विज्ञान चर्चा — चन्द्रमा नै चन्द्रमा

विज्ञान चर्चा — चन्द्रमा नै चन्द्रमा

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  माघ २५, २०७५

हामी पृथ्वीवासीसँग जम्मा एउटा चन्द्रमा छ । तर, हाम्रो सौर्यमण्डलमा भने थुप्रै चन्द्रमा छन् । 

वैज्ञानिकहरुले अहिलेसम्म विभिन्न ग्रहको परिक्रमा गरिरहेका १ सय ७० भन्दा बढी प्राकृतिक उपग्रह(चन्द्रमा) पत्ता लगाइसकेका छन् । 

सबैभन्दा बढी चन्द्रमा वृहस्पति ग्रह (जुपिटर)सँग छन् । वृहस्पतिको आकाशमा साना, ठूला गरी ६९ वटा चन्द्रमा ज्ञात हुन आएका छन् । यदि वृहस्पति ग्रहमा जीवन भएको भए र पृथ्वी जस्तै कवि भएको भए कविहरु कविता र गीत लेखनमा आ–आफ्नो चन्द्रमाको वर्णन गर्थे होलान् । सरुभक्तले ‘युरोपा’माथि कलम चलाउँथे होलान् । श्रवण मुकारुङ्गले, ‘आयो’लाई नै सक्कली चन्द्रमा र प्रेमको प्रतिमूर्ति भन्ने दाबी गर्थे होलान् । कम्युनिस्ट कविहरुले ‘गैनिमिड’लाई शोषक–सामन्ती भनी आलोचना गर्दै १० किमि ब्यास भएका चन्द्रमाको पक्षमा जनवादी गीत लेख्थे होलान् ।

अभि सुवेदीले भने ‘कैलिस्टो’लाई रोज्थे होलान् । यस पछाडि उनको तर्क हुन्थ्यो– ‘आयो’ प्रत्येक १.७७ दिनमा आई पुग्छ (आयोले वृहस्पतिको परिक्रमा १.७७ दिनमा गर्छ), युरोपा ३.५५ दिनमै दस्तक दिन आउँछ, गैनिमिड ७.१५ दिनमै उपस्थित भइदिन्छ । गम्भीर र विचारात्मक लेख्न अलिक समय चाहिन्छ ।

म ‘कैलिस्टो’लाई किन रोज्छु भने यसले सृजना गर्नलाई केही समय दिन्छ । उनी १६.६९ दिनमा परिक्रमा पूरा गर्ने ‘कैलिस्टो’कै पक्षमा ग्रहभरी अभियान चलाउँथे । 

ज्योतिषले शनिलाई जति सरापे पनि यो चन्द्रमाको दोस्रो धनी ग्रह हो । ६२ वटा चन्द्रमाका साथ यो सौर्यमण्डलमा पृथ्वीदेखि १ अर्ब २७ करोड ५४ लाख ९२ हजार किमि टाढा रहेर पनि अढैया र साढेसातीको प्रभाव पार्न सक्छ ? 

अबको केही वर्षमा ज्योतिषीहरुले ‘तपाईको शनि’ बिग्रेको मात्रै नभनेर अहिले ‘टाइटन’ अस्त छ, ‘रिया’ वामाचारी बनेको छ’ भन्ने हुन कि ! ‘आएपिटस’, ‘टेथिस’, ‘डिओन’, ‘माइमस’, ‘एनसेलेडस’, ‘हिपेरायन’ आदिको पनि अस्त, पस्त, व्यस्त अवस्था वर्णन गरेर ज्योतिष विद्या अझ उन्नत बनाउने सम्भावना विद्यमान छ । 

अभि सुवेदीले भने ‘कैलिस्टो’लाई रोज्थे होलान् । यस पछाडि उनको तर्क हुन्थ्यो– ‘आयो’ प्रत्येक १.७७ दिनमा आई पुग्छ (आयोले वृहस्पतिको परिक्रमा १.७७ दिनमा गर्छ), युरोपा ३.५५ दिनमै दस्तक दिन आउँछ, गैनिमिड ७.१५ दिनमै उपस्थित भइदिन्छ । गम्भीर र विचारात्मक लेख्न अलिक समय चाहिन्छ ।

अरुण ग्रहसँग २७ वटा चन्द्रमा छन् । वरुण ग्रहसँग १३ वटा, सुदूरको क्षुद्रग्रह ‘प्लुटो’सँग पनि ५ वटा चन्द्रमा रहेका छन् । 

मंगल ग्रहसँग नै २ वटा चन्द्रमा छन्, ‘फोबोस’ र ‘डिमोज’ । 

पृथ्वीले गर्ने सूर्यको परिक्रमा पथभित्र अवस्थित दुवै ग्रह बुध र शुक्रसँग भने चन्द्रमा छैन । 

सौर्यमण्डलमा रहेका सबै चन्द्रमामध्ये पृथ्वीको चन्द्रमा आकारका दृष्टिकोणले पाँचौ स्थानमा पर्छ । 

१) गैनिमिड — वृहस्पति, गैनिमिडको ब्यास — ५२६२ किमि 

२) टाइटन —  शनि,  टाइटनको ब्यास — ५१५० किमि

३) कैलिस्टो — वृहस्पति, कैलिस्टोको ब्यास — ४८२१ किमि

४) आयो — वृहस्पति,  आयोको ब्यास — ३६४३ किमि

५) चन्द्रमा — पृथ्वी, चन्द्रमाको ब्यास — ३४७५ किमि

६) युरोपा — वृहस्पति, युरोपाको ब्यास — ३१२२ किमि

७) ट्रिटान — वरुण,  ट्रिटानको ब्यास — २७०६ किमि

८) टाइटेनिआ — अरुण, टाइटेनिआको ब्यास  — १५७६ किमि

९) रिया —   शनि,   रियाको ब्यास  — १५२८ किमि

१०) ओबेरान — अरुण,  ओबेरानको ब्यास — १५२३ किमि 

११) आएपिटस — शनि,  आएपिटसको ब्यास —  १४६८ किमि

१२) चैरोन — यम, चैरोनको ब्यास   —   १२१२ किमि

श्रवण मुकारुङ्गले, ‘आयो’लाई नै सक्कली चन्द्रमा र प्रेमको प्रतिमूर्ति भन्ने दाबी गर्थे होलान् ।

जिज्ञासा र जानकारीको यात्रा अविरल गतिमान भइरहन्छ । जिज्ञासाले नै आदिका चरण पार गर्दै मनुष्य २१ औं शताब्दीसम्म आउँदा ‘टेक्नो म्यान’ बनेको हो । जिज्ञासाको अन्त हुन सक्दैन् । अब यही चन्द्रमा विषयक जानकारीले तपाईँभित्र थप कति जिज्ञासा जन्माए होलान् ? हुनसक्छ कति प्रश्न र जिज्ञासाको जवाफ तपाईँकै मस्तिष्कमा गुम्फित भएर बसिरहेका  होलान् । यस्तो हो भने ढिलो नगरी लेख्नुस् । लोकसंवाद डट कमको विज्ञान कोलममा तपाईँलाई स्वागत छ । 

जस्तैः उपरोक्त वर्णित चन्द्रमाहरु कति टाढाबाट ग्रहको परिक्रमा गर्छन्, ग्रहको एक परिक्रमा गर्न कति समय लगाउँछन्, आफ्नो अक्षमा कति समय र कुन वेगले एउटा परिक्रमा पूरा गर्छन् ? यी चन्द्रमाहरुको ‘स्केप भेलोसिटी’ कति छ ? यिनको द्रव्यमान कति छ, ‘डेन्सिटी’ कति छ ? तपाईँहरु यी अथवा यस्तै विज्ञान सम्बन्धी विषयमा लेख्न चाहनुहुन्छ भने लोकसंवाद तपाईँहरुलाई सहयोग गर्न हरहमेशा तत्पर छ ।