प्रविधिको अग्नि परीक्षामा रैथाने गीतसंगीत

प्रविधिको अग्नि परीक्षामा रैथाने गीतसंगीत

रूपक अलङ्कार  |  दृष्टिकोण  |  भदौ १९, २०७६

गीत, संगीत र चाडपर्व एकआपसमा अत्यन्त निकट सम्बन्ध भएका सांस्कृतिक तत्त्व हुन् । गीत, संगीतविनाको चाडपर्व निरस र नरमाइलो हुन्छ । गीतविनाको तीज, भैलोविनाको तिहार, डम्फुविनाको ह्लोसार, धिमेविनाको गाईजात्रा, देउडाविनाको गौरा कसरी रमाइलो हुन्छ ?

माघी, उभौली–उधौँली, रोपाइँ, दशैँ, एकादशी, बैकुण्ठे चतुर्दशी आदि जुनसुकै पर्व गीतविना सम्पन्न हुँदैनन् । यस्ता चाडपर्वमा गीत गाउने, नाच्ने र रमाउने हाम्रो दीर्घ परम्परा छ । हाम्रो मात्र होइन, यो संसारका सारा मानिसका आआफ्ना लोकगीत र लोकसंगीत हुन्छन्, जसका कारण मानिस सांस्कृतिक रूपले पृथक् पहिचानसहित बाँचेको हुन्छ । गीत, संगीतलाई पाखा लगाएर हामी उल्लासमय जीवन बाँच्न सक्दैनौँ ।

चाडपर्व विशेषमा गाइने गीतको महत्त्व पनि विशेष नै हुन्छ किनभने तिनीहरू समय विशेषमा मात्र प्रस्तुत हुन्छन् । जस्तो कि तीजमा ‘देउसी रे’ गाइन्न र तिहारमा होली गीत गाइन्न । खासमा यस्ता चाडपर्वमा गीत गाउने र नाच्ने परम्परा कहिलेदेखि कसले चलायो भन्ने कुराको निश्चित तथ्य फेलापार्न कठिन छ तापनि यसमा कुनै सन्देह र प्रश्नविना नै हामी सदियौँदेखि नाच्दै र गाउँदै आएका छाैँ । अहिलेसम्म अर्बौं गीत गाइए होलान्, हामीसित त्यसको लेखाजोखा छैन र लेखाजोखा राख्न सम्भव पनि छैन । हामी सबै यसका गायक हौँ । अहिलेसम्म तीजमा कति मान्छेले कति गीत गाए होलान् ? तीजमा गीत गाउन थालेदेखिका सबै गीत संकलित भएका भए कति टीबीको मेमोरी कार्ड भरिन्थ्यो होला ? कसैलाई हेक्का छ ? कतिवटा रामायण, महाभारत, बाइबल वा कुरान बन्थे होलान् ? कल्पना गरेको छ कसैले ? बरु बगेर पानी सकिएला, बहेर हावा सकिएला र लागेर घाम सकिएला, गाएर गीत सकिन्नन् ।

रात दिन रत्यौली खेल्नेहरू थिए, भैलो खेल्नेहरू थिए । भेडीखर्के साइँलालाई सम्झिन्छौँ हामी– सात दिन सात रात गीत गाए भनेर । जात्रामा गीत गाएर रात छर्लङ्ग पार्नेहरू थिए । गीत गाएर घरबार बसाउनेहरू थिए, गीत गाएर पिरती साट्नेहरू थिए, गीत गाएरै आफ्ना दुःखपीडा ओकल्नेहरू थिए । एउटा मादल घाँटीमा झुन्ड्याएकै भरमा संसार बिर्सिएर जीवनको गीत गाउनेहरू थिए तर त्यस्ता पर्वगीतका गायकहरू बिलाउँदै गएको भान हुन थालेको छ ।

गीतहरू निश्चित पेसेवर गायक, गायिकाका गलामा झुन्डिन पुगेका छन् र बाँकी मानिस रमिते बनेका छन् । अर्काको गीतमा बाँदर नाचिरहेका छन् । न आफ्ना पीडामा रुन पाइएको छ, न त आफ्ना खुसीमा हाँस्न पाइएको छ । आफ्ना हाँसोखुसी आफैँले गाएर, आफैँले बजाएर पुलकित हुने मान्छे थियौँ हामी ।

बडेबडे होटल रेस्टुरेन्ट र पार्टी प्यालेसदेखिका भोज भतेरदेखि बर्थडेको कोठे भेटघाटसम्म स्पिकिरले नै मेघनाद गरिरहेको हुन्छ । बिहे होस् कि पास्नी, एउटा ट्वांग्रो नबजाएसम्म रमाइलो कसैलाई हुँदैहुँदैन । सप्ताहमा पनि मानिस पण्डितजीको प्रवचनमा भन्दा रेडिमेड भजनमै भगवान्को आकार देखिरहेका हुन्छन् । धन्न मान्छेहरू नाच्नचाहिँ आफैँ नाचिरहेका छन्, यसको विकल्प निस्कियो भने ?

हामीलाई प्रविधिले कठपुतली बनाइदिएको छ । धागो अर्कैले तनिदिन्छ, हामी त्यहीअनुसार नाचिरहेका छौँ । हाम्रो गीत गाउने प्रतिभाको हत्या ध्वनि संसारमा आविष्कार भएका यन्त्रले गरेका छन् । खासा बजारमा बनेको लाउड स्पीकर फलैँचामा बसेर गीत घन्काउँछ, हामी आँगनीमा उफ्रिन्छौँ, क्या रमाइलो छ ! आफूले मुख नचलाएरै मस्त नाच्न पाइएको छ । यस भयंकर यन्त्रले हामीलाई यस्तो पंगु बनाइदिएको छ कि साउन्ड बाकस नहुने हो भने हाम्रा चाडपर्वहरू फगत ‘सराद्दे’ बन्ने अवस्थामा छन् ।

गाउँघरमा ‘बिहे’ होस् कि ‘नारनपूजा’ होस्, रातरातभर गीत गाएर र भजन गरेर अनि त्यसमा मादल खैँजेडी मिसाएर राम रमाइलो गर्ने हाम्रो परम्परा हो । नजिकका सिमेभुमे र देवीद्यौराली वा दोभानमा मेला भर्न जाँदा मादल बोकेर जाने, मनपरेकीसित दोहोरी गाउने र परिआए लिएरै आउनेहरू अहिले पनि हाम्रै समाजमा छन् र हामीलाई पिरतीको त्यो रोमाञ्चक गाथा सुनाइरहेका छन् । अब यसरी आफ्ना भावना साट्ने दिन गएका पो हुन् कि भनेर सशंकित हुने दिन आएका छन् । किनभने सबै लौकिक भावनाका गायकका मुखमा बुझो लगाउने काम स्पिकर संस्कृतिले गरेको छ । मौलिक संस्कृतिको एउटा पक्षधरको चिन्ता नै यही विषयमा छ ।

स्पिकर बजाएकामा चित्त नबुझेर भँडास पोखेको किमार्थ होइन, मेरो चिन्ता त मानिसले आफ्नो गीत गएनन् भन्ने विषयमा हो, हाम्रो गीत गाउने प्रतिभा भुत्तिँदै गयो भन्ने विषयतिर हो । गीत गाएर रनवन घन्काउने समय अब रहेन । अब त गीत हवाई जहाज चढेर युरोप, अमेरिका भ्रमण गर्न थालिसक्यो । त्यस कारण यसको स्वर चर्काे हुँदै गएको छ । निश्चित छ, चर्काे स्वर नजिकका मान्छेलेचाहिँ सुन्दैनन् ।

जग्गेमा वरिपरि बसेर छेडखानले भरिएको श्लोकले झटारो हान्नेहरू अहिले बिहेमा भेटिन्नन्, युट्युबमा भेटिन्छन् । काल्देवी स्थानमा मादल ठोकेर रौसिने साइँलाहरू पनि विदेशतिर छन्, चालीस नकटी फर्किने सम्भावना छैन । यहाँ भएकालाई पनि सामाजिक संजालमा देश बनाउँदैमा फुर्सद छैन । त्यसैले आफ्नै मुख चलाएर चाडपर्वमा गीत गाउनेहरू न्यून हुँदै गएका छन् ।

यस्ता दिन पनि थिए– आमा, सानिमाहरू हँसियाको लयसित आफ्ना ओठको लय मिलाउँथे । बिउँको गाबोसित भाका मिलाउनसक्थे । ढिकीको संगीतमा शब्द उन्न सक्थे । जाँताको र्‍याइँर्‍याइँमा भावना मिसाउन सक्थे । रत्यौलीमा रस भर्न सक्थे । राम नवमीमा रमायण वाचन गर्नसक्थे । कृष्णाष्टमीमा रासलीला देखाउन सक्थे तर ती सारा कुरा एकादेशका कथा हुँदै गएका छन् । अहिले त लाउड स्पिकरले मान्छेलाई खालि ‘बीच्च बीच्च’मा नचाएको छ ।

बडेबडे होटल रेस्टुरेन्ट र पार्टी प्यालेसदेखिका भोज भतेरदेखि बर्थडेको कोठे भेटघाटसम्म स्पिकिरले नै मेघनाद गरिरहेको हुन्छ । बिहे होस् कि पास्नी, एउटा ट्वांग्रो नबजाएसम्म रमाइलो कसैलाई हुँदैहुँदैन । सप्ताहमा पनि मानिस पण्डितजीको प्रवचनमा भन्दा रेडिमेड भजनमै भगवान्को आकार देखिरहेका हुन्छन् । धन्न मान्छेहरू नाच्नचाहिँ आफैँ नाचिरहेका छन्, यसको विकल्प निस्कियो भने ?

यो सत्य हो नाच्ने प्रतिभा र गाउने प्रतिभा छुट्टाछुट्टै हुन् । कमै मानिसमा मात्र यी दुवै सीप हुन्छन् । त्यस कारण गाउनेहरू पिँढीबाट खुट्टा खसालेर बस्ने गीत गाउने र नाच्नेले नाचेर आँगन भत्काउने हाम्रो चलन हो । नाच्न त हामी आँगनमै नाचिरहेका छौँ तर गाउनेका ठाउँमा भने डोको घोप्ट्याएर त्यसमाथि स्पिकर राखेर रेडिमेड गीत बजाउन थालेका छौँ । दश जना जम्मा हुँदा पाँच जानाले गीत भनेर थपडी बजाउने र पाँच जानाले नाच्ने हाम्रो सांस्कृतिक मौलिकता हो । यो मौलिकतालाई नजोगाउने हो भने परिआउँदा गीत गाउने हाम्रो सीप र प्रतिभा नष्ट हुँदै जाने र सांस्कृतिक रूपले हामी अपांग बन्ने सम्भावना बलियो देखिन्छ ।