विज्ञान चर्चा : कहाँका वर्ष कति ?

विज्ञान चर्चा : कहाँका वर्ष कति ?

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  माघ २८, २०७५

तपाईँ कति वर्षको हुनु भयो ? महिलाहरूले भने यस प्रश्नलाई ‘इग्नोर’ गरे हुन्छ । 

मानौंं तपाईँ २५ वर्ष पुग्नु भयो । भन्नुस त यो वर्ष भनेको के हो ? यसको मापन  कसरी गरिन्छ ?? 

हामी पृथ्वी बासी ३ सय ६५ दिनलाई एक वर्षको अवधि मान्छौँ । किन मान्छौँ, ३ सय ६५ दिनलाई नै एक वर्ष ! जवाफ तपाईँ सबैलाई थाहै छ । 

३ सय ६५ दिनमा नै हामी बसेको पृथ्वीले सूर्यको एक परिक्रमा पूरा गर्छ । वर्ष भनेको कुनै छुट्टै अस्तित्व भएको संरचना होइन । ग्रहले आफ्नो मातृ ताराको गर्ने परिक्रमामा लाग्ने समय नै एक वर्षको अवधि हो । 
पृथ्वीमा ३ सय ६५ दिनको एक वर्ष हुन्छ । अब यो दिन भनेको के हो ? पृथ्वीमा झन्डै २४ घण्टाको अवधि नै एक दिन (दिन र रात दुवै) हो । दिन २४ घण्टाको नै किन ? २० घण्टाको किन हुँदैन, अथवा ३०,४०,५० घण्टाको किन छैन । 

ग्रहले आफ्नो अक्षमा एक परिक्रमा पूरा गर्ने समयलाई नै एक दिन भनिन्छ । पृथ्वीले यो परिक्रमा २४ घण्टामा पूरा गर्छ । १ घण्टामा ६० मिनेट, १ मिनेटमा ६० सेकेण्ड र सेकेण्डबारे चर्चा अर्को लेखमा गरौँला । आजको चर्चा विभिन्न ग्रहमा १ वर्षको अवधि कति लामो हुन्छ भन्ने नै हो ।

माथिको चित्र पुनः हेर्नुस । सबै ग्रहमा वर्षको अवधि फरक फरक हुन्छ । बुध र शुक्रमा १ वर्षको अवधि पृथ्वी भन्दा छोटो हुन्छ भने अन्य सबै ग्रहमा १ वर्षको अवधि पृथ्वीभन्दा बढी हुन्छ । 

अब कल्पना गर्नुस तपाईँ अरुण ग्रह (यूरेनस)मा बस्नुहुन्छ भने ८४ वर्षमा मात्रै ‘वर्थ डे केक’ खान पाउनु हुन्छ । कथंकदाचित वरुण ग्रह(नेप्चुन) अथवा यम ग्रह  (प्लुटो) मा पुग्नु भयो भने जन्मदिन, विवाह वर्षगाँठ मनाउने अवसर तपाइलाई प्राप्त हुन्न । वरुणको एक वर्ष पृथ्वीको १ सय ६५ वर्ष बराबरी हुन्छ । प्लुटोको एक वर्ष पृथ्वीको २ सय ४८ वर्ष बराबरी हुन्छ । 

नोट — माथि वर्णन गरिएका सबै ग्रहको १ वर्षे अवधि पृथ्वीको दिन अनुसार भनिएको हो । सबै ग्रहको एक दिनको अवधि पृथ्वीभन्दा फरक हुन्छ । जस्तो कि वृहस्पति ग्रह(जुपिटर)को एक दिन भनेको जम्मा ९ घण्टा ५५ मिनेट ३० सेकेण्डको हुन्छ । यस अनुसार वृहस्पतिलाई सूर्यको एक परिक्रमा पूरा गर्न १० हजार ४ सय ७६ दिनको समय लाग्छ । भनौँ वृहस्पतिका आफ्ना दिन अनुसार वृहस्पतिमा एक वर्ष १० हजार ४ सय ७६ दिनको हुन्छ । यसलाई पृथ्वीको दिनमा बदलिँदा ४ हजार ३ सय ३२ दिन हुन आउँछ । जुनकि झन्डै चित्रमा देखाए अनुसार पृथ्वीको १२ वर्षको समयावधि हो ।