'शून्य प्रहरको साक्षी'को साक्षी बस्दा

'शून्य प्रहरको साक्षी'को साक्षी बस्दा

वासुदेव पाण्डेय  |  साहित्य  |  कार्तिक २४, २०७६

युवाकवि, कुशल समीक्षक एवम् अनुवादक महेश पौड्यालद्वारा रचित 'शून्य प्रहरको साक्षी' वि.सं. २०७५ सालमा शिखा बुक्सबाट प्रकाशित सुन्दर कवितासङ्ग्रह हो । स्मार्ट साइजमा १२४ पेजमा लेखिएको प्रस्तुत कविताकृतिभित्र छोटो आयाममा संरचित १०८ वटा शक्तिशाली कविताहरू रहेका छन् । 'कसरी आइपुगेँ कविताको गाउँसम्म' शीर्षकको आत्मकथ्यबाहेक कुनै पनि भूमिका नलेखिएको यो कवितासङ्ग्रह समयसामयिक नेपाली कविताको प्रतिनिधि सङ्ग्रह हो ।

विषय प्रवेश

सुन्दर आवरण र आकर्षक साजसज्जा भएको प्रस्तुत कवितासङ्ग्रहभित्र  कर्णाली, श्रमिकको कविता, सिसा, शीत र प्रिया, बोझ, बच्चाको खेल, सम्राट र बच्चाहरू, संविधान, पहाड र हामी, सपनाहरू, जुनकीरी, मान्छे र पुतली, प्रेमको उत्सव, यादहरू, जीवन र मृत्यु, काव्य सरोवर, कठै जिन्दगी, आँखा बाँडिएपछि,  ऐना, आँसु, सियो, नयाँ सपना, पुल, जन्मदिन, जल्लाद, आँखा, अश्वत्थामा, समुद्र, जमिन, लेखाजोखा, दुई टुक्रा जून, छोरी, दृष्टिकोण, आँसु र तिमी, वसन्त, बादलको समुद्र, श्रृष्टिको लय, अनुमति, शरीरको भाषा, सिमाना, स्वाभिमानको बोझ, वर्षा र प्रेम, रहस्य, बुद्ध र म, एक रस, हुरी, जूनताराको देश, प्रेमको कविता, पहाडको बत्ती, भूगोल, पानी र सपना, धरहरा, परिवर्तन, जीवनका फूल, स्मृतिमा गाउँ, सम्बन्ध शीर्षकका कविता छन् ।

यसरी नै जिन्दगीको पर्यटन, स्वीकारोक्ति, धैर्य, शहरका छिमेकी, सत्य समर, तानाशाहको लास, इन्डिया गेट, युद्ध र मुस्कान, पिलपिले बत्तीको सपना, परिवर्तनको कथा, पीडा, आँसुको रङ, वसन्त, फूल र हामी, पानी स् दुई अनुभूति, ब्रह्मपुत्र, तारा र उचाइ, दूरी, अनुरोध, थोपा, एक्लोपन, भार, अन्तिम युद्ध, अँध्यारोको बाली, मेरा-उसका भँगेरा, विजेता, धरती, सपनाको वैधानिकता, सबुत, प्रश्न, म तिमीलाई माया गर्छु, ध्यान, कपास, पहिरो, जीवनका मालीहरू, पटाक्षेप, मुस्कानको खेत, उमेर, घरझगडा, गहिराइ, रहर, सत्यकथा, शहीदकी विधवा, अभिलेख, हक, दृष्टि, तिहारमा सपना, हारजीत, आँखाको प्रेम संवाद, जात, आजको दिन, मानवता र जून शीर्षकका १०८ वटा आयामले छोटा तर वैचारिक र बिम्बात्मक हिसाबले शक्तिशाली कविताहरू समेटिएका छन्।

गहन विषयवस्तुलाई बडो कलात्मक ढङ्गले अभिव्यक्त गरिएका उनका कविताहरू आयामगत हिसाबले छोटा तर अर्थगत गहिराइका हिसाबले निकै सशक्त देखिन्छन् । देशको वर्तमान नियतिलाई उनले पहिलो कवितामै यसरी अभिव्यक्त गरेका छन् :

हिमाल भक्कानिएपछि
एउटा कर्णाली जन्मन्छ
त्यस कर्णालीको कथा शहरमा बेचेर
कोही विमान चढ्छ
उसको विमानको धुँवा पोतिन्छ
कर्णालीको अनुहारभरि ।

                        (कर्णाली, पृ: ११)

उनका कविताहरूमा विषयगत विविधता पाइन्छ। सबैले सुन्दर देख्ने मानिसको सुन्दरता स्वयम् उसका लागि बोझ हुन सक्ने र उसले सुन्दरताको कृत्रिम तथा यान्त्रिकताबाट मुक्ति चाहेको कुरा ुबोझु शीर्षकको कवितामा बडो कलात्मक ढङ्गले व्यक्त गरिएको छ । सम्राट र बच्चाहरू, संविधान जस्ता कविताहरूमा राजनीति र राजनीतिज्ञलाई भिन्न प्रतीकमार्फत् चिनाउन खोजिएको छ । भनाइ र भोगाइमा पाइने फरकपनलाई यस कवितासङ्ग्रहभित्रका विभिन्न कवितामा बडो सान्दर्भिक ढङ्गले उठाइएको छ :

चौरको सानो भेलामा
कविवर पढ्दै थिए श्रमिकको कविता
मास्तिर सिकर्मी र ज्यामीहरू
ठोकिरहेका थिए किलाकाँटी
कविजी रोकिए, उँभोतिर हेरे
र, कराए- 'बन्द गर त्यो ठ्याकठ्याक
सुन्दैनौ यहाँ कविता भनिरहेको छु ।'

शान्त भए श्रमिकहरू
कविले सिध्याए  कविता ।


धेरैपछि, सबै गएपछि
श्रमिकहरूले पुनस् सुरु गरे
उनीहरूको जीवनगीत
कविजीले सुने कि सुनेनन् कुन्नि ?

 (श्रमिकको कविता, पृ: १२)

त्यस्तै, उनका जुनकीरी, मान्छे र पुतली पहाड र हामी, सपनाहरू जस्ता कविता पनि दर्शनको प्रयोगका हिसाबले शक्तिशाली नै छन् । समयमा सबैको सामर्थ्य देखिने कुरा जुनकीरीले दिनमाजति चम्किए पनि कसैले नदेख्ने तर रातमा उसलाई सबैले देख्न सक्ने हुनाले समयमा आफ्नो क्षमता र महत्त्व आफैँ छर्लङ्गिने कुरा जुनकीरी शीर्षकको कविताले बताएको छ ।

उनका किवतामा कतै जीवनको क्षणभङ्गुरताको सन्दर्भ उठाइएको छ भने कतै याद, प्रेम प्रणय, मिलन बिछोड, आँखाका भाका, कोही हुनुको महसुस हुनु जस्ता कुराहरू पनि कविताको विषय बन्न पुगेका छन् । जीवन-मृत्युका कुरा, आँसुका कुरा, सपनाका कुरा पनि बडो कलात्मक ढङ्गले कवितामा समेटिएका छन् । जीवन दर्शनलाई सरल तरिकाले सहज रूपमा प्रस्तुत गर्न सक्नु कविको कला हो । उनको कवि मन बडो सूक्ष्म ढङ्गले जीवनका सर्वाङ्गमा पसेको प्रतीत हुन्छ ।

उनको जीवनलाई हेर्ने दृष्टिकोण तलका कवितांशले प्रस्ट पारेको देखिन्छ :

बोल्ने अधिवक्ताले भन्दा
नबोल्ने ऐनाले दिएको बयान
बढी जीवन्त हुँदोरहेछ ।

                (ऐना, पृ: २८)

नाङ्गो हुनु त सियो जस्तो
सर्वाङ्ग नाङ्गै छ
तर युगौँदेखि
मानिसको लाज छोप्ने लुगा
सिइरहेछ, नि:शब्द ।

           (सियो, पृ: ३०)

त्यस्तै, उनका कतिपय कवितामा जीवनका हरेक दिनको गहनतालाई समेट्न खोजिएको छ । जन्मदिन जल्लाद, अश्वत्थामा, समुद्र, सिसा, शीत र प्रिया शीर्षकका कविता जीवनको बाँच्ने उपक्रमलाई समेटेर लेखिएका कविता हुन् । उनका कवितामा मान्छेले आफ्नो धरातल, हैसियत र विगत बिर्सनुहुन्न भन्न खोजेका छन् । चरा उडेर माथि वा टाढा पुगे पनि आफ्नो बासमा फर्किएर आएझैँ, बादल पनि घर फर्किएझैँ आफ्नो धरातल बिर्सनेहरूलाई 'जमिन नछोड साथी, टेक्ने ठाउँ चाहिन्छ' भन्ने यथार्थबोध गराएका छन् ।

कविताभित्र कतै जूनका विविध सन्दर्भहरू, कतै वसन्त ऋतु, कतै समुद्र, कतै सृष्टिका, कतै सिमानाका, कतै सगरमाथा र बुद्धका सन्दर्भ छन् भने कतै पहाडलाई विभिन्न बिम्बका माध्यमबाट उतारिएको छ । यशस्वी, तपस्वी र मनस्वी मानिस र सामान्य मानिसमा हुने फरकलाई यो कवितामा बडो अर्थपूर्ण ढङ्गले उल्लेख गरिएको छ :

जन्मँदा ऊ र म ससाना पृथ्वी थियौँ
उसले आफ्ना वरिपरिका पर्खालहरू भत्काउँदै गयो
र, बुद्ध भयो
म आफ्ना वरिपरि पर्खाल लगाउँदै गएँ
र, धूलो भएँ ।

              (बुद्ध र म, पृ: ५४)

जीवनका विविध सन्दर्भलाई सरल र सहज ढङ्गले अभिव्यक्त गरिएको प्रस्तुत कविताकृतिमा गद्य लयको प्रयोग गरिएको छ । शब्दमा प्रयोग भएका वर्णहरूको पुनरावृत्तिले लयसङ्गीतको सिर्जना भएको छ । शीर्षकको सार्थकता देखाउनेगरी हरेक कविताहरू छोटामीठा र अर्थगत हिसाबले सबल छन् ।

कविताभित्र सौन्दर्य, प्रणय, जीवन दर्शन र प्रकृतिका कुरा मात्रै नभई विद्रोहका सन्दर्भ पनि छन् । आफ्नो पहिचान र चिनारीका लागि आफूले नै विशेष तहल्का मच्चाउन सक्नुपर्ने नत्र गुमनाम रहनुपर्ने तीतो यथार्थ यसरी व्यक्त भएको छ :

चल् हुरी चल्
बेतोडसँग चल्
नचलेसम्म बतास
नउडाएसम्म दुई-चार घरधुरी
कसैले लेख्दैनन्
जाबो हावाको इतिहास ।

                 (हुरी, पृ: ५६)

समाजमा शक्तिशालीलाई सबैले सम्मान गर्ने र उसका गुणको मात्रै चर्चा गर्ने तर अवगुणलाई बिर्सिदिने चलनलाई पनि उनले कविताको विषय बनाएका छन् :

धरतीबाट उठेको सम्पूर्ण धुवाँ
आकाशतिरै त गयो
तर आकाश कहिल्यै धुवाँको देश कहलिएन
ऊ सधैँ जूनताराको देश कहलियो ।

                  (जूनताराको देश, पृ: ५७)

उनका कवितामा जीवनलाई विविध कोणबाट हेर्न खोजिएको छ। जन्म र मृत्युको औसत समय मात्रै जीवन होइन भन्दै फगत सास फेर्नु जीवन जिउनु होइन, सजीवन जिउन त कला र प्रेम चाहिने कुरा ुजीवनका फूलु, ुजिन्दगीको पर्यटनु जस्ता कविताहरूले छर्लङ्ग पारेका छन् । शहरी जीवनका यान्त्रिकता, शून्यता, रिक्तता, मानवताको ह्रास जस्ता विषय पनि ुशहरका छिमेकीु जस्ता कवितामा समेटिएका छन् । कतै राजनीतिक क्रान्ति भएका तर ती क्रान्तिले आमजनभावनालाई साकार रूप दिन नसकेकामा खिन्नता पनि व्यक्त गरिएको छ कवितामा :    

तर साहेब,
तिम्रो इन्जिनरी शानले निश्चय नै फेरेको छ
इतिहासका पानाहरू ।

ती उहिले सेता थिए
आज रक्तिम देखिन्छन् ।

         (परिवर्तनका कथा, पृ: ७६)

कविताभित्र प्राकृतिक सुन्दरताका विविध पक्षलाई कलात्मक ढङ्गले उतारिएको छ भने प्रकृतिका सुन्दर तथा कुरूप दुवै पक्षलाई समेटिएको छ । नेपाली पहिचान र परिवेशको बाहुल्य भए पनि कविताभित्र भोकमरी, विश्वासको सङ्कट, घट्दो मानवता, बदलाको भावना, हिंस्रकता आदिलाई विषय बनाइएको छ । भोकलाई उनले यसरी चिनाएका छन् :

 भोक हुनु
अन्न पनि हुनु
तर भोक र अन्नको दूरी
धरती र आकाश जस्तै हुनु
पीडाको एक महाकाव्य हो ।

                         (पीडा, पृ: ७९)

कवितासङ्ग्रहभित्र कतै मुस्कान, कतै उमेर, कतै घरझगडा, कतै शहर, कतै रहर, कतै हक अधिकार, कतै चाडपर्व, कतै हारजीत, कतै जात, कतै कपासको विषय उठाइएको छ । अवस्था राम्रो हुँदा राम्रालाई सबैले देख्ने र हेर्ने तर सुन्दरताविहीन हुँदा उपेक्षित हुने सन्दर्भलाई यसरी अभिव्यक्त गरिएको छ :

फेवातालमा
स्निग्ध माछापुच्छ्रेको
सुन्दर छाया सबैले देखे
त्यही तालमा
किनारमा सुकेको
बुढो रूखको छाया पनि त पर्छ
तर सायद त्यसलाई कसैले देखेन ।

              (दृष्टि, पृ: ११३)

 

बाबु !
तिम्रा बुबाले रगत बगाए
जमिनमा दाग देखियो
उनी शहीद भए ।

मैले जुनीभरि आँसु र पसिना बगाएँ
जमिनमा दाग देखिएन
म बहुलाई भएँ ।

               (शहीदकी विधवा, पृ: ११०)

एकातिर कवि शून्य प्रहरका साक्षी छन् भने अर्कोतिर उनको कवितासङ्ग्रह । शीर्षकविधान, भावविधान, लयविधान, भाषाशैली आदि विविध सन्दर्भबाट मूल्याङ्कन गर्दा यो कवितासङ्ग्रह समसामयिक नेपाली कविताको प्रतिनिधि सङ्ग्रह हो ।

जीवनका विविध सन्दर्भलाई सरल र सहज ढङ्गले अभिव्यक्त गरिएको प्रस्तुत कविताकृतिमा गद्य लयको प्रयोग गरिएको छ । शब्दमा प्रयोग भएका वर्णहरूको पुनरावृत्तिले लयसङ्गीतको सिर्जना भएको छ । शीर्षकको सार्थकता देखाउनेगरी हरेक कविताहरू छोटामीठा र अर्थगत हिसाबले सबल छन् ।

पुस्तकको नाम 'शून्य प्रहरको साक्षी' राखिएको छ । एक अर्थमा कविले अहिलेको समस्याग्रस्त समयलाई शून्य प्रहर मानी आफू त्यसको साक्षी भएको अर्थले यसको शीर्षक सार्थक भएको छ भने अर्कोतिर कविद्वारा रचिएको यो कवितात्मक दस्तावेज शून्य प्रहरको साक्षी बनेर रहेको छ र रहनेछ भन्ने अर्थमा पनि शीर्षक र कवितासङ्ग्रहबीच तालमेल देखिन्छ ।

कविताभित्र अश्वत्थामाऽ शकुनी, इब्सेन जस्ता मिथकीय शब्दको प्रयोग हुनुका साथै उपमा, रूपक, समासोक्ति, स्वाभावोक्ति, अनुप्रासलगायतका शब्दालङ्कारको स्वाभाविक प्रयोगसमेत गरिएको छ । गहन भाव बोक्न सरल भाषाको प्रयोग गरिएको छ ।

कृतिभित्रका कविताभित्र बिम्बालङ्कार र प्रतीक योजनाको स्वाभाविक विन्यास पाइन्छ । भाषाशैली र लयका कोणबाट पनि कवितासङ्ग्रह उत्कृष्ट नै देखिन्छ तर कतिपय ठाउँमा भाषिक कसरमसर पनि देखिन्छ ।

विषयसूचीमा रहेको 'मान्छे र पुलती' तथा 'श्रृष्टिको लय' जस्ता केही कसरमसरबाहेक कविताकृति भावगत र शैली-शिल्पगत दुवै हिसाबले सबल र सफल देखिन्छ ।

निष्कर्ष

शून्य प्रहरको साक्षी कवितासङ्ग्रह युवाकवि एवम् समालोचक महेश पौड्यालको शक्तिशाली कवितासङ्ग्रह हो । १०८ वटा लघु आयामका कविताहरू समेटिएको यस कवितासङ्ग्रहभित्रका सबै कविताहरू गद्य भए पनि लयात्मकताले भरिएका छन् । मीतव्ययी ढङ्गले विन्दुमा सिन्धु अटाई अर्थ प्रेषण गरिएको कवितासङ्ग्रह वर्तमान शून्य प्रहरको साक्षीका रूपमा आएको छ ।

एकातिर कवि शून्य प्रहरका साक्षी छन् भने अर्कोतिर उनको कवितासङ्ग्रह । शीर्षकविधान, भावविधान, लयविधान, भाषाशैली आदि विविध सन्दर्भबाट मूल्याङ्कन गर्दा यो कवितासङ्ग्रह समसामयिक नेपाली कविताको प्रतिनिधि सङ्ग्रह हो ।

चट्ट छुने विषयलाई सरल पाराले अभिव्यक्त गर्न सक्नु कविको सफलता हो । कवि पौडयाल नेपाली  कवितासिर्जन परंपराका युवा सारथि हुन् भन्दा अतिशयोक्ति नहोला । कविताको विधागत मर्म र अर्थ बुझेका पौड्यालको कवितागत भविष्य उज्यालो देखिन्छ ।