'टेस्टेड एण्ड फेल्ड' सामान बेचिरहेको राजनीति

'टेस्टेड एण्ड फेल्ड' सामान बेचिरहेको राजनीति

तीर्थ प्रसाईं  |  दृष्टिकोण  |  मंसिर ९, २०७६

हामीलाई नेता मनपर्दैन, तिनीहरूको ‘पपुलिज्म’ मनपर्दैन तर मनन् गरेर हेर्दा तिनका विरुद्ध उठ्ने वैकल्पिक आवाज पनि मनपर्दैन । किनभने तिनमा जोखिम झन् बढी छ । 

यस्तो अवस्थामा विश्वका अभागी नागरिक के गर्छन् ? के तिनमा विकल्प छनोट गर्न सक्ने अवस्था छ ? कि तिनै राजनीतिक बजारमै चल्तीमा रहेकामध्ये कुनै एक नेता छान्नु र यथास्थितिलाई अनुमोदन गर्नुपर्ने विवशता छ ? 

हो, तिनीहरूलाई आफू सभ्य र सार्वभौम भएको भ्रम बेचिएको छ । तिनले आफूले चाहेको नेतृत्व छान्न सक्छन् । तिनीहरू आनो प्रजातान्त्रिक अधिकारको प्रयोग गर्न सक्छन् भनेर गफ गरिएको छ तर अधिकांश मान्छे देश वा विश्वका बारेमा सोच्न भ्याउँदैनन् । 

बहुसंख्यक जनतालाई आनो दैनिक जिन्दगी गुजारा गर्न वा जिन्दगीमा बजारमा रहेका उपभोग्य सामानको आपूर्ति गर्नुमै ठिक्क छ । तिनले भोट हाल्नु वा सामान्य रूपमा कसैको समर्थन गर्नु नै तिनीहरूको आवाज माथि पुग्नु हो, त्यो नै नागरिक दायित्व हो भन्ने मात्र थाहा छ। । त्यो नै देशका लागि वा विश्वका लागि उठाइएको आवाज हो भन्ने थाहा छ ।

तिनलाई तत्काल वैकल्पिक आवाजलाई साथ दिनु झनै भयावह अवस्थालाई निम्तो दिनु र विश्वलाई थप जोखिममा लानु हो भन्ने लाग्छ, जसको फाइदा राजनीतिक बजारमा चलेका अन्य नेताले उठाइरहेका छन् । जो वैकल्पिक शक्ति हौँ, हाम्रो ‘पोजिसन’ चलेका राजनीतिक दल वा तिनले लिएका सिद्धान्तभन्दा अलग र भरपर्दो छ भन्ने वैकल्पिक आवाजहरूले थप जोखिमयुक्त, अपरिपक्व र समाधानरहित ‘पपुलिस्ट’ नारा बेचिरहेका पाइन्छ, जसलाई आम मान्छेले तत्काल विश्वास गर्दैन । विश्वास गरिहाले पनि साथ दिन सक्दैन, जसले हामीलाई यथास्थितिवादी छाडिदिएको छ । 

राजनीतिक बजारभित्रै स्वतन्त्र छनोटको सिद्धान्तले दिने 'टेस्टेड एण्ड फेल्ड’ सामानले हाम्रो परिवर्तनको चाहनालाई पूर्ति गर्न सक्ने अवस्था छैन ।

हरेक उदाहरणहरूले यही भन्छन् हामी यथास्थितिवादको चंगुलमा छौँ । वैकल्पिक आवाज जायज लागे पनि ती बचकना उग्रवाद बनेका छन् । उही पपुलिस्ट ललिपप बोकेका छन् तिनले । तिनको छनोट हाम्रा लागि यथास्थितिवादभन्दा महँगो पर्न जान्छ । त्यसले हाम्रो भविष्यलाई थप अनिश्चित बनाउँछ । 

वैकल्पिक कुरामा जोखिम मोल्नुको अर्थ मान्छेले त्यसबाट नयाँ र अझ भरपर्दो कुराको अपेक्षा गर्नु हो तर त्यसले नयाँ अनुहार मात्र फेर्छ, समाज भने थप अस्थिर बन्न जान्छ । यो कथित सभ्य समाजमा भएको मान्छे एकै ताल जोखिम पनि मोल्न र आना दैनिक कामकाज छाडेर आफैँ फेरिफेरि सडकमा गएर वैकल्पिक शक्तिलाई सुधार्दै बस्न सक्दैन । बस्, आनो मतदान गर्ने नागरिक दायित्व पूरा गर्न भने सक्छ । तर, त्यसले त्यही राजनीतिक बजारकै परिणाम थाहा भएकै सामान छनोट गर्ने विवशतामा लैजान्छ ।

पपुलिस्ट विचार ल्याउन सजिलो छ, धेरै दुःख गर्नुपर्दैन । त्यो कसरी हासिल हुन्छ भनेर वैकल्पिक गृहकार्य गर्नुपर्दैन, मात्र समस्या देखाएर बोलिदिए पुग्छ । तर, ती भरपर्दा विकल्प बन्दैनन् । आनो कुरा कार्यान्वयन हुँदा विश्वको अर्थतन्त्र, उद्योगधन्दा सबै चौपट हुने र धेरै घरबास उठिवास हुने कति ग्रेटाहरूलाई थाहा छ ? 

सत्रौँ शताब्दीको पूर्वाद्र्धमा हामी यस्तै वैकल्पिक धार खोजी गरिरहेका जोन मिल्टन देख्छौँ । मिल्टनलाई न त बेलायती विश्वविद्यालयका पाठ्यक्रम मनपरे, न त्यसबेलाका शासन व्यवस्था नै । उनले ह्विग र टोरीको हातमा पालैपालो सत्ता जाने बेलायती शासन पद्धति र तिनको यथास्थितिवादको विकल्पको वकालत गरे र विद्रोही नेता क्रमवेललाई साथ दिए । 

बेलायतबाट राजसंस्था धपाए र विशुद्ध ईश्वरीय मूल्य मान्यतासहितको प्युरिटन शासन व्यवस्था स्थापना गर्न सहयोग गरे । तर, छिट्टै थाहा भयो, उनीहरूले स्थापित गरेको प्युरिटन शासन व्यवस्था अपेक्षाकृत रूपमा अब्बल विकल्प बनेन । 

ईश्वरीय मूल्य र मान्यता भएको शासन व्यवस्था व्यवहारतः आएन र उनीहरू छिट्टै जनताबाट नांगिए, जनताले फ्रान्समा निर्वासित राजकुमारलाई ल्याएर राजा बनाए । यो थियो समाधानसहितको शासन व्यवस्थाको हविगत ।

समाधान र योजनासहितका मानिएका यस्तै थुप्रै वैकल्पिक शासन व्यवस्थाहरू र राजनीतिक धारहरू विश्वमा थुप्रै पटक आउँदै र असफल हुँदै गएका छन् । तर, समाधान नभएका पपुलिस्ट, सतही र जटिलताको अध्ययन नगरी विकल्पको नारा दिनेहरूको हविगत झन् के होला ? 

केही समयअघि नेतालाई भ्रष्ट बन्न सहयोग गर्ने कर्मचारी हुन् भनेर लेखेको कतै पढेको थिएँ । दोष कर्मचारीको मात्र नहोला, भ्रष्टाचार एकतर्फी कुरो होइन, यसमा नेताले पनि कर्मचारीलाई भ्रष्ट बनाउन भूमिका खेलेका छैनन् भन्ने कुरो पनि होइन । तर, स्थायी सरकार भएको नाताले भ्रष्टाचार संस्थागत गर्न कर्मचारीकै बढी हात छ भनेरचाहिँ ठोकुवा गर्न सकिन्छ ।

यसमा जागिरको सुनिश्चितता अर्थात् यो नेता बढीमा पाँच बर्ष टिक्छ अनि जान्छ, म सधैँ टिक्छु भन्ने कर्मचारी मनोविज्ञान, न्यूनत्तम आवश्यकता पूरा गर्न सकिने गरेर तलब नहुनु र समाजमा प्रगतिको मानक घर, जग्गा, पैसा, गाडी जस्ता कुराहरूलाई मानिनु आदि कुराले निश्चित हदसम्म भूमिका खेलेका हुन्छन्, जुन नेतामा भन्दा कर्मचारीमा हुन्छ । 

अर्को, चुनाव जित्नुपर्ने, जनतामा सम्मान आर्जन गर्नुपर्ने नेताको दबाब कर्मचारीले धेर महसुस गर्नुपर्दैन, परे पनि त्यसमा उनीहरू प्रतिबद्ध हुने वा नहुने उनीहरूको आनो अवस्थाले निर्धारण गर्छ । 

अब सोच्नुहोस्, कुनै पनि विकल्प हुँ भन्नेले ‘भ्रष्टाचारीलाई कीरा परोस्’ भन्नु, ‘भ्रष्टाचारीलाई थुक्न जाऊँ’ जस्ता पपुलिस्ट नारा समस्याको कति विश्लेषण गरेर ल्याइएका हुन्छन् ? समस्या कर्मचारीतन्त्रमा होला, समस्या न्यून तलबमा होला, समस्या समाजको प्रगतिको मानकमा होला, त्यो विश्लेषण नै नगरी जनताको मनोविज्ञानअनुसारको पपुलिस्ट कुरा गरेर चुनाव जित्ने वैकल्पिक शक्तिले भोलि सत्तामा जानासाथ पूरै कर्मचारी संयन्त्र पुनर्संरचना गरेर भ्रष्टाचार नियन्त्रण गर्ला ? 

गर्ला जस्तो लागे उसको कर्मचारी संयन्त्र पुनर्संरचना गर्ने खाका वा सैद्धान्तिक आधार तय भइसकेका छन् कि छैनन् ? यदि त्यसरी भिजन तयार भएको छैन भने पपुलिस्ट नारा मात्र भएको पक्का छ । शासकीय व्यवस्थाको समाधानसहितका विकल्पहरू त टेस्टेड एण्ड फेल्ड भइरहेको विश्वमा ‘पपुलिज्म’ वा व्यावहारिक पक्ष नहेरी जनता उल्क्याउन प्रयोग हुने कोरा आदर्शवादमा जोखिम धेर छन्, जसलाई विश्वका जनताले सहजै मोल्न तयार हुँदैनन् र उनीहरू यथास्थितिवादको चंगुलमा फँस्छन् ।

त्यसबेला के हुन्छ, जब विश्वका नेताहरू एउटा बच्चाको वैकल्पिक जिद्दीको चुनौतीमा पर्छन् ? एकातिर अत्यन्त सामान्यीकृत गरिएको तर देख्दा सत्य देखिने बचकना उग्रवादी र आदर्शवादी मुद्दा उनीहरूको घाँटीमा काँडो बनेर अड्किन्न र अर्कातिर त्यसलाई उनीहरूको इगो, अभिमानले धान्न सक्दैन । उग्रवादी आदर्शवादको बचकनाप्रति दया जाग्छ । 

यस्तै, एउटा वर्तमान केस हो ग्रेटा थनबर्गको । एउटी सानी स्वीडेनकी बालिका थनबर्ग केही समययता मिडियामा छाइरहेकी छन् । उनको म्यासेज सामान्य र सोझो छ, अहिलेको विश्व वातावरण विनाशको चपेटामा छ । जलवायु परिवर्तनको असर तीब्र रूपमा आँखैअघि देखिएको छर छिट्टै मानव जाति संकटमा पर्दै छ । किन यो समस्यामा विश्वका विकसित मुलुकहरूले आँखा चिम्लिरहेका छन् ? विश्वलाई वातावरणीय संकटबाट जोगाउन र मानव प्रजातिको अस्तित्व बचाउन हामीले तत्काल काम गर्नुपर्छ । हामीसँग धेरै समय छैन ।’

यो भनाइ अत्यन्त जायज लाग्छ, संसारका सबै मानिसको चासो इंगित भएको जस्तो लाग्छ र ग्रेटा अत्यन्त पपुलर भएकी छन् । तर, गौर गरेर हेर्दा उनको अभियान सकिने हो भने पेट्रोलियम पदार्थको कारोबारदेखि लिएर दुनियाँका धेरै कुरामा असर पर्ने देखिन्छ । 

पपुलिस्ट विचार ल्याउन सजिलो छ, धेरै दुःख गर्नुपर्दैन । त्यो कसरी हासिल हुन्छ भनेर वैकल्पिक गृहकार्य गर्नुपर्दैन, मात्र समस्या देखाएर बोलिदिए पुग्छ । तर, ती भरपर्दा विकल्प बन्दैनन् । आनो कुरा कार्यान्वयन हुँदा विश्वको अर्थतन्त्र, उद्योगधन्दा सबै चौपट हुने र धेरै घरबास उठिवास हुने कति ग्रेटाहरूलाई थाहा छ ? 

एउटा बच्चाको योजना विकल्पविनाको जिद्दीले गर्दा विश्वका नेताहरू दवाबमा छन् । मानिसहरूले जेलाई विकल्प अर्थात् आनो आवाज भनिरहेका छन्, तिनलाई नै थाहा छैन कि ग्रेटाको मुद्दा सफल भएमा विश्वको अहिलेको स्थापित आर्थिक, सामाजिक संरचनामा के हेरफेर हुन्छ र त्यसको जिम्मा कसले लिन्छ ? 

ओपेकका महासचिव मोहम्मद बार्किन्दो भन्छन्, विश्व तापमान अभियन्ताहरूको यो अवैज्ञानिक आक्रमणले गर्दा हाम्रो उद्योगलाई कसरी अघि बढाउने भन्ने सबैभन्दा ठूलो चुनौती खडा भएको छ ।

उनका आलोचकहरूमा अमेरिकी, रसियन, फ्रेन्च, जर्मनलगायत विकसित मुलुकका राष्ट्रप्रमुखहरू समेत छन् र वातावरणविद्हरू समेत उनले देखाएको समस्यामा उनको कस्तो समाधानको रूपरेखा छ भन्ने नै थाहा नभएको र त्यहाँ बचकना आक्रोश मात्र रहेको बताउँछन् ।

समाधानविनाका पपुलिस्ट विचारहरू आफैँमा समस्या हुन् भन्ने विश्वका धेरै मान्छेले बुदै गएका छन् । त्यसैले उनीहरू कथित विकल्पको पछि लागेर जोखिम मोल्नुभन्दा राजनीतिक बजारका पुरानै देखे भोगेका सामान किनिरहेका छन्, जुन आफैँमा यथास्थितिवाद नै हुने पक्का छ ।