चर्चाको भाेकमा अश्लीलतातर्फ नेपाली गीतसंगीतः कता जाला समाज

चर्चाको भाेकमा अश्लीलतातर्फ नेपाली गीतसंगीतः कता जाला समाज

यमबहादुर दुरा  |  लोकरञ्जन  |  कार्तिक १५, २०७६

ग्रीक दार्शनिक प्लेटो (इसापूर्व ४२८—३४८) ले भनेका छन्, ‘सङ्गीतले व्रह्माण्डलाई आत्मा भरिदिन्छ, दिमागमा पखेटा लगाइदिन्छ, कल्पनालाई उडान भर्न सघाउँछ र हरेक चीजलाई जीवन दिन्छ’ । उता, जर्मन दार्शनिक पे्र्फडरिक नित्से (सन् १८४४—१९००) ले पनि सङ्गीतलाई उच्च महत्व दिँदै भनेका छन्, ‘सङ्गीतबिनाको जीवन भूल हुने थियो’ । 
मानव जीवनका सबै आयामसँग नाता गाँस्न आउने सङ्गीत धेरै हिसाबले महत्वपूर्ण छ । सङ्गीतको तमाम महत्वमध्ये एउटा पक्ष के हो भने यो मानव अभिव्यक्तिकोे सशक्त माध्यम बन्दै आएको छ । अभिव्यक्तिकोे सशक्त माध्यम भएकाले नै समाजमा यसको प्रभाव पनि चर्कै छ । 

गीत–सङ्गीतले चाहेर वा नचाहेर विविध किसिमका राजनीतिक तथा सामाजिक द्वन्द्व निम्त्याउन सक्छन्, जसबाट समय–समयमा साङ्गीतिक अभिव्यक्ति विवादमा पनि तानिने गर्छ । 
आफ्नो सङ्गीतकर्मकै कारण कतिपय सङ्गीतकर्मीहरू सार्वजनिक आलोचनाका पात्र बन्न पुग्छन् । कतिपय अवस्थामा त उनीहरू राज्यको नजरमा पनि पर्ने गरेका छन् ।  यसका असंख्य दृष्टान्तहरु हुन सक्छन् । तिहारको पूर्वसन्ध्यामा युवापुस्ता केही गायकमाथि भएको धरपकडलाई यस्ता घटनाक्रमको नवीतम् श्रृङ्खलाको रूपमा लिन सकिन्छ ।

यसभन्दा अघि गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ प्रति सत्तारुढ दल निकट भ्रातृसंगठनका कार्यकर्ताहरू आक्रमक रुपमा प्रस्तुत भए । परिमाणतः गीतको भिडियोलाई यु ट्युबबाट हटाउनु  गायक शर्मा बध्य भएका थिए । 

मानव अभिव्यक्तिकोे सशक्त माध्यम मानिएको गीत–सङ्गीत आखिर किन विवादमा पर्छन् ? यसको उत्तर कुनै एउटामात्र विषयमा निहित छैन । यसमा देशको राजनीतिक प्रणाली, सामाजिक पद्धति, संस्कृति, नागरिकको चेतनास्तर एवम सुझबुझलगायत तमाम विषय जोडिन आइपुग्छन् । 

सार्वजनिक मर्यादा सबैले पालना गर्नुपर्ने हुन्छ । गीत–सङ्गीतका सर्जकले पनि यो ख्याल गर्नुपर्ने कुरा हो । हरेक सर्जकले आफ्नो सङ्गीत सिर्जना सामाजिक मर्यादाको कसीमा सही छ भन्नेमा आफैमा सहमत हुनुपर्छ । चर्चा बटुल्ने नाममा गरिने अपाच्य यत्न–प्रयत्न कतिपय अवस्थामा जायज नहुन सक्छ ।

नेपालमा मात्र होइन, संसारका प्राय सबै मुलुकमा कुनै न कुनै किसिमले सङ्गीत विवादमा पर्ने गर्छन् । भारतजस्तो ठूलो लोकतन्त्र र अमेरिकाजस्तो उदार भनिएको देशमा पनि सङ्गीतका कतिपय मामिलाहरू विवादास्पद बनेका कैयौँ उदाहरण छन् । 

बलिउडका थुप्रै गीत भारतीय राष्ट्रिय प्रसारण संस्था अल इन्डिया रेडियोबाट प्रसारण गर्न अनुमति दिइएका छैनन् । अभिव्यक्ति स्वतन्त्रताका पक्षपाती मानिने अमेरिकाका कतिपय टेलिभिजन च्यानलले म्युजिक भिडियोलाई प्रतिबन्ध लगाएका दृष्टान्तहरु धेरै छन् । दुनियाँको उदार साझा प्ल्याटफर्म मानिएको यु ट्युबले पनि थुप्रै म्युजिक भिडियोलाई हटाएको अनेकन् दृष्टान्त छन् । 

अश्लीलता, हिंसा र घृणा फैलाउने किसिमका गीत–सङ्गीत सामान्यतया सबैतिर आलोच्य हुने गरेको पाइन्छ । साथै, व्यवस्था तथा सत्ताविरोधी गीत–सङ्गीत पनि राज्यको निशानामा यदाकदा पर्ने गर्छन् । गीत–सङ्गीतमार्फत प्रवाह हुने हिंसा र घृणा कुनै पनि समाजलाई स्वीकार्य हुँदैन । 

अश्लीलताको प्रसंगचाहिँ धेरै हदसम्म विवादस्पद छ । श्लीलता र अश्लीलताबीच लक्ष्मणरेखा कोर्न कठिन छ । पूर्वीय दृष्टिले हेर्दा पश्चिमा मुलुकमा बनेका कतिपय म्युजिक भिडियो हाम्रा देशमा बन्ने म्युजिक भिडियोभन्दा कैयौँ गुना अश्लील देखिन्छन् । त्यस्ता म्युजिक भिडियोलाई त्यहाँको समाजले सजिलै पचाएको देखिन्छ । तर, परम्परावादी समाजमा तीभन्दा कम अश्लील भिडियो पनि पूरा अश्लील ठहरिन्छन्, जसले सार्वजनिक आलोचना निम्त्याउँछन् । 

नेपालमा निर्मित म्युजिक भिडियो भन्दा कैयौ गुणा अश्लील र हिंस्रक भिडियोको  एउटा दृष्टान्तको रूपमा बेलायती साङ्गीतिक ब्याण्ड द प्रोडिजीको म्युजिक भिडियो ‘स्म्याक माई बिच अप’ लाई लिन सकिन्छ । यसमा महिला शरीरको अश्लीलता र हिंसाको प्रयोग उत्कर्षमा देखिन्छ । १९९७ मा निस्किएको यो भिडियो एमटीभीमा प्रसारण भयो । त्यसपछि यो भिडियो विवादको घेरमा तानिएको थियो । मनोरञ्जनको नाममा महिला हिंसालाई प्रश्रय दिएको भन्दै महिला अधिकारवादीहरू प्रदर्शनमा उत्रिए । 

गीत–सङ्गीत राजनीतिक सञ्चारको गतिलो माध्यम मानिन्छ । नेपालका कम्युनिष्ट पार्टीहरूले विगतमा गीत–सङ्गीतमार्फत् आमनागरिकमा राजनीतिक सञ्चार गरे । उनीहरूले गीत–सङ्गीतको माध्यमबाट पञ्चायतको चर्को विरोधमात्र गरेनन्, आफ्ना पक्षमा जनमत पनि जुटाए ।

त्यही समयमा देशको एकमात्र प्रसारण संस्था रेडियो नेपालले प्रगतिशील तथा सत्ताविरोधी गीतलाई प्रसारणको अनुमति दिइएन । गायक प्रचण्डबहादुर बुढाथोकी मगर (वि.सं. १९९९—२०७६) लगायतका थुप्रै प्रगतिशील धारका कलाकारहरूले राजनीतिक आग्रह–पूर्वाग्रहबाट आफ्ना गीत रेडियो नेपालमा अयोग्य ठहरिएको गुनासो गर्दै आएका थिए ।
नेपालजस्तो सांस्कृतिक विविधता भएको मुलुकमा कतिपय गीत सांस्कृतिक कारणले पनि विवादमा पर्छन् । खेम गुरुङ (वि.सं. २०३१—२०७३) को चर्चित गीत ‘एकादशी बजारैमा...’ रहेको एउटा हरफ ‘पोडे होला, चमार होला तिम्रै माया लाग्छ’ ले दलित समुदायलाई होच्याएको आरोप लागेर उक्त गीतलाई सच्याउन बध्य भएका थिए । 

गीतको व्यापक विरोध भयो । बदलिँदो परिस्थितिमा उचित शब्दचयन नहुँदा गीतले विवाद निम्त्याउनु स्वाभाविकै थियो । पछि त्यही गीतको परिमार्जित संस्करण निस्कियो वा निकाल्न वाध्य हुनु पर्‍यो  ।

नेपालमा विवादस्पद ठहरिएका गीत–सङ्गीत मूलतः दुईटा शक्तिको कोपभाजनमा परेको पाइन्छ । पहिलो, राजनीतिक शक्ति । दोस्रो, सामाजिक शक्ति । नेपालको साङ्गीतिक इतिहासमा यस्ता दृष्टान्त भेटिन्छन् । पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ र खेम गुरुङ ‘एकादशी बजारैमा...’ ले क्रमशः राजनीतिक शक्ति र सामाजिक शक्तिका कारण बाटो बदल्न बाध्य भएको प्रष्ट इतिहास छ ।

तर, विकसित मुलुकमा सामाजिक शक्तिसहित गैरराजनीतिक शक्तिले विवादास्पद गीत–सङ्गीत मार्गनिर्देश गरेको देखिन्छ । अमेरिकामा सरकारले भन्दा पनि टेलिभिजन च्यानलले आफूहरूलाई आपत्तिजनक लागेका गीत वा भिडियोहरूलाई प्रतिबन्ध लगाउँछन् । अर्थात् उनीहरूले त्यस्ता सामग्रीलाई प्रसारण गर्दैनन् । 

सार्वजनिक मर्यादा सबैले पालना गर्नुपर्ने हुन्छ । गीत–सङ्गीतका सर्जकले पनि यो ख्याल गर्नुपर्ने कुरा हो । हरेक सर्जकले आफ्नो सङ्गीत सिर्जना सामाजिक मर्यादाको कसीमा सही छ भन्नेमा आफैमा सहमत हुनुपर्छ । चर्चा बटुल्ने नाममा गरिने अपाच्य यत्न–प्रयत्न कतिपय अवस्थामा जायज नहुन सक्छ ।

राज्यले डण्डा लगाएर सङ्गीतकर्मीलाई तह लगाउनुभन्दा पनि सर्जक स्वयम् संयमित र सन्तुलित हुनु राम्रो हो । राज्यले सङ्गीत सर्जकलाई नियन्त्रण गर्नु अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारका दृष्टिले पनि बाञ्छनीय ठहरिँदैन । 

यद्यपि, राज्य नियन्त्रणकारी शक्ति भएकाले बेलाबखतमा उसको सही चरित्र उदघाटन भइरहन्छ । राज्यले आफ्नो नियन्त्रणकारी धर्म निर्वाह गर्नुलाई कतिपय अवस्थामा नाजाजय भन्न पनि कठिन छ ।  

कतिपय अवस्थामा गीत–सङ्गीतको माध्यमबाट हुने अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्न र सार्वजनिक मर्यादाबीच सन्तुलन कायम गर्न सहज छैन । तर, यसका लागि सचेत प्रयत्न गर्नु हरेक व्यक्तिको अहम् जिम्मेवारी हुन आउँछ ।