डा. रामप्रसाद ज्ञवालीकाे गुनासो- राष्ट्रगान: बाहुनको छोरो हुनुको दण्ड

डा. रामप्रसाद ज्ञवालीकाे गुनासो- राष्ट्रगान: बाहुनको छोरो हुनुको दण्ड

घनेन्द्र ओझा  |  अन्तर्मन्थन  |  कार्तिक २४, २०७६

डा. रामप्रसाद ज्ञवाली (५२) नेपाली साहित्यको विशेषगरी छन्दकवितामा परिचित नाम हो । नेपाली साहित्यका उपन्यास, नाटक र कविता (काव्य)मा कलम चलाउँदै आउनुभएका ज्ञवालीको परिचयको विशेष क्षेत्र भने छन्दकविता नै बन्यो । दुई दशकदेखि निरन्तर छन्द विस्तार र परिष्कार अभियानमा समेत सक्रिय ज्ञवाली पछिल्लो समय छन्द प्रशिक्षण र छन्दसम्बद्ध नियमित कवितावाचन कार्यक्रमहरूको समेत संयोजन गर्दै आउनुभएको छ । उहाँ छन्दलाई हाम्रो भाषा, सभ्यता र संस्कृति पनि मान्नुहुन्छ । यही भएर छन्द जोगाउनु सभ्यता र संस्कृति अनि भाषा जोगाउनु हो भन्ने मत छ उहाँको ।

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत डा. ज्ञवालीको अर्को पहिचानको क्षेत्र समालोचना पनि हो । दर्जनौँ समालोचनाकृति पनि प्रकाशित छन् उहाँका ।

यस पटक लोकसंवाद डटकमले छन्दकवि, छन्द अभियन्ता, समालोचक डा. रामप्रसाद ज्ञवालीको जीवनयात्रा र साहित्य, समालोचनायात्राबारे खोजीनीति गरेको छ ।

जन्म, बाल्यकाल र शिक्षा
वि. सं. २०२४ वैशाख ११ गते गुल्मीको थानापति, हालको रुरु गाउँपालिकामा जन्मिनुभएको हो रामप्रसाद ज्ञवाली । बुबा दुर्गाप्रसाद र आमा कुन्तादेवीका ५ भाइ छोरा र एक बहिनी छोरीमध्ये रामप्रसाद चौथो सन्तानका रूपमा जन्मिनुभएको हो । निम्नमध्यम वर्गीय ब्राह्मण परिवार थियो उहाँको परिवार । बुबा कृषक भए पनि कृषिबाट मात्र परिवार पाल्न धौधौ हुने गर्थयो । यसर्थ बुबा पण्डित्याइँ पनि गर्नुहुन्थ्यो ।

ठूलो परिवार, धेरै सन्तान, लालनपालनका क्रममा ऋण लाग्नु स्वाभाविक हो । पहाडको ठाउँ, उब्जनीको सीमितता । बुबा परिवार पाल्न कमाउन भारततिर पस्नुभयो । भारतको आसम, नागाल्याण्डतिर केही वर्ष बस्नुभयो बुबा । यहीबीच रामप्रसादका जेठा दाजु अध्ययनका लागि हरिद्वार जानुभयो । दाजुले नै अन्य तीन भाइ (कान्छोबाहेक)लाई समेत आफूसँगै हरिद्वार नै लैजानुभयो ।

कक्षा ७ देखि शास्त्री (स्नातक)सम्म रामप्रसादले भारतबाटै पूरा गर्नुभयो । वनारसको सम्पूर्णानन्द विश्वविद्यालयबाट उहाँले स्नातक पास गरेपछि नेपाल फर्किनुभयो, २०४२ सालमा ।

त्यसबेला सजिलै पाइने भनेको स्कुल पढाउन थियो । उहाँ काठमाडौं नजिकैको जिल्ला काभ्रेमा गएर एउटा विद्यालयमा पढाउन थाल्नुभयो ।

मीठो र प्रभावकारी बोल्ने कला भएका ज्ञवालीले त्यहाँ पढाउँदा पनि गाउँलेहरूलाई र विद्यार्थीलाई निकै प्रभावित पार्नुभयो । साहित्य लेखनमा समेत सक्रिय रहँदै गर्नुभएका ज्ञवालीले स्कुलमै विभिन्न नाटकहरू लेखेर, निर्देशन गरेर र  आफैँ अभिनयसमेत गरेर देखाउनुभयो ।

काभ्रेमै पढाइरहँदा उहाँले एउटा नाटक देखाउनुभयो, ‘विवश आँसु’ नाम गरेको । उक्त नाटक पंचायतको विरुद्धमा थियो । २० वर्षको ठिटो, त्यसमाथि भर्खर राजनीतिक चेतना फक्रँदै गरेको । पंचायतको दबदबाको चौतर्फी विरोध भइरहेका बेला पंचायतकै विरोधमा नाटक देखाइनु चानचुने साहस थिएन ।

उक्त नाटक प्रदर्शनपछि उहाँलाई वारेन्ट काटियो । उहाँ केही समय भूमिगत बन्नुभयो । पछि वारेन्ट त फिर्ता भयो, सँगसँगै उहाँको जागिर पनि त्यस स्कुलमा नियमित हुन सकेन । काभ्रेकै अर्को गाउँमा रहेको अर्को स्कुलमा पढाउन थाल्नुभयो उहाँले ।

२०४६ सालको जनआन्दोलनको हावाले नछुने कुरै थिएन । वाककला राम्रो भएका र तर्कशक्ति पनि प्रभावकारी भएका कारण रामप्रसादले आन्दोलनकै क्रममा हुने सभाहरूमा भाषण गर्ने अवसर पाउनुहुन्थ्यो । एक पटकको सम्झना उहाँको मस्तिष्कमा अझै ताजै छ ।]

कार्यक्रममा पंचायतविरोधी भाषण गर्दागर्दै प्रहरीले हस्तक्षेप गर्‍यो । सबै तितरबितर भए । ज्ञवाली कति तोडले भाग्नुभयो त्यसबेला भन्ने कल्पना गर्दा पनि उदेक लाग्छ रे ! एकैचोटि पाँचखाल आइपुगेर सास फेरेको भन्नुहुन्छ ज्ञवाली ।

बहुदलीय व्यवस्थाको पुनःस्थापनासँगै ज्ञवालीको जागिर पनि स्थायी भयो । काभ्रेको ढुंगखर्कमा हाईस्कुलमा पढाउँदै गर्नुभएका रामप्रसादले त्यहीबेला त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा एमएमा भर्ना गर्नुभयो । क्लास लिन आउने संभावना त शून्य नै थियो । उहाँले एउटा चातुर्य गर्नुभएछ । आफूले प्राप्त गरेको छात्रावास अर्को साथीलाई दिनुभएछ र हरेक शुक्रवार काभ्रेबाट आएर ती साथीसँग नोट र अन्य पढ्ने सामग्री लिएर जानुहुँदोरहेछ ।

संयोग वा उहाँको क्षमताको फल, एमए प्रथम वर्ष उहाँले टप गर्नुभएछ । त्यसपछि उहाँले ठान्नुभएछ, यति मिहिनेत गर्दा त टप गरेँ भने थप बढी मिहिनेत गर्दा त अझ राम्रो होला ।
उहाँले बढी समय अध्ययनमा दिनुभएछ । अन्ततः २०४९ सालमा विश्वविद्यालय टप गरेर स्वर्ण पदक प्राप्त गर्नुभएछ । त्यसबेला राजाबाट प्रदान गरिने महेन्द्र विद्याभूषण र लारी स्वर्ण पदक सम्झँदा उहाँको छाती ढक्क फुल्यो ।

एमएमा टप गरिसकेपछि रामप्रसादका सपना फेरिए । उहाँ छँदाखाँदाको स्थायी जागिर छाडेर काठमाडौं हानिनुभयो । त्यसबेला टपरलाई त्रिविमा पढाउन दिने प्रचलन थियो । उहाँ टपर भए पनि उहाँले भने त्रिविमा पढाउन पाउनुभएन बरु अरू उहाँभन्दा पछाडिकाले पढाउन पाए । कारणका बारेमा भन्नुहुन्छ, ‘राजनीतिमा पक्षधरता र संलग्नता नहुनु नै मैले जागिर नपाउनुको कारण थियो ।’

त्यसो त उहाँ वामपन्थी विचारधारामा विश्वास गर्नुहुन्छ तर कुनै पार्टीको पार्टी सदस्यता नलिएको दाबी पनि गर्नुहुन्छ । पार्टीको सिफारिसका लागि पार्टी सदस्यता लिनुपर्ने तर आफूलाई कुनै अमुक दलको सदस्यता लिन रुचि नभएको उहाँको भनाइ छ । आफूभन्दा कमजोर र कनिष्ठहरूले राम्राराम्रा अवसरमा तर मारिसकेको उहाँले झलझली देख्नुभएको छ । तर, उहाँलाई त्यसको खासै लोभ पनि लाग्दैन रे ! भन्नुहुन्छ, ‘मेरो उहाँहरूको जस्तो योग्यता थिएन होला र नै मैले नपाएको हुँ ।’ ‘योग्यता’ शब्द सायद व्यंग्य हो कि !

प्राध्यापनमा प्रवेश

अँ, रामप्रसाद २०४९ सालमा एमए पूरा गरेपछि काठमाडौं आएर पद्मकन्या क्याम्पसमा पढाउन थाल्नुभयो, आंशिक शिक्षकका रूपमा । उहाँको त्यसबेला २ पिरियड थियो, पिरियडको जम्मा ६७ रूपैयाँ दिइन्थ्यो, त्यसमा पनि कर काटिन्थ्यो ।

बीचमा अन्य अवसर पनि आए ज्ञवालीका लागि तर ती त्यतिकै गुमे पनि । कारण, ती अवसर समात्नका लागि फेरि पनि पार्टीकै सिफारिस चाहिने र पार्टीको सिफारिसका लागि पार्टीको सदस्यता अनिवार्य, जुन ज्ञवालीलाई मनपर्दैनथ्यो ।

२०५४ सालमा त्रिवि सेवा आयोग खुल्यो । आयोग पास गर्नुभयो ज्ञवालीले । पद्मकन्या क्याम्पसमै उहाँको पदस्थापन भयो ।

तर, राजनीति त चर्को नै थियो त्यसबेला । भर्खर बहुदल आएर आमचुनाव सकिएर कांग्रेसले एकमना सरकार बनाएको । पद्मकन्यामा कांग्रेस पक्षधरहरूको बाहुल्य, ज्ञवाली राजनीतिक दर्शनका हिसाबले भने वामपन्थीप्रति झुकाव राख्ने । उहाँलाई अप्ठ्यारो महसुस भएछ । कता जाऊँ भन्ने सोच्दै गर्दा रत्नराज्यलक्ष्मी क्याम्पसमा पढाइरहनुभएकी प्रभा भट्टराई पनि त्यहाँ छाडेर अन्त जान चाहिरहनुभएको रहेछ । राजनीतिक हिसाबले पनि कुरा मिल्ने भएछ, ज्ञवाली वामपन्थी बहुल आरआरमा आउने, प्रभा कांग्रेस बहुल पद्मकन्यामा जाने ।

२०५५ सालमा ज्ञवाली आरआर क्याम्पसमा आउनुभयो । त्यहीँ पढाउँदै २०६६ मा सहप्राध्यापक बन्नुभयो र २०६७ सालमा त्रिविबाटै ‘नेपाली महाकाव्यमा वर्गीयता र वर्ग द्वन्द्वको अभिव्यक्ति’ शीर्षकमा विद्यावारिधि सम्पन्न गर्नुभयो ।

सिर्जनापत्रको सकस

एमएमा उहाँले त्रिवि टप गर्नुभयो । टप गर्नेले रिजल्ट भएको तीन महिनाभित्र शोधपत्र पूरा गरिसक्नुपर्छ नत्र स्वर्ण पदक पाइन्न । शोधका रूपमा शोधपत्र र सिर्जनापत्रमध्ये एक लेख्न पाइन्छ ।

ज्ञवालीले भने सिर्जनापत्र, महाकाव्य लेख्ने इच्छा जाहेर गर्नुभएछ । तर, कुनै पनि प्राध्यापकले उहाँको प्रस्ताव स्वीकार गर्न मानेनछन् । केही प्राध्यापकहरूले त ज्ञवालीको प्रस्ताव सुनेर भनेछन्, ‘सबै कहाँ देवकोटा हुन्छन्, रहरले देवकोटा भइने हो र ?’ साथीभाइले पनि सिर्जनापत्र लेख्न ढिलो हुने र स्वर्ण पदक गुम्न सक्ने बताएछन् । तर, ज्ञवालीले भने आफूले सिर्जनापत्र, त्यो पनि महाकाव्य नै लेख्ने ढिपी गर्नुभएछ । हुँदाहुँदा सिर्जनापत्र लेख्न नदिए त्रिविलाई मुद्दा हाल्ने धम्की दिनुभएछ ।

मोहन हिमांशु थापा हुनुहुँदोरहेछ विभागीय प्रमुख । कृष्णप्रसाद पराजुलीलगायत केहीले ‘रामप्रसादले यो सिर्जनापत्र लेख्न सक्छ’ भनिदिएपछि अन्ततः ज्ञवालीको शोधप्रस्ताव स्वीकृत भएछ तर रमाइलो कुरा, कसैले पनि ज्ञवालीको सिर्जनापत्रको सुपरभाइजर बस्न मानेनछन् । अन्ततः मोहन हिमांशु थापा आफैँ बस्न तयार हुनुभएछ तर शर्त राख्नुभएछ, उक्त महाकाव्यमा २ सर्ग भने पद्य (छन्द)मा होइन, गद्यमा लेख्नुपर्ने ।

ज्ञवालीले थापाको उक्त प्रस्ताव स्वीकार गर्नुभएछ । र, त्यही सिर्जनापत्रका लागि लेखिएको महाकाव्य पछि २०५३ सालमा प्रज्ञाप्रतिष्ठानबाट छापियो, ‘औँसीका फूलहरू’, जसले पछिसम्म पनि राम्रो चर्चा पाइरह्यो ।

पछि यही नाटक सांस्कृतिक संस्थानमा देखाइने भयो तर पंचायतविरोधी भनेर आरोप खेपिरहेको उक्त नाटक तत्कालीन अंचलाधीशबाट स्वीकृत गराउन हम्मे नै पर्थयाे । उहाँले थोरै चलाकी गर्नुभएछ– नाटकमा रहेको एउटा शब्द ‘पंचे’ हटाएर । सँगै अंचलाधीश कार्यालयका एक कर्मचारीलाई २०० रूपैयाँ घुस ख्वाएको पनि सम्झनुहुन्छ उहाँ । ‘७०० रूपैयाँ तलब पाउँथेँ, त्यसबाट २०० रूपैयाँ ती कर्मचारीलाई दिएर नाटक देखाउन स्वीकृति लिइयो’, ज्ञवाली स्मरण गर्नुहुन्छ ।

साहित्ययात्रा

विद्यालय जीवनबाटै साहित्य लेखनमा सक्रिय हुनुहुन्थ्यो ज्ञवाली । नेपाली र हिन्दी भाषामा समेत कविता, नाटक लेख्नुहुन्थ्यो उहाँ । उहाँको पहिलो प्रकाशित रचना भने नेपाली छात्र संघ हरिद्वारबाट प्रकाशन हुने मुखपत्र ‘सगरमाथा’मा छापिएको थियो, ‘हाम्रो कर्तव्य’ शीर्षकमा ।

हरिद्वारमा रहँदा ज्ञवालीले कथा, गीत, कविता लेखेर धेरै पटक पुरस्कृत पनि हुनुभयो । कविताभन्दा नाटक बढी लेख्नुभयो उहाँले हरिद्वारमा । त्यहाँ ज्ञवालीले नाटक लेखेर प्रदर्शन पनि गर्नुभयो ।

अनि राजदूत रिसाए

हरिद्वारमै विद्यार्थीहरूले गर्ने कार्यक्रममा ज्ञवालीले ‘अवला नारी’ शीर्षकको नाटक लेखेर प्रदर्शन गर्नुभयो । लेखन, निर्देशन र अभिनयसमेत आफैँ गर्नुहुन्थ्यो उहाँ ।

त्यस कार्यक्रममा त्यसबेलाका भारतका लागि नेपाली राजदूत उपस्थित रहेछन् । नाटक सामन्तवादविरोधी, पंचायतविरोधी थियो । नाटक सकिएपछि ती राजदूत जंगिएछन् र भनेछन्, ‘मेरो अपमान भयो, अब तिमीहरूका कार्यक्रममा नबोलाउनू, आउँदिनँ ।’

‘विवश आँसु’बाट ‘विजय’

ज्ञवालीले लेखेर निर्देशन तथा अभिनयसमेत गर्नुभएको नाटक ‘विवश आँसु’को नायक आफैँ हुनुहुन्थ्यो । विजय नाम गरेको नायकको प्रभावकारी अभिनयका कारण ज्ञवालीको नाम नै परिवर्तन भएर ‘विजय’ बनेको सम्झनुहुन्छ उहाँ ।

‘यति धेरै लोकप्रिय भयो त्यो नाटक कि धेरै पटक, धेरै ठाउँमा प्रदर्शन गरियो’, ज्ञवाली भन्नुहुन्छ, ‘त्यसको नायकको अभिनय गर्ने मेरो नाम नै विजय बनाइदिए दर्शकले ।’

पछि यही नाटक सांस्कृतिक संस्थानमा देखाइने भयो तर पंचायतविरोधी भनेर आरोप खेपिरहेको उक्त नाटक तत्कालीन अंचलाधीशबाट स्वीकृत गराउन हम्मे नै पर्थयाे । उहाँले थोरै चलाकी गर्नुभएछ– नाटकमा रहेको एउटा शब्द ‘पंचे’ हटाएर । सँगै अंचलाधीश कार्यालयका एक कर्मचारीलाई २०० रूपैयाँ घुस ख्वाएको पनि सम्झनुहुन्छ उहाँ । ‘७०० रूपैयाँ तलब पाउँथेँ, त्यसबाट २०० रूपैयाँ ती कर्मचारीलाई दिएर नाटक देखाउन स्वीकृति लिइयो’, ज्ञवाली स्मरण गर्नुहुन्छ ।

उक्त नाटकमा भने ज्ञवालीले नायकको भूमिका गर्न पाउनुभएन । रेडियो नेपालका कलाकारले अभिनय गरे रे ! यद्यपि, ज्ञवालीको ‘विजय’ विजय नै रहिरह्यो पछिसम्म ।
यसपछि ज्ञवालले अन्य नौवटा पूर्णांकी नाटक लेख्नुभयो तर ती कुनै पनि प्रकाशन हुने अवसर मिलेन । कारण, आर्थिक अभाव ।

दुईवटा एकांकी भने उहाँका विद्यार्थीले पैसा उठाएर छापिदिएको बताउनुहुन्छ ज्ञवाली । नाटकमा लाग्नुको प्रेरणाको जस भने उहाँ चलचित्रलाई दिनुहुन्छ । ‘त्यसबेला चलचित्र निकै हेरिन्थ्यो, जसले गर्दा नाटकमा रुचि भयो’, ज्ञवाली भन्नुहुन्छ, ‘मेरा नाटकमा संवाद र दृश्य पनि चलचित्रकै जस्तो हुने कारण पनि यही हो ।’

समालोचनातिर

ज्ञवाली कविता, नाटक र उपन्यास त लेख्नुहुन्थ्यो नै । उहाँलाई लाग्यो– अब नयाँ बाटो पनि समात्नुपर्छ । त्यो नयाँ बाटो भनेको समालोचनाको बाटो थियो । ‘सिर्जना त उसै गरिरहेकै थिएँ’, ज्ञवाली भन्नुहुन्छ, ‘समालोचनाले अझ आफूलाई फराकिलो र बौद्धिक बनाउने ठानेँ र यता पनि लागेँ ।’

उहाँले पद्यमकन्या क्याम्पसमा पढाउन सुरु गर्दैदेखि समालोचना पनि लेख्न थाल्नुभयो । २०५२–०५३ सालतिरै नेपाली वर्णविन्यासमा देखिएका समस्या र समाधानबारे समालोचना लेख्नुभयो । त्यसपछि वालकृष्ण समको नाटक (पछि चलचित्र पनि बन्यो) ‘प्रेमपिण्ड’माथि समालोचना लेख्नुभयो ।

उहाँले यसबीचमा लेखेका समालोचनामध्ये केही समालोचना निकै आलोचित र विवादित पनि बने । तेस्रो आयामका अभियन्ता, लीलालेखनका सूत्रधार ईन्द्रबहादुर राई त्यसबेला असममा सांसद हुनुहुन्थ्यो । राईले माक्र्सवादको विरोधमा एउटा पुस्तक लेख्नुभएछ । उक्त पुस्तकमाथि ज्ञवालीले समालोचना लेख्नुभएछ । उक्त समालोचनालाई लिएर केही स्रष्टाहरू र समालोचकबाटै निकै आलोचना भएछ ।

‘मैले त उक्त पुस्तकमाथि निकै विद्वान्हरूलाई राखेर बहस गराएर लेखेको थिएँ’, ज्ञवाली भन्नुहुन्छ, ‘तर उक्त समालोचनाको व्यापक आलोचना र विरोध भयो ।’

गणतन्त्रपछि युवाकविहरू कृसु क्षेत्री, मनोज न्यौपाने र चेतनाथ धमलाले ‘विलयन काव्य’का नाममा एउटा कविताकृति निकाल्नुभयो । उक्त कृतिमाथि पनि ज्ञवालीले खरो समालोचना गर्नुभयो । त्यस समालोचनाको पनि निकै आलोचना र विरोध भयो ।

बीपी कोइरालाको ‘जेल जर्नल’माथिको ३२ पेज लामो समालोचनामाथि पनि निकै आलोचना भएको स्मरण गर्नुहुन्छ ज्ञवाली । तर, त्यसको अर्को पक्षबाट धेरैको प्रशंसा पनि पाइएको बताउनुहुन्छ ज्ञवाली । ‘समालोचनाको आलोचना स्वाभाविक हो’, ज्ञवाली भन्नुहुन्छ, ‘अनेकका अनेक दृष्टि हुनु अन्यथा होइन पनि ।’

२०५४ सालमा तत्कालीन उहाँका समकालीन युवा सर्जक÷समालोचकहरू मिलेर अभियान साहित्य प्रतिष्ठान स्थापना गरेपछि भने उहाँको साहित्यिक अभियान पनि लेखनसँगै तीब्र बन्यो । त्यसयता ज्ञवालीका लघुत्तम काव्य एउटा, लघुकाव्य आधा दर्जन बढी, खण्डकाव्य २ वटा, महाकाव्य ३ वटा (संयुक्तसहित), समालोचना १७ वटा, व्याकरण एउटा प्रकाशित छन् ।

उहाँका नर्सरीदेखि एमएसम्मका पाठ्यपुस्तक र सन्दर्भ पुस्तक गरी ६५ वटा प्रकाशित छन् । बालसाहित्यका करिब एक दर्जन पुस्तक प्रकाशित छन् भने नाटकका २ वटा र अनुवाद एउटा प्रकाशित छ ।

छन्दमै निरन्तर

ज्ञवाली आफैँमा राम्रा छन्दकवि त हुनुहुन्छ नै, उहाँ दुई दशकभन्दा अघिदेखि छन्दको संरक्षण, विकास, विस्तार र परिष्कारमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । दशकौँदेखि आफैँ विभिन्न स्थानमा गएर छन्द प्रशिक्षणका कार्यक्रमहरू गर्दै र प्रशिक्षण दिँदै आउनुभएको छ ।

कक्ति ठाउँमा, कति जनालाई छन्दबारे प्रशिक्षण दिइयो भन्ने हिसाब उहाँले राख्नुभएको छैन । उहाँका छन्दका शिष्यको संख्या हजारौँ रहेको अनुमान गर्नुहुन्छ । ‘यो त मेरा लागि गर्वको विषय हो कि मैले निरन्तर छन्दको संरक्षणका लागि सक्रियता देखाउन पाएको छु’, ज्ञवालीको सन्तुष्टि यसरी व्यक्त भयो ।

अहिले पनि उहाँ पुराना र नयाँ पुस्ताका छन्दकविहरूलाई प्रस्तुत गर्ने कार्यक्रम ‘छन्द–तरंग’ नियमित संयोजन गर्दै आउनुभएको छ ।

राष्ट्रगान: बाहुनको छोरो हुनुको दण्ड

गणतन्त्रपछि देशको राष्ट्रगान परिवर्तन गर्ने कुरा आयो । राष्ट्रगानको माग भयो । ज्ञवालीले पनि आफूले रचना गरेको एउटा गीत राष्ट्रगानका लागि दर्ता गर्नुभयो । तर, उहाँको गीत छनोट भएन ।

उहाँलाई राष्ट्रगान छनोट समितिमै रहेका एक जनाले उहाँको गीत छनोट भएको भनेर बधाई पनि दिए । तर, पछि उहाँको गीत छनोटमा परेन । घोषणामा अर्कै स्रष्टाको गीत आयो । ज्ञवाली चकित पर्नुभयो । कतिपय मिडियाले उहाँको गीत दोस्रो, तेस्रो भएको भनेर लेखे । कति साथीभाइले मुद्दा हाल्न पनि उक्साए ज्ञवालीलाई । तर, उहाँले मुद्दा हाल्नुभएन । ‘मुद्दा हालेर नै के हुन्थ्यो र !’, ज्ञवाली भन्नुहुन्छ ।

पछि ज्ञवालीले आफ्नो गीत छानिएर बधाई पाएको सन्दर्भ कोट्याएर बुझ्नुभएछ, किन पछि हटाइयो भनेर । जवाफ बडो रमाइलो आएछ– ज्ञवाली बाहुन भएकाले र जनजातिको गीत छनोट गर्नुपर्ने भएकाले उहाँको गीत छनोटमा नपरेको रे !

पछि उत्कृष्ट १० मा परेका गीतहरूलाई रेकर्ड गर्ने र सम्मानित गर्ने भनियो । उहाँको गीतलाई पनि सम्मान गर्ने भनेर बोलाइयो तर उहाँ जानुभएन । ‘म गइनँ तर सम्मानपत्र घरमै पठाइएछ’, ज्ञवाली भन्नुहुन्छ ।