किन दुख्दैन सुस्ता, कालापानी किन दुखेन ?

किन दुख्दैन सुस्ता, कालापानी किन दुखेन ?

अनुरोध शर्मा  |  दृष्टिकोण  |  मंसिर ४, २०७६

देश भनेको भावना पनि रहेछ । देश भनेको आस्था र आकांक्षा पनि रहेछ । देश सभ्यता र जीवनपद्धति पनि रहेछ । नभए देशका नाममा विगतदेखि आजसम्म किन यति धेरै युद्ध, हिंसा, हत्या, विग्रह र बेमेल भइरहन्थ्यो ?

हो, देशसँग मान्छेको जीवन जोडिँदोरहेछ । अलिक बृहत् अर्थमा लिने हो भने, हरेक प्राणीको आफ्नो आफ्नो देश अवश्य छ । त्यो देश भनेको तीती प्राणी रहने, बस्ने इलाका वा क्षेत्र हो ।

हामीले देखिरहेको यथार्थ छ नि– कुकुरहरूको आफ्नै निश्चित ‘एरिया’ हुन्छ, जहाँ अर्को कुनै नयाँ कुकुर आयो भने सबै मिलेर भ्याकुर लखेटाइमा पार्छन् नयाँ कुकुरलाई । त्यो उनीहरूको आफ्नो देश वा इलाका वा क्षेत्रप्रतिको चिन्ता हो ।

पशु, जनावरमा त आफ्नो इलाका वा क्षेत्रको महसुस हुन्छ भने मान्छे त स्वाभाविक रूपमै अन्य जनावरभन्दा केही बढी ‘चेतनशील’ र ‘विवेकी’ भन्ने दाबी गर्छ आफूलाई, ऊसँग यस्तो भावना नहुने कुरै भएन ।

देश वा इलाका वा आफ्नो क्षेत्रको बोध हुनु र त्यसप्रति माया वा अपनत्व हुनुका केही कारण हुन्छन् । जस्तो कि आफ्नो इलाका वा क्षेत्रमा आफ्ना आवश्यकताका केही कुराहरू हुन्छन् । त्यहाँ आफू सुरक्षित रहने वातावरण हुन्छ, आफूले बाँच्नका लागि श्रम गर्ने वा आम्दानी गर्ने अर्थात् जीविका निर्वाहको आधार हुन्छ । आफन्त हुन्छन् । आफ्नो परिचय र पहिचानको आधार हुन्छ । एउटा छुट्टै चरित्र र स्वभावको आफ्नै अनुसारको समाज हुन्छ । त्यहाँ आफ्नै अनुकूलका सभ्यता र संस्कृति हुन्छन् । इत्यादि ।

यसो हुनु भनेको उक्त समाज आफ्नो हुनु हो । उक्त समाजका सबैजसो चिजहरू आफ्नालागि हुनु हो । त्यस समाजको भूगोल र सभ्यता अनि संस्कृतिमा अपनत्व हुनु हो । हो, यही अपनत्व नै राष्ट्रप्रेम हो, राष्ट्रवाद हो, राष्ट्रिय स्वाभिमानको आधार हो ।

विगतदेखि नै अन्य देश जस्तै नेपाल, जो पृथ्वीको नक्सामा दुई विशाल देशहरू चीन र भारतका बीचमा सानो धर्को जस्तो मात्र देखिन्छ, यो देश पनि बाह्य अतिक्रमण, आक्रमण र हेपाइको सिकार बन्दै आएको छ । कविवर माधवप्रसाद घिमिरेले भन्नुभएको ‘पूर्वमा टिष्टा पुगेथ्यौँ, पश्चिम किल्ला काँगडा’ इतिहासका नक्सामा मात्र संभव छ अहिले । हामी विगतको विशाल नेपालबाट अत्यन्त साँघुरो नेपालभित्र रमाइरहेका छौँ । हाम्रा वीर पुर्खाले जोगाउँदा जोगाउँदै पनि अनेक कारण बचाउन नसकेको भूभाग कति भारतसँग र कति चीनसँग गाभियो । तथापि, जति पनि हामीसँग बचेको थियो, त्यसमा पनि उत्तरी र दक्षिणी छिमेकीको तानातान देखिन्छ ।

पछिल्लो समय नेपालको पश्चिमको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुराबारे विवाद बढेको छ । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा यी क्षेत्रलाई भारतको ‘टेरिटोरी’भित्र राखेपछि त्यसको नेपालमा धेरै विरोध भइरहेको छ । कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीले समेत कालापानी क्षेत्रमा रहेका भारतीय सेना फिर्ता लैजान भारतलाई ‘आग्रह’ गरिसक्नुभएको छ । यो निश्चय नै स्वागतयोग्य कुरा हो । देशका कार्यकारी प्रधानमन्त्रीले छिमेकीबाट भएको दुर्व्यवहारबारे बोल्नुले छिमेकीलाई अब चाँडै कूटनीतिक समाधान गर्न दबाब देला भन्ने आशा गरौँ ।

यस विवादबाट मुक्तिका लागि अब नेपालसँग अन्य देशले जस्तो सामरिक हिसाबले धम्क्याउन कुनै ह्याउ छैन । यति हो, अब भारतसँग नेपालले ‘त्यो मेरो जग्गा किन खोसिस् ? हँ, छिटो दे’ भनेर बच्चाले अभिभावकलाई दंग्याएजस्तो घुर्क्याएर र दंग्याएर मात्र आफ्नो हातमा लिन सक्छ । अरू उपायको अर्थ छैन ।

तर, हामी नेपालीको समस्या जति लुकाए पनि उही हो– ठूला छिमेकीका बीचमा रहनु, भूपरिवेष्ठित हुनु र गरिब अनि पछौटे रहनु । यसको फाइदा त घुमाइफिराई दुवै देशले अवश्य उठाउँछन् । अझ खुला सीमा भएको भारतका लागि त नेपाल गतिलै ‘कवाजस्थल’ हो, जहाँ कहिले पाकिस्तानविरुद्ध, कहिले चीनविरुद्ध कवाज खेलिरहन्छ भारत नेपालमा ।

यदि प्रधानमन्त्री ओलीको कुरा साँच्चै इमान्दारीसाथ आएको हो भने यसले हाम्रो राष्ट्रियता र राष्ट्रिय स्वाभिमान अनि सार्वभौमिकताका लागि गर्व गर्न लायक बनाएको छ । तर, यो भारतविरुद्धको नेपालीहरूको आक्रोश मत्थर पार्ने प्रधानमन्त्रीको ‘रणनीतिक’ चाल मात्र हो भने यसले देशको स्वाभिमान त धुलिसात् पार्छ नै, प्रधानमन्त्रीको ‘राष्ट्रवाद’को धोती पनि छियाछिया बनाइदिन्छ ।

यस कारण यदि प्रधानमन्त्री इमान्दार हुनुहुन्छ भने, उहाँले यस्तो अभिव्यक्ति सार्वजनिक रूपमा दिनुपूर्व नै उच्चस्तरीय सरकारी कूटनीतिक संयन्त्रमार्फत् भारतसँग यस विषयमा छलफलका लागि प्रयास गर्नुपथ्र्यो । सीमा मिचिएको चाल पाएको र त्यसको विरोध भइसकेको लामो समयपछि मात्र प्रधानमन्त्रीको उक्त अभिव्यक्ति आउनुमा पनि शंकाको सुविधा प्राप्त भएको छ । त्यो शंका के भने, नेकपा र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई आफ्नो सत्ता केही समय टिकाउनु छ ।

सत्ता टिकाउन नेपाल जस्ता देशले विगतमा पनि केके सम्झौता गरेनन् र ? स्वाभाविक हो, तिनै सम्झौताको परिणति आज भोगिरहेका छौँ हामी । हाम्रै नेता, हाम्रै पुर्खा र हाम्रै आदर्श व्यक्तिहरूले सत्ता स्वार्थका खातिर गरेका सुगौली सन्धिदेखि सन् १९५० को सन्धिसम्म, कोसी सम्झौतादेखि महाकाली सन्धिसम्म र आज, अहिले भइरहेका अन्य विभिन्न सन्धि र सम्झौतासम्म सत्ता स्वार्थका निम्ति गरिएका सन्धि र सम्झौता थिए भन्ने वर्तमानले पुष्टि गर्दै आएको छ ।

हो, यस्तै मेसोमा कालापानी, लिम्पियाधुरा, लिपुलेक विवाद बल्झिएको छ । यो अनौठो भने होइन । किन अनौठो होइन भने, नेपालले पछिल्लो जारी गरेको गणतान्त्रिक संविधान अर्थात् नेपालको संविधान, २०७२ मा नेपालको निशान छापमै रहेको नेपालको नक्साबाट यी क्षेत्र अर्थात् कालापानी, लिपुलेक र लिम्पियाधुरा हटाएको छ । नेपाल स्वयंले आफ्नै देशको पहिचान अर्थात् निशान छापबाट हटाएको उक्त क्षेत्र भारत वा चीन कसैले पनि दाबी गर्नु स्वाभाविक हो । दुई छिमेकीका बीचमा रहेको पर्ति जमिनमा त दुवैले दाबी गर्ने भए नि, होइन र ! जसको शक्ति पुग्छ, उसले भोग्छ ।

कालापानी क्षेत्रलाई पनि हामी आफैँले पर्ति जग्गा बनाइदियौँ– आफ्नै निशान छापबाट हटाइदिएर । त्यही कारण भारतले एकातिरबाट, चीनले अर्कातिरबाट दाबी गरिरहेका छन् ।

यस विवादबाट मुक्तिका लागि अब नेपालसँग अन्य देशले जस्तो सामरिक हिसाबले धम्क्याउन कुनै ह्याउ छैन । यति हो, अब भारतसँग नेपालले ‘त्यो मेरो जग्गा किन खोसिस् ? हँ, छिटो दे’ भनेर बच्चाले अभिभावकलाई दंग्याएजस्तो घुर्क्याएर र दंग्याएर मात्र आफ्नो हातमा लिन सक्छ । अरू उपायको अर्थ छैन । हुनत अन्तर्राष्ट्रिय अदालत पनि जान सकिन्छ यस विषयलाई लिएर तर त्यताको लफडामा फस्नु भनेको निकट छिमेकीलाई जीवनभर बिच्काउनु हो र यसरी बिच्काउँदा हामी नेपालीको हविगत नयाँ संविधान जारीपछिको भारतीय रवैयापछिको जस्तै हुन्छ अर्थात् हामीले हाम्रा दैनिक आवश्यकता नुन–तेलमै तनाव झेल्नुपर्छ ।

यसो भन्दा ‘लाछी’ कुरा गर्ने देशको सवालमा ? भनिएला तर देशको अर्थ र महत्त्व त फेरि पनि जीवनसँग अथवा ज्यानसँग हुन्छ क्यार ! जीवन नै नरहे वा बाँच्न सकिने अवस्थै नभए देशको पनि अर्थ के होला र !