मञ्जुल दाइ, मलाई तपाईंका कविता मनपर्दैनन्

मञ्जुल दाइ, मलाई तपाईंका कविता मनपर्दैनन्

ज्ञानमित्र  |  दृष्टिकोण  |  भदौ २७, २०७६

कुरा २०५३ सालको कुनै सोमवारको हो । दिउँसो बागबजारस्थित नवआवाज साप्ताहिकको कार्यालय पुग्दा सम्पादक शिव दाइले भन्नुभयो, ‘बधाई छ तपाईंलाई !’

मैले बधाईको कारण सोध्न पाउनुपूर्व नै भरत पोखरेलले भन्नुभयो, ‘सित्तैमा त कहाँ बधाई ज्ञापन गर्न पाइन्छ, दिने अथवा लिनेले चिया त ख्वाउनुपर्‍यो नि !’

जीवनको त्यस कालखण्डका ती दिन यस्तै थिए, हामी ससाना कुरालाई पनि ‘सेलिब्रेट’ गर्थ्यौं । र, एक कप चिया खानुलाई पनि हामी जीवन्त उत्सवमा परिणत गर्ने गर्थ्यौं । आखिर दृष्टिकोण न हो, तपाईं जुन अवस्थामा पनि सुख र खुसी खोज्न सक्नुहुन्छ, पाउन सक्नुहुन्छ ।

कृष्णज्वाला देवकोटा, पदम गौतम, सुदर्शन घिमिरे, शशि लुमुम्बू, दीपक पाण्डे, उमेश चौहान, भरत पोखरेल, गोकर्ण खतिवडा, रमेश बिष्ट, भूपराज खड्का, शरद अधिकारी लगायत थुप्रै साथीहरूका लागि ती जीवन संघर्षका दिन थिए । प्रायः सबै साथीहरूको आय अति न्यून हुन्थ्यो । केही हदसम्म ज्वाला र म ‘टिचिङ' र 'ट्युसन’ गरेर नियमित पैसाको मुख हेर्न पाउँथ्यौँ तर साथीहरूबीच जति अभाव भए पनि एकआपसमा भेटेर सबै जनाले चिया ख्वाए-खाएर अर्थ अभावलाई 'नजरअन्दाज' गर्ने होडबाजी नै हुन्थ्यो । चिया ख्वाउनु र चिया ख्वाउन भन्नु हाम्रो मानवीय धर्म नै थियो त्यसताका । र, प्रत्येक मित्रले यस धर्मको पालनामा अलिकति पनि चुक हुने धृष्टता गर्दैनथे ।

शिव दाइको बधाई ज्ञापनमा भरतजीले धर्म निर्वाहको 'अजीमुश्शान' परम्परा ‘पिन प्वाइन्टमै सर्टआउट’ गर्ने प्रत्युत्पन्नमति प्रदर्शित गर्नुभयो । भरतजीले फ्याँकेको चियारुपी वाणलाई शिव दाइले झेल्ने प्रतिबद्धता सकार्दै भन्नुभयो, ‘वास्तवमा यो बधाई अच्युतलाई मात्र होइन, सम्पूर्ण नवआवाज टिमलाई नै हो । त्यसैले यो चियाको व्ययभार सम्पादकले नै झेल्नुपर्छ ।’

प्रायः व्यक्तिले अन्य व्यक्तिको मूल्यांकन एउटा घटना अथवा त्यस व्यक्तिसँगको आफ्नो कुनै एउटा प्रसंगको सापेक्ष गर्छन् । मेरो नजरमा मानवताको इतिहासमा यो नै सबैभन्दा ठूलो कमजोरी अथवा ‘मिसटिचिङ’ वा प्रत्येक व्यक्तिको ‘मिसकन्सेप्सन’ हो । तपाईं एउटा घटनाले वा आफूप्रति भएको वा हुन गएको व्यवहारले आफ्नो कुनै मित्रको समग्र मूल्यांकन गर्नुहुन्छ भने  मान्नुहोस्, प्राकृतिक चयनअनुसार ‘जिन म्युटेट’ भएर तपाईं प्राकृतिक रूपमा मानिस त बन्नुभयो, (म खेदपूर्वक भन्न बाध्य छु- यसमा तपाईंको आफ्नो कुनै योगदान छैन) तर तपाईंले प्राकृतिक प्रक्रियाभन्दा माथि उठेर आफूलाई मानवीय गुण गरिमायुक्त बनाउने कुनै प्रयत्न गर्नुभएन ।

जुनजुन कमी वा दोषका लागि तपाईं आफ्नो कुनै मित्र वा परिचित अथवा कुनै प्रतिष्ठित व्यक्तिको निन्दा गर्नुहुन्छ, दस सेकेण्डका लागि आँखा चिम्लिएर चिन्तन गर्नुहोस्, ‘के ती सबै दोष तपाईं आफैँभित्र छैनन् र ?' जीवन एउटा पाठशाला हो, यस पाठशालाबाट जसले डिग्री लिएको दम्भ प्रदर्शन गर्छ, त्यस अल्पज्ञ जीवलाई सम्बोधन गर्ने कुनै शब्द सायदै विश्वको कुनै शब्दकोशमा संगृहीत छ ।

चिया प्रसंगमै फर्कौं, चिया खाँदै शिव दाइले भन्नुभयो, ‘तपाईंलाई मञ्जुलले भेट्ने इच्छा गर्नुभएको छ ।’

दुर्भाग्यले म मञ्जुललाई त्यति बेलासम्म चिन्दिनँ थिएँ । हठात् सोधी हालेँ,'को मञ्जुल ?' कुराको गाम्भीर्यलाई अथवा स्थिति, परिस्थिति वा परिवेशको संवेदनशीलतालाई ग्रहण नगरी ‘प्रत्युत्पन्नपति प्रदर्शन’ मेरा लागि कैयौँ पटक हास्यास्पद अथवा किंकर्तव्यविमूढमय बनेको छ । त्यो बेला पनि यस्तै भयो ।

उपस्थित सबै जना मेरो प्रश्नमा खित्कै छाडेर हासेँ । कुनै एक मित्रले'जंगली महुभन्दा पनि मीठो एवम् मातको सट्टा घात लाग्ने टिप्पणी गर्नुभयो, ‘ए ! तपाईं आफूलाई कवि, साहित्यकार भन्दै हिँड्ने र मञ्जुललाई नचिन्ने !'

ए प्रभु ! नेपालका ख्यातिलब्ध कवि साहित्यकारका केही रचना अथवा कृति त मैले पढेको थिएँ । लेखनाथ, भानुभक्त, देवकोटा, सम, मोती, भीमनिधि, रिमाल, ईश्वरवल्लभ, माधव घिमिरे, सत्यमोहन जोशी, क्षेत्रप्रताप अधिकारी, चाँदनी शाह, माडसा'प (मदनमणि), मोदनाथ, पारिजात, बीपी, भैरव अर्याल, डायमण्ड शमशेर, हरिभक्त कटुवाल, भूपि, सरुभक्त, गुरुप्रसाद मैनाली, लैनसिंह वाङ्देल, शंकर लामिछानेलगायत धेरै साहित्यकारलाई पढेकै थिएँ । मञ्जुल कसरी छुट्नुभयो त र  छुट्नु मात्रै भएन, उहाँको नामसम्म मेरो कानमा परेको रहेनछ ।

शिव दाइसँग पुनः सोधेँ, 'दाइ, म त उहाँलाई चिन्दिनँ, को हो उहाँ ? र, मलाई किन भेट्न खोज्नुभएको उहाँले ?'

'तपाईं किन आहत हुनुभएको ? कुनै एक जनाले कुनै पनि क्षेत्रको सबै मानिसलाई चिन्नु सम्भव छ र ? म आफू पत्रकार हो, के म नेपालका सबै पत्रकारलाई चिन्छु ?', शिव दाइले मलाई सान्त्वना दिँदै भन्नुभयो, 'मञ्जुल पंचायतकालदेखि नै वामवृत्त नजिक रहेर प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिएका कवि हुन् । जनवादी गीत, संगीत क्षेत्रमा उनको व्यापक प्रसिद्धि थियो ।'

'त्यसो  भए  उहाँले मलाई किन भेट्न खोज्नुभयो ? म कम्युनिस्ट होइन, उल्टो महाअध्यात्मवादी हुँ । कम्युनिस्टहरूको भाषा र शैलीमा घोर दक्षिणपन्थी’, मैले शिव दाइलाई भनेँ ।

उहाँले भन्नुभयो, 'तपाईंलाई राजनीतिक कारणले भेट्न खोज्नुभएको होइन, उहाँ स्वयं पनि राजनीतिक वृत्तबाट टाढा भइसक्नुभयो । हिजो नवआवाजमा तपाईंले अनुवाद गरेको कविता पढेपछि उहाँले तपाईंलाई भेट्न खोज्नुभएको हो । तपाईंबारे उहाँले हिजो फोन गरेर मसँग सोध्नुभयो । तपाईंले गरेको अनुवाद उहाँलाई साह्रै मनपर्‍यो रे !'

जीवनभरका तमाम कर्मका आधारमै उसको मूल्यांकन गर्नुपर्छ । लामो जीवनका अनेक कालखण्डमा व्यक्तिबाट अनेको कृत्य उसको व्यक्तित्वको मर्यादाअनुकूल नभएर क्षणिक आवेगको हठात् निर्णयले घटित भएका हुन्छन् । जस्तो कि मेरो यही लेखन । थाहा छैन कुन दिनको कुन घटना-भावदशाले यो लेख्ने अभिप्रेरणा दियो, व्यर्थमा कुनै कविलाई 'मलाई तपाईंका कविता मनपर्दैनन्' भन्ने अशिष्टता व्यक्त गरेँ ।

नवआवाजमा प्रकाशित सामग्रीका लागि मञ्जुल जस्तो कविले फोन गरेर प्रशंसा गर्नु र अनुवादकलाई भेट्न खोज्नु नवआवाज र अनुवादक दुवैका लागि सुखद कुरा हो ।

सायद भोलिपल्ट नै फोन गरेर म उहाँको पुतलीसडकस्थित डेरामा पुगेँ ।

'दाइ नमस्ते, म अच्युत !' भन्न मात्र के पाएको थिएँ, 'ओहो मेरो बाबा ! मेरो भाइ ! त्यो कविता पढेपछि तपाईंसँग भेट्न म व्यग्रताका साथ पर्खिरहेथेँ' भन्दै नमस्कार मुद्राका मेरा दुवै हात आफ्ना हातले समाएर उहाँले बैठक कोठासम्म लैजानुभयो । सोफामा बसेपछि मात्र उहाँले मेरा हात आफ्नो हस्तबन्धनबाट मुक्त गर्नुभयो ।

भारतीय कवि केदारनाथ सिंहको कविता थियो त्यो । मञ्जुल दाइ केदारनाथजीको प्रशंसक नै हुनुहुँदोरहेछ ।

मञ्जुल दाइ केदारनाथजीको प्रशंसक हुनुहुन्थ्यो भनेर लेख्नु मेरो बुद्धिश्लाघा हो । उहाँ कुन कवि र कुनचाहिँ कविताको प्रशंसक होइन, प्रेमी होइन !

६-७ वर्षको उहाँसँगको संगतमा मैले पाएँ, उहाँ जस्तोसुकै, जेसुकै कवितालाई पनि माया गर्नुहुन्थ्यो । कविता सायद उहाँको इष्टदेवी नै थिइन्, एउटा भक्तले आफ्नो इष्टदेवीको जस्तोसुकै प्रतिमा वा आकृतिप्रति हेयभाव अथवा तिरस्कार भाव कसरी व्यक्त गर्नसक्छ ?

यस मामलामा आफू भने प्रा.डा. दुर्गा भण्डारीको दोयम दर्जाको चेलो नै रहेँ । उहाँ आफ्नो सक्रियताको समयमा भन्नुहुन्थ्यो, 'हेर केटा, म कविता बुझ्दिनँ, कुनैकुनै कविता भने मलाई मनपर्छन्, त्यसको रहस्य यति नै हो, ती कविता मैले बुझ्नसकेँ । बाँकीका कविता म बुझ्दै बुझ्दिनँ, ती कविताबारे केही भन्ने मसँग पात्रता नै छैन ।'

मञ्जुल दाइलाई भने कविता बुझ्न आवश्यक नै थिएन । उनको आराध्या जुन वस्त्राभूषणले, जस्तोसुकै अनुहारले दीन, हीन, मलीन, कुरूप, अंगभंग, विन्यासहीन, कुण्ठित, लुण्ठित, खण्डित, जुनसुकै रूप एवम् भावभंगिमामा उपस्थित होऊन्, उनी त अद्वैतका घोर उपासक ! आफ्नो आराध्याको मूल स्वरूप-आत्मतत्त्व निमेषमै चिनेर हर्षले गद्‌गद् भई अश्रुधार बगाई प्रक्षालन हेतु विभोर हुन्थे ।

६-७ वर्षको अवधिमा अनेकौँ पटक मञ्जुल दाइको पुतलीसडकस्थित डेरामा गएँ । अनेकौँ काव्य गोष्ठीमा सँगसँगै 'शिरकत'(मंच साझा) गरेँ । मैले कहिल्यै पनि उहाँलाई विचलित भएको पाइनँ, निराश भेटिनँ ।

मैले उहाँका अनेकौँ कविताहरू पढेको छु, उहाँकै वाचनमा सुनेको छु । मेरा परंमप्रिय दुर्गा भण्डारीज्यू ! तपाईं संसारिकता र समाजिकताको पाशमा जकडिएर पशुपतिकै वरिपरि घुम्ने भावमा आवद्ध भई वाचालता एवम् छलजन्य शैली प्रयुक्त गरी, म कविता बुझ्दिनँ  भन्नुहुन्थ्यो, तर म सन्यासी,  सबै पासले मुक्त, समस्त देवविग्रह र बिम्बलाई पदार्थकै रूप ठान्ने भावमा आवेष्ठित चैतन्य पथिकले स्वचेतनको अभिव्यक्तिमा छल एवम् कूटनीतिको प्रयोग कुन प्रयोजनले गरौँ !

मञ्जुल दाइ, स्पष्ट भन्छु, 'मलाई तपाईंका कविता मनपर्दैनन् । म कविता बुझ्न नसक्ने  प्रस्तरहृदयी होइन तर पनि तपाईंका कविताले मेरा अवगुन्ठनमा रससिंचन  गर्दैनन् ।'

क्षमा गर्नु होला, यो आलोचना वा अभिमान होइन, मेरो  सहज स्फुर्त अभिव्यक्ति हो । म कूटनीतिज्ञ होइन, राजनीतिकर्मी पनि होइन, न व्यापारी हुँ, न त अन्य कुनै विधाको 'प्रोफेसनलिष्ट' नै । आफ्नो मनको भाव व्यक्त गर्न मलाई न त कुनै भय अनुभव हुन्छ, न कुनै किसिमको अप्ठ्यारो नै ।

मञ्जुल दाइ ! यदि यो आलेख तपाईं स्वयं पढ्दै हुनुहुन्छ भने भन्नुहोस्, तपाईंको कुन कविताले तपाईंको व्यक्तित्व, व्यवहार, स्नेहासिक्त हृदय, मन र मस्तिष्कको कल्पनातीत असीम भावभूमिलाई छुनसके ?

मेरो बुझाइमा छुन त टाढै, मञ्जुलका  समस्त कविताले मञ्जुलको शिवम्-सुन्दरम् अनुभूतिक पक्षको आधा उचाइ पनि नाप्न सकेनन् । तपाईंका कविता तपाईंको विपुल व्यक्तित्वको तुलनामा अति वामन हुन् । मैले जुन मञ्जुलसँग संगत गरेँ, ती मञ्जुल स्वयं नै काव्यका यस्ता हिमशिखर थिए, जसबाट अनेकौँ काव्यसरिता किल्लोल गर्दै काव्यधरा सिंचन हेतु स्वरूप ग्रहण गरी प्रस्थान त गर्थे तर ती  निर्दोष जलधारारूपी'काव्यकणिकाुलाई के थाहा, हिमशिखरबाट बेग्लै भई तिनले के कति पाए, के कति गुमाए ? धरामा गंगाको जति महत्त्व भए पनि शिवकपालबाट च्यूत भएको वेदनाबोध कहिलेकाहीँ त गंगालाई निश्चय पनि हुन्छ होला । मेरा लागि मञ्जुल आफैँमा काव्यका समशीतोष्ण हिमशिखर हुन, जसबाट नि:सृत कुनै पनि धाराले न मेरो तिर्खा मेटे, न मलाई दिव्यस्वाद दिए । यसको एउटा प्रमुख कारण, उहाँसँगको संगत र उहाँलाई नै पान गरेको अनुभूति पनि हुनसक्छ ।

हिन्दीको  भक्तिकालका  प्रखर कवि सूर्य सूरदास भन्छन्:

मेरो मन अनत कहाँ सुख पावे,
जैसे उडी  जहाज को पंक्षी, फिरि जहाज पर आवै,
कमल-नैन को छांड़ि महातम, और देव को ध्यावै,
परम गंग को छांड़ी पियासो, दूरमति कूप खनावै,
जिहीं मधुकर अंबुज-रस चाख्यो, क्यों करील-फल खावै,
'सूरदास' प्रभु कामधेनु तजी, छेरी कौन दुहावै ।

मञ्जुल दाइ ! 'जिहीं मधुकर अंबुज रस चाख्यो, क्यों करील फल खावै ?' अर्थात् जुन भ्रमरले आकाशका दिव्य फलको रसपान गरेको हुन्छ, के उसले कुनै फिका र तीता फल रसपान गर्ने मनसाय  राख्छ ?

मलाई मञ्जुल मात्रै होइन, तुलसी दिवसको लेखन पनि मनपर्दैन । कारण यस्तैयस्तै हो- तुलसी दिवसको 'कवितावाचन' श्रवण गरेपछि मलाई तिनै कविता आफैँ पढ्दा ती पोलियोग्रस्तझैँ लाग्छन् ।

मञ्जुलको उपस्थिति आफैँमा काव्यको आकाशगंगा हो भने तुलसी दिवसको वाचन शैली कविताको 'न्युक्लियर पावर' हो ।

क्षमा गर्नुहोला मञ्जुल दाइ, मलाई तपाईंका कविताभन्दा तपाईं नै प्रिय लाग्नुहुन्छ । तपाईंले अन्तिम पटकको भेटमा 'भाइ चिया खान घरमै आऊ है' अझै कानमा गुंजिरहेको छ । यो लेख प्रकाशन भएपछि पक्कै आउँछु तर थाहा छैन, चिया पाउँछु कि गाली ? सन्यासी हुँ, जे पाए पनि निर्विकार भावले स्वीकार गर्छु ।

कतै माथि लेखेको थिएँ, व्यक्तिका कुनै एक गुण वा दोषका आधारमा उसको मूल्यांकन गर्नुहुन्न । जीवनभरका तमाम कर्मका आधारमै उसको मूल्यांकन गर्नुपर्छ । लामो जीवनका अनेक कालखण्डमा व्यक्तिबाट अनेको कृत्य उसको व्यक्तित्वको मर्यादाअनुकूल नभएर क्षणिक आवेगको हठात् निर्णयले घटित भएका हुन्छन् । जस्तो कि मेरो यही लेखन । थाहा छैन कुन दिनको कुन घटना-भावदशाले यो लेख्ने अभिप्रेरणा दियो, व्यर्थमा कुनै कविलाई 'मलाई तपाईंका कविता मनपर्दैनन्' भन्ने अशिष्टता व्यक्त गरेँ ।

मञ्जुल, म र तपाईं सबै जनाले जीवनमा गल्ती गर्छौं । को होला र जीवनमा गल्ती नगर्ने महापुरुष ?  आशा छ, मञ्जुल दाइले मेरो यस लेखनलाई आफ्नो अनुजको एउटा धृष्टता भनी क्षमा गर्नुहुनेछ ।   

मञ्जुल दाइको पुतलीसडकस्थित डेरामा चिनजान भएका तत्कालीन मित्रद्वय प्रकाश सायमी र रामकुमारी झाँक्री, यसो कुनै दिन फुर्सद निकाल्नुहोस्, उहाँको घर गएर पुराना स्मृतिलाई एक पटक पुनः ताजा बनाऔँ ।