति श्रद्धा र सम्मान दुवै छ तर उहाँको अनशन ,सत्याग्रह प्रति बिल्कुलै विश्वास थिएन ।
तपाईँ कोसङ सत्य आग्रह पूर्ण गरी दिने अपेक्षा राखेर प्राणको बाजी लगाउँदै हुनुहुन्थ्यो ! ती जसका लागि मानवीय मूल्य र जीवन अस्मिता ‘पद र पैसा’ सामु केही होइनन् ।
सोह्र पटकसम्म तपाईँ क–कसको विरुद्ध अनशन बस्नु भएन ? कति सरकार आए गए । पन्ध्र पटकसम्मको अनशनमा सहमति गर्दै लत्याउनेहरुमा कहाँबाट अचानक बोध र आत्मा प्रकट हुन्थ्यो जे तपाईँको माग पूरा गर्थे । पन्ध्रौँ अनशनसम्मको यात्रामा तपाईसंग ‘शकुनी सहमति’ गरिए । मुलुकभित्र दुई चार अक्षर पढ्न जान्ने जो कोहीलाई पनि थाहा थियो, ‘यी सहमति’मा सत्ता पक्ष तपाईँलाई झुक्क्याएर आफू नाङ्गिने उपक्रम गर्दैछ । जे हुनु थियो त्यै नै भयो, यसमा विस्मात मान्नु पर्ने केही छैन ।
डा. केसी तपाईँले स्वयं पक्षकार भएका कारण वर्तमान सरकार र यसका नाइके विरुद्ध विष वमन गर्नुभयो, स्वभाविक हो । तर मेरो तटस्थ बुद्धिको आँकलन भन्छ, ‘जुनसुकै सरकार वा जो सुकै सरकार प्रमुख भएको भए पनि’ परिणाम यो भन्दा फरक हुने थिएन् । हो एउटा परिदृष्य फरक हुने थियो, अहिले तपाईँलाई शेर बहादुरजी भेट्न आउनु भयो, उहाँ सरकार प्रमुख भएको भए ओलीजी, प्रचण्डजी लगायतका अन्य पात्र सान्त्वना दिन आउनु हुन्थ्यो ।
म तपाईँको पराजयमा खुसी छु किनकि म सत्याग्रहमा विश्वास गर्दिन । यस अर्थमा म वर्तमान प्रधानमन्त्रीलाई धन्यवाद पनि भन्न चाहन्छु, उहाँले सत्याग्रहलाई छिन्न भिन्न पारी दिनु भयो ।
सत्यको कपोल कल्पित कुनै सत्ता छ भने, त्यो ‘बिग बैंग’ पूर्व ‘सिंगुलरिटी स्टेट’मा होला । ‘बिग बैंग’ त शक्तिको खेल हो, प्रदर्शन हो । ‘शक्तिले जे स्थापित भयो त्यो नै सत्य हो’ । वर्तमान नेपालको सत्य ‘दुइतिहाइको ताण्डव’ हो, यो शक्तिले बनेको हो र शक्ति सम्पन्न हो । यो शक्ति आर्जन कुनै सदाचारले भएको होइन ।
म गान्धीसँग आजन्म असहमत रहेँ । खलपात्रलाई नैतिकता, सदाचार र सत्य आग्रहबाट झुकाउन सकिने भएको भए तथानामका ऋषि किन दशरथको प्यारो छोरालाई राजमहलबाट वनमा ल्याउन विवश हुन्थे ? कृष्णले पाण्डवहरूका लागि ५ गाउँ माग्ने हेतुले धृतराष्ट्रको राजसभामा सत्याग्रह किन गरेनन् ?
डा. केसी तपाईँ राम भएको भए समुन्द्र पार गरी लंकामा पुगी रावणसँग ‘सीता माग’ गर्दै अनशनमा बस्नु हुन्थ्यो !
दुखपूर्वक भन्नुपर्छ, तीन अनशन पछिका तपाईँबाट भएका सबै उपक्रमको कुनै औचित्य थिएन । तीन पटकसम्म मागेर नपाएको कुरा अनन्तकाल सम्म मागेर पनि पाइँदैन । सामर्थ्य छ भने खोसेर लिनुस् अन्यथा चुप लागेर बस्नुमै भलाइ छ । यही ‘योग’ हो, ‘योग’ रहस्य हो ।
आध्यात्मिक साधकले ईश्वरसँग याचना गर्छ, सुनुवाइ भए ठिक, नभए आफैँ आफ्नै प्रयास थालनी गर्छ । तप, हठयोग, तन्त्र, निराहार, ज्ञान, वैराग्यादिको अतिरेकले ईश्वरलाई विवश तुल्याउँछ । तपाईँको पारा ‘साइबाबा भक्ति छाप’ माफिक हुन गयो ।
तपाईँ अझै दिवास्वप्नमा हुनुहुन्छ, राष्ट्रपतिसँग आशा राख्दै हुनुहुन्छ । तपाईँको यो स्वप्न पनि भङ्ग हुन्छ । राष्ट्रपति यही व्यवस्थाको अङ्ग हो र त्यो पदका आफ्ना मर्यादा पनि छन् ।
उपाय के त डा. केसी ! के अब काँग्रेसको फेर समाउने ? तपाईँलाई प्रयोग गरेर काँग्रेस सत्तामा पुग्न त सफल हुन सक्छ, तर तपाईँका चाहना पूरा त उसले पनि गर्दैन ।
डा. केसी तपाईँले जति गर्नुभयो, त्यो भन्दा धेरै बढी गरिसक्नु भएको छ । के वृद्ध, के युवा यहाँसम्म कि बालबालिका पनि तपाईँले उठाएको विषयमा सचेत भइसकेका छन् । अब बाँकीको लडाई उनीहरू आफैँले लड्नु पर्छ, तपाईँले बाटो देखाई नै दिनु भएको छ । एकजनाले लडेर उपलब्ध गराएको हक र अधिकारको संरक्षण एवं थप अधिकार लिनु आम नागरिकको पनि कर्तव्य हो । अबको लडाई आम नागरिकको काँधमा हुनुपर्छ, आम नागरिक नै अघि बढ्नु पर्छ ।