भोजराज घिमिरेको गजल

भोजराज घिमिरेको गजल

डा.भोजराज घिमिरे  |  साहित्य  |  कार्तिक ३०, २०७६

बन्दै असल छिमेकी राख्यौँ लुलो सिमाना,
यस्तै छ ताल हाम्रो बच्ला के त्यो सिमाना ?

देखिन्न चाह रोक्ने आफ्ना हरे ! कसैमा,
खेल्दै नजिक छ ढाडे पार्दै मुसो सिमाना !

लुट्ने-लुटाउनेको चल्दै छ खेल अहिले,
फेरिन्छ क्यार हाम्रो सम्बन्धको सिमाना !

दागा धरेर बैरी हेर्दै छ भूमि हाम्रो,
देशै भए पराधीन् के अर्थ भो सिमाना ?

‘सुस्ता’ बनेछ काली, उस्तै छु भन्छ मेची,
हरदिन थुतेर ‘जङ्गे’ सार्दै गयो सिमाना !

(बहरे मुजारे मुसम्मन अखरबाट)