तीन लघुकथाः आत्मरति, गुटबन्दी र बूढेसकालको आड

तीन लघुकथाः आत्मरति, गुटबन्दी र बूढेसकालको आड

सीताराम नेपाल  |  साहित्य  |  आश्विन १७, २०७६

आत्मरति

फुर्सदिली ऊ । ऐना हेर्दैमा उसको दिन बित्न थाल्यो । यस्सो केहीबेर ओल्टोकोल्टो लाग्दासमेत आफू कस्ती भएँ भनी ऐना हेर्न हतारिन्थी ऊ । जति उमेर बढ्दै जान्थ्यो, उति ऐना हेर्ने मोह उसमा बढ्दै गयो । ऐना हेर्नु र आफूलाई निखार्नु उसको लतै बस्यो ।

– ‘छोराछोरीले हुर्केर सात समुद्रपारि पखेटा हालिसके, कामबाट पनि अवकास भइहालियो, मरिलानु के छ र !’ भन्दै ऐनाको सामुन्ने बसी छोरीले पठाइदिएका किसिम किसिमका अमेरिकी ब्राण्डेड क्रिम पाउडर, लोसन आदिले अनुहार पोत्नु, मुखमण्डलमा छाएका चाया र मुजाका धर्साहरू छोप्नु, कालो पोतिएका कपाल फरक डिजाइनमा कोरीवरी सकेको बैँसालु देखिन कालो गगल्स घरि आँखामा घरि टाउकामा अड्याइरहन्थी ऊ ।

जब मेकअप र फेसनबाट सन्तुष्ट हुन्थी, तब सडकमा टाँस्सिएको कोठाको झ्याल खोलेर हेर्थी । बाटो हिँड्ने चिनेका, नचिनेका प्रत्येकलाई आँखा र मनले पढ्थी । चिनेकालाई भेटी भने मसक्क मस्किएर ‘बोलौँ न हजुर बोलौँ न, बोल्दैमा के हुन्छ र !’ भनिसक्दा मनले प्रत्येक बटुवाको मूल्यांकन गर्न भ्याउँथी ।

– दाँत झरललाई देखी भने ‘हेर यो कति छिट्टै हाँस्दा तर्साउने बूढी भैसकीछे । मै हुँ भन्थी, ठिक्क पर्‍यो । मेरो जस्तो नक्कली दाँत नहालेकी लोभिनी कहीँकी !’ भन्थी ।

– कपाल फुलेललाई भेटी भने ‘लौ यसलाई पनि कालले देखिसकेछ बाई ! मैले त कपालाँ कालो हालेर काललाई छक्याइरा’छु तै !’ भन्न छुटाउँदिनथी ।

– दुब्लाएको प्रौढलाई देखी भने ‘ऊ भने चिनी रोगले सिठ्ठा भइसकीछे । मलाई केही भा’ छैन भनी ढाँट्छे, कस्ती नखरमाउली भने !’ भन्न भ्याउँथी ।

– अवकासप्राप्त व्यक्तिलाई भेट्दा ‘आफू पोहोरै रिटायर्ड भएको बिर्सिएर ऊ आई रस सुकेकी छोक्रे उखु’ भनेर खुइल्याउँथी ।

– कोही विस्तारै हिँडेको देख्दा आफू चिकित्सकको सल्लाहले दुई महिनादेखि हिँडडुल गर्न छाडेको बिर्सिएर ‘लौ यसको भित्री पार्टपुर्जाहरू त नक्कली रै’छन् कि क्या हो, खिइएर मक्किसकेछ त’ भन्ठान्थी ।

एक दिन अमेरिकाबाट छोरीले भिडियो कल गरी । छोरीसँग गफिँदै सबै बूढाबूढीहरूको मूल्यांकन सुनाई अनि छोरीलाई हपारी– ‘किन टिपटप नभा’की छोरी तँ ? अनुहार पनि मेकअपको मुखै नदेखेको रै’छ । लुगा पनि नयाँ फेसनेबल देख्दिनँ । हेर, तँभन्दा मै राम्री, मै जवान !’

छोरीले सम्झाउँदै भनी– ‘तपाईंले भनेका सबै जना तपाईंका साठी वर्ष कटुवा साथीहरू हुन् । आत्मारतिमा नरमाउनुस् ममी ! मेकअप र कपडाले ढल्किँदो उमेर छोपिन्न । शरीरमा उमेरले झरेको ऊर्जा भरिन्न । खानपिन र हिँडडुलमा होस गर्नुपर्छ । प्रेसर र सुगरको औषधि नटुटाउनुस् है ममी !’

छोरीका कुराले ऊ छङ्गाछुर भई– ‘लौजा ! बिहानै खानुपर्ने ओखती खान बिर्सिएछ, हेत्तेरिका !’  

 

 

गुटबन्दी

                                                                                                                                            
त्रिवि केन्द्रीय क्याम्पसमा नेपालको वर्तमान राजनीतिशास्त्र विषयको पढाइ सकियो ।

'राजनीतिमा नभई नहुने कुरा के हो ? नेपालको वर्तमान राजनीतिलाई सन्दर्भ पारेर जवाफ दिनुस् त सबैले', प्राध्यापकको यो प्रश्नको जवाफमा विद्यार्थीहरूले भने-
'देश प्रेम ।'
'होइन, त्याग र समर्पण ।'
'होइन, नेतृत्व गर्न सक्ने खुबी ।'
'त्यो पनि होइन, सिद्धान्तको बुझाइ ।'
'केको हुन्थ्यो ! ठूलाठूला सपना देखाई जनताको मन जित्ने कला ।'
'हुँदै होइन, देश र जनताको लागि घरपरिवार त्यागेर जेलनेल परी राजनीति गर्नु ।'
'यो त झन् होइन ।'
'त्यसो भए के हो त ?'

बोल्न बाँकी कक्षा टपर विद्यार्थीले भन्यो- 'लामो समयसम्म धैर्य गरी गुटबन्दी गर्नु र मौका पर्दा गुटभन्दा बाहिरकालाई ढिम्किनै नदिनु ।'

सबैले ताली पिटे । प्राध्यापक पनि मुसुक्क हाँसेर भने- 'माथिका अरू उत्तरहरू पनि असान्दर्भिकचाहिँ छैनन् है !'

 

बूढेसकालको आड

वृद्ध कालीदासले शुक्रवारको साँझ छोरा रविलाई फेरि मायालु पाराले भन्यो- 'ए बाबू ! म बूढोलाई तीर्थसिर्थ लग्दैनस् भन्या ? यदाकदा घुम्न निस्कँदा पनि नातिलाई मेरो टाँसो लाुर जान्छौ तिमीहरू । नाति र मेरो पनि त मनै हो नि गाँठे !'

'आऽ बुबा ! अफिसको कामले थकित भाु बेलामा जाबो एकदिने बिदा त फास्स न फुस्स । पछि फुर्सदमा बिदा मिलाएर जाम्ला नि हुन्न ?', छोरा रविले धेरै पटक जवाफमा यही भन्यो ।

'कसैको नभा'को अफिस तेरो ! तेरी आमा र मैले नगर्‍या' हो र अफिस ?', कालीदासले यो कुरा घाँटीमा अड्काएर उच्छ्वास काढ्यो- 'खै बाबू, अब त बूढेसकालले गाँजेर हो कि किन हो, तीर्थ घुम्ने धोकोको घिडघिडोमै मर्छु कि जस्तो भइरा'छ तेरी आमा जसरी ।' बूढाको कुरा सुनेर नातिको अनुहार अँध्यारियो ।

'नआत्तिनुस् न बुबा ! आमा बित्नुभएपछि कति आत्तिन थाल्नु भा' भन्या ? बरु मन नडुलाईकन नातिको हेरचाह गरी बुहारीलाई काम सघाउनुस् न ।'

छोराको रूखो ठाडो स्वर सुनेर बुहारीको अनुहार उज्यालियो । कालीदास बोलेन बरु भित्रभित्रै रोयो । 'यो पाजी गर्भमा आएदेखि भोकतिर्खा नभनी, आजसम्म रातोदिन यसैको सेवामा लाग्याु छु, अझै यो मक्किएको बूढो हड्डी कति घोट भन्न सक्या होला रु यसको हृदयमा मानवता नै छैन कि क्या हो गाँठे !'

यस्तैमा आएको बाबुको मुख हेर्ने दिन कुशे औँशीको बिहानै रविले बुबा कालीदासलाई गोकर्णेश्वर महादेवको दर्शन गराउन लिएर गयो । मन्दिरमा दर्शनार्थीको घुइँचोको फाइदा उठाएर भीडमा रवि हरायो ।

'बल्ल घाँडो पन्छाइयो । लौ बूढी, आज ठमेलतिर मस्ती गर्न जाम् । छोरा रितेशलाई साथीकोमा पठाइदेऊ त', घर पुगेर रविले आफ्नी श्रीमतीलाई पुरुषार्थ सुनायो । रविकी श्रीमती पनि दंग पर्दै बोली- 'क्या बात १ ढिलै भए 'नि तिम्रो घैँटामा घाम लागेछ ।'

धेरैबेरसम्म छोरा खोज्दा नभेटेपछि कालीदासले कुरा बुझ्यो । एकछिन सोचेर जुरुक्क उठ्यो । प्रहरीको सहयोगमा घर पुग्यो । नातिको मद्दतले समाज गुहार्‍यो । समाजको अगाडि उभिनुपर्ने भएपछि छोरो रवि लाजले पानीपानी हुँदै बाबुको पाउ पर्‍यो । गिडगिडाएर माफी माग्यो । कालीदासले पनि बाबुको कर्तव्य नयाँ ढङ्गले निभायो ।

उता, नाति रितेशले हजुरबुबालाई सरप्राइज दियो- 'हजुरबुबा, मेरो साथीलाई म धेरै माया गल्छु । घुम्न पनि लैजान्छु ल । तपाईं धेलै बाँच्नुपल्छ ल । ह्याप्पी बर्थे हजुरबुबा !'

नातिले क्याटबरी दिँदै आफ्नो जन्म दिन सम्झाइदिएकोमा कालीदास दंग पर्‍यो र मनमनै भन्यो- 'तैँ त होस् नि मेरो बूढेसकालको आड ।'