छोरी भन्दा आमा तरुनी

छोरी भन्दा आमा तरुनी

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  माघ २९, २०७५

‘आम्दानी अठन्नी खर्च रुपैयाँ’ निम्न वर्गीय र मध्यम वर्गीय प्राणीहरूको मर्म, कर्म, शर्म, धर्म सबै परिभाषित हुन्छन् यस हिन्दी गीतका चार शब्दले ।

अब यो समय भन्ने बडो जालिम हुँदो रहेछ । पृथ्वीका अनेकन मनीषीले ‘यो के हो’ बुझ्न भरमग्दुर प्रयास नगरेका होइनन् । स्टीफन हकिन्सले आफ्नो पुस्तक ‘ब्रीफ हिस्ट्री अफ टाइम’मा गुदी निकाल्न जति प्रयास गरे पनि ‘अन्धा र हात्तीको कथा’नै दोहोरियो । समय भने हकिन्सबाट पर उभिएर ‘आफ्नो बारेमा’ उनले गरेको ‘भीम प्रयास’ निर्लिप्त भावले हेरी रह्यो । समयको गणितका समीकरण भने सुल्झिने भन्दा झन् झन्

बल्झिने दिशामा गए । विज्ञान गतिको कुरा नगरिकन समयबारे एक शब्द पनि बोल्ने क्षमता राख्दैन आजको मितिसम्म । समयबारे आज एउटा रोचक चर्चा बुधग्रहलाई आधार मानी गरौँ । 

आइन्सटाइनको ‘स्पेशल रिलेटीभिटी थ्योरी’ का अनुसार अतीत, वर्तमान र भविष्य यी तीन वटै चार आयामी स्पेशटाइमको संसारमा (फोर डाइमेन्सनल स्पेश टाइम वर्ड) एकसाथ उपस्थित रहन्छन् । यसलाई ब्लक युनिभर्स -BLOCK UNIVERSE_ पनि भनिन्छ । यहाँ न कुनै समय हुन्छ न कुनै घटना नै हुन्छन् । सबै कुरा स्थिर हुन्छन् । सामान्य बुद्धिले ‘रिलेटीभिटी थ्योरी’ बुझ्न सकिंदैन् । यहाँ सबै कुरा रहस्यमय हुँदै जान्छन् । आइन्सटाइनका कुरा कुनै रहस्यदर्शी योगीका कुरा झैँ लाग्न थाल्छन् । 

हाम्रो व्यवहारिक जीवनमा समयको सबैभन्दा सानो युनिट सेकेन्ड हो । यो सेकेन्ड के हो, यसको मापन के हो ? विज्ञानको आधुनिकतम परिभाषा अनुसार ‘सीजियम १३३’ धातुको परमाणुका दुई ‘हाइपरफाइन’ स्तर बिच भएका ९ अर्ब १९ करोड २६ लाख ३१ हजार ७ सय ७० सङ्क्रमण नै १ सेकेण्डको अवधि हो । सजिलोमा यसरी बुझौँ ‘सीजियम’ परमाणु भित्र रहेको इलेक्ट्रोनको माथि वर्णित सङ्ख्याको जम्प नै १ सेकेण्डको समय हो ।  

अथवा प्रकाशले निर्वातमा (भ्याकुम) मा २९ करोड ९७ लाख ९२ हजार मिटर हिँड्न जति समय लगाउँछ त्यो नै १ सेकेन्ड हो । 

यो परिभाषाले तपाईँको चित्त बुझे पनि नबुझे पनि उपलब्ध सत्य र साक्ष्य यति नै हो । बाँकी मिनेट र घण्टा सेकेण्डकै जोड हुन । १ मिनेटमा ६० सेकेन्ड, १ घण्टामा ६० मिनेट वा ३६०० सेकेन्ड । एक दिनमा २४ घण्टा( राउन्ड फिगरमा) अथवा १ हजार ४ सय ४० मिनेट वा ८६ हजार ४ सय सेकेन्ड । समयको सारा फण्डा यही नै हो । बाँकी रहेका यी भन्दा ठुला एकाईका समय बोधक शब्द, साता (विक), पाक्षिक( फोर्ट नाइट्ली), मासिक(मन्थली), द्वैमासिक(बाइ मन्थली), त्रैमासिक(क्वार्टर इएर), अर्धवार्षिकी(हाफ इएर), वार्षिकी ( इएर), शताब्दी(सेन्चुरी) हामीले आफ्नो सुविधाका लागि बनाएका हौँ । 

सत्यमोहन जोशी एक सय वर्ष पुग्न लाग्नु भो । भनौँ उहाँले ३ अरब १५ कराेड ३६ लाख सेकेन्ड बितेको भोग्नु भयो । 

चर्चा लामो हुन गए पनि प्रसङ्गवश यहाँ उल्लेख नगरे अन्याय नै हुन जान्छ । आइन्सटाइनको ‘स्पेशल रिलेटीभिटी थ्योरी’ का अनुसार अतीत, वर्तमान र भविष्य यी तीन वटै चार आयामी स्पेशटाइमको संसारमा (फोर डाइमेन्सनल स्पेश टाइम वर्ड) एकसाथ उपस्थित रहन्छन् । यसलाई ब्लक युनिभर्स -BLOCK UNIVERSE_ पनि भनिन्छ । यहाँ न कुनै समय हुन्छ न कुनै घटना नै हुन्छन् । सबै कुरा स्थिर हुन्छन् । सामान्य बुद्धिले ‘रिलेटीभिटी थ्योरी’ बुझ्न सकिंदैन् । यहाँ सबै कुरा रहस्यमय हुँदै जान्छन् । आइन्सटाइनका कुरा कुनै रहस्यदर्शी योगीका कुरा झैँ लाग्न थाल्छन् । 

बुध ग्रहलाई हेरौँ, यहाँ समय अर्को रहस्यका साथ उपस्थित रहेको भेटिन्छ । ४ हजार ८ सय ७९ किमी व्यास भएको बुध ग्रहले आफ्नो अक्षको एउटा परिक्रमा ५८.६४ दिनमा पूरा गर्छ । भनौँ १ हजार ४ सय सात घण्टामा पूरा गर्छ । बुध ग्रहले आफ्नो अक्षको परिक्रमा पृथ्वी भन्दा धेरै कम ३.०२६ मीटर प्रतिसेकेण्ड को गतिले गर्छ । भनौँ बुध एक घण्टामा जम्मा १०.८९ किमि मात्रै हिंड्छ । पृथ्वीले भने एक घण्टामा १६७४ किमि दुरी पार गर्छ । अक्षमा ढिलो गति गरे पनि यहाँसम्म कुरा ठिकै छ । तर बुध ग्रहले सूर्यको परिक्रमा भने पृथ्वी भन्दा धेरै छिट्टै पूरा गर्छ, मात्र ८७.९६९ दिनमै बुधले सूर्यको परिक्रमा पूरा गर्छ । 

अब ध्यान दिउँ त, बुध ग्रहमा एक दिन भनेको हाम्रा ५८.६४ दिन जति लामो र एक वर्षको अवधि भने जम्मा ८७.९६९ दिनको । त्यहाँ डेढ दिन मै एक वर्ष पूरा हुन्छ । बुधमा कुनै पनि वर्षगाँठ मनाउन घण्टाको हिसाब राख्नु पर्ने हुन्छ । आइतबार, सोमवार आदि वार र वैशाख, जेठ, आषाढ आदि महिनाको कुनै उपयोगिता नै रहँदैन । कर्मचारीहरूको तलब बाँड्ने तरिका पनि प्रतिघण्टाका दरले निर्धारित गर्नुपर्ने हुन्छ । बुधमा समय विषयक हाम्रा समस्त एकाई धराशायी हुन्छन् । 

छोरी भन्दा आमा तरुनी भन्ने कुमार बस्नेतको गीतका पङ्क्ति बुधको दिन र वर्षलाई सटिक व्यङ्ग्य गर्छन् । वर्षरुपी आमा दिनरुपी छोरी भन्दा कता कता तरुनी र फुर्तिली छन् बुध ग्रहमा ।