ज्ञानमित्र | ज्ञानविज्ञान | फाल्गुन ७, २०७५
लावण्य र रचयिताका ड्याडी रामको आफ्नै गारमेण्ट उद्योग छ । त्यहाँ थरिथरिका ‘टाउजर’, ‘टि–सर्ट’, ‘ज्याकेट’, ‘स्वेटर’जस्ता तयारी पोशाक बन्छन् ।
लावण्यलाई थरिथरिका रंगीचंगी ‘क्याप’ लाउन मनपर्छ भने रचयितालाई अनेक डिजाइनका ‘ब्याग’ बोक्न । दुवैसँगै आफ्नै उद्योगमा बनेका थरिथरिका ‘क्याप’ र ‘ब्याग’ छन् ।
प्रायःजसो राम उद्योगबाट बेलुका ७ बजे घर आउने गर्छन् । तर, आज उनी दिउँसै घर आइपुगे । कारण थियो– भारत र श्रीलंकाबीच भइरहेको ‘डे–नाइट वन डे क्रिकेट म्याच’ ।
राम आफ्नो जमानाका राम्रो क्रिकेट खेलाडी थिए । अहिले क्रिकेट खेल्न छुटे पनि प्रायः ‘वन डे’ र ‘टि–ट्वान्टी म्याच’ टिभीमा ‘लाइभ’ हेर्न छुटाउँदैनन् उनी ।
राम क्रिकेट म्याच हेर्न घर आएपछि आज लावण्यले टिभी हेर्न पाएन । लावण्यलाई टिभीमा कार्टुनबाहेक केही हेर्न मन पर्दैन ।
ऊ धेरैबेर एक कोठाबाट अर्को कोठा घुमिरह्यो । उसलाई केहीले आकर्षण गर्न सकेन । टिभीअगाडि बस्ने बानी जे परेको थियो उसको ।
जको दिन चन्द्रमा पृथ्वीको परिक्रमा गर्दागर्दै धेरै नजिकबाट गइरहेका छन् । आज पृथ्वी र चन्द्रमाको दूरी ३ लाख ५६ हजार ७ सय ६१ किमि. मात्रै छ । आज चन्द्रमा लगभग सत्ताइस हजार किमि. नजिक आएको छ । टाढाको वस्तु नजिक आउँदा ठूलो देखिन्छ होइन ?’
उसलाई हजुरआमाले प्राय भन्ने गर्थिन– हेर बाबु, रमाइलो गर्ने, खेल्ने, मनोरञ्जन गर्ने सबै कुरा गर्नुपर्छ । तर, केहीको बानी लाउनु हुँदैन । बानी लागेपछि मानिस आफ्नै बानीको दास बन्छ ।
आज लावण्य हजुरआमाले दिएको अर्ती घरीघरी सम्झिँदै थियो । तर, उसको छटपटाहट कम भइरहेको थिएन ।
उसको छटपटाहट देखेर हजुरआमाले भनिन्– बाबू हिँड, हामी कौसीमा जाउँ । आज पूर्णिमा हो । चन्द्र दर्शन गरौं ।
चन्द्रमा हेर्नासाथ लावण्य चिच्यायो– हेरिसियोस् त हजुरआमा आज चन्द्रमा कति ठूलो छ !
‘बाबू, चन्द्रदेवले आफ्नो स्वरूप र आकार सधैं फेरिराख्नुहुन्छ,’ हजुरआमाले भनिन् ।
‘त्यो भन्या होइन नि हजुरआमा, अरु पूर्णिमामा हुनेभन्दा पनि आज चन्द्रमाको ‘साइज’ ठूलो छ । पर्खनुस्, म ड्याडीलाई बोलाएर ल्याउँछु ।’
‘ड्याडी कौसीमा हिँडिसियोस् त, आज चन्द्रमा कति ठूलो देखिएको छ,’ लावण्यले ड्याडीको हात तान्दै भन्यो ।
‘एकछिन पर्ख । धोनी र विराट ‘नाइन्टिज’मा खेल्दैछन् । ‘सेन्चुरी’ भएपछि जाऔंला ।’
‘नाइ ड्याडी, छिट्टै हिँडिसियोस्, चन्द्रमा कति नजिक आइसक्यो !’
रामको पूर्ण ध्यान भने टिभी स्क्रिनमा थियो । ‘कमेन्टेटर’ भन्दै थिए– मलिंगा अफ द विकेट, सर्ट रनअप, अन द मिडेल विकेट, धोनी गोज ब्याकफुट एण्ड प्लेड इट टु डिप स्क्वायर लेग, रंगना इज देयर, बट धोनी इज धोनी, सट वाज सो पावरफुल दैट रंगना क्यान नट स्टप फोर । नाउ धोनी इज अन ९८, भेरी क्लोज टु सेन्चुरी ।
‘दुई मिनेट पर्ख धोनीको ‘सेन्चुरी’ भएपछि जाऔंला,’ रामले लावण्यसँग भने ।
‘सिक्स, सिक्स, लार्ज सिक्स, धोनी कम्पलिटेडेट सेन्चुरी । मलिंगा थ्रो बाउन्सर, धोनी हुक इट टु लेग अन । नाउ इण्डिया निड फिफ्टी फाइभ रन्स इन थर्टी बल । हाउ लङ विराट एण्ड धोनी अन क्रिज इण्डिया ह्याज नो प्रब्लम ।’
‘ड्याडी, अब त हिँडिसियोस् न,’ लावण्यले फेरि भन्यो ।
म्याचको रोमाञ्च छाडेर रामलाई कौशीमा जाने मन पटक्कै थिएन । तर लावण्यको जिद्दीको अगाडि उनको केही लागेन ।
‘ड्याडी, हेरिसियोस् त ‘मुन’ कति ठूलो ! किन होला भनिसियोस् न ।’
‘मलाई त यसबारे केही थाहा छैन । बरु तिमी अस्ति हामीसँग जनकपुर जाने अंकललाई फोन गरेर सोध,’ रामले भने ।
‘हेलो, अंकल म लावण्य, मलाई चिन्नुभो ?’
‘किन नचिन्नु तिमीलाई ! भन के छ तिम्रो हालखबर ?’
‘अंकल मलाई सब ठीक छ, मलाई एउटा कुरा सोध्नु थियो ?’
‘के कुरा सोध, मैले जानेको तिमीलाई भन्ने छु ।’
‘अंकल, आजको ‘मुन’ हेरिसियोस् त, कति ठूलो देखिएको छ । आज यो किन ठूलो देखिएको हो ?’ लावण्यले एक सासमै आफ्नो जिज्ञासा पोख्यो ।
‘हो बाबु, आजको ‘मुन’ अन्य पूर्णिमाभन्दा १५ प्रतिशत ठूलो देखिन्छ पृथ्वीबाट ।’
‘किन नि अंकल ?’
‘तिमीलाई थाहा छ ? ‘मुन’ हामी रहेको पृथ्वीबाट तीन लाख चौरासी हजार चार सय किमि टाढा छ ।’
‘त्यो त थाहा छ अंकल, मेरो साइन्सको किताबमा छ ।’
‘अनि तिम्रो किताबमा यो पनि लेखिएको होला, ‘मुन’ले हामी बसेको पृथ्वीको परिक्रमा गर्छ ।’
‘थाहा छ अंकल, पृथ्वीले सूर्यको परिक्रमा गरेझैं ‘मुन’ले पृथ्वीको परिक्रमा गर्छ ।’
‘गुड, पृथ्वीले सूर्यको परिक्रमा गर्न ३६५.२५६ दिनको समय लगाउँछ । यसलाई नै एक वर्षको अवधि भनिन्छ । सूर्य पृथ्वीबाट १४ करोड ९६ लाख किमि टाढा छ र सूर्यको एउटा परिक्रमा पूरा गर्न पृथ्वीलाई ९४ करोड किमि हिँड्नुपर्छ ।
‘साँच्चै अंकल, पृथ्वीले यति धेरै हिँड्नुपर्छ सूर्यको एउटा परिक्रमा गर्न ?’
‘हो बाबु, पृथ्वी हिँडेर नै त हाम्रो जीवन चलिरहेको छ ।’
‘यसरी नै ‘मुन’ले पृथ्वीको परिक्रमा गर्न २७.३२१ (२७ दिन, ७ घण्टा, ४३ मिनेट, ११ सेकेण्ड) समय लगाउँछ । ‘मुन’ले गर्ने पृथ्वीकोे परिक्रमाको गति १.०२२ किमि÷सेकेण्ड हो । के तिमी भन्न सक्छौ, पृथ्वीको एउटा परिक्रमा गर्न चन्द्रमाले कति किमि हिँड्नुपर्छ ?’
‘पर्खनुस् अंकल, म हिसाब गरेर भन्छु ।’
लावण्य हिसाव गर्न थाल्छ ।
११ सेकेण्ड × १.०२२ = ११.२४२ किमि.
४३ मिनेट– ४३ × ६० × १.०२२ = २६३६.७६ किमि.
७ घण्टा– ७ × ६० × ६० × १.०२२ = २५७५४.४० किमि.
२७ दिन– २७ × २४ × ६० × ६० × १.०२२ = २३८४१२१.६ किमि.
जम्मा २४१२५२४.०० किमि. ।
‘अंकल, चन्द्रमाले पृथ्वीको एक परिक्रमा गर्दा २४ लाख १२ हजार ५ सय २४ किमि. यात्रा गर्छ ।’
‘तिमीले ठिकै भन्यो, सबै ग्रह, नक्षत्र, उपग्रह, ताराहरूको आ–आफ्नो परिक्रमा पथ हुन्छ । हामीले पठाएको ‘सेटलाइट’को पनि निश्चित परिक्रमा पथ हुन्छ । अब बुझ, पूर्णिमा कसरी हुन्छ, आ–आफ्नो पथमा घुमिरहँदा ‘मुन’, पृथ्वी र सूर्य एक रेखामा आउँदा पूर्णिमा हुन्छ । भनेको अर्थ पृथ्वीबाट पूरै चन्द्रमा देखिन्छ । यसलाई नै हामी पूर्णिमा भन्छौं ।’
‘तर अंकल, अरु पूर्णिमाभन्दा आजको ‘मुन’ ठूलो किन ?’
‘हेर, यस खगोलीय घटनालाई ‘सुपर फुलमुन’ भनिन्छ । आजको दिन चन्द्रमा पृथ्वीको परिक्रमा गर्दागर्दै धेरै नजिकबाट गइरहेका छन् । आज पृथ्वी र चन्द्रमाको दूरी ३ लाख ५६ हजार ७ सय ६१ किमि. मात्रै छ । आज चन्द्रमा लगभग सत्ताइस हजार किमि. नजिक आएको छ । टाढाको वस्तु नजिक आउँदा ठूलो देखिन्छ होइन ?’
‘हो अंकल ।’
‘तिमी राम्ररी हेर, आजको ‘मुन’ १५ प्रतिशत जति ठूलो मात्र होइन, २६ प्रतिशत बढी चम्किलो पनि छ ।’
‘हो र अंकल ?’
‘पक्कै हो । तिमीलाई अर्को कुरा भनौं । सन् १९७९ भन्दा पहिला हामीसँग ‘सुपर फुलमुन’ भन्ने शब्द थिएन । त्यो बेला चन्द्रमाको यस स्थितिलाई ‘पेरिगी फुलमुन’ भनिन्थ्यो । ल्याटिन भाषाको शब्द ‘पेरिगी’को अर्थ ‘पृथ्वीको नजिक’ हुनु हो ।
खगोलविद् रिचर्ड नोल्ले यसको नाम ‘सुपर फुलमुन’ राखेका हुन् । प्रत्येक वर्ष चार–पाँच ‘सुपर फुलमुन’ हुन सक्छन् ।’
‘तर अंकल, तपाईँले भन्नुभयो पूर्णिमामा ‘मुन’, ‘अर्थ’ र ‘सन’ सोझो एक लाइनमा हुन्छन् । यसो भए प्रत्येक पूर्णिमामा चन्द्र ग्रहण किन हुन्न ?’
‘भेरी स्मार्ट ब्याइ, गुड क्वेसन ।’
‘ल सुन, प्रत्येक पूर्णिमामा ‘मुन’, पृथ्वी र सूर्य एक सोझो लाइनमा हुन्छन् । तर, जुन बेला यी तीनैवटा एउटै प्रतल (एीब्ल्भ्)मा हुन्छन्, त्यो बेलामात्र चन्द्रमा छेकिएर ग्रहण लाग्ने गर्छ ।’
‘थ्यांक्स अंकल, अब मैले बुझें ।’
‘गुड, अब तिमीले बुझेको कुरा स्कुलका आफ्ना साथीहरूलाई भन्नू । उनीहरूले चन्द्रमा, सूर्य, तारा वा विज्ञानका अन्य कुनै विषयबारे चासो राखे भने तिमी लेखेर ल्याउनू । म तिमीलाई ती प्रश्नको जवाफ दिनेछु ।’