वासुदेव अधिकारीः भूमिगत नेताहरुकाे सेल्टरदातादेखि मदन भण्डारीले मनपराएका स्रष्टासम्म

वासुदेव अधिकारीः भूमिगत नेताहरुकाे सेल्टरदातादेखि मदन भण्डारीले मनपराएका स्रष्टासम्म

घनेन्द्र ओझा  |  अन्तर्मन्थन  |  कार्तिक १, २०७६

वासुदेव अधिकारी (५४) नेपाली साहित्य र साहित्यिक पत्रकारितामा स्थापित नाम हो । लामो समय नेपाल राष्ट्र बैंकमा सेवा गर्नुभएका अधिकारी विशेषगरी नेपाली कविता साहित्यमा सक्रिय हुनुहुन्छ । हाल अधिकारी नेपाल बैंक लिमिटेडका अध्यक्ष हुनुहुन्छ । धादिङ जिल्लाको सुनौला बजार नेवारपानीमा वि. सं. २०२२ मा जन्मिनुभएका अधिकारीको जीवनयात्रा र साहित्ययात्राका विविध पाटाहरू लोकसंवाद डटकमले खोतल्ने प्रयास गरेको छ ।

जन्म, बाल्यकाल र शिक्षा

अधिकारी राजधानी काठमाडौंसँगै जोडिएको धादिङ जिल्लामा कृषक परिवारमा जन्मिनुभएका अधिकारीको परिवारमा खान लाउन खासै समस्या थिएन । चार भाइ बुबाहरूमध्ये उहाँका बुबा जेठा हुनुहुन्थ्यो । जेठो छोरो, पारिवारिक बोझ अलिक बढी नै हुने, खेतीपातीमा ध्यान दिनुपर्ने बाध्यताका कारण बुबाले पढ्न पाउनुभएन । तर, काकाहरू भने शिक्षित बन्नुभयो ।

उहाँका हजुरबा त्यस गाउँका व्यापारी र चल्तापुर्जा पनि हुनुहुन्थ्यो । उहाँलाई पनि छोरा नातिलाई पढाउनुपर्छ भन्ने हेक्का थियो ।

बुबाले आफूले पढ्न नपाएकाले आफ्ना सन्तानले राम्ररी पढिदिऊन् भन्ने कामना गर्नु अन्यथा होइन । भयो पनि त्यस्तै । वासुदेव गाउँमै खुलेको संस्कृत मिडिल स्कुलमा भनाए हुनुभयो । नाम संस्कृत स्कुल भए पनि त्यस स्कुलमा संस्कृत भने पढाइ हुँदैनथ्यो । पाँच कक्षासम्म अधिकारीले त्यही स्कुलमा पढ्नुभयो ।

त्यहाँ विद्वान् डिल्लीरमण अर्यालले उहाँलाई पढाउनुभयो । अर्याल गुरुकै प्रेरणा र सामीप्यले अधिकारी साहित्यप्रति आकर्षित भएको बताउनुहुन्छ ।

पाँच कक्षा पूरा गरेपछि छ कक्षा पढ्न अर्को स्कुल जानुपर्ने भयो । सदरमुकामको भैरवी माध्यमिक विद्यालयमा भर्ना भएर पढुन थाल्नुभयो उहाँ । उहाँलाई पढाउने केबीएस सर अर्थात् कान्छाबहादुर श्रेष्ठ गुरु हुनुहुन्थ्यो, जसले विज्ञान र गणित विषय पढाउनुहुन्थ्यो । केबीएस सर अधिकारीकै घरमा बस्ने भएकाले अधिकारीको गणित विषय राम्रो भयो ।

वि. सं. २०३७ मा एसएलसी दिनुभएका अधिकारी त्यस स्कुलबाट नियमिततर्फबाट पास गर्ने एक्लो र जिल्लाभरमा पास गर्ने आठ जनाभित्र पर्नुभयो । द्वितीय श्रेणीमा एसएलसी उत्तीण गर्नुभएका अधिकारी सम्झनुहुन्छ, ‘त्यसबेला मैले पढेको स्कुलले नियमिततर्फ कुनै पनि विद्यार्थी एसएलसी पास गराउन सकेको थिएन, म नै पहिलो एसएलसी पास भएँ ।’

उहाँका अनुसार त्यसबेला गोरखापत्र रिजल्ट आएको सात दिनपछि मात्र जिल्लामा आइपुग्थ्यो । जिल्लामा रिजल्ट थाहा पाएपछि जिल्लाभर एसएलसी पास गर्ने आठ जनाको व्यापक चर्चा हुनथाल्यो । सबैले चिने ।

एसएलसी दिनेवित्तिकै अधिकारीले नागरिकता बनाउनुभयो । उहाँका काका (अहिलेका साहित्यकार, भाषाविद्) बलदेव अधिकारी (गाउँले बलदेव)ले उहाँलाई बलदेव आफूले पढाइरहेको स्कुलमै पढाउन लैजानुभयो । गाउँमा खेती किसानीलाई पनि समय दिनुपर्ने अवस्था थियो । यसकारण स्कुल बिहान लाग्ने गथ्र्यो, दिउँसो खेतीको काम गर्थे शिक्षकहरू ।

केही समय त्यहाँ पढाएपछि अधिकारी आफूले पढेकै स्कुल भैरवी माध्यमिक विद्यालयमा आएर गणित विषय पढाउनुभयो । यसपछि उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आउनुभयो ।

अमृत साइन्स क्याम्पसमा दिइएको प्रवेश परीक्षामा उहाँको नाम दोस्रो लिस्टमा निस्किएछ । अनिवार्य गणितमा त उहाँको राम्रो नै थियो तर ऐच्छिक गणितका लागि शिक्षक नभएकाले स्कुलमा उहाँले ऐच्छिक गणित पढ्न पाउनुभएन । यसर्थ केही कमजोर लाग्यो उहाँलाई आफू ।

उहाँ बायोलोजी पढ्न थाल्नुभयो । उहाँका त्यसबेलाका सहपाठी साथीहरू हुनुहुन्थ्यो अहिलेका चर्चित र प्रिय साहित्यकारहरू महेशविक्रम शाह र ललिजन रावल । उहाँ आफ्नो साहित्यिक यात्राका महत्त्वपूर्ण उत्प्रेरक मित्रका रूपमा ललिजन रावललाई लिनुहुन्छ । भन्नुहुन्छ, ‘मैले ललिजीको संगतबाटै साहित्यमा निरन्तरता दिने अवसर पाएको हुँ ।’

अधिकारीले साइन्स पढ्दापढ्दै मानविकीतर्फ पनि परीक्षा दिइरहनुभएको थियो । पछि साइन्स छाडेर नेपाली र अर्थशास्त्रमा स्नातक गर्नुभयो । त्यसको केही समयपछि स्नातकोत्तर पूरा गर्नुभयो नेपालीमा ।

जागिर : स्कुल शिक्षकदेखि राष्ट्र बैंक निर्देशकसम्म

अधिकारीले आफ्ना काका बलदेव अधिकारीको सल्लाहमा एसएलसी दिएपछि गाउँकै स्कुलमा केही समय पढाउनुभयो । आफू पढेकै स्कुलमा पनि केही समय पढाउनुभयो अधिकारीले । त्यसपछि उच्च शिक्षा पढ्न काठमाडौं आउनुभएका अधिकारी यतै स्थापित हुनुभयो ।

२०४४ सालमा राष्ट्र बैंकमा परीक्षा दिनुभएका अधिकारीले वरिष्ठ सहायकमा नाम निकाल्नुभयो । राष्ट्र बैंकमा जागिरे रहेकै बेला वामपन्थी राजनीतिप्रति झुकाव राख्ने अधिकारी जनआन्दोलन २०४६ मा सहभागी हुनुभयो । २०४६ चैत ३ मा पंचायतविरोधमा कालोपट्टी बाँध्नेहरूमध्ये आहुती, पूर्ण विराम, लिखत पाण्डे, मणि थापा र वासुदेव अधिकारीलाई निकै निगरानी गरियो ।

२०४७ सालपछि कर्मचारी युनियनहरू खुले । त्यसमा अधिकारीको पनि संलग्नता रह्यो । राष्ट्र बैंकभित्र पनि युनियन खुल्यो । २०४८ सालमा बैंक प्रशासन र कर्मचारीबीच द्वन्द्व भयो । कर्मचारी युनियनलाई छिन्नभिन्न बनाउने प्रयास भयो । दीपेन्द्रबहादुर क्षेत्री युनियनका नेता हुनुहुन्थ्यो । डेपुटी गभर्नर अच्युत पौडेल हुनुहुन्थ्यो । पौडेलकहाँ वार्ताका लागि क्षेत्रीसहित अधिकारीसमेत जानुभयो । छलफल भयो र केही सहमतिसहित हिँड्नुभयो ।

भोलिपल्ट दीपेन्द्रबहादुर थापा, वासुदेव अधिकारीसहित १० जनालाई निलम्बन गरिएको पत्र प्राप्त भयो । ‘बैंकको हितविरुद्ध कार्य गरेको लगायतका आरोप लगाइएको थियो’, अधिकारी भन्नुहुन्छ, ‘हामीलाई नियतवस निलम्बन गरियो ।’

अब जागिर जोगाउन अनेक उपाय गर्नु भनेको स्वाभिमान बेच्नु बराबर हो भन्ने उहाँहरूलाई लाग्यो । र, व्यंग्यात्मक रूपमा निलम्बनमा परेका १० जना मिलेर टुँडिखेलमा जुत्ता बेच्न थाल्नुभयो । ‘हामीले ठान्यौँ, स्वाभिमान बेच्नुभन्दा जुत्ता बेच्नु उचित हो’, अधिकारी भन्नुहुन्छ । उहाँहरूले झण्डै दुई वर्ष टुँडिखेलमा जुत्ता बेच्नुभयो । यससँगै केही समय ‘स्वाभिमान यातायात’ पनि संचालन गरेको सुनाउनुहुन्छ अधिकारी । ‘हामी सबै जागिरबाट निलम्बित भएर खाली थियौँ, केही गर्नुपर्छ भनेर यी काम गरेका थियौँ’, अधिकारी सम्झनुहुन्छ ।

निलम्बन गरेको तीन महिनापछि नै उहाँहरूलाई बर्खास्त गरियो जागिरबाट ।

यसपछि अधिकारी काभ्रेतिर जानुभयो, क्याम्पस पढाउन । उहाँ त्यसबेला स्नातकोत्तर अध्ययन गरिरहनुभएको थियो । काभ्रेकै एक साथीले काभ्रे क्याम्पसमा नेपाली पढाउने मान्छे चाहिएको बताएपछि उहाँ त्यहाँ गएर २०५० जेठसम्म पढाउनुभयो । ०५० साल जेठ ३ गतेको दासढुंगा दुर्घटनामा मदनकुमार भण्डारीको मृत्युको खबरले अधिकारी मर्माहत हुनुभयो र पुनः काठमाडौं फर्किनुभयो । महेन्द्ररत्न क्याम्पसमा केही समय पढाउनुभयो । यहीबीच मदन भण्डारीसँगको उहाँको हार्दिक र निकट सम्बन्ध थियो ।

पछि २०५१ सालमा सर्वोच्च अदालतको फैसलाबमोजिम उहाँहरूको जागिर पुनर्वहाली भयो । १० जनामध्ये एक जना बितिसकेका थिए भने अर्का एक जनाले जागिर खाएनन् । बाँकी आठ जनाले पुनः जागिर सुरु गरे ।
सँगै जागिर सुरु गरेका साथीहरू बढुवा भइसकेका थिए । आफू पहिलेकै पदमा हाजिर हुनुपर्ने भयो ।

कहिलेकाहीँ नेपाल आउँदा उहाँलाई सेल्टरको समस्या हुन्थ्यो । कारण, त्यसबेला मदनभन्दा ठूला र पंचायत सरकारका कारण ‘रिस्की’ नेता हुनुहुन्थ्यो सीपी । यही भएर सीपीलाई जोकोहीले सेल्टर दिन मान्दैनथे, डराउँथे । तर, अधिकारीले अधिकांश समय सीपीलाई सेल्टर दिनुभयो ।

उहाँलाई बैंकर्स क्लवको जिम्मेवारी दिइयो । क्लवबाट विभिन्न कार्यक्रम गर्नुभयो । बैंकबाट प्रकाशन हुने ‘मिर्मिरे’ पत्रिकाको सम्पादन गर्नुभयो ।

२०५१ सालमै उहाँ अधिकृत बन्नुभयो । त्यसबेलै साहित्य सन्ध्या र जनसांस्कृतिक मंचमा पनि आवद्धता र सक्रियता बढ्यो । लामो समयदेखि प्रकाशन गर्दै आएको ‘लहर’ साहित्यिक पत्रिका बन्द भयो । २०५६ सालमा आएर मात्र उहाँ उपनिर्देशक बन्नुभयो ।

२०५४ मा नेकपा एमाले फुट्यो । जनसांस्कृतिक मंच पनि छिन्नभिन्न भयो । साथीहरूले जागिरमा असर नगर्नेगरी मंचलाई सहयोग गर्न भनेपछि उहाँले २०५६ सालमा मंचको महासचिवको जिम्मेवारी सम्हाल्नुभयो । आफैँले केही व्यक्तिलाई तलब दिएर र तालिममा खर्च गरेर केही राम्रा प्रतिभा जन्माउने, हुर्काउने काम गरेको उहाँ बताउनुहुन्छ ।

उहाँ जागिरकै क्रममा दोस्रो जनआन्दोलनका बेला नेपालगंज पुग्नुभयो । त्यसबेला तराई तातेको थियो । एकातिर जातीय आन्दोलनहरू, अर्कातिर माओवादी युद्ध र अर्कातिर संसदवादी र राजावादीबीचको द्वन्द्व । ‘एक किसिमको ट्रमाको अवस्था थियो त्यहाँ’, अधिकारी सम्झनुहुन्छ । यस्तो त्रासद अवस्थामा नेपालगंज बस्दा उहाँले निकै कष्टपूर्ण र भयानक दृश्य देख्नुभयो ।

‘सेनाको क्याम्प जस्तो थियो कार्यालय’, अधिकारी सम्झनुहुन्छ, ‘कतै हिँड्नु, बोल्नु गाह्रो थियो, निगरानी कडा थियो ।’

२०६० सालतिरै विवश वस्तीसँग मिलेर उहाँले साहित्यिक पत्रिका ‘शब्द संयोजन’ प्रकशन सुरु गर्नुभएको थियो । उक्त पत्रिकामा राजको निरंकुशताको विरोध हुन्थ्यो, सिर्जनशील रूपमा । सम्पादकीयमार्फत् पनि विरोध हुन्थ्यो । उहाँले नेपालगंजबाटै सम्पादकीय लेखेर पठाउनुहुन्थ्यो । ‘तर, धेरै चुनौतीपूर्ण थियो’, अधिकारी भन्नुहुन्छ ।

त्यसबेला नेपालगंजमै रहेर पनि उहाँले जनआन्दोलनमा विविध सहयोग गर्नुभयो । तत्कालीन प्रमुख जिल्ला अधिकारीले उहाँलाई भनेछन्, ‘तपाईं कर्मचारी भएर जनआन्दोलनलाई सहयोग गर्ने ? गृह मन्त्रालयमा तपाईंको रिपोर्ट पठाउँछु । उक्त रिपोर्ट क्याविनेटमा जान्छ, क्याविनेटका प्रमुख राजा हुन्, थाहा छ नि ?’

अधिकारीले आफूले आफ्नो कर्तव्य जे हो, त्यो व्यावसायिक रूपले नै निभाइरहेको बताउनुभएछ । ‘मैले कर्मचारीका रूपमा गर्दै आएको कर्तव्य इमान्दारीसाथ निर्वाह गरेको छु, अरू तपशील हुन् भनेँ’, अधिकारीको भनाइ छ ।

नेपालगंजमा त्यसबेला एकातिर माओवादी, अर्कातिर सेना र सरकारी जासुस सक्रिय रहन्थे । निरन्तर निगरानी हुन्थ्यो । ‘निकै गाह्रो थियो त्यसबेला ब्यालेन्स गर्न’, अधिकारी भन्नुहुन्छ ।

बमबाट बचे राधाकृष्ण

त्यही बेला विगतमा ‘क्रान्तिकारी’ नेताको छवि बनाउनुभएका पुराना कम्युनिस्ट नेता राधाकृष्ण मैनाली राजा ज्ञानेन्द्रको मन्त्रीमण्डलमा हुनुहुन्थ्यो । मैनाली नेपालगंज जानुभएको रहेछ । पुरानै चिनजान भएकाले मैनालीलाई अधिकारीले भन्नुभएछ, ‘त्यस्तो क्रान्तिकारी मान्छे किन राजासँग जानुभएको ?’

मैनालीले राजालाई धेरैले नबुझेको तर राजा ठीक भएको बताउनुभएछ ।

कतै जाँदै हुनुहुँदोरहेछ मन्त्री मैनाली, बाटोमा बम विस्फोट भएछ । भागेर मैनाली अधिकारीकहाँ आउनुभएछ । ‘कसोकसो बच्नुभएछ उहाँ’, अधिकारी भन्नुहुन्छ, ‘कसोकसो उहाँलाई सकुशल फर्काइयो ।’

उहाँ आफैँ पनि झण्डै बमको सिकार बनेको पनि सुनाउनुभयो अधिकारीले ।

नेपालगंज रहँदा उहाँले महत्त्वपूर्ण काम नेपाल बंगलादेश बैंकलाई तोडफोडबाट बचाएको सम्झनुहुन्छ । भएछ के भने, त्यसबेला नेपाल बंगलादेश बैंक निकै अप्ठ्यारोमा रहेछ । बैंक डुब्ने अवस्था आएपछि मानिसहरू आएर तोडफोड गर्न लागेछन् । अधिकारीले उक्त बैंकमा गएर दुई घण्टा मानिसहरूलाई सम्झाएपछि कुरो मिलेछ । पछि उहाँको बिदाइ १२ वटा संस्थाले गरेछन् । ‘हुँदाहुँदा फोरमका केन्द्रीय सदस्यसमेत मलाई बिदाइ गर्न आए’, उहाँ भन्नुहुन्छ ।

२०६४ सालमा उहाँ काठमाडौं आउनुभयो । बैंकर्स ट्रेनिङ सेन्टरमा पठाइयो उहाँलाई । यस सेन्टरलाई ‘फालेको ठाउँ’ भनिँदोरहेछ । ‘तर, मैले खुसीसाथ इमान्दारीपूर्वक त्यहाँ रहेर प्राज्ञिक काम गर्न पाएँ’, अधिकारी भन्नुहुन्छ ।

त्यहीँ रहँदा उहाँले ‘क्यापिटल फ्लाइट’बारे एउटा कार्यक्रम गर्नुभएछ, विशिष्ट व्यक्तिहरूलाई बोलाएर । गभर्नर दीपेन्द्रबहादुर क्षेत्री हुनुहुँदोरहेछ । क्षेत्रीले कार्यक्रम सकिएपछि सही काम नगरिएको बताउनुभएछ । यसको असर साँच्चै नराम्रै परेछ । ‘यसपछि मलाई आन्तरिक लेखा परीक्षणमा पठाइयो’। अधिकारी सम्झनुहुन्छ ।

उहाँ आन्तरिक लेखापरीक्षणमा त जानुभयो तर त्यहाँ कडा मान्छेको काम नै रहेनछ ।

यसपछि अधिकारी बैंक तथा वित्तीय संस्था नियमन विभागमा निर्देशक बनेर जानुभयो । बैंकिङ क्षेत्रका सबैजसो पछिल्ला नीतिहरू उहाँकै पालामा र पहलमा बनेका बताउनुहुन्छ अधिकारी । ‘बैंकमा देखिएका र रहेका धेरै समस्या समाधानको प्रयास त्यसबेला गरियो’, अधिकारी भन्नुहुन्छ, ‘लाइसेन्सिङमा निकै समस्या थियो, यही भएर मर्जर पोलिसी पनि ल्याइयो ।’

तरलता संकट समाधानका लागि तत्कालीन गभर्नर डा. युवराज खतिवडाको निर्देशनमा काम गरिएको, अन्तिम कर्जा सुविधा दिएर भिवोर बैंकलाई बचाएको र अन्य बैंकमा नकारात्मक असर पर्न नदिएको उहाँ सम्झनुहुन्छ ।

उहाँको संलग्नतामा ल्याइएको मर्जर नीतिकै कारण अहिले बैंकहरूलाई सजिलो भएको उहाँको दाबी छ ।

३० वर्षे जागिरे जीवनबाट उहाँले २०७४ सालमा अनिवार्य अवकास लिनुभयो । यसबीचमा आफूले ठगी, बेइमानी, अल्छी नगरेको उहाँ बताउनुहुन्छ । भनसुन गरेर र मागेर खानुहुन्न भन्ने धारणा छ अधिकारीको । कसैलाई यो गरिदेऊ, त्यो गरिदेऊ भनेर उहाँले केही नलिएको दाबी गर्नुहुन्छ ।

अवकाशपछि पनि सक्रिय

३० वर्ष लामो राष्ट्र बैंकको जागिरबाट अवकास भएपछि पनि अधिकारी आफ्नो विशिष्टता रहेको क्षेत्रमै सक्रिय हुनुहुन्छ । अवकासपछि उहाँ गोरखापत्रको समस्या अध्ययन तथा पुनर्संरचना समितिमा रहेर काम गर्नुभयो ।

यसरी नै उहाँ आफैं बैंकिङ ट्रेनर पनि भएकाले नेसनल बैंकिङ इन्ष्टिच्युटमा एक वर्ष तलबी काम गर्नुभयो ।

धितोपत्र बोर्डका लागि कमोडिटी मार्केट लाइसेन्स पद्धतिबारे अध्ययन पनि यसबीचमा गर्नुभयो ।

२०७५ पुसदेखि नेपाल सरकारले आफ्नो शेयरको प्रतिनिधिका रूपमा अधिकारीलाई नेपाल बैंक लिमिटेडको संचालक बनाएर पठाएको र अहिले उहाँ त्यही नेपाल बैंक लिमिटेडका अध्यक्ष हुनुहुन्छ ।

मदन भण्डारीसँगका ती दिन

२०४४ चैतमा अधिकारी जब नेपाल राष्ट्र बैंकमा जागिरेका रूपमा छिर्नुभयो त्यसपछि काठमाडौंको ढल्कोमा डेरा लिएर बस्न थाल्नुभयो । यहीबीचमा तत्कालीन भूमिगत राजनीतिक दल नेकपा माक्र्सवादी–लेनिनवादीसँग उहाँको सम्पर्क भयो । यस पार्टीका महासचिव झलनाथ खनाल हुनुहुन्थ्यो । मदन भण्डारी वैचारिक नेता मानिनुहुन्थ्यो । तार्किक र अध्ययनशील नेताको रूपमा भण्डारीलाई लिइन्थ्यो ।

सीपी मैनाली, राधाकृष्ण मैनालीहरू पनि सोही पार्टीमा हुनुहुन्थ्यो । मोदनाथ प्रश्रित, प्रदीप नेपालहरू बौद्धिक, साहित्यिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँहरू सबैसँग अधिकारीको त्यहीबेला भेट भयो ।

सामान्य राजनीतिक चेत हुर्कंदै गरेको युवामा यस्ता घघडान र भव्य व्यक्तित्वसँगको भेटले अर्कै ऊर्जा दिनु स्वाभाविक थियो । यद्यपि, अधिकारी राजनीतिक दलको झण्डा बोकेरै हिँड्ने अवस्थामा हुनुहुन्थेन । तथापि, त्यसबेला राजनीतिक पार्टी र तिनका नेतृत्वलाई अनेक तरहका सहयोग भने उहाँले गर्नुभएको बताउनुहुन्छ ।

‘पार्टीको स्थायी समितिको बैठक धेरै पटक मेरो डेरामा बसेको छ’, अधिकारी सम्झनुहुन्छ, ‘मेरो डेरा फ्ल्याट नै भएकाले बैठकका लागि उपयुक्त थियो भने सुरक्षित पनि थियो ।’

त्यसबेला उहाँको डेरा तत्कालीन भूमिगत कम्युनिस्ट नेताहरूको सेल्टर समान भएको बताउनुहुन्छ अधिकारी । ‘मदन भण्डारी, सीपी मैनाली, सुरेन्द्र पाण्डेलगायतका नेताहरूको आश्रयस्थल नै बनेको थियो मेरो डेरा’, अधिकारी भन्नुहुन्छ ।

दृष्टि साप्ताहिकमा लेखिरहनुभएका अधिकारीले भण्डारीसँग अन्तर्वार्ता गर्नुभयो । अन्तर्वार्तामा अधिकारीले आफ्नै क्षेत्रमा समेत स्थानीय निकायमा हार्नुले तपाईंलाई थकान महसुस भएको हो ? भन्ने आसयको प्रश्न सोध्नुभयो । भण्डारीले त्यही प्रश्नको उत्तरमा भन्नुभएको थियो, ‘राजनीतिमा थकाइ भन्ने कुरा हुँदैन ।’

त्यसबेला बैठक गर्ने ठाउँमा पार्टीको दसी प्रमाण नहुने हुनुपथ्र्यो । प्रहरीले छापा मारेमा पनि कुनै प्रमाण नभेटोस् भनेर त्यस्ता स्थानमा बैठक गर्ने चलन थियो ।

पछि मदन भण्डारीसँग विस्तारै अत्यन्त निकटता बढ्यो अधिकारीको । विष्णु रिमालले भण्डारीका पुस्तकलगायतका सामग्री ल्याएर आफ्नो डेरामा राखेका अधिकारी सम्झनुहुन्छ ।

उता, सीपी मैनाली भारततिरै बढी बस्नुहुन्थ्यो । कहिलेकाहीँ नेपाल आउँदा उहाँलाई सेल्टरको समस्या हुन्थ्यो । कारण, त्यसबेला मदनभन्दा ठूला र पंचायत सरकारका कारण ‘रिस्की’ नेता हुनुहुन्थ्यो सीपी । यही भएर सीपीलाई जोकोहीले सेल्टर दिन मान्दैनथे, डराउँथे । तर, अधिकारीले अधिकांश समय सीपीलाई सेल्टर दिनुभयो ।

सीपीले भारतबाट आउँदा ‘क्रान्तिदूत’ पत्रिका लिएर आउनुहुन्थ्यो । अवतार सिंहका किताब पनि ल्याइदिनुहुन्थ्यो ।

एक पटक पार्टी महासचिव झलनाथ खनाल र मदन भण्डारीबीच निकै ठूलो बहस भएछ । खनालले बढी क्रान्तिकारिताको कुरा गरेपछि भण्डारीले ‘हामी क्रान्तिकारीहरूले क्रान्तिबाहेक हाम्रो अर्को जीवन पनि छ, व्यावहारिक, पारिवारिक र सामाजिक जिम्मेवारी पनि छ भनेर सोच्ने कि !’ भन्नुभएछ । ‘वास्तवमा मदन भण्डारी धेरै फराकिलो सोचका, प्रस्ट व्यक्ति हुनुहुन्थ्यो’, अधिकारी भन्नुहुन्छ, ‘उहाँसँग सामाजिक, राजनीतिक जीवनका बारे वृहत सोच थियो ।’

त्यसबेला नेपाली कम्युनिस्टबीच नौलो जनवाद कि बहुदलीय जनवाद ? भन्ने विषयमा बहस सुरु हुँदै थियो । सीपी, झलनाथहरू नौलो जनवादका पक्षमा हुनुहुन्थ्यो भने भण्डारी नेपाली परिवेश सुहाउँदो मार्गदर्शनको खोजीमा हुनुहुन्थ्यो । त्यही बेला भण्डारीको निकट रहनुभएका अधिकारीसँग भण्डारीले सामान्य छलफल गर्नुभएछ । भण्डारीको अवधारणा हाते पुस्तकका रूपमा निकाल्नुअघि अधिकारीले केही महत्त्वपूर्ण सुझाव दिनुभएछ । भण्डारीले स्वीकार पनि गर्नुभएछ उक्त सुझाव ।

अधिकारी भन्नुहुन्छ, 'नेकपा एमालेको पाँचौँ महाधिवेशनपूर्व मदन भण्डारीले बहुदलीय जनवादको अवधारणा ल्याउनुभयो । त्यस अवधारणालाई उहाँले पुस्तिकामार्फत सार्वजनिक गर्नुभयो । त्यस पुस्तिका मैले प्रकाशनपूर्व नै पढ्न पाएको थिएँ । मैले त्यस पुस्तिकाको प्रुफ हेर्दा कुनै एक पृष्ठमा करिव पौने लाइन छुट भएका कुरा प्रकाशन भएपछि उहाँले पत्ता लगाउनुभयो । त्यही विचारबीज पछि जनताको बहुदलीय जनवादको रूपमा विकसित र पारित भयो । उहाँ नेपाली परिवेश सुहाउँदो मार्गदर्शनको पक्षमा हुनुहुन्थ्यो । म उहाँसित सिक्न जान्थेँ, उहाँ उल्टै मसित सुझाव माग्नुहुन्थ्यो ।'

भण्डारीको घरमा आउजाउ बाक्लै हुन थाल्यो अधिकारीको । राजनीतिक, सामाजिक विषयमा निकै संवाद हुन थाल्यो । विभिन्न पुस्तक र पाठ्य सामग्रीहरू अधिकारीले भण्डारीकहाँ लगिदिन थाल्नुभयो ।

पार्टी एकता

प्रजातन्त्र पुनर्वहालीपछि तत्कालीन दुई ठूला कम्युनिस्ट पार्टीहरू नेकपा माले, जसको नेतृत्व झलनाथ खनालले गर्नुभएको थियो र नेकपा माक्र्सवादी, जसको नेतृत्व मनमोहन अधिकारीले गर्नुभएको थियो, बीचमा एकता हुने भयो । मालेभित्रको एउटा पक्ष एकता गर्नु नहुने अडानमा थियो । आफूलाई निकै क्रान्तिकारी ठान्ने उक्त पक्ष मनमोहन र माक्र्सवादी पार्टीलाई दरबारसँग नरम भएको आरोप लगाउँथ्यो । यद्यपि, मदन भण्डारीकै पहलमा सबैलाई सहमत गराएर पार्टी एकता गराइएको अधिकारी सम्झनुहुन्छ ।

‘मदन भण्डारीसँगको वृहत चेतना र सबैसँग मिलेर गएमा मात्र लक्ष्यमा पुगिन्छ भन्ने सोचले पार्टी एकता संभव भयो’, अधिकारीको भनाइ छ ।

त्यसबेला पूर्वतिरका नेता कार्यकर्ता सीपीको नौलो जनवादका पक्षमा थिए । माक्र्सवादीहरूसँग उनीहरूको विचार र बाटो मिल्दैनथ्यो । यस्तो बेलामा मदन भण्डारीले सबैलाई ‘कन्भिन्स’ गर्नुभएको थियो ।

मदनले त्यसबेला सोभियत संघ विघटनको कारण र सन्दर्भ कोट्याएर नेपालमा अब बहुलवादमा जानुपर्ने बताउनुभएछ । अधिकारीलाई अझै चित्त बुझेनछ । अधिकारीले लामो समय चीनमा बिताएर भर्खरै नेपाल फर्कनुभएका गोविन्द भट्टलाई भेटेर सल्लाह गर्न सुझाव दिनुभएछ । सोहीअनुसार भण्डारी र अधिकारी भट्टकहाँ जानुभएछ । मदनलाई धेरै बेर सुनेपछि भट्टले भन्नुभएछ, ‘जडता माक्र्सवाद होइन, तर संसदीय भासमा जाकिएला ।’

उच्च शिक्षाका लागि काठमाडौं आएपछि ललिजन रावल, महेशविक्रम शाहलगायतका स्रष्टासँगको भेट, साहित्य सन्ध्या कार्यक्रमको संचालन, संयोजन, त्यहाँ भेट हुने अग्रज र समकालीन स्रष्टासँगको सम्पर्क आदिले अधिकारीमा साहित्यप्रतिको लगाव निरन्तर बढ्दै गयो ।

पाँचौँ महाधिवेशन : मदनलाई कुनै स्थान दिइएन

२०४९ माघमा दुई पार्टी संयोजित नेकपा एमालेको महाधिवेशन भयो । पार्टी महासचिव झलनाथ खनाल हुनुहुन्थ्यो । उहाँले नै कार्यक्रम संचालन गर्नुभयो । त्यही महाधिवेशनले भण्डारीले तयार पारेको जनताको बहुदलीय जनवादको दस्तावेज पारित गरेको थियो । तर, रमाइलो के भयो भने उनै मदन भण्डारीलाई उक्त महाधिवेशनमा मंचमा कतै स्थान दिइएन । ‘निकै अनौठो लाग्ने कार्य भयो त्यसबेला’, अधिकारी भन्नुहुन्छ ।

अधिकारी २०४७ सालको संविधान बन्नुमा पनि मदन भण्डारीको ठूलो त्याग र योगदान रहेको बताउनुहुन्छ । ‘उहाँको सबैको मन बुझाउन सक्ने र सुझबुझपूर्ण निर्णय गर्न सक्ने खुबीकै कारण २०४७ सालको संविधान आएको हो’, अधिकारीको भनाइ छ ।

मदन भण्डारीमाथिको अपमान

२०४८ सालको आमनिर्वाचनमा सन्त नेता कृष्णप्रसाद भट्टराईलाई काठमाडौंबाट पराजित गर्नुभयो मदन भण्डारीले । तर, लगत्तै २०४९ सालमा भएको स्थानीय निर्वाचनमा भने भण्डारीले जितेकै क्षेत्रमा काठमाडौंका मेयरदेखि वडा अध्यक्षसम्म हार्नुपर्‍यो । हुँदाहुँदा भण्डारीकै क्षेत्र बानेश्वरमा भण्डारीमाथि अपमानजनक हिसाबले हातपात भयो ।

दृष्टि साप्ताहिकमा लेखिरहनुभएका अधिकारीले भण्डारीसँग अन्तर्वार्ता गर्नुभयो । अन्तर्वार्तामा अधिकारीले आफ्नै क्षेत्रमा समेत स्थानीय निकायमा हार्नुले तपाईंलाई थकान महसुस भएको हो ? भन्ने आसयको प्रश्न सोध्नुभयो । भण्डारीले त्यही प्रश्नको उत्तरमा भन्नुभएको थियो, ‘राजनीतिमा थकाइ भन्ने कुरा हुँदैन ।’

मदन भण्डारीसँग दुईवटा अन्तर्वार्ता गरेको सम्झनुहुन्छ अधिकारी । उहाँका अनुसार अर्को अन्तर्वार्ता मदन दुर्घटनामा पर्नुभन्दा हप्ता दिनअघि लिनुभएको थियो ।

एक जना जापानी महिलाले नेपालको २०४६ सालको जनआन्दोलनबारे लामै कथा लेख्ने भनेर भण्डारीसँग अन्तर्वार्ता गरिरहेको अधिकारीले सुन्नुभएको रहेछ । त्यसपछि अधिकारीले पनि भण्डारीसँग दोस्रो अन्तर्वार्ता लिनुभएछ, जुन दृष्टि साप्ताहिकमै छापियो । र, भण्डारीले दिएको अन्तिम अन्तर्वार्ता पनि त्यही भएको अधिकारीको भनाइ छ ।

कविता र गीतलेखन अनि साहित्यिक पत्रकारिता

अधिकारी साहित्यको कविता र गीतलेखनमा केन्द्रित हुनुहुन्छ । उहाँका कविता र गीतका गरी आधा दर्जन कृति प्रकाशित छन् । स्कुल जीवनदेखि नै कविता लेख्न थाले पनि उहाँको कविता २०३६ सालतिर मात्र प्रकाशन हुन थाले ।

डिल्लीरमण अर्याललाई साहित्यिक गुरु मान्नुहुने अधिकारीले स्कुल पर २०४६ सालमा पहिलो कविताकृति ‘समयका स्वरहरू’ प्रकाशन हुन्जेलसम्म छन्दमा कविता लेख्नुभयो । गुरु अर्यालले स्कुल छाडेपछि उहाँको सम्झनामा लेखेको कविता अर्याललाई सुनाएपछि अर्याल रुनुभएछ । अर्यालले राम्रा कविता लेखेको र अझै लेख्न हौसला दिनुभएछ । ‘यसपछि मलाई म कविता लेख्न सक्नेरहेछु भन्ने लाग्यो’, अधिकारी भन्नुहुन्छ ।

उहाँले २०३६ सालतिर ‘म’ शीर्षकको मन्दाक्रान्ता छन्दको कविता बद्री दाहाल भष्मासुरलाई दिनुभएछ । आफैँ राम्रा कवि बद्रीले अधिकारीको कविता केही मिलाएर ‘भैरवी’ पत्रिकामा छापिदिनुभएछ । यो नै अधिकारीको पहिलो प्रकाशित रचना रहेछ ।

अधिकारीले रेडियो नेपालको बालसंसार कार्यक्रममा पनि कविता पठाउनुुहुन्थ्यो । त्यस कार्यक्रममा पनि उहाँका कविता बज्थे ।

स्कुलदेखि नै विभिन्न कविता प्रतियोगितामा उहाँ भाग लिनुहुन्थ्यो । जुन प्रतियोगितामा पनि उहाँ प्रायः प्रथम हुनुहुन्थ्यो । भन्नुहुन्छ, ‘प्रायः प्रतियोगिताको प्रथम पुरस्कार मैले नै पाउँथेँ ।’

अधिकारीको नेपाली साहित्यिक पत्रकारितामा पनि उत्तिकै योगदान छ । २०४० को दशकमै नारायण ढकालले प्रकाशन सुरु गरेको 'लहर' पत्रिका २०५१ सालसम्म आफ्नै लगानी र प्रयासमा प्रकाशन गर्नुभयो अधिकारीले । पछि २०६० सालमा 'शब्द संयोजन' प्रकाशन आरम्भ गर्नुभयो र उक्त पत्रिकाको १४० अंकसम्म आफैँले सम्पूर्ण व्ययभार व्यहोर्नुभयो ।

उहाँलाई साहित्यमा अझ बढी प्रोत्साहन उहाँका माहिला बा र मामाले वनारसबाट लिएर आउने ‘नौलो पाइलो’ नामक पुस्तकले गरेको ठान्नुहुन्छ । उक्त पुस्तकमा प्रसिद्ध र ठूला साहित्यकारका रचना पढ्न पाएको उहाँको भनाइ छ । सँगसँगै धादिङको सदरमुकाममै बस्ने हुँदा त्यहाँ विभिन्न पत्रपत्रिका आउने र ती आफूले पढ्न पाउने भएकाले पनि साहित्यप्रतिको रुचि बढेको उहाँको भनाइ छ ।

उच्च शिक्षाका लागि काठमाडौं आएपछि ललिजन रावल, महेशविक्रम शाहलगायतका स्रष्टासँगको भेट, साहित्य सन्ध्या कार्यक्रमको संचालन, संयोजन, त्यहाँ भेट हुने अग्रज र समकालीन स्रष्टासँगको सम्पर्क आदिले अधिकारीमा साहित्यप्रतिको लगाव निरन्तर बढ्दै गयो ।

२०४६ सालमा छन्दोबद्ध कविताकृति ‘समयका स्वरहरू’ प्रकाशन गरेपछि उहाँलाई लागेछ ‘कति क्रान्तिकारी र विद्रोहका गीत मात्र !’ त्यसपछि ‘मनको हरियो, मनको गीत, २०४७’ पुस्तक प्रकाशन गर्नुभयो गीतसंग्रह ।

२०४८ सालमा राष्ट्र बैंकको जागिरबाट निलम्बनमा परेपछि अधिकारीमा विद्रोहभाव बढेछ । युवावयका अधिकारीमा राजनीतिक चेतना पनि हुर्किरहेको बेला क्रान्तिकारिता त बढ्ने नै भयो ।

उहाँलाई लागेछ ‘प्रजातन्त्रले पनि सही गरिरहेको छैन ।’ यही भएर आफूभित्रको विद्रोहभाव अभिव्यक्त गर्न गद्य पो सजिलो हो कि भन्ने लागेर उहाँले गद्यकवितातिर कलम चलाउन थाल्नुभयो । त्यसकै परिणाम हो– ‘आफन्तलाई सम्बोधन, २०६० ।’

२०६९ सालतिर युरोप भ्रमणका क्रममा आएका अनुभूति र देखेका दृश्य अनि भोगाइ समेटेर २०७० सालमा अर्को कविताकृति प्रकाशन गर्नुभयो– ‘युरो स्पर्श ।’

जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्न जनताकै संविधान जनताका प्रतिनिधिबाटै बनाउने सपना साकार पार्न पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभा बन्यो । तर, संविधान आउन सकेन । त्यसबेला संविधानसभाको निरीह र अराजक अवस्था, संविधान निर्माणमा भन्दा अन्य कुरामा सभासद् र नेताहरू अनि राजनीतिक दलहरू केन्द्रित रहेको देखेपछि दिक्क लागेर अधिकारीको कविमनले ‘गायब सभामुख’ लेख्यो, २०६९ सालमा । यसपछि अधिकारीको अर्को कविताकृति प्रकाशन भयो– ‘च्यातिएको शब्दकोश, २०७२ ।’

यसरी कविताकै क्षेत्रमा निकै लामो समय–साधना गर्नुभएका अधिकारीका कुनै पनि कविता राष्ट्रियस्तरका ब्रोडसिट पत्रिकामा नछापिएको सुनाउनुहुन्छ अधिकारी । अझ २०४८ सालतिरै साहित्यकार नयनराज पाण्डेले नेपाल टेलिभिजनमा साहित्यिक कार्यक्रममा एउटा कविता रेकर्ड गर्नुभएछ तर उक्त कविता प्रसारण भएको अधिकारीलाई जानकारी छैन रे !

यसको कारण उहाँलाई लाग्छ– आफू कसैसँग यो गरिदेऊ, त्यो गरिदेऊ भन्न नसक्ने ।

अधिकारीको नेपाली साहित्यिक पत्रकारितामा पनि उत्तिकै योगदान छ । २०४० को दशकमै नारायण ढकालले प्रकाशन सुरु गरेको 'लहर' पत्रिका २०५१ सालसम्म आफ्नै लगानी र प्रयासमा प्रकाशन गर्नुभयो अधिकारीले । पछि २०६० सालमा 'शब्द संयोजन' प्रकाशन आरम्भ गर्नुभयो र उक्त पत्रिकाको १४० अंकसम्म आफैँले सम्पूर्ण व्ययभार व्यहोर्नुभयो । उक्त पत्रिका अहिले पनि निरन्तर प्रकाशन भइरहेको छ तर उहाँको संलग्नता भने टुटेको छ ।