असल खराब सबै प्रकारका कर्म नै संस्कार हुन

असल खराब सबै प्रकारका कर्म नै संस्कार हुन

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  माघ २४, २०७५

 

सञ्जय उवाच – 

द्दष्व्टा तु पाण्डवानीकं  व्यूढं दुर्योधन स्तदा । 
आचार्यमुपसंगम्य राजा वचनमब्रवीत् ।।२।।

संजयले भने – त्यस समयमा राजा दुर्योधनले व्यूहरचनायुक्त पाण्डव सेनालाई देखेर द्रोणाचार्यको समीपमा गई यो वचन बोले ।

विशिष्टार्थ – रंगमञ्चमा अभिनय गर्दा नटले अनेकौं वस्त्र भूषणादिले सजिएर भिन्न भिन्न रूप धारण गर्दछ, परन्तु ऊ स्वयं जे हो त्यही नै रहन्छ । 

त्यस्तै एउटै मनुष्य कहिले कुबुद्धिको वशीभूत भएर काम, क्रोध, लोभ, मोहको मूर्तिमान बन्दछ भने कहिले सुबुद्धिको वशमा रहेर साक्षात् शम, दम, तितिक्षा, स्वरूप बन्दछ । 

ठीक त्यस्तै साधक पनि साधनामार्गमा विचरण गर्दागर्दै समय अनुसार कहिले धृतराष्ट्र, कहिले सञ्जय त कहिले दुर्योधन, कहिले अर्जुन त कहिले श्रीकृष्ण भएको प्रत्यक्ष अनुभूती गर्छ । यहाँ दुर्योधन भन्नाले साधकको विषय वासनाधीन अतिमानी अवस्था बुझ्नुपर्छ । 

राजा दुर्योधन – ‘दुःखेन युद्धयते अनेन सह इति दुर्योधनः’, अर्थात जोसंग अति कष्टले युद्ध गरिन्छ त्यो दुर्योधन हो । अर्थात दुर्योधन कामनाको अर्को रूप हो । 

मनोवृत्तिहरूमा कामना अति प्रबल हुन्छ, त्यसैले यसलाई धृतराष्ट्र (मन) को जेष्ठपुत्र भनियो । 

अनि यसको वशमा मन अविरल चालित हुनाले र शरीरमा सर्वत्र यसको प्रभाव विस्तृत रहनाले यसलाई राजा भनिएको हो ।

ढं पाण्डवानीकं दृष्व्टा – पाण्डव व्यूह धर्मक्षेत्र कुरूक्षेत्रको पश्चिमपटिृ रहेर पूर्वतिर उदीयमान ज्योतिर्मय सूर्यमण्डललाई हेर्दै युद्धका लागि तैयार छन् भने कौरव सेना पूर्व दिशाामा खडा भएर पश्चिम अभिमुखी भएर अर्थात् विषयमुखी हुनाले सूर्यज्योतिलाई पछाडि पारेर खडा छ ।

शरीरकोषको सम्मुख भागको नाम पूर्व हो भने पछाडिको भागको नाम पश्चिम हो । 

शरीरको पूर्व दिशामा नै सूर्यमण्डल देखिन्छ । साधकले मात्र यस विषयलाई जान्दछन् । विवेक, वैराग्य, शम, दम आदि साधना चतुष्टय 

१. नित्यानित्य वस्तुविवेक । 
२. सुख र स्वर्ग भोगको इच्छा त्याग । 
३. शमादि षट् सम्पत्ति अर्थात्् शम, दम, तितिक्षा, उपरति, श्रद्धा र समाधान । 
४. मुमुक्षुत्व) सम्पन्न भएपछि साधना मार्गमा आएर पूर्व दिशामा सूर्यज्योति लक्ष्य गर्दा अतिमान आश्रित संसार अनुकूल वृत्ति समूह अगाडि आएर साधकलाई विमुख गर्ने चेष्टा गर्दछन् । 

अतः विवेक वैराग्यको दल पूर्वाभिमुखी र अतिमानी महामोहको दल पश्चिम मुखी छ । यी दुवै दलको आमुन्ने सामुन्नेको संघर्ष नै साधन समर हो र यस साधन समरको नाम क्रिया हो ।

क्रियाको शुरू अवस्थामा नै निवृत्तिपक्षीय शम दमादि साधनाको अनुकूल वृत्ति समूह वासना पटमा प्रतिफलित हुन्छ । यही दुर्योधनको पाण्डवव्यूह दर्शन हो ।

आचार्यमुपसंगम्य – द्रोण आचार्य हुन् । उनले ब्राम्हण कुलमा जन्म लिएर पनि क्षत्रियवृत्ति अवलम्बन गरी कुरु र पाण्डव दुवैलाई धनुर्विद्याको शिक्षण दिए । 

काक (द्रोण) का दुईवटा आँखा भएर पनि कुनै एक आँखाले मात्र देख्छ, दुवै आँखाले एकै पटक देख्न सक्दैन । त्यसैगरी द्रोणले पनि दुवै पक्षका गुरु भएर पनि एक पक्षको बढी अवलम्बन गरेका थिए । 

द्रोण नै संस्कारज  बुद्धि हो । असल खराब सबै प्रकारका कर्म नै संस्कारमा परिणत हुन्छन् । त्यसबाट जुन बुद्धि उत्पन्न हुन्छ त्यसले जीवलाई के असल के खराब दुवै दिशामा दौडाउंछ । 

एउटै मनुष्य कहिले कुबुद्धिको वशीभूत भएर काम, क्रोध, लोभ, मोहको मूर्तिमान बन्दछ भने कहिले सुबुद्धिको वशमा रहेर साक्षात् शम, दम, तितिक्षा, स्वरूप बन्दछ ।

अतः त्यो द्रोण बुद्धि संसारी र मुक्तिकामी दुवै पक्षको गुरु हो । यो बुद्धि सर्वत्र प्रसारिणी भएर पनि मार्जित अर्थात् निर्मल नहुनाले संसारको सीमामा नै आबद्ध रहन्छ । 

विरागतिर लक्ष्य रहेतापनि उतातिर सक्रिय हँुदैन यही द्रोणको कौरव पक्ष अवलम्बनको कारण हो । 

क्रियाको प्रारम्भ कालमा साधकको दुर्योधन वृत्ति पाण्डव वृत्ति समूहको दर्शन गरेर संसार–भावको प्रति पोषक स्वरूप बलियो सांस्कारिक बुद्धि वैराग्यको पोषक नहोस् भन्ने चेष्टा गर्दछ । 

यही आचार्यको समीप जानुको तात्पर्य हो ।

वचनमब्रवीत् – युक्तिपूर्ण बहु अर्थ व्यञ्जक संक्षेप र हृदयग्राही वाक्यको नाम वचन हो । यहाँ अब्रवीत् भनेर मात्र पुग्नेमा वचन शव्द थप्नु दुर्योधनको कूटनीतिक चाल हो ।

पश्यैतां पाण्डुपुत्रागाणाचार्य महतीं चमूम् ।
     व्यूढां द्रुपदपुत्रेण तव शिष्येनधीमता ।।३।।

भावार्थ – हे आचार्य ! तपाईको बुद्धिमान शिष्य द्रुपदराजाको छोरा धृष्टधुम्नद्वारा सुव्यवस्थित पाण्डवहरूको यो विशाल सेनालाई हेर्नुहोस् ।

विशिष्टार्थ – द्रुपदपुत्र धृष्टधुम्न चैतन्य ज्योति हो । 

विवेक वैराग्यादिका अनुगामीवृत्तिहरू साधनाकालमा सबै चैतन्यमुखी हृुन्छन् र चैतन्यज्योतिको सहयोगले सतेज भएर विवेकलाई पुष्ट गर्दछन् । 

अतः धृष्टद्युम्न वा चैतन्यज्योतिद्वारा साधनानुकूल वृत्तिहरूलाई सजाइएको छ, यस्तो वर्णन गरिएको छ ।

अत्र शू महेष्वासा भीमार्जुनसमा युधि ।
युयुधानो विराटश्च द्रुपदश्च महारथः ।। ४ ।।
धृष्टकेतु श्चेकितानः काशिराजश्च वीर्यवान ।
पुरुजित् कुन्तिभोजश्च शैव्यश्च नरपुंगवः ।। ५ ।।
सुधामन्युश्च विक्रान्त उत्तमौजाश्च वीर्यवान् ।
शौभद्रो द्रोपदेयाश्च सर्व एव महारथाः ।। ६ ।।

भावार्थ – यस सेनामा भीम र अर्जुन समान महाधनुर्धारी शूरवीर सात्यकि र विराट तथा महारथी राजा द्रुपद, धृष्टकेतु, चेकितान तथा बलवान काशिराज, पुरूजित्, कुन्तिभोज र मनुष्य श्रेष्ठ शैव्य, पराक्रमी युधामन्यु तथा बलवान् उत्तमौजा, सुभद्रापुत्र अभिमन्यु एवं द्रौपदीका पांच भाइ छोरा यी सबै महारथी छन् ।

द्रोण नै संस्कारज बुद्धि हो । असल खराब सबै प्रकारका कर्म नै संस्कारमा परिणत हुन्छन् । त्यसबाट जुन बुद्धि उत्पन्न हुन्छ त्यसले जीवलाई के असल के खराब दुवै दिशामा दौडाउंछ ।

विशिष्टार्थ – यी सबै नामहरूको आध्यात्मिक अर्थ छ  

(१) युयुधान – श्रद्धा एक्लैले कैयौं विपक्षी सैन्यका साथ युद्ध गर्ने क्षमता राख्छ । 
(२) विराट – समाधि (वि– विगत, राट्–राज्य) जसले आप्mनो राज्य अरूलाई दिएर सदा अलग रहन्छ, उही विराट हो । 
(३) द्रुपद – (दु=द्रुत, पद=गमन) अन्तर्यामित्व शक्ति, वैद्युतीय शक्ति ।
(४) धृष्टकेतु = यम, (धृष्टानि = संयतानि, केतनानि = स्थानानि, यस्य सः), जुन अवस्थामा स्थान समूह अर्थात्् षट्चक्रहरूका क्रियाहरू नै संयत हुन्छन् । 
(५) चेकितान = स्मृति क्षीणस्वर, जुन साधना गर्दै जाँदा अनाहत नाद उठनु भन्दा  पहिले  साधकले  सुन्दछ । 
(६) काशिराज = प्रज्ञा, श्रेष्ठ प्रकाश शक्ति । 
(७) पुरूजित् = प्रत्याहार, सामान्य विश्राम । 
(८) कुन्तिभोज = आसन ।
(९) शैन्य = नियम, कल्याण दायिनी शक्ति ।
(१०) युधामन्यु = प्राणायाम, युद्धका बारे सुन्दैमा जसको क्रोध उदय हुन्छ ।
(११) उत्तमौजा = वीर्य । 
(१२) सौभद्र = संयम  (धारणा),  ध्यान र  समाधिको समावेश ।  
(१३) द्रौपदेयाः =  पञ्च  विन्दु (पञ्चकृत पञ्च महाभूतहरुका विकारहरू) ।

अस्माकं तु विशिष्टा ये तान् निवोध द्विजोत्तम । 
नायका मम सैन्यस्य संज्ञार्थं तान् ब्रवीमि ते ।।७।। 

 

भावार्थ – हे द्विजोत्तम ! हाम्रो सेनामा पनि जो जो मुख्य छन् ती सबैबारे सुन्नुहोस् । तपाईको जानकारीका लागि मेरो सेनाका मुख्य मुख्य महारथीहरूको नाम बताउँछु ।

विशिष्टार्थ – द्रोण संस्कारज बुद्धि भएको कारणले द्विज हुन् । 

ब्राम्हण भएर चारै वेद जान्ने र क्षत्रिय वृत्ति अवलम्वन गरेर धनुर्वेद विज्ञ हुनाले उनको अति महत्व छ । 

बुद्धिले ब्रम्ह आनन्दको भोग गर्छन्, र फेरि संसार वन्धनमा परेर आप्mनो र पराई बुझेर इष्टको रक्षा र अनिष्टको नाश गर्न पनि तत्पर हुन्छन् । यो नै बुद्धिको उत्तमता हो । 

भवान् भीष्मश्च कर्णाश्च कृपश्च समितिञ्जयः । 
अश्वत्थामा  विकर्णाश्च सौमदत्ति र्जयद्रथः ।।८।।

भावार्थ – तपाई, भीष्मपितामह, कर्ण, समरविजयी कृपाचार्य, अश्वत्थामा, विकर्ण, भूरिश्रवा, जयद्रथ आदि छन् ।

विशिष्टार्थ – यी सबै नामहरूको आद्यात्मिक अर्थ छ  

(१) भवान् (द्रोण) दुवै चक्षु भएर पनि जसको दृष्टि एकातिर मात्र हुन्छ त्यो द्रोण हो । 

द्रोणको बुद्धि संस्कारजनित हो, त्यो सर्वतोमुखी भएर पनि एकातिर मात्र लक्ष्य राख्नाले निर्मल छैन । 

जुन बुद्धिले केवल परब्रम्हतिर संधान गर्दछ त्यही निर्मल बुद्धि हो । 

पाण्डुको बुद्धि निर्मल थियो । उनले सर्वस्व त्यागेर ईश्वरको आराधनामा नै मन लगाएका थिए । 
निर्मल बुद्धि पनि जीवका लागि बन्धन हुन सक्छ, त्यसकारण यसलाई लय गर्न साधकले केही आसक्तिको प्रयोग गर्नु पर्दछ । जसै आशक्तिको उदय हुन्छ, बुद्धिको पनि लय हुन्छ । 

माद्रीमा आसक्त हुँदा पाण्डुको मृत्यु हुनुको तात्पर्य पनि यही हो । 

(२) भीष्म–आभास चैतन्य वा अस्मिता, अविद्याजनित अहंकार 
(३) कर्ण–कर्तव्य कर्म वा राग । 
(४) कृप – कल्पना वा अविद्या । 
(५) अश्वत्थामा – रूद्र, यम, काम, क्रोध यी चारै शक्तिको एकत्रीत समावेश ।
(६) विकर्ण – अकर्तव्य कर्म वा द्वेष । 
(७) सौमदत्ति – कर्म वा संसार । 
(८) जयद्रथ – अभिनिवेश वा मृत्युभय । अविद्यास्मिता राग द्वेषभिनिवेशाः क्लेशाः ।                 (पातञ्जल योग) ।  अविद्या, अस्मिता, राग, द्वेष र अभिनिवेश सबै क्लेश हुन् ।

अन्ये च बहवः शूरा मदर्थे व्यक्तजीविताः । 
नानाशस्त्रपहरणाः सर्वे युद्धविशारदाः ।।९।।

क्रमश: