भारतवर्ष र नेपाल : भ्रम र यथार्थ

भारतवर्ष र नेपाल : भ्रम र यथार्थ

रूपक अलङ्कार  |  दृष्टिकोण  |  आश्विन ८, २०७६

नेपालको वर्तमान सीमा पृथ्वीनारायण शाहले थालनी गरेको एकीकरणले अन्तिम रूप लिएपछि स्थिर भएको हो । पृथ्वीनारायण शह, बहादुर शाह, राजेन्द्रलक्ष्मी, भीमसेन थापा हुँदै जंगबहादुर राणासम्म नेपाल एकीकरणको अभियानले गति लिएको थियो । पूर्वमा मेचीदेखि पश्चिममा महाकाली नदीसम्म (महाकालीपारिका चाँदनी र दोधारसहित) र उत्तरमा हिमालय पर्वत शृंखलादेखि दक्षिणमा तराईसहितको भूभागलाई यतिखेर नेपाल भनिन्छ ।

विश्वमानचित्रमा अहिले जुन भूगोललाई नेपाल भनेर सीमांकन गरिएको छ, त्यो स्वरूप बनेको तुलनात्मक रूपमा धेरै लामो समय भएको छैन । किनभने समयको लामो कालखण्डमा देशका सीमाहरू पटक पटक परिवर्तन भएको इतिहास पढ्न पाइन्छ ।

नेपालको सीमा पनि किरातकालमा कति थियो ? लिच्छवीकालमा कति थियो भन्ने कुरा यकिन छैन । सीमाहरूको सूक्ष्म सूचना पाउन एकदम मुस्किल हुन्छ । काश्मिरका राजा जयापीड दिग्विजयका क्रममा नेपालमाथि पनि हमला गर्न आइपुगेका थिए । त्यतिबेला नेपालका राजा अरमुडी थिए । अरमुडी र जयापीडको युद्ध कालीगण्डकी किनारमा भएको कुरा महाकवि कल्हणले आफ्नो ‘राजतरंगिणी’ नामक महाकाव्यमा वर्णन गरेका छन् । जयापीड आक्रमण गर्न आएको खबर सुनेर भागेका अरमुडीलाई जयापीडले लखेट्न छाडेनन् र अन्त्यमा कालीगण्डकी किनारमा उनीहरूको जम्काभेट भयो ।

पहिले अरमुडीले कालीगण्डकीको बहाव परिवर्तन गरेर जयापीडलाई समस्यामा पारे पनि पछि जयापीडबाट पराजित भए । अन्य राजाहरूका समयमा पनि नेपालको सीमा परिवर्तन भएको पाइन्छ । तर, मल्लकालसम्म आइपुग्दा नेपाल भन्ने देश काठमाडौं उपत्यकामा सीमित भएको पनि पाइन्छ । नेपाल खाल्डो भनेर उपत्यकालाई मात्र चिन्ने परम्परा विकसित भएको थाहा नै छ ।

नेपालको मात्र होइन, संसारका हरेक देशको स्वरूप र आकारमा निरन्तर परिवर्तन भएको पाइन्छ । देश भनेकै राजधानी र राजधानी भनेकै देश भनेजस्तो धारणा भएको समयमा सोझासिधा जनतालाई आफू कुन देशमा छु भन्ने कुराको जानकारी नहुँदै राज्य अर्काे राज्यमा विलीन भएको वा अर्काे राज्य आफ्नो राज्यमा विलीन भएको स्थिति हुन्थ्यो । त्योबेला शासकको काम नै विलासितामा रमाउने या युद्धमा सहभागी हुने थियो । युद्धमा अर्काे मुलुकलाई जित्ने या मर्ने मात्र उनीहरूको उपलब्धि हुन्थ्यो । त्यसबेला राज्यहरूको निश्चित सिमाना हुने कुरै भएन ।

सुगौली सन्धिपूर्व अहिले भारतअन्तर्गत परेको धेरै भूभाग नेपालमा पथ्र्याे । बंगलादेश र पाकिस्तान पनि इस्टइन्डिया कम्पनीअन्तर्गत एउटै मुलुक थिए । तिब्बत पनि कुनै समयमा छुट्टै साम्राज्य थियो, अहिले चीन भएको छ । हामी अहिले राष्ट्रहरूको जुन अनुहार देखिरहेका छौँ, त्यो अनुहार बनेको समय पनि धेरै भएको छैन । विश्व इतिहासका पाना पल्टाएर हेर्ने हो भने देशका अनुहार परिवर्तन भइरहेको चलचित्र मात्र देख्न पाइन्छ ।

राजनीतिक रूपले नेपाल सदा सर्वदा स्वतन्त्र, सार्वभौम र अखण्ड राज्यको परिचयसहित प्रसिद्ध रहँदै आएको छ । महाभारतकालदेखिका ऐतिहासिक वर्णनलाई साक्षी मान्ने हो भने नेपाल स्पष्ट परिचय लिएर आजको दिनसम्म आइपुगेको छ । तर, हाम्रा विभिन्न धार्मिक तथा सांस्कृतिक अनुष्ठानमा संकल्प पढ्दा ‘जम्बुद्विपे, भारतवर्षे, भरतखण्डे, नेपालदेशे’ भन्ने चलन छ । यो वाक्य सुनेर धेरै मान्छेहरू नेपाल कसरी भारतमा पर्छ ? भनेर राष्ट्रभक्तिको ज्वरोले मुर्छा पर्न थाल्छन् ।

उत्तरमा पीतसमुद्र (यल्लो सी) दक्षिणमा महासागर, पूर्वमा रक्तसमुद्र (रेड सी)देखि नाइल नदी आएर समुद्रमा मिसिएको ठाउँसम्मलाई भारतवर्ष भनिन्छ भनेर हनुमानप्रसाद शास्त्रीले ‘काश्मीरस्येतिहास’ नामक पुस्तकमा उल्लेख गरेका छन् । यसरी हेर्दा नेपाल मात्र होइन, पाकिस्तान, अफगानिस्तान, बंगलादेश विशेषगरी दक्षिण एसिया र अन्य केही मुलुकसमेत भारतवर्षअन्तर्गत पर्न आउँछन् । त्यस कारण संकल्पमा नेपाल भारतमा पर्छ भनिएको होइनरहेछ भन्ने बुझ्नुपर्छ ।

कतिपय अवस्थामा भारतीय संस्कृति, भारतीय भाषा, भारतीय दर्शन जस्ता शब्दभित्र नेपाली भाषा, साहित्य र संस्कृति पनि अनुस्युत भएको पाइन्छ । भारतवर्षमा नेपाल पनि पर्छ भन्ने कुराले भन्दा पनि भारतीय संस्कृति भनेको नेपाली संस्कृति पनि पर्छ भन्ने कुराले बढी हामीलाई तनाव दिन्छ तर संकल्प धेरैले सुन्ने भएकाले  त्यसप्रति आपत्ति पनि धेरैले प्रकट गर्ने गरेका छन् ।

जसरी अहिले हाम्रो देश ठेगाना एसिया र दक्षिण एसिया हुँदै नेपाल भएको छ, प्राचीनकालमा जम्बुद्विप, भारतवर्ष र भारतखण्ड हुँदै नेपाल थियो । त्यसैले जम्बुद्विप भनेको  अहिलेको जम्मु काश्मिर र भारतवर्ष भनेको आजको इन्डिया होइन भनेर बुझ्नु जरुरी छ । जम्बुद्विपभित्र नेपाल र भारत मात्र होइन, तिब्बत, मंगोलिया हुँदै उत्तरसम्मका भूभाग र दक्षिणमा समुद्रपर्यन्तको यस पृथ्वीको विशाल भूभाग समेटिएको पाइन्छ । प्राचीनकालमा समग्र पृथ्वीलाई जम्बु, प्लक्ष आदि सात द्विपमा विभाजन गरिएको पाइन्छ ।

जम्बुद्विपभित्र भारतवर्ष, हरिवर्ष, भद्राश्ववर्ष, उत्तरकुरुलगायतका भूभागहरू विभाजित थिए । तीमध्ये भारतवर्षभित्र नेपाल, विदेह, अवध, मगध, लंका, बंग, पञ्चनद, पाटलीपुत्र, काश्मिर, चोल, बाली, सुमात्रा, गान्धार, कम्बोजलगायतका राज्यहरू परिगणना भएका छन् । यीमध्ये कतिपय राज्य अहिले पनि स्वतन्त्र छन् भने कतिपय विशाल भारतमा मिलेका छन् । कतिपय देशले अन्य भाषा र धर्मका प्रभावमा नामसमेत अर्कै पाएका छन् ।

उत्तरमा पीतसमुद्र (यल्लो सी) दक्षिणमा महासागर, पूर्वमा रक्तसमुद्र (रेड सी)देखि नाइल नदी आएर समुद्रमा मिसिएको ठाउँसम्मलाई भारतवर्ष भनिन्छ भनेर हनुमानप्रसाद शास्त्रीले ‘काश्मीरस्येतिहास’ नामक पुस्तकमा उल्लेख गरेका छन् । यसरी हेर्दा नेपाल मात्र होइन, पाकिस्तान, अफगानिस्तान, बंगलादेश विशेषगरी दक्षिण एसिया र अन्य केही मुलुकसमेत भारतवर्षअन्तर्गत पर्न आउँछन् । त्यस कारण संकल्पमा नेपाल भारतमा पर्छ भनिएको होइनरहेछ भन्ने बुझ्नुपर्छ ।

राजनीतिक रूपले सिमाना छुट्टिए तापनि सामाजिक, सांस्कृति, भाषिक, धार्मिक तथा प्राकृतिक वा वातावरणीय हिसाबले प्रचीन भारतवर्षी अभिलक्षणहरूमा अहिले पनि धेरै समानता पाइन्छ । प्राचीनकालबाट सुरु भएका कतिपय कुराहरूलाई हामीले थाहा पाएर पनि अस्वीकार गर्न सकेका छैनौँ । जसरी नयाँ संविधानअनुरूप राज्यको पुनर्संरचनापश्चात् मानिसको ठेगाना परिवर्तन भए तापनि मानिसहरू पुरानै ठेगाना बताइरहेका छन्, नयाँ ठेगाना बने पनि नागरिकतामा हामी पुरानै ठेगाना बोकेर हिँडेजस्तै संकल्पलगायतका केही क्षेत्रमा जम्बुद्विप, भारतवर्ष र भरतखण्ड बाँकी रहेका हुन् । ती शब्दका ठाउँमा आर्यावर्त, हिमवत जस्ता शब्द भएका भए हामी खुसी हुन्थ्यौँ होला । भारतवर्षसित भन्दा पनि हाम्रो आक्रोश भारत अर्थात् इन्डियासित हो ।
‘भारतीय’ शब्दप्रति आपत्ति प्रकट गर्ने कार्य सुरु भएको पनि छ ।

मोहन वैद्य किरणले लेखेको ‘हिमाली दर्शन’ नामक पुस्तक, जसमा उहाँले यसअघि भारतीय दर्शन वा पूर्वीय दर्शनका नामले प्रख्यात मीमांसा, न्याय, वैशेषिक, बौद्धलगायतका दर्शनहरूको समीक्षा गर्नुभएको छ । उहाँले दिएको हिमाली विशेषण भारतीय शब्दप्रतिको अस्वीकृति हो । विस्तारै संकल्पमा पनि परिवर्तन नहोला भन्न सकिन्न तर अरू क्षेत्रमा जस्तो सांस्कृतिक तथा धार्मिक क्षेत्रमा परिवर्तन करबलले हुँदैन, आवश्यकता र औचित्यका आधारमा हुन्छ ।

संकल्पको सम्बन्ध अवश्य पनि पौराणिकतासित जोडिन्छ र पुराणहरूले पृथ्वीको विभाजन यसैगरी गरेका छन्, जसअनुरूप नेपालको पौराणिक ठेगाना जम्बुद्विप, भारतवर्ष, आर्यावर्त हुन पुगेको हो । पुराणमा किन त्यस्तो भयो ? त्यो अर्काे खोजको विषय हो तर भारतवर्ष भनेको भारत नभएर दक्षिण एसिया केन्द्र भएको विशाल भूभाग हो, जसअन्तर्गत नेपाललगायत अन्य मुलुकहरू पनि पर्छन् ।