हिंसा, हत्या र अपराधको जगबाट उठेका राजनीतिक दलहरू
कार्तिक ६, २०७६

समाज विकासको क्रम

राजनीति राज्यको मूल नीति हो । राज्यका हरेक अवयवको सही संचालनमा राजनीतिको भूमिका अहं हुने गर्छ । समग्रमा राज्य संचालनको मेरुदण्ड नै राजनीति हो । राजनीतिक व्यवस्था वा प्रणाली भन्नु पनि राजनीति नै हो । यद्यपि, राज्य संचालनका विविध प्रणाली वा व्यवस्थाहरू विश्वमा प्रचलनमा छन् र ती प्रणालीअनुसार तत्तत् मुलुकका शासन संचालन भइरहेका छन् ।

समाज विकासको क्रममा अनेक व्यवस्थाहरू प्रचलनमा आए विश्वमा । जब मान्छे जंगली युगमा थियो, तब सबै समान थिए, मेरो यति र उसको उति भन्नुपर्ने अवस्था थिएन । यायावरी शैलीमा वन जंगल डुलेर जनावर र कन्दमूल आएर गुजारा गर्थे । त्यो युगलाई ‘आदिम साम्यवादी युग’ भनियो ।

मानिसमा व्यक्तिगत अहं, लालच, ठूलो–सानोको भाव विकसित हुँदै गयो । जंगली अवस्थाबाट विकसित बन्दै कृषि युगमा छिर्‍यो । खेतीपाती गरेर अन्न उब्जाएर खान थाल्यो । अब जमिनको बाँडफाँटतिर लाग्यो मान्छे । कसको कति ? भन्ने भावना बढ्न थाल्यो । चेतना र व्यवहारमा विकसित हुँदै गयो र सँगसँगै मान्छेमा अहं र बलियो–निर्धो, धनी–गरिबको भाव पनि विकसित भइरह्यो ।

यही क्रममा दास युग सुरु भयो । बलिया, धनी वा सम्पन्नहरूले निर्धा, विपन्न र कमजोरहरूलाई नोकर बनाउन थाले । दास र मालिकको सम्बन्धका रूपमा मान्छेका सम्बन्धहरू परिवर्तन हुन थाले । यसले वर्गीय असमानतासँगै अमानवीय मानवीय सम्बन्धहरू पनि बढायो ।

सामन्ती युगमा प्रवेश गरेसँगै विश्व–समाज पूरै उँच–नीच, धनी–गरिब, विपन्न–सम्पन्न, साहु–मजदुर आदिमा विभक्त भयो । मान्छेले मान्छेलाई मान्छेका रूपमा नभएर फरक जनावरका रूपमा हेर्न थाल्यो । यथार्थमा मान्छेमा अहंको मात्र अत्यन्तै बढेर गयो ।

जब सामन्ती युगबाट उन्मुक्तिका खातिर केही विद्रोहहरू हुन थाले, केही असन्तुष्टिहरू बाहिर आउन थाले, सामन्तहरूले अनेक उपायहरू निकाले– उक्त विद्रोह र असन्तुष्टि साम्य पार्न । यससँगै औद्योगिक क्रान्ति सुरु भयो युरोपतिर । सामन्तहरूको रूप परिवर्तन हुन थाल्यो विस्तारै । विस्तारै सामन्तहरू नै फरक स्वरूपमा समाजमा पुनःस्थापित हुने बाटोमा लागे । अन्ततः त्यस युगलाई ‘पुँजीवादी युग’ भनिदिए समाजशास्त्रीहरूले ।

१९औँ शताब्दीको अन्त्यतिर युरोपमा चलिरहेको औद्योगिक क्रान्ति, त्यहीँबाट जन्मिएको नयाँ राजनीतिक–आर्थिक दर्शन माक्र्सवाद, सोभियत संघलगायतमा चलेका अक्टुबर क्रान्तिसमेतका राजनीतिक विद्रोह, चिनियाँ क्रान्ति आदिको प्रभाव मजबुत बन्दै गयो विस्तारै । बीसौँ शताब्दीको सुरुदेखि सात दशक लामो सोभियत कम्युनिस्टको सत्ता, बीसौँ शताब्दीको मध्यदेखि हालसम्म (हालसम्म किनभने चीनले अझै आफूलाई ‘साम्यवादी’ नै भनिरहेको अवस्था कायम छ)को चिनियाँ साम्यवाद, क्युबा, भियतनाम र उत्तर कोरियामा कायम ‘साम्यवादी’ सत्ता आदिलाई हेर्ने हो भने बीसौँ शताब्दीको पछिल्लो कालखण्ड साम्यवाद उन्मुख समाजवादी युग हो भन्न सकिन्छ ।

तर, माक्र्सको मान्यताअनुसार पुँजीवादको चरम समाजवाद हो र समाजवादको चरममा साम्यवादमा पुग्न सकिन्छ । तथापि, सन् १९९० मा सोभियत कम्युनिज्मको पतनसँगै अर्को ठूलो ‘साम्यवादी’ मुलुक चीनसमेत ‘सुधारवाद’को बाटोतिर मोडियो र अन्ततः पुँजीवादकै यात्रामा सामेल भयो । आज रुस र चीन विश्व शक्ति राष्ट्रको होडमा छन्– अमेरिका, बेलायतसँगै ।

यसले के देखायो भने समाज विकासको क्रम उल्टो हुँदै छ । आदिम साम्यवाद, सामन्तवाद, पुँजीवाद, समाजवाद हुँदै साम्यवादको दिशामा जानुपर्ने समाजशास्त्रीहरूको मत यहाँनेर आएर उल्टिएको देखिन्छ । सामन्तवादपछि पुँजीवाद र साम्यवाद कतिपय मुलुकमा देखियो भने कतिपयमा सामन्तवादबाट सोझै साम्यवादतिर मोडियो । जस्तो कि सोभियत संघमा र चीनमा सामन्तवादबाट सोझै साम्यवादमा मोडियो र अहिले आएर पुँजीवादको बाटोमा हिँडिरहेका छन् यी दुई मुलुक । तथापि, ७२ वर्षे कम्युनिस्ट शासनमा सोभियत संघमा र झण्डै पाँच दशक लामो कम्युनिस्ट शासनमा चीनमा पनि साम्यवादको चरम अभ्यास भने हुन नसकेको विश्लेषकहरूको मत छ ।

वास्तवमा भन्ने हो भने नेपाली राजनीतिमा हतियार बोक्न सिकाउने वा सुरुवात गर्ने आफूलाई ठूलै प्रजातन्त्रवादी, उदारवादी र शान्तिवादी ठान्ने नेपाली कांग्रेस नै हो । उसले राणाकालमा त हतियार उठायो नै, पछि पंचायत फाल्न पनि हतियार उठायो । सरकारी ढुकुटी लुटपाटको शृंखलाको सुरुवात पनि कांग्रेसबाटै भयो । २०३० सालको विमान अपहरण यसको गतिलो उदाहरण थियो ।

हत्या, हिंसाबाट गुज्रिएको विश्व राजनीति

राजनीति वैदिककालदेखि आजसम्म हत्या, हिंसा र अत्याचारबाट गुज्रिँदै आएको छ । पूर्वीय दर्शन, शास्त्रहरूलाई हेर्ने हो भने ‘भगवान्’ मानिएकाहरू ‘असुर’ वा राक्षस भनिएकाहरूसँग पटक पटक युद्ध गर्दै आएका छन् । विष्णु स्वयं र उनका विभिन्न अवतार मानिएका राम, कृष्ण, परशुराम आदिहरू रक्तरंजित राजनीतिक खेलबाट ‘वीर’, ‘साहसी’, ‘महान्’ दरिए । कतिपय अवस्थामा आफ्नै वंशलाई पराजित गर्न हतियार उठाए । जस्तो कि द्वापर युगमा कुरु वंशीको नाश गर्न पाण्डवहरूको सहयोगी बनेको देखिन्छ कृष्ण । हस्तिनापुर राज्यप्राप्तिको अस्वस्थ र हिंसात्मक ‘खेल’ थियो त्यो । पाण्डवहरूलाई भुलभुलैयामा पारेर, उक्साएर आफ्नै वंश नाश गराउने प्रपंच थियो त्यो कृष्णको । उता, दुर्योधन र शकुनिका आफ्नै अहं र स्वार्थको नतिजा पनि थियो कुरुक्षेत्रको युद्ध ।

रावणसँग रामको हिंसात्मक द्वन्द्व पनि त्रेतायुगको अर्को रक्तरंजित राजनीति थियो । यस्ता अनेकन् द्वन्द्व र हिंसा त्यस समयमा भएका देखिन्छ ।

पछि आधुनिक समाज विकासका क्रममा पनि यस्ता हिंसात्मक द्वन्द्व र अराजकता उस्तै रहे । जब तेरो र मेरो, उँच र नीच, धनी र गरिब, सम्पन्न र विपन्न, मालिक र मजदुरको अवस्था सिर्जना भयो, तब राजनीतिले विकृतिको मार्ग समात्यो । सत्ता र शक्तिका लागि मान्छेले आफ्नो–पराई, बाबु–छोरा, दाजु–भाइ, काका–भतिज केही देखेन । ‘इगो’ र ‘सत्ता–मस्ती’का कारण हरेक क्षेत्रमा राजनीतिक दाउपेच र चलखेल चलिरह्यो ।

विगतको अर्थात् अठारौँ शताब्दीसम्मको युरोपलाई हेर्ने हो भने त्यसबेला विशेषगरी धर्म र राजनीतिबीच ठूला द्वन्द्व भएका छन् । धार्मिक आस्थाका केन्द्र चर्चका पादरी र शासक (राजा)बीचका द्वन्द्वले एघारौँ शताब्दीदेखि अठारौँ शताब्दीसम्मको युरोप ग्रस्त नै बन्यो । राजाले आफूलाई वास्तविक शासक ठान्ने एकातिर, अर्कातिर पादरीले आफूलाई ‘प्रभु’ले शासन गर्न पठाएको दाबी गर्ने । यस्तो द्वन्द्वको निरूपण हुन झण्डै हजार वर्ष लाग्यो युरोपमा ।

युरोपमै बेलायतमा भएका विद्रोह हुन् वा फ्रान्सेली राज्यक्रान्ति, यिनलाई हेर्ने हो भने हिंसा र हत्याको राजनीति भयानक देखिन्छ । तत्कालीन शासक लुई सोह्रौँको दर्दनाक हत्या फ्रान्सको इतिहासमा मात्र नभएर विश्वका धेरै शासकका लागि भयानक दुःस्वप्न बन्नेछ । सोभियत संघमा भएको जारशाहीविरुद्धको क्रान्ति पनि उस्तै भयानक रह्यो भने चीनमा माओत्सेतुङको क्रान्तिलाई त विश्व राजनीतिमा बिर्सनै नसकिने घटनाका रूपमा लिइन्छ । उनका पालामा कति मानिस मारिए भन्ने हेक्का राख्नु जरुरी पनि ठानिएन । तियानमेन चोकको घटनालाई चीनको इतिहासमा मात्र नभएर विश्वमै डरलाग्दो अमानवीय घटनाका रूपमा लिनेहरू पनि छन् ।

यस्ता घटना प्रायः सत्ता र शक्ति प्राप्तिका लागि हुने गर्छन् । विश्वका अन्य मुलुकहरू भियतनाम, क्युवा, इराक, अफगानिस्तान, कम्बोडिया होस् वा श्रीलंकामा दुई दशक चलेको गृहयुद्ध होस्, यी सबै सत्ता–स्वादका लागि भएका द्वन्द्व, युद्ध हुन् ।

हिंसाको राजनीतिको नेपाल सन्दर्भ

नेपालको सन्दर्भमा हेर्ने हो भने पनि परापूर्वकालदेखि नै नेपाली राजनीतिमा हिंसा, हत्या र आतंकको मात्रा बढी नै देखिन्छ । राजनीतिक सत्ता हत्याउन यहाँका राजा–रजौटाबीच, शासकहरू आफैँभित्र र भाइ–भारदारबीच हत्या र हिंसाको ठूलै राजनीति भएको पाइन्छ इतिहासमा । यो क्रम वि. सं. १९०३ मा जंगबहादुरले शासन सत्ता आफ्नो हातमा लिएर जहानियाँ राणाशासनको सुरुवात गरेपछि अझ व्यापक बन्यो । काकालाई भतिजले सिध्याउने, भाइलाई दाजुले, दाजुलाई भाइले हत्या गर्ने वा बन्धक बनाउने जस्ता कार्य सय वर्ष बढी समयसम्म चल्यो नेपालमा ।

राणाकालको अन्त्यतिर जनताको स्तरबाट राणाको निरंकुशताको विरोध र प्रजातन्त्रको माग बढ्न थाल्दा पनि हत्या र हिंसाको क्रम रोकिएन । राणाविरोधी ४ जनालाई मारियो भने कतिलाई जेलमा सडाइयो, कतिलाई देश निकाला गरियो । आफ्नो खाईपाई आएको सत्तामा धावा बोल्नेलाई निमिट्यान्न पार्ने विश्वको जुनकुनै मुलुकमा, जुनकुनै शासकको नियत हुन्छ, हुँदै आएको छ । यही कुरा नेपालका तत्कालीन शासकमा पनि देखियो ।

उसो त ऊबेलाका क्रान्तिकारी वा विद्रोहीहरूले पनि अंजुलिमा पानी बोकेर राणाको विरोध गरेका थिएनन् । सशस्त्र द्वन्द्व नै थियो विद्रोहीहरूको पनि । र, स्वाभाविक रूपमै त्यो शान्तिपूर्ण नभएर हिंसात्मक हुने नै भयो । 

समग्रमा, राजनीतिसँग हिंसा र हत्या अन्योन्याश्रित हुँदै आएको छ, विगतदेखि नै । समाज विकासको क्रमसँग जोडेर हेर्दा सामन्तवादी युगबाट विश्वमा बढी हत्या, हिंसाको राजनीतिले प्रश्रय पाएको देखिन्छ । यो क्रमको अन्त्य वर्तमान विश्व राजनीतिमा देखिँदैन बरु झनै बढिरहेको छ ।

त्यसयताका हरेकजसो नेपाली राजनीतिक परिवर्तन हिंसा, हत्या र आतंककै जगमा भएका छन् । सात दशकदेखिका नेपाली राजनीतिका ‘मसिहा’ दलहरू कम्युनिस्ट (नेकपा हुँदै माले, माक्र्सवादी, एमाले भएर अहिले नेकपा नै रहेको) र कांग्रेसले विगतमा राणाकालदेखि पंचायतसम्म हतियाररहित होइन, हतियारसहति अर्थात् सशस्त्र क्रान्ति नै गरेका हुन् । वास्तवमा भन्ने हो भने नेपाली राजनीतिमा हतियार बोक्न सिकाउने वा सुरुवात गर्ने आफूलाई ठूलै प्रजातन्त्रवादी, उदारवादी र शान्तिवादी ठान्ने नेपाली कांग्रेस नै हो । उसले राणाकालमा त हतियार उठायो नै, पछि पंचायत फाल्न पनि हतियार उठायो । सरकारी ढुकुटी लुटपाटको शृंखलाको सुरुवात पनि कांग्रेसबाटै भयो । २०३० सालको विमान अपहरण यसको गतिलो उदाहरण थियो ।

२०२० को दशकमै झापा विद्रोहका नाममा ‘सामन्तका टाउका गिँड्ने’ सीपी मैनाली, राधाकृष्ण मैनालीहरू अझै नेपाली राजनीतिमा बाँचिरहेकै पाइन्छ । तत्कालीन कम्युनिस्ट पार्टीहरू नेकपा माक्र्सवादी र माक्र्सवादी–लेनिनवादीको पृष्ठभूमि पनि हत्या र हिंसाभन्दा परको देखिँदैन । यही क्रममा कांग्रेस–कम्युनिस्ट दुवैतर्फका केही ‘शहीद’ बने भने कति निर्वासित र बन्दी बने ।

२०५० सालपछिको नेपाली राजनीति त झनै दश वर्ष लामो हिंसा, हत्या र आतंकको जर्जर अवस्थाबाट गुज्रियो । तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र, उसकै शब्दमा, ‘जनयुद्ध’ले मुलुक एक दशक लामो हिंसात्मक द्वन्द्वमा फस्यो, जसका कारण ध्वस्त भएको भौतिक संरचना, जनतामा उत्पन्न ‘ट्रमा’, सामाजिक–सांस्कृतिक र आर्थिक दुरवस्थालाई उकास्न अझै लामो समय लाग्ने देखिन्छ । यसबीचमा हजारौँ मानिसले ज्यान गुमाए, त्यसको क्षतिपूर्ति त असंभव नै छ ।

यहीबीच दरबार हत्याकाण्ड भयो, जुन अझै रहस्यको गर्भमै छ । कतिपयले राजनीतिक हिसाबले उक्त हत्याकाण्डको विश्लेषण गर्दै आएका छन् भने कतिले बाह्य शक्तिको ‘चलखेल’का रूपमा हेरिरहेका छन् । यद्यपि, त्यसपछिको नेपाली राजनीतिले अर्कै मोड लिएको भने अवश्य हो ।

नयाँ राजा ज्ञानेन्द्रले आफ्नो शासकीय अहं लाद्ने महत्त्वाकांक्षा देखाएसँगै जब भूमिगत सशस्त्र युद्ध गरिरहेको माओवाद र संसदवादीहरू राजाको कदमविरुद्ध एक भएर जाने अघोषित सहमतिमा पुगे, तब पनि जनआन्दोलनका क्रममा १९ जनाले बलिदानी दिए ।

यो लोकतन्त्र (पछि गणतन्त्र) प्राप्तिपछि पनि रोकिएन । अनेक जात, क्षेत्र, लिंग, वर्गका नाममा देशभर हिंसात्मक आन्दोलन भए । शक्ति र सत्ताका लागि (नाम अधिकारको लिए पनि) विद्रोह, हिंसा र आन्दोलन देशैभर चर्कियो । तराईका विभिन्न ठाउँमा दर्जनौँ मानिस मारिए, जसको खोजीनीति अहिले भइरहेको छ । एक जना संघीय सांसद रेशम चौधरी हाल जेलमा छन् भने अर्का सांसद अफताब आलम अहिले अनुसन्धानका क्रममा थुनामा छन् । उता, अन्य सांसद र नेताहरूबारे पनि त्यसबेलाका हिंसा र हत्याका घटनाको संलग्नताबारे चर्को आवाज उठिरहेको छ । हुँदाहुँदा बहालवाला मन्त्रीहरूसमेत यस्ता अनेक हिंसा र हत्याका घटनामा संलग्न भएको पुष्टि हुँदै जाने खतरा बढेको देखिन्छ ।

समग्रमा, राजनीतिसँग हिंसा र हत्या अन्योन्याश्रित हुँदै आएको छ, विगतदेखि नै । समाज विकासको क्रमसँग जोडेर हेर्दा सामन्तवादी युगबाट विश्वमा बढी हत्या, हिंसाको राजनीतिले प्रश्रय पाएको देखिन्छ । यो क्रमको अन्त्य वर्तमान विश्व राजनीतिमा देखिँदैन बरु झनै बढिरहेको छ ।

नेपाली राजनीतिमा पनि अहिले पनि विभिन्न असन्तुष्ट स्वार्थ समूहहरू सशस्त्र हिंसात्मक द्वन्द्वमा सरिक छन् । उनीहरूको व्यवस्थापन गर्त वा उनीहरूलाई सन्तुष्ट गराउने दिशामा राज्य लाग्नुको सट्टा राज्य आफैँ प्रतिकारमा उत्रिएर अझ हिंसा र हत्याको राजनीतिलाई प्रश्रय दिइरहेको छ ।

र, नेपाली राजनीतिमा जो जुन दलले यसबीचमा सत्ता सम्हालिरहेका छन् वा शासन गरिरहेका छन्, ती हरेकजसोको पृष्ठभूमि हत्या, हिंसा नै हो । हत्या, हिंसाको पृष्ठभूमिबाट आएकाहरू शान्तिप्रिय हुन्छन्, अहिंसावादी हुन्छन् भन्नु अर्को भ्रम हो । र, आफूलाई दूधले नुहाएको ठान्ने उनीहरूको अहं उनीहरूको उठान कसरी भयो र अहिलेको उनीहरूको सोच र व्यवहार के कस्तो छ भन्ने विश्लेषण गरे धुलिसात् हुन्छ ।