दशैँकाे सामान्य नियमः उमेर, अनुभव, ज्ञान र सीपमा आफूभन्दा ठूलाबाट टीका-जमरा र आशीर्वाद लिने

दशैँकाे सामान्य नियमः उमेर, अनुभव, ज्ञान र सीपमा आफूभन्दा ठूलाबाट टीका-जमरा र आशीर्वाद लिने

रूपक अलङ्कार  |  दृष्टिकोण  |  आश्विन २०, २०७६

दशैँ हाम्रो महत्त्वपूर्ण पर्व हो । यसका धेरै अवयव छन् । घटस्थापनाबाट प्रारम्भ भएको दशैँ कोजाग्रत पूर्णिमासम्म पुगेर समापन हुन्छ । यसबीचमा विभिन्न क्रियाकलाप हुन्छन् । देवीस्थापना, देवीमहात्म्य पाठ, शक्तिपीठहरूको दर्शन, पशुबलि, प्रसाद ग्रहण, आशीर्वाद, शुभकामना, चंगा उडान, पिङ, लंगुरबुर्जालगायतका कुराहरू पनि दशैँका अंग हुन् । 

सानाभन्दा साना कुराले पनि चाडपर्वमा महत्त्व राख्छन् ।ठूलाठूला खसी, बोका, महँगा लत्ता कपडा, मूल्यवान् दारुका बोतल, दक्षिणाका गरुंगा खाम मात्र दशैँका महत्त्व  होइनन् । फूलपातीका लागि चाहिने जयन्तीका लहरा, अशोकका पात, बेलपत्र, गोबर, दुबो, उखुको बोट पनि उत्तिकै महत्त्वपूर्ण छन् । रातो टीका र जमरालाई बेवास्ता गरेर खसीका साँप्रा मात्र लुछेर दशैँ जस्ता चाडपर्वको सांस्कृतिक गरिमा अखण्ड राख्न सकिन्न भन्ने कुरा जान्नु जरुरी छ । हामीले हाम्रा संस्कृतिलाई यसरी अंगालो हाल्न थालेका छौँ  । अंगालामा च्यापिएर संस्कृति नै निसास्सिन थालेको भान हुन्छ । 

दशैँको अवधि पन्ध्र दिनको भए तापनि सबैभन्दा महत्त्वपूर्ण दिन भनेको दशमी अर्थात् टीका हो, जसलाई विजया दशमी भनिन्छ । नवरथाभरी देवीको पूजा आराधना गरेर त्यसको प्रसाद स्वरूप टीका-जमरा ग्रहण गर्ने दिन नै विजया दशमी अर्थात् बडादशैँ हो । शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदातृको पूजा नवरथामा गरिन्छ र दशमीका दिन देवी अपराजिताको पूजा गरिन्छ । 

अवीर ,दही र चामल मुछेर अक्षता बनाइन्छ । अक्षता भनेको कुट्दा केलाउँदा कतै पनि क्षत नभएको चामल हो । त्यसमा अवीर मिसाएपछि रातो अक्षता बन्छ । कुनै समुदायमा सेता अक्षता लाउने प्रचलन हुन्छ । श्राद्धमा पेहेँला अक्षता प्रयोग गरिन्छ । धामीझाँक्रीहरू वीर बोक्सीलाई काला अक्षता पनि चढाउँछन् । जे भए पनि युद्धको इतिहास बोकेर विकसित भएको समुदायले विजयोत्सवमा रगत र वीरताको प्रतीक रातो रङ वा रातो अक्षतालाई स्वीकारेको हो । 

यसरी देवीको अराधना गरेपछि रातो अक्षताको टीका र यवांकुर अर्थात् जमरा लगाएर दशैँ मनाइन्छ । टीकालाई विजया दशमी किन भनियो भन्ने सन्दर्भमा दुईवटा प्रसंग बढी प्रचलनमा छन् ।

देवी र दानव

पूराकालमा देवता र दानवका बीचमा घमासान युद्ध भयो । अन्त्यमा देवताहरूले दानवका अगाडि घुँडा टेक्नुपर्‍यो । भागेका देवताहरू ब्रह्मासामु पुगे । ब्रह्माका अशीर्वादले गर्दा देवताहरूले दुर्गाको प्रार्थना गरेर निर्भय हुने उपाय भेटे । देवताका प्रार्थनाबट तुस्टिएकी देवीले असुरहरूलाई युद्धमा परास्त गरिन् र युद्धमा बचेखुचेका असुरहरूलाई पाताल खेदाइन् । यसपछि देवताहरू खुसी भए  (अवादयंस्तथैवान्ये ननृतुश्चाप्सरोगणा: ववु: पुण्यास्तथा वाता सुप्रभोभूद्दिवाकर: अर्थात्  गन्धर्वहरूले बाजा बजाए, अप्सराहरू नाचे, मन्दमन्द हावा चल्न थाल्यो, रवि पनि सुन्दर आभा लिएर उदाए-चण्डी १०/३१) ।  ठूलो उत्सव मनाउन थाले देवताहरूले यसकै निरन्तरताले कलान्तरमा विजया दशमीकै रूप लिएको हो । 

राम-रावण युद्ध

अयोध्याका राजकुमार राम र लंकाका राजा असुरराज रावणका बीच लंकामा दस दिनसम्म युद्ध भयो र दशौँ दिनमा रामद्वारा रावणको बध भयो । लंका विजय वा रावण वधको अवसरमा महोत्सव आयोजना भयो, त्यसको स्मरण प्रत्येक वर्ष गर्न थालियो । आजसम्म आइपुग्दा त्यस उत्सवले विजया दशमीको रूप लियो ।  

यसरी विजया दशमीको ऐतिहासिकता वा पौराणिकताका विषयमा दुईवटा धारणा विकास भएको पाइन्छ । तर, हाम्रो समाजले राम-रावणको कथालाई भन्दा देवी र असुरको कथालाइ नै बढी महत्त्व दिएको छ । शारदीय दशैँमा रामलाई कसैले सम्झिँदैन, सबैले देवीकै जयजयकार गर्छन् । आखिर कथा जुन भए पनि असत्यमाथि सत्यको विजयका रूपमा, अन्यायमाथि न्यायको विजयका रूपमा हामीले दशैँलाई स्वीकारेका छौँ  । देवताहरू सत्य र न्यायका पक्षधर हुन् भन्ने कुरा हामीलाई हाम्रो समाजले सिकाएको छ । विजया दश्मीले  देवीलाई अदम्य साहस अजेय शक्तिका रूपमा स्थापित गरेको छ । देवताले समेत  शक्तिका लागि देवीको उपासना गर्नुपरेको कथाले नारी शक्तिको महत्तालाई उजागर गरेको छ । ऐतिहासिक भौतिकतावादीहरूले भने यस कथालाई आदिम मातृसत्तात्मक राज्य व्यवस्थाको बिउका रूपमा हेर्ने गरेका छन् ।  तर, वैदिक वाङ्मयमा वर्षभरमा चारवटा नवरात्रको उल्लेख भएको कुरा पनि यस सन्दर्भमा स्मरणीय छ । कतिपयले कृषिप्रधान देश वा समयमा खेतीपाती सकिएपछि उत्सव मनाउने प्रचलनको निरन्तरतामा दशैँको स्थापना भएको कुरा अघि सारेका छन् ।

दशैँको मुख्य आकर्षण टीका-जमरा र आशीर्वाद हो भन्ने कुरा जगजाहेर छ । जमरा विभिन्न अन्न उमारेर पहेँल्याइएको टुसा हो । शरद ऋतुमा अनेकौँ पुष्प वनस्पतिले वातावरण  सिँगारिएको हुन्छ । त्यस्तो मौसममा फूल कानमा सिउरिन छाडेर जमरा किन लाउन थालियो ? यसको छुट्टै अध्ययन हुनु जरुरी छ । आजकल काठमाडौंका चोकचोकमा जमराको जुस राम्रै मूल्यमा बिक्री हुनुले यसको औषधीय गुणवत्ता पुष्टि भएको छ । तर, टीका र जमराको सुरुवात एकै समयबाट भएको हो भन्ने कुरामा भने छिट्टै निष्कर्ष निकाल्न सकिन्न ।

अवीर ,दही र चामल मुछेर अक्षता बनाइन्छ । अक्षता भनेको कुट्दा केलाउँदा कतै पनि क्षत नभएको चामल हो । त्यसमा अवीर मिसाएपछि रातो अक्षता बन्छ । कुनै समुदायमा सेता अक्षता लाउने प्रचलन हुन्छ । श्राद्धमा पेहेँला अक्षता प्रयोग गरिन्छ । धामीझाँक्रीहरू वीर बोक्सीलाई काला अक्षता पनि चढाउँछन् । जे भए पनि युद्धको इतिहास बोकेर विकसित भएको समुदायले विजयोत्सवमा रगत र वीरताको प्रतीक रातो रङ वा रातो अक्षतालाई स्वीकारेको हो । 

एक पटक खुंखार क्रान्तिकारी प्रगतिवादिले दशैँको टीकाको नाउँमा खेर जाने चामल गरिबहरूलाई बाँड्ने हो भने कति अघाउलान् ? भनेर क्रान्तिकारी प्रश्न उठाए । तिम्रो पार्टीले तुल, ब्यानर, झन्डा जस्ता चिजमा फ्याँक्ने कपाल बाँड्ने हो भने कति जना नांगाको जिउ ढाकिन्छ, हिसाब छ ? भनेपछि उनी एकछिनलाई चुप लागे । विचरा कामरेड ! अहिले अभागी खप्पर लिएर शक्तिकेन्द्रतिर टीका थाप्न दौडिरहेका छन् । कुनै पनि सांस्कृतिक कुरालाई सस्तो किसिमले हेर्नु आफ्नै बौद्धिक दरिद्रता हो भन्ने कुरा हेक्का राख्नुपर्छ ।

टीका लगाएर आशीर्वाद लिने चलन हाम्रो समाजमा छ । कसले कसलाई टीका लाउने र दक्षिणा  दिने भन्ने विषयमा छुट्टै सामाजिक विधिविधान छन्, जुन कुराको लिपिबद्धता नभए पनि उत्तरोत्तर पुस्तालाई समाजले हस्तान्तरण गर्दै आएको छ । तर, उमेर, अनुभव , ज्ञान र सीपमा आफूभन्दा ठूलाबाट टीका-जमरा र आशीर्वाद लिने सामान्य नियम रहिआएको छ । यस परम्पराले  आफूभन्दा बडाको आदर गर्नुपर्छ भन्ने संस्कार पनि सिकाएको छ ।

भाइभारदारका अतिरिक्त रैतीहरूलाई टीका लगाइदिने परम्परा थियो नेपालमा । दरबारमा घन्टौँ लाम बसेर राजाबाट टीका थाप्न पाउँदा भाग्यमानी भएको ठान्ने जनता हामी नै हौँ । राजतन्त्रको अन्त्यपछि पनि ज्ञानेन्द्र निवासमा मानिसहरू केही वर्ष लाम लागिरहे । अहिले त्यो अवस्था राष्ट्रपति निवास र बालुवाटारमा देखिन थालेको छ । 

विचरा रैतीलाई पहिले नारायणहिटी मात्र जाँदा हुन्थ्यो, अहिले चारतिर जाँदा नि सुख छैन । कोही भने टीका थाप्न मठ, आश्रम वा जोगी सन्न्यासीका सान्निध्यमा पुगिरहेका पनि भेटिन्छन् । ख्यातिप्राप्त कवि, संगीतकार, गायक आदिसित टीका थापेर पत्रिकामा छापिनु पनि एक किसिमको फेसन नै हो । यस्ता कुराले मौलिकतामा हमला गर्लान् भन्ने पीर हो । मामाघर नगएर शीतल निवास टीका लाउन जानुपर्ने स्थितिको सिर्जना हुनु किमार्थ ठीक होइन । 

अन्त्यमा, आशीर्वाद लिने र दिने दुवैको मन निर्मल हुनुपर्छ अन्यथा टीका थाप्नुको के अर्थ ? हुनत आशीर्वाद र शुभकामना नितान्त भावनात्मक कुरा हो, यसको पुष्टि हुन सक्दैन । त्यसैले पनि यसमा मनको स्वच्छता वाञ्छनीय हुन्छ । 

सबैमा बडा दशैँको शुभकामना ।