दुरा समुदायको पहिचानसँग जोडिएका स्थाननामहरू

दुरा समुदायको पहिचानसँग जोडिएका स्थाननामहरू

यमबहादुर दुरा  |  दृष्टिकोण  |  भदौ ६, २०७६

विषय प्रवेश

समयको प्रवाहसँगै नेपालका अल्पसंख्यक जनजाति दुरा समुदायको भाषा, परम्परा, संस्कृति र इतिहास समयको गर्भमा हराउँदै गएको छ । ‘नेपाली बृहत् शब्दकोश’मा दुरा जातिको बारेमा यसो भनिएको छ- ‘नेपाल अधिराज्यभित्रको लमजुङ जिल्लाको दुराडाँडामा आदिकालदेखि नै बसोवास गर्दै आएको, आफ्नै भाषा र संस्कृति भएको र त्यसलाई विस्तारै भुल्दै गएको एक जाति, नेपालको एक अल्पसंख्यक जाति’ (पृ.६१८) ।

हुन पनि दुरा समुदायले ‘नेपाली बृहत् शब्दकोश’ले परिभाषित गरेजस्तै नियति भोग्दै गएको छ । विगतमा दुरा समुदायले चर्चेको, कुनै न कुनै रूपमा पदचिह्न छाडेको वा समयको कुनै कालखण्डमा दुरा समुदायसँग नाता गाँसिएका ठाउँहरूको परिचय पनि हराउँदै गएको छ । 

दुरा समुदायसँग नाता गाँसिएका र दुराहरूको इतिहास बोल्ने स्थानहरूको परिचय दिनु र यस्ता स्थानहरूको थप खोज–अनुसन्धानका लागि बाटो खोल्नु यस लेखको मुख्य उद्देश्य हो । यसमा प्राथमिक तथा द्वितीयक गरी दुवै प्रकारका सूचनाका सोतहरू प्रयोग गरिएका छन् । 

यस सामग्रीमा शोधखोजमा पाइएका अर्घौं, खजे गाउँ, चिहानपाटा, दुरा गाउँ, दुराचौर, दुरा टहरा, दुराडाँडा, दुरा थोक, दुुरा पँधेरा, दुराबारी आदि दुरा जातिसँग सम्बन्धित स्थाननामहरूको व्याख्या गर्ने प्रयास गरिएको छ । 

दुरा जातिसँग सम्बन्धित स्थाननामहरू

नेपालमा दुरा जातिको भाषा, संस्कृति तथा जातिका कारण थुप्रै स्थाननाम रहन गएका छन् । त्यस्ता स्थाननामबारे कहीँ सग्लो इतिहास त कहीँ आफ्नै किसिमका जनश्रुति तथा लोकमत पाउन सकिन्छ । ती स्थानामबारे संक्षिप्त विवरण यसप्रकार छ :

अर्घौं

कास्की जिल्लाको एक स्थान । पहिलेको अर्घौं अर्चले (तत्कालीन लेखनाथ नगरपालिकामा पर्ने एक स्थान) । कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थान । यस ठाउँलाई पहिले अर्घौं पौवा पनि भन्ने गरिन्छ । यसको नामकरणबारे जनश्रुति यस्तो छ ।

दुराहरू पश्चिम (दुल्लु–दैलेख) हुँदै लमजुङमा आएर बसोवास गरेको मानिन्छ । पश्चिमबाट पूर्वतिर आउने क्रममा उनीहरू केही समय कास्कीमा बसेछन् ।  दुराहरूले आफूसँगै एउटा शिकारी कुकुर पनि ल्याएका रहेछन् । धेरै बुझक्कड शिकारी कुकुर थियो । शिकार खेल्न जाँदा त्यसलाई बाघले मारिदिएछ । सधैँ पुच्छर हल्लाउँदै अघिपछि हिँड्ने बफादार कुकुरसँग दुराहरूको गहिरो भावनात्मक सम्बन्ध हुनु स्वाभाविकै थियो ।

सुखदुःखको साथीको रूपमा रहेको बफादार शिकारी कुकुर गुमाउनुपरेको घटनाले उनीहरूलाई दुःखी तुल्याएछ । त्यस प्यारो कुकुरको धार्मिक परम्पराअनुरूप सदगत गरिएछ । यस क्रममा कुकुरको अर्घौं (मृत्यु संस्कार) गरिएछ । त्यसपछि त्यस ठाउँको नाउँ ‘अर्घौं' रहन गएछ । शिकारी कुकुरसँगको घनिष्ठ सम्बन्धले दुराहरू शिकारी युगबाट गुज्रिँदै आएको छनक पनि मिल्छ । 

खजे गाउँ 

चिहानपाटा बजारसँगै जोडिएको एक दुरा गाउँ । हालको चन्द्रेश्वर गाविसमा पर्ने त्यस गाउँमा हाल लगभग ४५ घरधुरी दुराहरू बसोवास गर्छन् । खजे दुराको नामबाट यो गाउँको नाम रहेको अनुमान लगाउन गाह्रो छैन । नेपालमा शाहवंशीय राजसंस्था स्थापनाको इतिहाससँग खजे दुराको नाम दरिलो किसिमले गाँसिएको छ । खजे दुरा, कुश्माकर घिमिरेलगायतका व्यक्तिहरूले जशभुं (यशोब्रह्म) शाहलाई दुराडाँडास्थित सिन्दूरे ढुङ्गामा वि. सं. १५५० असार १५ गते सिन्दूरजात्रा गरी राजा थापेको इतिहास छ ।

खजे दुरा बस्ने गाउँलाई ‘खजे गाउँ’ भन्न थालियो भन्ने भनाइ छ । खजेगाउँ निवासी समाजसेवी नरजङ्ग दुरा (जन्मः वि.सं.२०१६)का अनुसार ‘खजे गाउँ’मा खजे दुराको बसोवास भएपछि त्यहाँ कालिका भगवतीको स्थापना गरियो र पछि त्यहाँको मौला तुर्लुङकोटमा सारियो । यसबाट दुराहरू हिन्दु परम्पराबाट धेरै अघिदेखि नै प्रभावित हुँदै आएका देखिन्छ ।

चिहानपाटा

दुराडाँडा क्षेत्रको कुनै जमानाको प्रमुख व्यापारिक केन्द्र । अहिले पनि यो एउटा व्यापारिक केन्द्र नै हो । बजारको रूपमा स्थापित हुनुभन्दा अघि त्यस ठाउँ स्थानीय खजे गाउँका दुराहरूको समाधिस्थल थियो । चिहान रहेको पाटा (पाखा) भएकाले त्यसलाई चिहानपाटा (च्यानपाटा) भनिएको हो भन्ने भनाइ छ ।

‘मेचीदेखि महाकाली’ (भाग ३)  नामक खोजमूलक ग्रन्थमा चिहानपाटा दुराहरूको मुर्दा गाड्ने ठाउँ भएको र २००२ सालमा त्यस ठाउँमा चन्द्रेश्वर महादेव स्थापना गरिएपछि त्यसैबाट चन्द्रेश्वर गाउँ पञ्चायत नाम रहन गएको उल्लेख छ  (पृ. १८९–१९०)।  

दुरा गाउँ 

रामेछाप जिल्लास्थित गाउँ विकास समिति (गाविस)को नाम । त्यस त्यस ठाउँमा पहिले दुरा समुदायको भए पनि अहिले बस्ती भेटिँदैन । यसबारे एउटा रोचक जनश्रुति प्रचलित छ ।

रामेछापको दुरा गाउँमा पहिला दुराहरूको बसोवास थियो । एक समयमा त्यहाँ बसोवास गर्ने एउटा समुदाय (साम्प्रदायिक सद्भावलाई ख्याल गरेर त्यस समुदायको नाम यहाँ उल्लेख गरिएको छैन)ले स्वार्थवस दुराहरूलाई त्यस क्षेत्रबाट हटाउने षड्यन्त्रको जाल बुनेछन् । योजनाअनुसार दुराहरूसँग मीत पनि लगाएछन् । उनीहरूले ज्योतिषीको भनाइलाई अघि सार्दै त्यस ठाउँमा भविष्यमा ठूलो विपत् आइलाग्ने भविष्यवाणी गरेछन् ।

विपत् छल्नका लागि कुखुराको भाले नबास्दै गाउँ छाडेर पूर्वतिर लाग्नुपर्छ भनेछन् । गाउँ छाड्दा गाउँतिर हेर्न नहुने सल्लाह दिएछन् । उनीहरूले दुराहरूलाई भनेछन्- ‘तपाईँहरूले गाउँ छाड्नुहोस् । हामी तपाईंहरूको पछिपछि आउनेछौँ ।’ यसअनुरूप दुराहरू भएभरको कुटोकुम्लो लिएर घर छाडेछन् । पछिपछि आउने बचन दिएकाहरू आएनछन् । अनि मात्र आफूहरूमाथि ठूलो छल भएको चाल पाएछन् । दुराहरूले आफ्नो वास खेदिएको कुरा पछि मात्र थाहा पाएछन् । यस घटनाले उनीहरू कति सिधा र सरल हुन्छन् भन्ने सबुत पनि दिन्छ ।

यसरी रामेछापको ‘दुरा गाउँ’ लखेटिन पुगेको प्रसंग त्यस भेगका मानिसहरू सम्झिरहन्छन् ।  त्यस ठाउँमा दुराहरूलाई षड्यन्त्रपूर्वक खेदिए पनि दुराहरूको पहिचान बोल्ने ‘दुरा गाउँ’ नाम मेटिएको छैन । त्यसको विरासतको रूपमा रामेछापमा ‘दुरा गाउँ गाविस’ रहेको थियो । देशमा सङ्घीय शासन प्रणाली आएपछि राज्य पुनर्संरचना भयो । परिणामस्वरूप ‘दुरा गाउँ गाविस’ भन्ने प्रशासनिक इकाई पनि गायव भइसकेको छ ।  यसले ‘नाम तेरो, गाउँ मेरो’ भन्ने कहावतलाई पनि इति शुभम् गरिदिएको छ ।

ओखलढुङ्गा जिल्लाको तत्कालीन नर्मदेश्वर गाविस वडा नं.- ९ मा केही घर दुराहरू बसोवास गर्छन् । तिनै दुराहरू रामेछापबाट षड्यन्त्रपूर्वक लखेटिएका दुराहरू हुनसक्ने अनुमान गरिएको छ । 

दुराचौर 

कास्की जिल्लाको एक स्थान । पहिलेको अर्घौं अर्चले (तत्कालीन लेखनाथ नगरपालिकामा पर्ने एक स्थान) । कास्कीमा ‘दुराचौर’ नाम हुनुले पश्चिमबाट लमजुङ आउने क्रममा दुराहरू कास्कीमा केही समय बसेका देखिन्छ । दुराहरू त्यहाँ कति बसे, यसबारे यसै भन्न सकिने अवस्था छैन । दुरा समुदायको भाषा, संस्कृति र इतिहासका अध्येता केशबहादुर दुरा (जन्मः वि.सं. २०००)ले २०६९ सालमा त्यस क्षेत्रको भ्रमण गरेर ‘दुराचौर’बारे आधारभूत जानकारी लिनुभएको थियो । 

दुरा टहरा

काठमाडौंस्थित सैनिक अस्पताल छाउनी अस्पताल नजिकको एक ठाउँ । डल्लु नजिक त्यस ठाउँमा दुराहरूको टहरा थियो भन्ने भनाइ छ ।  ‘दुरा सेवा समाज’का सल्लाहकार तथा नेपाली सेनाका सेवनिवृत्त सुबेदार मीनबहादुर दुरा (जन्मः वि.सं. २००१)का अनुसार त्यस ठाउँमा विभिन्न प्रयोजनका लागि काठमाडौं आउने दुराहरू टहरा हालेर बस्थे । त्यसपछि त्यसलाई ‘दुरा टहरा’ भन्न थालियो । अहिले बढ्दो जनघनत्व र शहरीकरणले त्यस ठाउँको पहिचान र भू–स्वामित्व दुवै गुमेको छ ।

दुराडाँडा 

लमजुङ जिल्लाको एक एक चर्चित ठाउँ । राणाकालीन प्रशासनिक विभाजनअनुसार पश्चिम ३ नम्बरमा पर्ने एक स्थान । तत्कालीन सिंन्दूरे, चन्द्रेश्वर, नेटा, दुराडाँडा, पुरानकोट र धुसेनी गाविसलाई दुराडाँडा बोलिन्छ । दुराहरूको बसोवास भएको थलो भएकाले यसलाई दुराडाँडा भनिएको हो भन्नेमा कुनै शंका छैन । इतिहास शिरोमणि बाबुराम आचार्य (वि.सं. १९४४–२०२९)ले दुराडाँडा र दुराहरूको परिचय यसरी दिएका छन्-

‘कास्कीदेखि पूर्वपट्टि मर्स्याङ्दी नदीका सिरानपट्टिका भागमा दुरा नामक एउटा सानो समुदायको आवादी छ व यो बस्ती  दुराडाँडा कहिन्छ । यसै दुराडाँडाका दुराहरूले ठकुरी राजा भएका ठाउँमा सुख–समृद्धि देखेर राजा थाप्नाका निमित्त कस्केली  विचित्र खानका यशोव्रह्म नामक एक छोरा मागी ल्याएर लमजुङ नामक नयाँ ठकुराइको जग बसाले’ (पृ.६) ।

दुरा थोक

लमजुङ जिल्लाको तत्कालीन इसानेश्वर गाविसस्थित चिसंकु नजिक अवस्थित एक स्थान ।  दुरा समुदायको छाता संगठन ‘दुरा सेवा समाज’का तत्कालीन अध्यक्ष (कार्यकाल  वि.सं. २०६८—२०७२) लोकबहादुर दुरा (जन्मः वि.सं. २००५)का अनुसार दुरा थोकमा दुरा समुदायको बसोवास रहेको थियो । उहाँका अनुसार धेरै पछिसम्म लमजुङको ठूलोस्वाँरा र त्यहाँका दुराहरूबीच आउजाउ थियो । उहाँलाई आफूहरूले २०२३ सालमा नाच (सोरठी नृत्य)का साथ गर्राभाइ बनेर त्यस ठाउँमा गएको सम्झना छ । तर, अहिले त्यहाँ दुराहरू भेटिँदैन । अहिले उनीहरूले थर बदलेको देखिन्छ ।

दुरा पँधेरा

दुराडाँडाको खजे गाउँस्थित ‘ढुङ्गाना चौतारा’देखि उत्तरपट्टिको खोल्सामा रहेको एक पँधेरो । यो पँधेरो अहिले पनि चालू हालतमा छ । दुरा पँधेराको केही पर ‘बाहुन पँधेरा’ पनि छ ।

दुराबारी

पाल्पा जिल्लाको तत्कालीन झडेवा गाविस- ७ केराउलीमा दुराबारी भन्ने स्थान रहेको जानकारी प्राप्त भएको छ । यो नाम कसरी रहन गयो र यसको पृष्ठभूमि के हो भन्नेबारे थप खोज—अनुसन्धान हुन बाँकी नै छ । 

निष्कर्ष

नेपालमा रहेका जातिजातिमध्ये दुरा जाति एक आदिवासी जनजाति हो । आज पनि अर्घौं, खजे गाउँ, चिहानपाटा, दुरा गाउँ, दुराचौर, दुरा टहरा, दुराडाँडा, दुरा थोक, दुुरा पँधेरा आदि दुरा जातिसँग सम्बन्धित स्थाननामहरू पाउन सकिन्छ । यसले दुरा जातिको ऐतिहासिकता र पहिचानको छनक दिन्छ । यद्यपि, यसबारे अझ सूक्ष्म रूपमा खोज–अनुसन्धान गर्न सकिएको छैन । नेपालका अल्पसंख्यक दुरा जातिको अस्तित्व बचाउन र ऐतिहासिकता पहिचान गर्न  यस्ता स्थाननामहरूको खोजी गर्नु समयको माग भएको छ । 

सन्दर्भ सामग्रीहरू

श्री ५ को सरकार ।  (२०३१) । मेचीदेखि महाकाली (भाग ३) । काठमाडौं : सञ्चार मन्त्रालय, सूचना विभाग ।
आचार्य, बाबुराम ।  (२०६१ दोस्रो संस्करण) । श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी । काठमाडौं : श्री ५ महाराजधिराजका संवाद सचिवालय राजदरबार, नेपाल । 
श्रेष्ठ, कृष्णप्रसाद ।  (२०६७) । स्थाननामकोश । काठमाडौंः हिमाल किताब ।
पराजुली, कृष्णप्रसाद  (सं) ।  (२०५८ पाँचौ संस्करण) । नेपाली बृहत् शब्दकोश । काठमाडौं : नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान ।

सूचनादाता/वार्तालाप

नरजङग दुरा । कात्तिक २३, २०७१ र माघ ५,२०७१  ।
मीनबहादुर दुरा । कात्तिक २२, २०७१ र माघ ५,२०७१ ।
लोकबहादुर दुरा । माघ ५,२०७१ ।
होम दुरा । जेठ ६, २०७२  ।