आउनुहोस् चन्द्रमा घुमेर आऔँ !

आउनुहोस् चन्द्रमा घुमेर आऔँ !

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  भदौ १, २०७६

मेरा कैयौँ मित्रहरू जति सम्झाएर पनि, जति बुझाए पनि कदापि यो स्वीकार गर्न मान्दैनन् कि ‘मानिसले चन्द्रमामा टेकिसक्यो ।’ हुनत मेरी स्वर्गीय हजुरमुमाले पनि बाचुन्जेल कहिल्यै पत्याउनुभएन कि नील आर्मस्ट्रङ, एडविन ‘वज’ एल्ड्रिन, चाल्र्स कोनार्ड, एलन बिन, एलन शेपर्ड, एडगर मिसेल, डेभिड स्कट, जेम्स इरविन, जोन यङ, चाल्र्स एम डुके, ह्यारिसन स्कमिट र युगेन सेरनन नामक १२ जना अमेरिकी नागरिकले चन्द्र धरातलमा विहार गरिसके ।

चाँदीले बनेको हत्केला जत्रो पूर्ण आकारको चन्द्रमा पुजन र आरतिपश्चात् उहाँ भन्नुहुन्थ्यो– ‘चन्द्रदेव यति शीतल हुनुहुन्छ, त्यहाँ कोही कसरी पुग्नसक्छ ?’ 

उहाँ एकदम ‘करेक्ट’ हुनुहुन्थ्यो । चन्द्रमा वास्तवमै शीतल हुनुहुन्छ तर यो आधाआधी मात्रै सत्य हो । चन्द्र धरातलमा पनि पृथ्वी जस्तै एक छेउमा दिन र अर्को छेउमा रात हुन्छ ।

निद्रासँग अतीतमैत्री हुनेहरूका लागि चन्द्रमाको रात भएको भूभागमा गएर सुत्नु बडो लाभप्रद हुन्छ । कारण ? पृथ्वीमा अधिकतम १२ घण्टाको हुने रात्रिकालीन अवधि चन्द्रमामा भने झण्डै १६३ घण्टाको हुन्छ । 

यसको कारण जान्न चाहनुहुन्छ भने रहस्य यति नै हो । हामी बसेको पृथ्वीले आफ्नो अक्षको एक परिक्रमा भण्डै २४ घण्टामा पूरा गर्छ । चन्द्रमालाई भने यो कार्य गर्न झण्डै ३२६ घण्टा लाग्छ । भनाइको अर्थ चन्द्रमाको दिन र रात दुवैको अवधि १६३+१६३. ३२६ घण्टाको हुन्छ ।

चन्द्रमाको जुन भागमा रात हुन्छ नि त्यहाँको तापमान मेरी हजुरमुमाले भनेझैँ साँच्चिकै अति अर्थात माइनस १६३ डिग्री सेन्टिग्रेडसम्म हुन्छ । यस तापमानमा कुनै पनि मानिस बाँच्न सम्भव हुँदैन । तर, चन्द्रमाको जुन भागमा सूर्यका रश्मि पर्छन्, त्यो भागको तापमान भने १२७ डिग्री सेल्सेयससम्म पुग्ने गर्छ । यस तापमानमा पनि मानिस बाँच्न सक्दैन । 

तपाईंले जस्तोसुकै कागज लिए पनि, जुन आकारको कागज लिए पनि यसलाई तपाईं एक्लैले भने आफ्नो एकल प्रयासमा सात पटकभन्दा बढी फोल्ड गर्न सक्नुहुन्न । ७औँ पटककै फोल्डमा कागजका १२८ वटा तह बन्नेछन् ।

हजुरमुमा बाँचुन्जेल मलाई पनि ‘स्पेस सुट’का बारेमा थाहा थिएन । उहाँलाई थाहा हुने सम्भावना नै थिएन । अतः उहाँले चन्द्रमामा मानिस पुगेको बारे नपत्याउनु जायज नै मान्नुपर्छ । तर अलिअलि विज्ञान पनि पढेका मेरा आधुनिक मित्रहरूले विभिन्न तर्क उठाएर अपोलो अभियानलाई झूठो भन्नुलाई म हाजमोला खाएर पनि पचाउन सक्दिनँ । 

साथीहरूले उठाएका तर्क यति हाँस्यास्पद हुन्छन् कि कुनै पनि ‘काउन्टर’ तर्कले उनका मूढतालाई छिन्नभिन्न गरी उनीहरूलाई ज्ञानको आलोकमा ल्याउन सकिन्न ।  र, अब त मैले यसबारे प्रयत्न गर्न नै छाडिसकेको छु ।

हुनत सन् २०२५ भित्र उनीहरूका सबै बक्लोलगरी स्वतः समाप्त हुनेछन् । अमेरिका, चीन, रुस र भारत २०२५ सम्ममा मानवसहितको चन्द्र अभियान गर्ने फिराकमा रहेका छन् । 

भारतले भर्खरै २२ जुलाई २०१९ मा प्रक्षेपण गरेको मानवरहित चन्द्रयान– २ सेप्टेम्बर ७ का दिन चन्द्र धरातलमा ओर्लिन गइरहेको छ ।

मानवको चन्द्र अवतरणमा विश्वास नगर्ने मित्रहरूसँग मलाई पनि परिहास गर्ने मुड चलेको छ । म स्वयं नै चन्द्रयात्रामा जाने सोच ‘डेभलप’ गरिरहेको छु । यसका लागि मलाई ‘स्पेस सुट’को मात्रै खाँचो छ । यो उपलब्ध हुनासाथ म चन्द्रयात्राका लागि प्रस्थान गर्नेछु । 

तर, मेरो आर्थिक अवस्थाका कारणले मसँग ‘स्पेस सुट’ कहिले उपलब्ध हुने हो, केही टुङ्गो छैन् । तसर्थ, आफ्ना मित्रहरूप्रति अत्यन्त दयाभावले आपुरित भएर चन्द्रयात्राको गोपनीयभन्दा गोपनीय यात्रा विधि सेयर गर्दै छु । ‘स्पेस सुट’को व्यवस्था गर्न सक्नेले जहिले मन लाग्छ, यो यात्रा गरे हुन्छ ।

यात्राको मुख्य सामग्रीका रूपमा तपाईंलाई एउटा ठूलो आकारको कागज आवश्यक पर्छ । यस काजगमाथि टेक्नुहोस् र यसलाई फोल्ड गर्नुहोस् । अब फोल्ड गरेको कागजमाथि टेक्नुहोस् । यो फोल्ड गर्ने क्रम र फोल्ड गरिएको कागजमाथि चढ्ने क्रम जम्मा ४५–४६ पटक दोहोर्‍याउनुहोस् । तपाईं चन्द्रमामा पुगिसक्नुभयो ।

के पत्याउनुभएन ?

ल आउनुहोस्, म तपाईंलाई ‘म्याथमेटिकल्ली प्रुभ’ गरेर चन्द्रमामा पुर्‍याउने ग्यारेन्टी लिन्छु ।

मानिलिऊँ, तपाईंले लिएको सामान्य कागज हो । यसको मोटाइ जम्मा ०.००१ सेन्टिमिटर हो । 

तपाईंले कागजमाथि टेक्नुभयो । अब तपाईं पृथ्वी सतहदेखि ०.००१ सेन्टिमिटर माथि हुनुहुन्छ । पहिलो फोल्ड गर्नुभयो र यसमाथि टेक्नुभयो, अब तपाईं ०.००२ सेन्टिमिटर माथि पुग्नु भयो । दोस्रो फोल्डमा ०.००४ सेमी, तेस्रोमा ०.००८ सेमी, चौथोमा ०.०१६ सेमी, पाँचौँमा ०.०३२ सेमी, छैटौँमा ०.०६४ सेमी, सातौँमा ०.१२८ सेमी, आठौँमा ०.२५६ सेमी, नवौँमा ०.५१२ सेमी र दसौँ फोल्डमा तपाईं पृथ्वी सतहदेखि १.०२४ सेमी माथि उठिसक्नुभयो ।

ल तपाईंलाई हिसाब गर्न सजिलो होस् भनेर यसलाई १ सेन्टिमिटर मात्रै मानौँ ।

११ फोल्डमा २ सेन्टिमिटर, १२ फोल्डमा ४, तेह्रौँमा ८, चौधौँमा १६, पन्ध्रौँमा ३२, सोह्रौँमा ६४, सत्रौँमा १२८ सेन्टिमिटर पुग्नुभयो भने झण्डै एउटा होचो कदको मानिस जत्रै उचाइमा पुगिसक्नुभयो तपाईं । अठारौँ फोल्डमा २५६, उन्नाइसौँमा ५१२, बीसौँमा तपाईंको उचाइ बढेर एक हजार २४ सेन्टिमिटर भयो ।

एक पटक फेरि सजिलोका लागि एक हजार २४ सेन्टिमिटरलाई १० मिटर मानेर यात्रामा अगाडि बढौँ ।

कागजलाई २१औँ पटक फोल्ड गर्दा तपाईं २० मिटर माथि पुगिसक्नुभयो । बाइसौँ फोल्डमा ४० मिटर, तेइसौँ फोल्डमा ८० मिटर, चौबीसौँमा १६०, पच्चीसौँमा ३२०, छब्बीसौँ फोल्डमा ६४० मिटर, सत्ताइसौँमा एक हजार २८० मिटर उचाइ प्राप्त गर्नुभयो तपाईंले ।

अठ्ठाइसौँ फोल्डमा दुई हजार ५६०, उनन्तीसौँमा पाँच हजार १२० मिटर र तीसौँ फोल्डमा तपाईंले सथगरमाथा पार गरिसक्नुभयो । अहिले तपाईं दस हजार २४० मिटर उचाइमा हुनुहुन्छ ।
पुनः सजिलोका लागि यसलाई १० किमी मात्रै गणना गरौँ ।

एकतीसौँ फोल्डले २० किमी, बत्तीसौँले ४० किमी, तेत्तीसौँले ८० किमी, चौँतीसौँले १६० किमी, पैँतीसौँले ३२० किमी, छत्तीसौँले ६४० किमी र सैँतीसौँ फोल्डले तपाईं एक हजार २८० किमी माथि पुगिसक्नुभयो ।

अठतीसौँ फोल्डले दुई हजार ५६० किमी माथि, उनन्चालीसौँले पाँच हजार १२० किमी माथि र चालीसौँ फोल्डले तपाईं दस हजार २४० किमी माथि उक्लिनुभयो । 

एकचालीसौँ पटक कागज फोल्ड गर्नासाथ तपाईं पृथ्वीको मिडियम अर्थ आर्विट २० हजार ५८० किमीमा पुग्नुभयो । अर्को पल्ट फोल्ड अर्थात् ४२ औं फोल्डले तपाईंलाई ४१ हजार १६० किमी माथि अर्थात् पृथ्वीको माथिल्लो आर्विटमा पुर्‍याइदिन्छ । 

४३औँ फोल्ड गर्नुहोस्, तपाईं पृथ्वीदेखि ८२ हजार ३६० किमी माथि र यसपछिको ४४औँ फोल्डमा एक लाख ६४ हजार ७२० किमी माथि अर्थात् तपाईं पृथ्वीबाहिर चन्द्रमाको यात्रामा लागिसक्नुभयो । ४५औँ फोल्डमा तपाईं पृथ्वीदेखि तीन लाख २९ हजार ४४० किमी माथि पुगिसक्नुभयो । अब तपाईं र चन्द्रमाबीचको दूरी जम्मा ५४ हजार ९६० किमी मात्रै बाँकी छ । 

अब अर्को फोल्ड गर्‍यो भने यसले तपाईंलाई चन्द्रमाभन्दा धेरै टाढा पुर्‍याइदिन्छ । 

विकराल समस्या पो आयो, के गर्ने होला ? होइन, होइन, तपाईंसँग भएको ‘प्यारासुट’ले काम दिँदैन । चन्द्रमामा कुनै वातावरण नै छैन । ‘प्यारासुट’ पनि सोझै चन्द्र धरातलमा गएर ठोक्किन्छ । त्यसैले त चन्द्रमामा पठाइएका चन्द्रयानका लागि ओर्लिने बेलामा अन्तिम १५ मिनेट सबैभन्दा जटिल र चुनौतीपूर्ण हुन्छन् । यसै वर्षको केही महिना पहिला इजरायलले पठाएको यान अन्तिम ५ मिनेटमा नियन्त्रणबाहिर गई चन्द्र धरातलमा ठोक्किन पुग्यो । र, सम्पूर्ण अभियान नै असफल भयो । 

तपाईंको पनि चन्द्रमामा सफलता साथ ओर्लिने उपाय छैन । तपाईंले फर्किनुमै कल्याण हुनेछ । खल्तीमा भएको अर्को कागज झिक्नुहोस् र जसरी कागज फोल्ड गर्दै जानुभएको थियो त्यसरी नै खल्तीबाट कागज झिकेर फोल्ड गर्दै टेक्दै फर्कनुहोस् । 

स्मरण रहोस् तपाईंले जस्तोसुकै कागज लिए पनि, जुन आकारको कागज लिए पनि यसलाई तपाईं एक्लैले भने आफ्नो एकल प्रयासमा सात पटकभन्दा बढी फोल्ड गर्न सक्नुहुन्न । ७औँ पटककै फोल्डमा कागजका १२८ वटा तह बन्नेछन् । 

त्यसो त यस कार्यका लागि विश्व रेकर्ड भने तीन फोल्डसम्म रहेको छ । क्यालिफोर्नियाकी ब्रिटने ग्यालिभन भन्ने महिलाले अन्य १८ जना विद्यार्थीको सहयोगमा झण्डै १५ किमी लामो ट्वाइलेट पेपरलाई सात घण्टाको अथक प्रयासपछि १३ पटकसम्म फोल्ड गरेर कीर्तिमान राखेकी छन् ।

१३औं पटकमा ट्वाइलेट पेपरको एकमाथि अर्को गर्दै आठ हजार १९२ खात लागेका थिए । 

जानी राखौँ, १४औँ पटकको ‘फोल्ड’ गर्नलाई ६० किमी लामो कागजको आवश्यकता पर्छ । र, १४औँ फोल्डमा कागज एकमाथि अर्को गर्दै १६ हजार ३८४ खात लाग्नेछन् । 

(यस आलेखलाई लेखकले परिहासका रूपमा प्रस्तुत गर्नभएको हो र पाठकहरुले सोही रुपमा लिन अनुरोध छ ।– सं.)