सोह्र श्राद्ध : लैंगिक र भौतिकवादी दृष्टिले मात्र हेरिनुहुन्न

सोह्र श्राद्ध : लैंगिक र भौतिकवादी दृष्टिले मात्र हेरिनुहुन्न

रूपक अलङ्कार  |  दृष्टिकोण  |  भदौ २८, २०७६

नेपाललगायत हिन्दु धर्मावलम्बी समुदायमा आश्विन कृष्ण प्रतिपदाबाट सोह्र श्राद्ध पर्व सुरु हुन्छ । यस समयमा घरघरमा मात्र नभएर कागबेनी, गोकर्ण बराहक्षेत्र, गयालगायतका तीर्थस्थलमा पनि मानिसहरू पितृहरूको सम्झनामा श्राद्ध गर्न पुग्छन् । यसरी तीर्थमा गएर श्राद्ध गर्नु पनि हाम्रो धर्म संस्कृतिको एउटा पक्ष हो ।  

श्राद्ध भन्नाले पितृकार्य नै बुझिन्छ । हुनत अन्य पूजाआजामा पनि मानिसहरू श्रद्धापूर्वक नै सहभागी हुन्छन् तैपनि श्राद्ध शब्द पितृकार्यमै रुढ भएको छ । त्यसैले श्राद्ध भनेको श्रद्धापूर्वक आफ्ना दिवंगत पितृहरूलाई सम्झेर भविष्य समर्पण गर्नु हो । महालय वा पार्वणश्राद्ध, एकोद्दिष्टश्राद्ध, तीर्थश्राद्ध आदि विभिन्न श्राद्धहरू शास्त्रमा वर्णित छन् । तिनीहरूको विस्तृत विधान वेद, कल्पशास्त्र, धर्मशास्त्र, पुराण, स्मृति आदि ग्रन्थमा विभिन्न शास्त्रीय प्रमाणसहित वर्णन गरिएको छ । वैदिक ग्रन्थहरूमा नै पितृयज्ञका बारेमा वर्णन गरिएकाले पितृकार्य वैदिक याग हो भन्ने बुझ्नुपर्छ । आफ्ना पितृहरू दिवंगत भएको तिथिमा पनि श्राद्ध गरिन्छ तर सोह्र श्राद्ध भनेको पितृहरूको समय हो । त्यस कारण यसलाई पितृपक्ष पनि भनिन्छ । 

अहिले चाड विशेषलाई पर्व भनिए तापनि वैदिक शास्त्रहरूमा औँशीलाई पर्व भनिएको पाइन्छ । औँशी विशेषमा गरिने श्राद्धबाटै पार्वणश्राद्ध नाम रहन गएको हो । त्यसैगरी आश्विन कृष्णपक्षमा सम्पूर्ण पितृहरू एक ठाउँमा जम्मा हुने भएकाले यस पक्षलाई नै महालय भनिएको र यतिबेला गरिने श्राद्धलाई महालय श्राद्ध भनिएको हो । प्रचीनकालमा प्रत्येक पर्व अर्थात् औँशीमा पितृयज्ञ गर्ने परम्परा थियो । यसो हुनुमा पितृहरू बस्ने लोकलाई चन्द्रलोक भनिन्छ । त्यहाँ पन्ध्र दिन अर्थात् एक पक्षको दिन र एक पक्षको रात हुन्छ र पितृहरूलाई दिनमा एक पटक हवी समर्पण गर्नुपर्छ भन्ने मान्यता नै कारण हो । तर, अहिले समयाभाव वा परंपरामा आएका परिवर्तनका कारण मरेको तिथिमा र सोह्र श्राद्धमा श्राद्ध गरिन्छ ।

श्राद्धमा पुत्रकै अनिवार्यताका कारण  छोरा र छोरीबीच भेदभाव सिर्जना भएको भनेर आरोप लगाउने पनि गरिन्छ । हुनत श्राद्ध नगर्ने समुदायमा पनि लैंगिक विभेद नभएको होइन, त्यसो हुन्थ्यो भने संसारमा हिन्दु समुदायमा मात्र लैंगिक असमानता देखिनुपर्ने हो तर सांसारिक यथार्थ फरक छ । गैरहिन्दु समुदायमा पनि नारीप्रतिको विभेद उत्तिकै देख्न पाइन्छ तैपनि श्राद्धमा छोरो मात्र अधिकारी हुनुका पछाडि केके कारण छन् भनेर खोज्नुचाहिँ महत्त्वपूर्ण विषय हो । 

समाजशास्त्रीहरू एवम् महिलावादीहरू श्राद्धमा पनि लैंगिक विभेद देख्ने गर्छन् । सोझो दृष्टिले हेर्दा पितृ शब्दमा नै त्यस्तो असमानता देखिन्छ । श्राद्धमा पितृहरूलाई तर्पण र पिण्डदान गरिन्छ । श्राद्ध गर्नु भनेको पितृहरूलाई स्मरण गर्नु हो । श्राद्ध विधानमा पनि पितृ शब्दकै अत्यधिक प्रयोग देखिन्छ, मातृ शब्द तुलनात्मक रूपले कम प्रयोग भएको पाइन्छ । पितृसत्ता, पितृप्रधान जस्ता शब्द रटेर बसेकाले श्राद्धमा प्रयोग हुने पितृमा मातृत्व नदेख्नु अस्वाभाविक हुँदैन तर श्राद्धमा प्रयोग भएको पितृ शब्दले पितृ-मातृ दुवैलाई द्योतन गर्छ भन्ने कुरा पनि बुझ्नुपर्छ किनभने श्राद्धमा पिता, पितामह र प्रपिततामहका साथै माता (आमा), पितामही (घरकी हजुरआमा, प्रपितामही (घरकी कुप्रीआमा), मातामही (मावलकी हजुरआमा), प्रमातामही (मावलकी कुप्रीआमा) लागायतका आफ्नो र मावलीकुलका महिलालाई पनि तर्पण र पिण्ड समर्पण गर्ने चलन छ । 

समाजले जिउँदा महिलामाथि विभेद देखे पनि मृत्युपछि भने सबैलाई पितृकै कोटिमा राखेर श्रद्धा गरेको छ । 

श्राद्धलगायतका कुलाभिमानी कार्यमा नारीलाई पुरुषको अनुगामिनी बन्नुपर्ने कठोर शास्त्रीय नियमलाई भने समाजले स्वीकार गरेको छ । विवाह अगाडि कर्म नचल्ने र विवाहपश्चात् गोत्र नै परिवर्तन हुने नियमले नारीलाई आफूलाई जन्म दिने पितामाताप्रति भन्दा पतिका पितामाताप्रति बढी कर्तव्य परायणा बन्नुपर्ने स्थिति सिर्जना गरिदिएको छ, जसबाट नारीहरू वंशबाट र अंशबाट वञ्चित बन्नुपरेको हो । लैंगिक असमानतालाई बढावा दिने काममा यस्ता कारण पनि सहायक हुन्छन् भन्नेचाहिँ बिर्सनुहुँदैन । तर, पत्नी रजस्वलाआदिका कारण श्राद्ध कर्ममा सहभागी हुन नसक्दा श्राद्ध नै सार्न मिल्ने प्रचलनेले भने श्राद्धमा नारीको आवश्यकतालाई पनि पुष्टि गरेको छ । कतिपयले यसलाई पुरुषले श्राद्धको धन्दा गर्न नचाहने वा गर्न नहुने मानसिकताका कारण यस्तो विधान ल्याइएको भनेर आरोप लगाउन पनि सक्छन् । 

श्राद्धमा पुत्रकै अनिवार्यताका कारण  छोरा र छोरीबीच भेदभाव सिर्जना भएको भनेर आरोप लगाउने पनि गरिन्छ । हुनत श्राद्ध नगर्ने समुदायमा पनि लैंगिक विभेद नभएको होइन, त्यसो हुन्थ्यो भने संसारमा हिन्दु समुदायमा मात्र लैंगिक असमानता देखिनुपर्ने हो तर सांसारिक यथार्थ फरक छ । गैरहिन्दु समुदायमा पनि नारीप्रतिको विभेद उत्तिकै देख्न पाइन्छ तैपनि श्राद्धमा छोरो मात्र अधिकारी हुनुका पछाडि केके कारण छन् भनेर खोज्नुचाहिँ महत्त्वपूर्ण विषय हो । 

अनि पुम् नामक नरकबाट तार्ने भएकाले पुत्र भनिएको हो त्यस कारण पुत्रले नै पितृलाई उद्धार गर्नुपर्छ भन्ने हो भने पुत्र शब्द बन्ने प्रक्रियाबाटै स्त्रीका अर्थमा पुत्री भएकाले पुत्रीले पनि आफ्ना पितृलाई उद्धार गर्न सक्छन् भन्ने कुरा पहिले नै हाम्रा शास्त्रले बुझ्न र बुझाउन सक्नुपर्थ्यो र पितृकार्यमा पुरुष अनिवार्यतालाई बाध्यकारी बनाउनु हुँदैनथ्यो । पारिवारिक सहिष्णुता, सद्भाव, अपनत्वबोध र प्रेमका लागि यस्ता विषयमा गहन बहस हुन जरुरी छ । किनभने धर्म, संस्कृति, सदाचार, नैतिकता र अनुशासन भन्ने कुरा मानवीय सुख, सन्तुष्टि र शान्तिका लागि हुनुपर्छ । परंपरा, सामाजिक, सांस्कृतिक विधिविधान निषेधका लागि मात्र हुनुहुन्न, निकासका लागि पनि हुनुपर्छ । अबका दिनमा महिलालाई यो गर्न हुन्न भनेर मात्र रोक्न सकिने स्थिति छैन । त्यसैले उनीहरूको मनसायलाई पनि उचित मार्गनिर्देश गर्नुपर्ने देखिन्छ ।  

श्राद्धमा विशेषगरी कुश-तिलयुत जलले तर्पण गरिन्छ  । देवता, सनकादि ऋषि, दिव्यपितृ, स्वपितृहरूलाई तर्पण गरिन्छ र आफ्ना सम्बन्ध आफ्ना पितृ हुँदै देवतासम्म भएको कुुरा स्मरण गरिन्छ । ऋषिहरूलाई जलाञ्जलि दिएर आफू पनि ऋषि महर्षिहरूकै वंशको निरन्तरता भएको गौरवबोध गरिन्छ । 

चामलको वा जौको पिठोबाट बनेको पिण्ड समर्पण गरेर आफ्ना पितृहरूलाई तृप्त पार्ने प्रयत्न गरिन्छ । भास्करमूर्ति (सूर्यसमान) पितृको ध्यान गरिन्छ । मरेर गएका आफन्तलाई देवता मानेर वर्षमा एक पटक भए पनि जल-अन्न चढाएर भावनात्मक रूपले भेटघाट गर्ने यो परंपरा वास्तवमै अवर्णनीय संस्कृति हो । हामी हाम्रो मूलजरोलाई भुलेर किमार्थ बाँच्न सक्दैनौँ । 

श्राद्ध संस्कृतिले हामीलाई हाम्रो मूलत्त्वबोध गराउँछ र पितृहरूले जस्तै उत्तम कर्म गर्न प्रेरित गराउँछ । मरेर गए पनि मेरा पितामाता मेरै साथमा छन् । म उनीहरूकै सुरक्षामा छु भनेर ढुक्क गराउँछ । देह पार्थिव भए तापनि आत्मा अजर अमर छ, त्यस कारण आफ्ना आफन्तजन दैहिक रूपले अदृश्य र अस्पृश्य भए तापनि आत्मिक रूपले अनाद्यन्तत्त्व गुणले सम्पन्न छन् भन्ने कुराको बोध गराउँछ  ।

हुनत मानिसहरू आफ्नै सोच विचार र लहडअनुसारको श्राद्ध गर्न थालेका छन् । कोही मन्दिरमा दान गर्न पुग्छन्, कोही दीनदुःखी, असहायलाई भोजन बाँड्न पुग्छन्, कोही पुरस्कार सम्मानद्वारा आफ्ना पितृलाई सम्झन्छन् । यसरी आफूखुसीको श्राद्ध प्रयोग गर्दै जाँदा केक काटेर, मैन बत्ती फुकेर तथा दारु-पानीसहित भोजन गरेर त्यही दुष्कर्मलाई श्राद्धको नाम दिने परम्परा पनि बस्न सक्छ । आफ्ना पितृलाई सम्झेर गरिने सबै काम श्राद्ध हुन्छ भन्ने छैन ।  

यद्यपि, सय वर्ष पहिले मरेको मान्छेले अहिले आएर पिण्ड खान्छ ? भनेर श्राद्धका विषयमा उग्रत्व प्रदर्शन गर्नेहरू पनि छन् । खासमा मरेको मान्छे त के भूत, असुर, देवता कसैले पनि चढाएका वस्तु त्यहीँ उपस्थित भएर खाँदैनन् । शहीदले पनि नमस्कार फर्काउन्नन् तैपनि हामी शहीदलाई नमस्कार गर्छाैं, देशले हामीलाई धन्यवाद दिँदैन तैपनि हामी छातीमा हात राख्छौँ । 

मार्क्सले पनि हामीलाई मुठ्ठी उठाएर सलाम गर्दैनन्, फोटोमा अवीर-माला लगाउँदा हाँस्दैनन् तैपनि हामी माला लगाइदिन्छौँ र सलाम गर्छाैं, त्यस कारण सबै ठाउँमा प्रत्यक्ष प्रमाण वा ल्याव टेस्ट खोज्न थाल्यौँ भने हामी मान्छे नरहन पनि सक्छौँ । विष्णु, शिव, कृष्ण आदि तेत्तीस कोटि देवताको पूजा गरे नि नगरे नि त्यो आफ्नै कुरो हो, तिनीहरूको अस्तित्व र उपस्थितिका बारेमा छुट्टै चर्चा होला तर पितृको अस्तित्वका बारेमा प्रश्न गर्नु आफ्नै अस्तित्वमाथि प्रश्न गर्नु हो । आफ्नै पितृको रगत र पसिनाबाट ज्यान बनेको हो, ज्यानले संसारको आधार पाएको हो, त्यस कारण श्राद्ध सन्तानको कर्तव्य हो ।